फैलिएको साहसिक पर्यटन 

अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि बेसक्याम्पसम्मका यात्रादेखि कालीगण्डकीमा र्‍याफ्टिङ, पोखराको आकाशमा प्याराग्लाइडिङ, ढोरपाटनको शिरमा नाउरको सिकारसम्मका साहसिक काममा स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढ्दो

माघ ९, २०८१

प्रकाश बराल

Adventure tourism spread

बागलुङ — कालीगण्डकी नदीको खोचमा ‘द क्लिफ’ ले सञ्चालनमा ल्याएको विश्वकै दोस्रो अग्लो बञ्जीजम्पले देशभित्र र बाहिरका पर्यटकको ध्यान खिचेको छ । पहाड र नदीका खोचमा गरिने बञ्जीजम्पसँगैका दर्जनौं साहसिक खेलले नसोचेको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन थालेका छन् ।

यहाँ बञ्जीजम्पजस्तै साहसिक खेल स्विङ पनि सञ्चालनमा छ । स्काई साइकल, स्काई चियर, स्काई क्याफे, रक क्लाइमिङ, झट्का हान्ने पिङ लगायतका खेलले युवाहरूलाई बढी आकर्षित गरेका छन् । 

द क्लिफले गत आर्थिक वर्षमा मात्रै ४८ लाख ८३ हजार रुपैयाँ आयकर तिरेको छ । यहाँ १ हजार २ सय मिटर लामो मेगा ट्रेल पनि निर्माण भइरहेको छ । जिपलाइन जस्तै मेगा ट्रेलले साहसिक पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने द क्लिफका अध्यक्ष राजु कार्की बताउँछन् ।

यतिबेला धेरै मानिसले रुचाएको साहसिक खेल बञ्जीजम्पले क्षेत्र विस्तार पनि गरेको छ । पोखरा आसपासमा पनि बञ्जी खुलेको छ । हेमजा र दोबिल्लामा पनि सानो आकारका बञ्जी खेलले सहरी युवायुवतीलाई साहसिक खेल र यात्राका लागि अभ्यस्त बनाइरहेका छन् । तर ती बञ्जीहरू कालीगण्डकीको जस्तो अग्लो छैनन् । बरु ती बञ्जीले कालीगण्डकी नदीको खोचमा पनि आइपुग्ने प्रेरणा दिएका छन् । द क्लिफमा २० प्रतिशत विदेशी पर्यटक आइपुग्छन् भने ८० प्रतिशत आन्तरिक पर्यटक आइरहेको तथ्यांक छ । गत वर्ष मात्रै यहाँ ४० हजारले बञ्जीजम्प गरेको तथ्यांक छ ।

कालीगण्डकीकै खोचमा ‘हार्नेस प्रालि’ले १ हजार ६ सय मिटर लामो जिपलाइन सञ्चालन गरेको छ । पर्वतको कुस्माबजारदेखि सुरु हुने जिपलाइन बागलुङको बलेवा हुँदै पुनः अर्मादीतर्फ फर्किन्छ । पानीको सतहदेखि २ सय २५ मिटरको उचाइबाट कालीगण्डकी नदीलाई दुईपटक पार गर्छ । यहाँ तीन प्रकारका जिपलाइन सवार गर्न पाइन्छ । ‘सुपरमेन’, ‘क्लासिक’ र ‘टेन्डम’ गरी तीनथरी छन् ।

जोडीले गर्ने टेन्डम हो भने एकलमा क्लासिक र सुपरमेन छन् । ‘कालीगण्डकीको खोचलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यले यहाँ लगानी गरेका हौं,’ मुख्य लगानीकर्ता सुनिल थापाले भने, ‘पछिल्लो समय युवाहरूको आकर्षण साहसिक गन्तव्यमा बढेको छ ।’ दुई वर्षदेखि सञ्चालनमा आएको जिपलाइनमा दैनिक १ सय जना आइरहेका छन् ।

मुक्तिनाथ र बागलुङ कालिका आउने धार्मिक पर्यटकदेखि युवापुस्ताले यो क्षेत्रलाई अहिले गन्तव्य बनाउन थालेका छन् । अनलाइनमार्फत टिकट काटेर युवाहरू यहाँ आइपुग्छन् । कालीगण्डकी किनारमै हार्नेसले आकर्षक रिसोर्ट बनाएर साहसिक यात्रामा आएकाहरूलाई बस्ने व्यवस्था मिलाएको छ । यहाँ दैनिक १ सय जना पाहुना अट्छन् ।

त्यसबाहेक नदी किनारमा दर्जनौं साना तथा मझौला होटल र रेस्टुरेन्ट खुलेका छन् । पोखरा आएका केही विदेशी र धेरै नेपाली युवाले साहसिक पर्यटन मन पराएको थापा बताउँछन् । थापाको यस अभियानमा स्थानीय सूर्यबहादुर क्षेत्री र रामचन्द्र जोशीले यहाँ लगानी गरेका छन् । ‘अहिलेसम्म ३० करोडको लगानी भइसकेको छ,’ थापाले भने, ‘साहसिक पर्यटनमा लगाएको लगानी सुरक्षित हुने महसुस गरेको छु ।’ द क्लिफले त कालीगण्डकी खोचमा ६० करोड लगानी गरिसकेको र अझै थप पूर्वाधार बनाएर नयाँ साहसिक खेल थप्ने तयारीमा रहेको उसको दाबी छ । 

Adventure tourism spread

बञ्जीजम्प, जिपलाइन मात्र हैन, साहसिक पर्यटनका अन्य धेरै गतिविधि कालीगण्डकी खोंचमा सञ्चालन गर्न सकिने थापाको अनुभव छ । पछिल्लो समय हार्नेसले कालीगण्डकी नदीमा र्‍याफ्टिङको अनुमति पनि लिएको छ । त्यसो त म्याग्दीको गलेश्वरदेखि स्याङ्जाको मिर्मीसम्म कालीगण्डकी नदीमा दर्जनौं र्‍याफ्टिङका प्याकेज सञ्चालित छन् ।

म्याग्दी महोत्सव आयोजकले पनि कालीगण्डकीमा र्‍याफ्टिङ गराएको छ । निजी क्षेत्रकै पहलमा सन् १९८९ देखि विधिवत् सञ्चालन भइरहेको र्‍याफ्टिङ कालीगण्डकी, मर्स्याङ्दी, मादी, बुढीगण्डकी लगायतका नदीहरूमा पनि सञ्चालित छ । नेपालमा जलयात्रा निर्देशिका २०६३ अनुसार हाल दर्ता भई सञ्चालनमा रहेका ४ दर्जन बढी एजेन्ट छन् । उनीहरूले स्वदेशी र विदेशी पर्यटकलाई बाह्रै महिना नसुक्ने नदीमा र्‍याफ्टिङ गराइरहेका छन् । कालीगण्डकी र त्रिशूली जलयात्राका लागि बढी रुचाइने नदी हुन् ।

गण्डकी प्रदेश भित्रिने विदेशी र आन्तरिक पर्यटकमध्ये धेरैजसोले साहसिक खेल र साहसिक यात्रा मन पराउन थालेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र, अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि बेसक्याम्पसम्मका यात्रादेखि कालीगण्डकी नदीमा र्‍याफ्टिङ, पोखराको आकाशमा प्याराग्लाइडिङ, ढोरपाटनको शिरमा नाउरको सिकारसम्मका साहसिक काममा पर्यटकको आकर्षण बढ्दो छ । 

मनाङ र मुस्ताङको भ्रमण त आफैंमा साहसिक काम हो । त्यसबाहेक ‘रक क्लाइमिङ’, ‘हट एयर’ जस्ता आकर्षित क्रियाकलापले पनि गण्डकीमा पर्यटक बढेका छन् । गत पुसमा पोखरामा हट एयरअन्तर्गत ‘बलुन फेस्टिभल’ नै आयोजना भयो । त्यसले धेरै पर्यटकको ध्यान खिच्यो । बलुनबाट आकाशमा उड्न पाएर धेरै जना उत्साहित भए ।

गण्डकीमा आइपुग्ने धेरै पर्यटक साहसिक यात्राका कुनै न कुनै इभेन्टमा जोडिएर आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख रवीन कडरिया बताउँछन् । ‘यहाँ आउने धेरै पर्यटक हिमाल हेर्ने, बेसक्याम्पको यात्रा गर्नेदेखि जलयात्रा, प्याराग्लाइडजस्ता साहसिक खेलमा पनि सहभागी हुने गरी भित्रिएको देखिन्छ,’ उनले भने, ‘संरक्षण क्षेत्रभित्र पनि धेरै साहसिक खेलको माग बढिरहेको छ ।’ त्यसका लागि संरक्षण क्षेत्रभित्र पनि व्यवसायीलाई लगानीका लागि आग्रह गर्ने योजना उनले सुनाए ।

पोखरा आसपासमा बढेको साहसिक पर्यटनलाई संरक्षण क्षेत्रभित्र थप गर्दा पर्यटकको बसाइसमेत लम्ब्याउन सकिने सम्भावना कडरियाले व्यक्त गरे । विश्वकै प्रमुख गन्तव्य र धेरै विदेशी पर्यटक आउने भएकाले संरक्षण क्षेत्रभित्र साहसिक गतिविधि बढाउने दबाब आयोजनालाई परेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने खोप्रेडाँडामा एक्यापले प्याराग्लाइडिङको अनुमति दिइसकेको छ ।

‘अझै दुईवटा माग आइरहेको छ, अध्ययन गरेर अनुमति दिनेछौं,’ कडरियाले भने, ‘क्यानोइङका लागि पनि केही क्षेत्र सम्भावित रूपमा सूचीकृत छन् ।’ निजी क्षेत्रलाई साहसिक पर्यटनमा जोडेर एक्यापले पर्यटक बढाउने लक्ष्य राखेको उनले बताए । वर्षात्मा धेरै झरनामा क्यानोइङ भए पनि नियमित छैनन् ।

साहसिक पर्यटन प्रवर्द्धनको जति सजिलो छ, सञ्चालन र व्यवस्थापन गर्न जोखिमको काम हो भन्छन् कडरिया । ‘साहसिक पर्यटनसँगै हुन सक्ने जोखिम न्यूनीकरणका लागि सरकारले नीतिगत व्यवस्था गरिसकेको छ,’ उनले भने, ‘व्यवस्थापकीय काममा भने हामीले चासो बढाएका छौं ।’

ज्यानै जान सक्ने खालका दुर्घटनासमेत हुने भएकाले जोखिम बहन गर्न सक्ने बनेपछि मात्रै साहसिक खेल सञ्चालन गर्न सकिने उनको भनाइ छ । प्याराग्लाइड, क्यानोइङ, बञ्जी, जिपलाइन र र्‍याफ्टिङमा राज्यले सुरक्षाको व्यवस्थापन गरिदिएपछि व्यवसायीहरू आकर्षित हुने क्रम बढेको पनि उनले बताए ।

२०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष पनि साहसिक पर्यटनको अर्को गन्तव्य हो । नेपालकै एकमात्र सिकार आरक्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमतिपछि सिकारीहरू हेलिकोप्टरबाट ढोरपाटनको फागुने लगायतका गन्तव्य पुग्छन् । स्वदेशी पर्यटकहरू पैदल र जिपको यात्राबाट ढोरपाटन, बुकी र जलजलासम्म जाने गरेका छन् ।

राज्यलाई राजस्व तिरेर यहाँ हरेक वर्ष नाउर र झारलको सिकार गर्न विदेशी पर्यटक आउँछन् । घुम्ने, हिउँ खेल्ने लगायतको उद्देश्यले आउने आन्तरिक पर्यटकसमेतबाट आरक्षमा बर्सेनि ६ करोड रुपैयाँसम्म राजस्व संकलन हुने गरेको तथ्यांक छ ।

हिमाल चढ्नु भनेको जोखिम मोल्ने साहसिक काम भएको पर्वतारोहीहरू बताउँछन् । सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्ण हिमालको शिखर चुमेका थिए । हिमालको चुचुरोमा पुग्न उनीहरूले कति दिन पैदल यात्रा गरे ? कसैको संस्मरणमा छैन । त्यसको तीन वर्षपछि अर्थात् सन् १९५३ को मे २९ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले सगरमाथा चढेका थिए । त्यसपछि क्रमशः सन् १९५६ मा मनास्लु हिमाल जापानका तोसियो इमानिसी र भारतका ग्याल्टेन नोर्बु शेर्पाले चढे भने १९६० मे १३ मा धौलागिरि हिमाल स्विट्जरल्यान्डमा नागरिक अर्नेस्ट फोररले चढेको इतिहास छ । 

हिमाल चढ्ने काम सहज छैन । यो साहसिक पर्यटनको नमुना हो । गण्डकी प्रदेशभित्रका यी हिमाल आरोहण सगरमाथाभन्दा अघि भएको घटनाक्रमले साहसिक पर्यटन पनि यहाँबाटै सुरु भएको तर्क गर्न सकिन्छ । हिमालसम्म पुग्ने बेसक्याम्पहरू तयार गर्ने र ती स्थानसम्म पदमार्ग बनाउने काम गरेका स्थानीयले धेरै पहिलेदेखि नै साहसिक पर्यटनको तयारी थालेको धौलागिरि बहुमुखी क्याम्पसका प्राध्यापक रामप्रसाद उपाध्याय बताउँछन् ।

‘अहिले जस्ता आधुनिक साहसिक यात्रा र पर्यटनको जमाना आउनुअघि हिमाल चढ्ने, सिकार खेल्ने, घोडचढी, पौडी र भीरमौरीको सिकारलाई साहसिक पर्यटनमा समावेश गरिन्थ्यो,’ उनले भने, ‘नयाँ प्रविधिले भने राज्यलाई कर तिरेर मनोरञ्जन पनि दिने अवस्था सिर्जना गरेको हो ।’ 

साहसिक पर्यटनको सुरुवात नै हिमाली क्षेत्रको घुमन्ते शैलीबाटै सुरु भएको उनले बताए । घुमन्तेहरूले नै ती साहसिक काम गर्दै अहिलेको आधुनिक पर्यटन शैली भित्र्याउन सहयोग गरेको उनको तर्क छ । पछिल्लो समय साहसिक पर्यटनमा ठूलो लगानी भित्रिइरहेको उनले सुनाए । सम्भावित क्षेत्र खोजेर पदमार्ग बनाउने र पर्यटक ल्याउन सक्ने ग्रामीण बासिन्दा नै साहसिक पर्यटनका अगुवा भएको पनि उनले बताए । 

गण्डकी प्रदेश पर्यटन मन्त्रालयका अनुसार २०७९/८० मा मात्रै गण्डकी प्रदेशमा २ लाख २४ हजार विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । ‘दक्ष जनशक्ति अभावले आएका पर्यटकको रोजाइको क्षेत्र छुट्टिएको छैन, तर धेरैजसो साहसिक यात्रा गर्न रुचाउँछन्,’ प्रदेश पर्यटन मन्त्रालयका सूचना अधिकारी विमलप्रसाद गौतमले भने, ‘अन्नपूर्ण क्षेत्रमा प्रवेश गर्नेहरू स्वाभाविक रूपमा साहसिक यात्रा गर्न रुचाउनेहरू छन् ।’

धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हीरालाल रेग्मीले दसैं तिहारको समयमा विद्यार्थीको भ्रमणसमेत अन्नपूर्ण बेसक्याम्पलाई बनाए । चितवन, लुम्बिनी र काठमाडौंलाई भ्रमणको सूचीमा राख्ने धेरै विद्यालय, क्याम्पस र अन्य युवाहरूका समूहले हिजोआज हिमालका बेसक्याम्प, साहसिक खेल र पदयात्रामा लगाउन थालेका छन् ।

‘यसरी घुम्ने संस्कृतिको विकास हुनुलाई पर्यटन प्रवर्द्धनको सुनौलो ढोका मान्न सकिन्छ,’ होटल व्यवसायी महासंघ, गण्डकीका अध्यक्ष अर्जुन चोखालले भने, ‘जति साहसिक खेलहरू बढाउन सकियो, त्यति पर्यटक भित्र्याउन सकिन्छ ।’ विदेशीलाई मात्र पर्यटक देख्ने आँखा साहसिक खेलमा नेपाली बढी देखेपछि मात्र परिवर्तन बन्दै गएको उनले बताए । पछिल्लो समय मनाङ र मुस्ताङ यात्रा गर्ने पर्यटकमा नेपालीहरू पनि धेरै छन् ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully