आरामदायी आतिथ्य

प्रकृतिप्रेमीका लागि पदयात्रा, जलयात्रा, साहसिक गतिविधि गर्ने पर्यटकका लागि हिमाल आरोहण, स्काई डाइभिङ, बन्जी, अल्ट्रा उडान, संस्कृति बुझ्न चाहनेका लागि होमस्टे, धार्मिक, सांस्कृतिक क्षेत्रको भ्रमण र खानाका पारखीका लागि स्थानीय परिकार, यी सबै पोखरामा उपलब्ध छ

माघ ९, २०८१

सुरज कुँवर

Comfortable hospitality

काठमाडौँ — काठमाडौंपछि नेपालको सबैभन्दा ठूलो पर्यटन गन्तव्य हो, पोखरा । पोखराले सबै प्रकारका आगन्तुकका सबैखाले आवश्यकता पूरा गर्ने सामर्थ्य राख्छ । प्रकृतिप्रेमीका लागि पदयात्रा, जलयात्रा, साहसिक गतिविधि गर्ने पर्यटकका लागि हिमाल आरोहण, स्काई डाइभिङ, बन्जी, अल्ट्रा उडान, संस्कृति बुझ्न चाहनेका लागि होमस्टे, धार्मिक, सांस्कृतिक क्षेत्रको भ्रमण र खानाका पारखीका लागि स्थानीय परिकार, यी सबै पोखरामा उपलब्ध छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले यहाँको पर्यटन विकासलाई झन् टेवा पुग्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) का अनुसार कुनै पनि गन्तव्यलाई सफल बनाउन होटल, लज, होमस्टेलगायत बासस्थानको ठूलो भूमिका रहन्छ । आजको विश्वमा बासस्थानले मात्रै पर्यटक सन्तुष्ट हुँदैनन् । आरामदायी, आधुनिक, सुविधासम्पन्न र सुरक्षित बसोबास पनि अनिवार्य हुनै पर्छ । पर्यटन भनेको एयरलाइन्स, यातायात र आवासबीचको सहकार्य हो ।

यीमध्ये होटललगायत बासस्थानले पर्यटकलाई आवश्यक सुविधा र आराम प्रदान गर्छन् । जसका कारण पर्यटकको यात्रा अझ रमाइलो, स्मरणीय र तनावमुक्त बन्न मद्दत पुग्छ । यी तीन क्षेत्रको तालमेल नमिले पर्यटकीय गन्तव्य ओझेलमा पर्छन् । 

हिजोआज आरामदायी र सुरक्षित बसोबासका लागि पर्यटकस्तरीय होटलहरू उभ्याउन निजी क्षेत्रमा लगानी प्रतिस्पर्धा देखिन्छ । यो प्रतिस्पर्धा पोखराको लेकसाइडबाट माथि सराङकोट, पञ्चासे, सिक्लेस, रूपाकोट, लेखनाथसम्म फैलिएको छ । कास्कीभन्दा बाहिर तनहुँको बन्दीपुर, पाल्पा, स्याङ्जा, मनाङ, मुस्ताङ, गोरखासम्मै आरामदायी बसोबासका लागि पर्यटकस्तरीय होटल विस्तार भइरहेको बताउँछन्, होटल संघ नेपाल (हान) का गण्डकी प्रदेश अध्यक्ष हरिप्रसाद शर्मा गैरे ।

‘पोखराभित्र र बाहिर द्रुत गतिमा होटल निर्माण भइरहेका छन् । ४ वटा पाँचतारे होटल पोखरामा चाँडै सञ्चालनमा आउँदै छन्,’ पोखरा भिलेज होटलका सञ्चालकसमेत रहेका गैरेले भने, ‘पोखराको होटल क्षेत्रमा दैनिक १० हजार पर्यटकलाई सेवा दिने क्षमता विकास भएको छ । वार्षिक १० लाख पर्यटकलाई सेवा दिने पूर्वाधार पोखरामा तयार भइसकेको छ ।’

सन् २०२३ जनवरी १ देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । त्यसयता झन् होटल तथा रेस्टुरेन्ट निर्माण बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत पुस १७ मा सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार देशभर होटल, लज, रिसोर्ट, होमस्टे, रेस्टुरेन्टलगायत अतिथि सत्कारसँग सम्बन्धित प्रतिष्ठानको संख्या १ लाख ४१ हजार २ सय २३ छ । यसमध्ये गण्डकीमा १६ हजार ९ सय ७६ वटा छन् । जसमा महिलाको स्वामित्वमा सञ्चालित पर्यटकस्तरीय होटल तथा रेस्टुरेन्टको संख्या झन्डै ४९ प्रतिशत छ । 

सर्वेक्षणको दायराभित्र परेका यी सबै देशभरका प्रतिष्ठानको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ बराबर पुगेको छ । जसमा गण्डकीमा मात्रै १ खर्ब ६ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको स्थायी सम्पत्ति आतिथ्य सत्कारमा लगानी भएको छ । गण्डकीको हस्पिटालिटी क्षेत्रले प्रत्यक्ष १२ हजार जनालाई रोजगारी सिर्जना गरेको छ ।

अतिथि सत्कार क्षेत्रबाट मात्रै वार्षिक ३७ अर्ब ७९ करोड मूल्य बराबरको सेवा उत्पादन भइरहेको छ । यहाँका होटल तथा रेस्टुरेन्टले विभिन्न प्रकारका बहाल तथा कर्मचारीको पारिश्रमिकमा वार्षिक २ अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने गरेको सर्वेक्षणले देखाएको छ । बास नबसाउने तर केही घण्टा पारिवारिक जमघट तथा खानपिन गराउने रेस्टुरेन्टतर्फ गण्डकीमा भएका रेस्टुरेन्टले एक पटक (सिंगल सिटिङ) मा २ लाख १३ हजार व्यक्तिलाई सेवा दिन सक्छन् । 

राष्ट्र बैंकले २०८०/८१ मा गण्डकी क्षेत्रमा पर्यटक आगमन वार्षिक ६ प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै होटल शय्या बिक्री पनि २४ प्रतिशतले बढेको देखिन्छ । आन्तरिक पर्यटकको वृद्धिले होटलहरूको न्यूनतम अकुपेन्सी ३० प्रतिशत छ । यो अघिल्लो वर्ष २४ प्रतिशतमा थियो । पर्यटन बोर्डका अनुसार पोखरामा पर्यटक होमस्टेदेखि होटल तथा अपार्टमेन्टसम्म बस्छन् ।

यी सबै सरकारी संयन्त्रको निगरानीमा छैनन् । ‘भारतबाट बस तथा निजी गाडीमा आउने भारतीय पर्यटकको कुनै पनि सरकारी च्यानलमा डेटा रेकर्ड रहँदैन,’ बोर्डका वरिष्ठ प्रबन्धक नवीन पोखरेलले भने, ‘हरेक अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पोखरा रेवानले आयोजना गर्ने सडक महोत्सवमा ३/४ लाख आन्तरिक पर्यटकको उपस्थिति रहन्छ तर तिनको पनि गन्ती भएको छैन ।’

होटल संघ गण्डकी प्रदेशका अध्यक्ष गैरे पनि पोखरामा पर्यटकको यथार्थ तथ्यांक संकलन हुन नसकेको बताउँछन् । तर, उनी अहिले पर्यटकीय क्षेत्र, विमानस्थल वा सहरका केन्द्र नजिक होटलहरू विस्तार भइरहेको बताउँछन् । अझ होटलहरूले अहिले स्थानीय परम्परा, खाना र कलालाई अनिवार्य प्रस्तुत गर्न थालेका छन् । यसले यात्रुहरूलाई गन्तव्यसँग नजिक बनाउन मद्दत गरेको छ । होटलहरूले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन खपत पनि गरेका छन् । होटल नजिकका रेस्टुरेन्ट, यातायात सेवा र टुर अपरेटरहरूसँग सहकार्य गरेर स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै पनि आएका छन् । 

पोखरामा निजी क्षेत्रबाट थपिँदै गएका सुविधासम्पन्न होटल तथा पूर्वाधारहरू पर्यटकका लागि बास मात्र नभई उनीहरूका अनुभवलाई उत्कृष्ट बनाउने महत्त्वपूर्ण अंश बन्दै गएका छन् । तारे तथा पर्यटकस्तरीय होटलहरूको छाता संगठन (हान) ले पोखरालाई अन्नपूर्णको प्रवेशद्वार उपनामले पनि आफ्ना प्रकाशनमा चिनाउँदै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न पदमार्गमा प्रवेश गर्ने सुरुवात बिन्दु यहीँबाट सुरु हुन्छ । त्यसैले लुक्लालाई विश्वकै अग्लो शिखर सगरमाथाको प्रवेशद्वार भनेजस्तै पोखरालाई ‘हिमालयको प्रवेशद्वार’ भन्ने गरिन्छ । 

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाका सुन्दर दृश्यका कारण गण्डकी ट्रेकिङ र पर्वतारोहणप्रेमीका लागि विश्वव्यापी आकर्षणका रूपमा प्रसिद्ध छ । विदेशीले पोखराका शान्त तालहरू, विशेषगरी फेवातालमा डुंगा सयर र लेकसाइडमा आरामदायी समय बिताउनका लागि उपयुक्त वातावरण भएको गन्तव्य मान्छन् । आन्तरिक पर्यटकमाझ तालको बीचमा रहेको तालबाराही मन्दिरको धार्मिक र सांस्कृतिक महत्त्व छ । 

पछिल्लो समय साहसिक यात्राका लागि पोखरा प्याराग्लाइडिङ, जिपलाइन र अल्ट्रालाइट उडानजस्ता रोमाञ्चक गतिविधिले प्रख्यात छ । पोखराको पुरानो विमानस्थलबाट सुरु हुने अल्ट्रालाइटले हिमशृंखलाको अनुपम दृश्य पर्यटकको आँखै अगाडि उतार्छ । विन्ध्यवासिनी मन्दिर र विश्व शान्ति स्तूपाले पोखराको सांस्कृतिक सम्पदाको समृद्धि प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रैथाने उत्पादन तथा पुराना बजारहरूले विदेशीलाई नेपालका परम्परा र जीवनशैलीलाई बुझ्न सघाएको छ । प्राकृतिक सुन्दरता र न्यानो आतिथ्यका कारण पोखरा विश्वव्यापी रूपमा चिनिएको छ । २०८० चैतमा आयोजित ‘पोखरा महोत्सव’ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालकै पयर्टकीय राजधानी घोषणा गरे । 

सन् २०२४ मा यहाँ २७ हजार ४ सय २२ वटा उडान भए । यी उडानबाट १० लाख २४ हजार २ सय ५७ यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए । यो पोखराको पुरानो विमानस्थल (फेवा) र नयाँ विमानस्थल दुवैको एकमुष्ट तथ्यांक हो । अहिले फेवाबाट हेलिकोप्टर तथा मुस्ताङका लागि उडान हुने गरेको छ । 

पाँच वर्षअघिको तथ्यांकका आधारमा अहिलेको नयाँ विमानस्थल सञ्चालनमा आएपछि यात्रुको संख्या २८४ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० मा ११ हजार १ सय १८ उडानबाट २ लाख ५७ हजार २० यात्रुले पुरानो विमानस्थलबाट सेवा लिएका थिए । अन्तर्राष्ट्रियतर्फ दुई वर्षमा ११ वटा मात्रै अन्तर्राष्ट्रिय चार्टर उडान भए । यी उडानबाट दुईतर्फी ६ सय ६३ यात्रुले ओहोरदोहोर गरे । तसर्थ गण्डकी प्रदेशको प्रमुख सम्भावना नै पर्यटन भएको तथ्यांकहरूले देखाएका छन् ।  

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully