गण्डकीको गौरव खेलकुद

आहा रारा गोल्डकप– नेपालमा जति पनि नकआउट फुटबल हुन्छन्, यो जत्तिको प्रतिष्ठित अर्को कुनै छैन, काठमाडौंमै पनि छैन 

माघ ९, २०८१

हिमेश

Pride of Gandaki Sports

काठमाडौँ — विश्व ट्रायथलनकी पुराना अध्यक्ष हुन्, मारिसोल कसाडो । ट्रायथलन आफैंमा अचम्मको खेलभन्दा हुन्छ । यसमा दौड हुन्छ, पौडी हुन्छ अनि साइक्लिङ । उनी एकभन्दा बढी अवसरमा पोखरा पुगेका छन् किनभने दक्षिण एसियाली मात्र होइन, एसियालीस्तरकै ट्रायथलनका प्रतियोगिता पोखरामा हुने गर्छ ।

यो खेलका लागि अति धेरै सुहाउँदो सहरभन्दा हुन्छ पोखरालाई । त्यसैले एकपल्ट भावनात्मक हुँदै कसाडोले भनेकी थिइन्, ‘मलाई कहिलेकाहीँ लाग्छ, पोखरा जति खेलकुदलाई उपयुक्त सहर अरू छैन, कम्तीमा दक्षिण एसियामा । यो त खेलकुदकै लागि बनेको जस्तो पनि लाग्छ ।’

यति भनाइले पोखराको खेलकुदसँगको नाताबारे धेरै बोल्दैन र π हुन पनि पोखरामा जति खेलकुद नेपालमै अन्यत्र कमै हुन्छ । खेलकुदकै कार्यक्रमका बेला पोखरा पुग्नुपर्छ र पुरानो पुस्ताका जो–कोहीसँग कुरा गर्नुपर्छ । लाग्छ, त्यस्ता कोही पोखरेली छैनन्, जसको सम्बन्ध कुनै न कुनै खेलसँग सम्बन्ध नहोस् ।

पोखराका अनेक परिचय हुन सक्छन्, खेलकुद त्यसमध्ये सबैभन्दा बलियो परिचय हुनसक्छ । पोखराले असाध्यै फाइदा लिन सक्नुपर्ने भनेकै खेलकुदको माध्यमबाट हो । सबैलाई थाहा छ, खेलकुद कहिले पनि खेलकुद मात्र हुन्न । यो अर्थ हो, पर्यटन हो, व्यवसाय हो । र, अरू धेरै । त्यसै पनि पोखरा पयर्टनको सहर हो । यो क्षेत्रलाई अझ बढी आकर्षक र दिगो बनाउन खेलकुद एउटा बलियो माध्यम हुन्छ नै ।

पोखरा र खेलकुदबारे जति–जति बेला चर्चा चल्छ, मूल समस्या हो, सुरु गर्नेचाहिँ कहाँबाट हो, त्यसमै दुविधा हुन्छ । यति विविध आयाम छन्, पोखरेली खेलकुदका । यति भन्दाभन्दै पनि सबैभन्दा पहिले ठ्याक्कै नाम आउने हुन्छ, फुटबल अनि सहारा क्लब र यसले आयोजना गर्ने आहा–रारा गोल्डकप ।

यो प्रतियोगिताले एकभन्दा बढी अवसरमा नाम फेरिसकेको छ तर अझै सुन्नमा मज्जा यही हो । अहिले ठ्याक्कैभन्दा नेपालमा जति पनि नकआउट फुटबल हुन्छन्, यो जत्तिको प्रतिष्ठित अर्को कुनै छैन । राजधानी काठमाडौंमै पनि छैन । किनभने राजधानीमा फुटबलका यस्ता प्रतियोगिता नभएको दसौं वर्ष भइसक्यो । मोफसलकै मात्र कुरा गर्दा त झन् यो प्रतियोगितालाई कसले छुन सक्नु ?

नेपाली फुटबलमै पोखराको इतिहास आफैंमा समृद्ध छ । धेरै पुरानो पनि । पोखराले नेपाली फुटबललाई धेरै राष्ट्रिय खेलाडी दिएको छ । धेरै अगाडि नै पोखरामा फुटबलका प्रतियोगिता भइरहन्थे । यसै क्रममा सहारा क्लबले आयोजना गर्दै आएको आहा–रारा गोल्डकप धेरै अर्थमा विशेष छ ।

यसको पहिलो संस्करण भएको थियो, वर्ष २०५८ सालमा । त्यसयता नेपालमा अनेकखाले राजनीतिक परिवर्तन भए, अनेक फरक मोड आए । तर यो प्रतियोगिता कहिल्यै रोकिएन । सबैलाई थाहा छ, कुनै प्रतियोगिताको आयोजना सुरु गर्नु गाह्रो छैन । गाह्रो त यसको नियमित आयोजनामै हो । यो प्रतियोगिता अटुट रूपमा भइरहेको छ, यो नै ठूलो भयो ।

आयोजक सहारा आफैंमा २५ वर्षभन्दा बढी उमेरको क्लब भइसक्यो, त्यसमाथि प्रतियोगिताको २५ औं संस्करण अर्को वर्ष पर्छ । यसपालि २४ औं संस्करण हुँदै छ । यही प्रतियोगितामा टिकेर सहाराले फुटबल एकेडेमी नै चलाइरहेको छ । धेरै अर्थमा आहा रारा गोल्डकप कुनै एउटा खास फुटबल प्रतियोगितामात्र होइन, योभन्दा धेरै हो ।

यो प्रतियोगिता आफ्नो लोकप्रियताको चरम विन्दुमा हुँदा यो साँच्चै ईर्ष्या गर्न लायक हुन्थ्यो । यसले अपार दर्शक तान्थ्यो । प्रतियोगिताको माध्यमबाट पर्यटक फुटबलप्रेमीलाई पनि आफूतिर तान्न सकिन्छ भन्ने प्रमाणित भएको थियो । कुनै समय यो प्रतियोगिता हुँदा पोखरा सिंगै फुटबलमय हुने गर्थ्यो ।

यस प्रतियोगितालाई लिएर अहिले सबथोक राम्रो चलिरहेको छैन । त्यसैले यसलाई अझ बढी सफल बनाउने चुनौती थपिएको छ । नेपाली फुटबलमा समय–समयमा अनेक समस्या आइरहन्छन् । विवाद उत्तिकै भइरहन्छ । यसबीच आहा–रारा गोल्डकपको आयोजना चलिरह्यो । काठमाडौंतिर लिग फुटबल हुन छाड्दा यो खेल जीवन्त पार्ने भनेकै मोफसलका प्रतियोगिताले नै हो ।

सहाराले जुन प्रकारले फरक मोडमा नेपाली फुटबललाई गुन लगाएको छ, त्यो बिर्सिनसक्नु छ । अब त्यो समय आइपुगेको छ, जति बेला यो प्रतियोगिताले लगाएको गुनको ऋण तिर्ने । अहिले प्रतियोगितालाई सबैको साथ चाहिएको छ । फुटबलको चर्चापछि उत्तिकै लोकप्रिय खेल क्रिकेटलाई कसरी छुट्याउने ? अझै नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा सेलाएको छैन । यसमै सहभागी एउटा टिम थियो, पोखरा एभेन्जर्स ।

एनपीएलको यति धेरै सफलता पछाडि त्यसअघि आयोजना भएका केही फ्रेन्चाइज लिगको आफ्नै महत्त्व छ । अझभन्दा यसअघिका केही फ्रेन्चाइज लिगकै कारण एनपीएलको सफल आयोजनाको आधार तयार भएको थियो । यसमै एक हो, पोखरा प्रिमियर लिग । अर्थात् पीपीएल । जम्माजम्मी दुईपल्ट मात्र आयोजना भयो, यो प्रतियोगिता । तर यसक्रममा के प्रमाणित भएको छ भने पोखरामा क्रिकेटको सम्भावना उत्तिकै छ । अझ त्यहाँको मैदान र त्यहाँबाट देखिने मनमोहक दृश्यले सबैलाई आकर्षित पारेको थियो ।

नेपाली खेलकुदले गर्व गर्न सक्ने एउटा खेलकुदको विधा म्याराथन हो । नेपालमा म्याराथन प्रतिस्पर्धा धेरै चलिरहेका हुन्छन्, त्यसमध्ये एउटा पोखरा म्याराथन पनि हो । यो नै नेपालको पहिलो यस्तो प्रतिस्पर्धा हो, जसले सिटी म्याराथनको सोच अगाडि बढायो ।

संयोग कस्तो भने जतिबेला आहा–रारा गोल्डकप सुरु भएको थियो, त्यही वर्ष २०५८ मा पोखरा म्याराथन पनि सुरु भएको थियो । अहिले यो नेपालमा आयोजना हुने म्याराथनमध्ये सबैभन्दा लोकप्रिय र प्रतिष्ठित छ । म्याराथन पोखराका लागि किन विशेष छ भने यो नै खेलकुदको एउटा यस्तो विधा हो, जुन सिधा–सिधा पयर्टनसँग जोडिन्छ । म्याराथन र पयर्टन अधिकांश समय सँगसँगै अगाडि बढ्ने गर्छ ।

पर्यटनसँग ठ्याक्कै जोडिने एउटा अर्को खेल हो, गल्फ । गल्फ मन पराउनेका लागि पोखराको हिमालयन गल्फ कोर्स एउटा प्रमुख गन्तव्य हुनसक्छ नै । यहाँ नेपाल सूर्य वेस्टर्न ओपनका प्रतियोगिता नियमित हुन थालेको पनि लामै समय भइसकेको छ ।

गल्फ खासमा विश्व खेलकुदमा निकै ठूलो व्यवसाय हो । गल्फ खेल्नकै लागि लाखौंले बर्सेनि देश–विदेशको यात्रा गर्ने गर्छन् । त्यसैले गल्फ स्वयं पयर्टनको एउटा माध्यम हो समेत भनिन्छ । पोखरामा गल्फको किन धेरै सम्भावना छ भने यो खेल खेल्ने क्रममा पोखराको सुन्दरतालाई जसरी आत्मसात् गर्न सकिन्छ, त्यो अद्वितीय छ । पोखराले गल्फमा आफूलाई अझ तगडासँग अगाडि बढाउनुपर्छ ।

नेपालमा फुटबल र क्रिकेट जत्तिकै लोकप्रिय खेलमा पर्छ, भलिबल । नेपाली भलिबलले अहिलेसम्म तय गरेको यात्रामा पोखराको योगदान धेरै छ, अझ विशेषतः महिला भलिबलमा । महिला भलिबल अहिले जुन स्थितिमा छ, त्यो एकाएक बनेको होइन ।

त्यसमा पोखरा र त्यहाँका क्लबको ठूलै योगदान छ । पोखराले नेपाली भलिबलका लागि उत्तिकै संख्यामा राष्ट्रिय खेलाडी दिएको छ । पोखरामा नियमित भलिबलका प्रतियोगिता हुने गर्दछ । त्यसमध्ये सबैभन्दा प्रमुख त टाइगर कप नै रह्यो । पोखरामा भलिबल प्रशिक्षण केन्द्रदेखि मैदान धेरै छन् अनि भलिबललाई माया गरेर खेल हेर्न नछुटाउने दर्शक उत्तिकै छन् ।

खेलकुदका कुरा आउँदा प्याराग्लाइडिङलाई पनि छुटाउनु हुन्न । नेपालमा यो खेलका लागि गन्तव्य भन्नु नै पोखरा हो । नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने सन् २०१८ को एसियाली खेलकुदको प्रसंग छुटाउनुहुन्न । त्यहीं नछुटेर आउने हो, प्याराग्लाइडिङले जितेको रजत पदक । रजत नै सही, यो नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेको अहिलेसम्मकै एउटा ठूलो उपलब्धिमध्ये पर्छ । इन्डोनेसियामा भएको त्यस एसियाली खेककुदमा नेपालको टिम भन्नु नै पोखरा थियो, यहाँ खेलाडी थिए ।

पोखरा खासमा अन्य केही खास खेल पनि प्रसिद्ध छ । जस्तो, आर्चरी । यो खेल त पोखराको संस्कृति र समाजसँगै जोडिएको खेल भयो । पोखरामा बास्केटबल, टेनिस र अरू धेरै खेल पनि उत्तिकै मनपराइएका छन् । यसका पछाडि पोखरामा उपलब्ध भौतिक पूर्वाधार पनि हो ।

भौतिक पूर्वाधारकै लागि सबैभन्दा धनीमा पोखरा पर्छ । पोखरा रंगशाला आफैंमा कति धेरै ठूलो छ भने यसमा हुन नसक्ने खेल नै छैनभन्दा हुन्छ । त्यसैले त सन् २०१९ मा नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद हुँदा पोखरा पनि एउटा आयोजनास्थल रह्यो । यति ठूलो प्रतियोगिताको आयोजक हुन पाउनु पोखराका लागि ठूलै उपलब्धि थियो । यही भौतिक पूर्वाधारकै कारण पोखरामा दुईपल्ट राष्ट्रिय खेलकुद आयोजना पनि भइसकेको छ ।

मुख्य कुरा त पोखरामा खेलकुदबारे चर्चा एउटा खास लेखमा सकिँदै सकिन्न । यसमा उल्लेख गरिएका खेल र प्रतियोगिताबाहेक पनि धेरै पोखरामा भएका र भविष्यमा हुनेछन् । पोखरा नेपाली खेलकुदको राजधानी नै हुनसक्छ, यसमा दुईमत छैन । 

हिमेश

Link copied successfully