उत्पादनमा पनि अग्रणी पोखरा

चाउचाउ, बिस्कुट, तेलदेखि पाउडर दूधसम्मका उद्योग पोखरामा सञ्चालित छन् । यहाँका सुजल फुड्स, कर्माचार्य ग्रुप, हिमश्री फुड्स, फिस्टेल डेरीलगायतबाट हुने उत्पादन विदेशसम्म निर्यात हुन्छ ।

माघ ९, २०८१

राजु चौधरी

Pokhara is also a leader in production

काठमाडौँ — पर्यटन, मनोरन्जन र साहसिक नगरीका रूपमा परिचित पोखरा औद्योगिक सहर पनि हो । चाउचाउ, बिस्कुट, तेलदेखि पाउडर दूध कन्भर्सनसम्मका उद्योग यहाँ छन् । यसको एउटा गतिलो उदाहरण हो, लक्ष्मी ग्रुप । यो समूहले पोखरामा कर्पोरेट साम्राज्य नै खडा गरेको छ । 

लक्ष्मी ग्रुपको व्यवसाय पोखराको बागबजारबाट सुरु भएको ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले बताए । २०३० मंसिर २१ मा पोखराको पुरानो घरमा लक्ष्मी मिठाई भण्डार खुल्यो । २०३३ मा पोखरामा ‘जयमा लक्ष्मी कन्फेक्सनरी’ स्थापना भयो ।

‘ल्याक्टोफन, म्याङ्गो टार्ट, योयो स्विट्स’ जस्ता क्यान्डी लोकप्रिय भएको उनले बताए । सन् १९९६ मा लक्ष्मी मिठाई भण्डार, शुभलक्ष्मी ‘कन्फेक्सनरी’ र जयमा लक्ष्मी ‘कन्फेक्सनरीलाई मर्ज’ गरेर सुजल फुड्स प्रालि स्थापना भएको श्रेष्ठले बताए । 

‘सुजल फुड्सका उत्पादन नेपालमा लोकप्रिय छन् नै, सन् २००६ देखि भारत र चीनमा पनि निर्यात भएर अन्तर्राष्ट्रिय बजार पुग्यो,’ श्रेष्ठले भने । सुजलको उत्पादन अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, चीन, हङकङ, मेक्सिको, बेनिन गणतन्त्र, भारत, यूएईलगायत ११ देशमा पुग्छ ।

आफ्नो ‘कन्फेक्सनरी’का उत्पादनले ६० प्रतिशत चकलेट आयात रोक्न सफल भएको कम्पनीको दाबी छ । ‘कन्फेक्सनरी’ बाहेक लक्ष्मी ग्रुपको अत्याधुनिक सुजल डेरी पनि पोखरामै छ । सुजलको उत्पादन सफल दूध, दही, घिउ, पनिर तथा दुग्धजन्य उत्पादन पनि लोकप्रिय छन् ।

यीबाहेक डेरीबाट पाउडर दूध पनि कन्भर्सन हुन्छ । दुग्ध विकास संस्थान (डीडीसी) ले पनि पाउडर दूध कन्भर्सनका लागि सुजललाई नै दिने गरेको छ । सुजल डेरीमा राष्ट्रियस्तरको खाद्य गुणस्तर मापनका लागि प्रयोगशाला पनि छ । ‘प्रयोगशालामा २९ प्रकारका खाद्यवस्तुको गुणस्तर जाँच गर्न सकिन्छ,’ श्रेष्ठले भने । 

सुजलजस्तै पोखराले अर्को नाम कमाएको ब्रान्ड हो, रारा । रारा गण्डकी नुडल्सको उत्पादन हो । सिलिगुडीबाट आउने सिन्के छाउछाउ (चिनियाँ ‘मियान’ लाई छाउछाउ भनिन्थ्यो) बाट सुरु भएको व्यापार अहिले नेपालभर चर्चित छ । रारा चाउचाउ फणीन्द्रमान श्रेष्ठले ल्याएका हुन् । 

२०३५ मा पोखराको सिमलचौरमा सानो छाप्रो बनाएर श्रेष्ठले गण्डकी नुडल्स इन्डस्ट्रिज खोलेका थिए, त्यसबेला कम्पनीको प्रबन्ध निर्देशक कृष्ण आचार्य थिए । सुरुमा वर्षभरि ८३ हजार प्याकेट चाउचाउ उत्पादन हुन्थ्यो । अहिले वार्षिक १४ लाख कार्टुन चाउचाउ उत्पादन हुने कम्पनीले जनाएको छ ।

२०४५ मा संस्थापकमध्येका फणीन्द्रमान उद्योगबाट छुट्टिएपछि अहिले केसी ग्रुपले राराको विरासत धानेको छ । केसी ग्रुपले चाउचाउ उत्पादनको क्षमता बढाएर एभरेस्ट नुडल्स प्रालि हुँदै हाल हिमश्री फुड्स प्रालिका नामबाट उद्योगलाई निरन्तरता दिएको छ । हाल हिमश्री फुड्स सूर्यबहादुरका छोरा प्रकाश केसीले सम्हालेका छन् ।

पोखराको अर्को ब्रान्ड हो, कर्माचार्य ग्रुप । कर्माचार्यले बिस्कुटदेखि तेलसम्म उत्पादन गर्दै आएको ग्रुपका निर्देशक विक्रम कर्माचार्यले बताए । कर्माचार्य ग्रुपले २०४२ मा गण्डकी आयल मिल स्थापना गरेर जर्किनमा तेल बेच्न थालेको थियो । सुरुमा खुल्ला बिक्री गरे पनि पछि जर्किनमा प्याकेजिङ गरेर ‘कोसेली’ ब्रान्डमा बिक्री थाल्यो । कोसेली ब्रान्डले गण्डकी, धौलागिरि, लुम्बिनी हुँदै चितवन र काठमाडौंमा पनि बजार विस्तार गरेको उनले बताए । सोही ब्रान्डबाट अहिले सूर्यमुखी र भटमासको तेलसमेत उत्पादन भइरहेको छ । 

गण्डकीमा मात्रै कोसेली तोरीको तेलको बजार हिस्सा २५ प्रतिशत रहेको निर्देशक कर्माचार्यले बताए । तेलबाहेक ग्रुपको खाद्य प्रशोधन उद्योग पनि छ । कर्माचार्य बेक्स एन्ड फुड्स प्रालिले सन् २०१७ देखि डाइजेस्टिभ बिस्कुट उत्पादन गरिरहेको छ । कर्माचार्य टप, बीसमारीलगायत विभिन्न ‘ब्रान्ड’का बिस्कुट यो उद्योगबाट उत्पादन हुन्छ ।

कर्माचार्य फुड्स ग्रेन्च प्रालिले कुमारी चामल, कुमारी गोल्ड आँटा र कुमारी गोल्ड चिउरा उत्पादन गरेको जनाएको छ । कागज तथा प्याकर उत्पादन कन्ट्री कन्फेक्सनरी युनिटमार्फत हुन्छ । यही कम्पनीमार्फत क्रन्च वेफर चकलेट पनि उत्पादन भइरहेको उनले बताए ।

‘कर्माचार्य बिस्कुटले अहिले बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गरिरहेको छ, गुणस्तरमा कहिलै सम्झौता गरेनौं,’ निर्देशक विक्रम कर्माचार्यले भने, ‘उपभोक्ताको विश्वास जितेका छौं ।’ उनका अनुसार कर्माचार्य ग्रुपले ५ सय जनालाई रोजगारी दिइरहेको छ ।

त्यस्तै, पोखरामै फिस्टेल डेरीले नोभा ‘ब्रान्ड’का दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ । पोखराकै पोखरा नुडल्स प्रालिको उत्पादन हटपट, रम्बा, बोनस, जोजो, ताज पनि चर्चित चाउचाउ ब्रान्ड हो । दुई दशकदेखि सञ्चालनमा आएको उद्योग चाउचाउ उत्पादनमा केन्द्रित छ । 

यीबाहेक बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिको कारखाना पनि गण्डकीमै छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा सूर्य नेपालको चुरोट कारखाना छ । तनहुँमा एक सय ४५ रोपनीमा प्लान्ट छ । बहुचर्चित गोरखकाली टायर उद्योग पनि गण्डकीमै छ । भलै टायर उद्योग अहिले रुग्ण अवस्थामा छ । २०४३ पुस १५ मा शिलान्यास गरी संरचना निर्माण सुरु भएको उद्योगले २०४९ साउन १ देखि व्यावसायिक उत्पादन थालेको थियो ।

सुरुवातमा तीन सिफ्टसम्म सबै किसिमका गाडीका लागि टायर उत्पादन हुन्थ्यो । गुणस्तरकै कारण गोरखकाली टायर निकै लोकप्रिय थियो । भारत, श्रीलंका र बंगलादेशसम्म निर्यात हुन्थ्यो । तर व्यवस्थापकीय कमजोरीसँगै कर्मचारी संगठनका विभिन्न मागले उद्योग आर्थिक अवस्थामा कमजोर भयो । रकम अभावले २०५६ सालमा सञ्चालनमा समस्या देखियो । समस्या सल्टाउन सरकारले सहयोग नगरेको पनि होइन, सरकारले ऋण सहयोग गर्‍यो । तर पनि पूर्ण रूपमा सञ्चालन हुन सकेन । 

२०७१ चैत २३ देखि उद्योगले टायर उत्पादन बन्द गर्‍यो । २०७५ माघ ३ मा मजदुर/कर्मचारीलाई अवकाश नै दियो । सरकारले बन्द रहेको सार्वजनिक संस्थान/उद्योगहरू पुनः सञ्चालनका लागि ‘मोडालिटी’ सिफारिस गर्न गठित कार्यदल गठन गरिसकेको छ ।

कार्यदलले गोरखकाली रबर उद्योगका लागि गोरखकाली टायरको ‘ब्रान्ड नाम’ बिक्री गर्ने र जग्गा नेपाल सरकारका नाममा ल्याउने तथा मेसिनहरू बिक्री गर्ने सिफारिस गरेको छ । अर्को विकल्प निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न इच्छुक फर्म वा कम्पनीले सञ्चालन गर्ने मोडालिटीसहितको व्यावसायिक योजनासहितको प्रस्ताव आह्वान गर्ने, प्राप्त प्रस्तावहरू मूल्यांकन गरी उपयुक्त ठहरे सञ्चालन गर्न दिने भनिएको छ ।

राजु चौधरी चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully