सिरुबारीबाट फैलिएको होमस्टे व्यवसाय 

२७ वर्षअघि रुद्रमान गुरुङले सिरुबारीमा दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टेको सुरुआत गर्दै ग्रामीण पर्यटनको जग बसाएका हुन्

माघ ९, २०८१

बुद्धिसागर मरासिनी

Homestay business spread from Sirubari

स्याङ्जा — स्याङ्जा सदरमुकामबाट २३ किमि दूरीमा छ सिरुबारी गाउँ । समुद्री सतहबाट १६ सय १० मिटर उचाइमा रहेको सिरुबारीलाई खासमा पूर्वबेलायती र भारतीय सैनिक बाहुल्य गाउँ भन्दा पनि फरक पर्दैन । चिटिक्क मिलेका र बाक्ला घर, विकसित सहरमै जस्ता शौचालय र खानेपानी सुविधा, ढुंगा बिछ्याएका सफा र फराकिला बाटाघाटा ।

मनै लोभ्याउने हरिया डाँडापाखा र गुरुङ संस्कृति । त्यसमाथि सामुदायिक वन, गुम्बा, संग्रहालय, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालको आकर्षक दृश्य देख्न सकिने रमणीय स्थान हो आँधीखोला–१ को सिरुबारी ।

गण्डकी प्रदेशको यही सिरुबारीमा २७ वर्षअघि सामुदायिक होमस्टे (घरबास) सुरु भएको हो । स्वर्गीय रुद्रमान गुरुङले सिरुबारीमा दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टेको सुरुआत गर्दै ग्रामीण पर्यटनको जग बसाएका हुन् ।

रुद्रमानले भारतीय सेनाको जागिरे छँदै सिरुबारीबाट ग्रामीण पर्यटनको जग बसाउने सपना देखेका थिए । तर उनको त्यो सपना पूरा हुन भने दुई दशकभन्दा लामो समय लाग्यो । भारतीय सेनाको क्याप्टेनबाट निवृत्त उनी २०४८ मा स्याङ्जा-२ बाट सांसद निर्वाचित भएपछि होमस्टेको सपना साकार पार्न लागिपरे ।

गुरुङको अगुवाइमा गाउँका ४३ मध्ये ३५ घर होमस्टेका लागि तयार पारियो र स्थानीय प्रशासनमा पर्यटन विकास व्यवस्थापन समिति सिरुबारी दर्ता गरेसँगै २०५४ कात्तिक २३ देखि भने पाहुना राख्न थालियो । पर्यटन घरको निर्माणपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५६ मा गाउँ पर्यटन महोत्सवका क्रममा होमस्टेको उद्घाटन गरेका थिए ।

होमस्टेमा पाहुनाका लागि व्यवस्थित कोठा, आरामदायी खाट वा पलङ, सेतो तन्ना, सफा सिरक–डसना, ऐना, टावलका साथै सफा शौचालय र बाथरुमको व्यवस्था छ । पाहुनालाई सुरुमा पञ्चेबाजासहित माला लगाएर स्वागत गरिन्छ । लगत्तै पर्यटन घरमा परिचयात्मक कार्यक्रम गराइन्छ र बस्ने घरमा लगिन्छ ।

स्थानीय सामग्रीबाट बनेको भोजनपछि घाटु, सोरठी, सालैजो, झ्याउरे र भजन चुड्का लगायतका परम्परागत नृत्य तथा गीतसंगीतका कार्यक्रम प्रस्तुत गरिन्छ । मकै, मोही, कोदोको रोटी, स्थानीय मदिरा, गुन्द्रुक, स्थानीय करेसाबारीको तरकारी, लोकल कुखुराको मासु र ढिडो पर्यटकको स्वागतका हिस्सा हुन् ।

पछिल्लो समय सिरुबारीका होमस्टेमा तातो र चिसोपानीसहितका बाथरुमसँगै फ्रि वाईफाई, सोलार बिजुली, सीसीटीभी क्यामरा पनि थपिएका छन् । तर होमस्टेमा आबद्ध घरको संख्या भने घटेर २० मा झरेको छ । खासगरी बेलायती र भारतीय सेनामा कार्यरत सिरुबारीका स्थानीय हाल पोखरा, काठमाडौं जस्ता सहरमा बसाइँ सरेका छन् ।

२७ वर्षपहिले ४ सय रुपैयाँको एक रातको प्याकेज अहिले १४ सय रुपैयाँ पुगेको छ । तर पाहुनालाई गरिने स्वागत सत्कार, खानेकुराको स्वाद र अन्य सुविधा भने फेरिएका छैनन् ।

सिरुबारी गुरुङ बाहुल्य गाउँ भए पनि नजिकै रहेका दलित तथा अन्य समुदायका स्थानीय पनि यसमा आबद्ध छन् । होमस्टेको व्यवस्थापनमा मूलतः गुरुङ समुदायकै भूमिका रहे पनि सांस्कृतिक कार्यक्रम, कला र मनोरन्जनमा भने दलित समुदायको उपस्थिति र भूमिका सशक्त देखिन्छ । जातीय विभेद र असमानता अन्त्यका लागि समेत सिरुबारीबाट अरूले सिक्न पाएका छन् ।

सिरुबारीबाट सुरु भएको होमस्टे संस्कृति अहिले देशभर फैलिएको छ । पछिल्लो समय सिरुबारी होमस्टेको अनुसन्धान र तालिम केन्द्रका रूपमा पनि विकसित भएको छ । देशका विभिन्न स्थानबाट होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विविध पक्षबारे जानकारी लिन सिरुबारी धाउनेको संख्या पनि उल्लेख्य छ ।

सरकारी तथ्यांकअनुसार हाल देशभर १२ सय सामुदायिक होमस्टे सञ्चालनमा छन् । थप ३ सय हाराहारीमा निजी होमस्टे सञ्चालनमा रहेको होमस्टे महासंघका कोषाध्यक्ष सुरज बास्तोला बताउँछन् ।

सिरुबारीसँगै लमजुङको घलेगाउँ कास्कीका ल्वाङ र कालाबाङ घरेडी, पर्वतको चित्रे, तनहुँका काउलेपानी, बन्दीपुर र तनहुँसुर तथा पूर्वी नवलपरासीका अमलटारी र पिपरहर गण्डकी प्रदेशका चल्तीका होमस्टे हुन् । यीमध्ये सिरुबारी, काउलेपानी र पिपरहर मात्र सामुदायिक अवधारणाअनुसार सञ्चालनमा रहेका होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम गुरौले बताए । ‘अन्य होमस्टेले सामुदायिक होमस्टेको मर्म बुझेनन्, जसका कारण आफूखुसी पाहुना राख्ने, मापदण्ड पालना नगर्ने काम भइरहेको छ,’ उनले भने ।

गण्डकी प्रदेशका ११ जिल्लामा ३ सय ३२ सामुदायिक होमस्टे सञ्चालनमा छन् । अनौपचारिक रूपमा ६ सयभन्दा बढी होमस्टे सञ्चालनमा रहेको बास्तोलाको भनाइ छ । ‘विभिन्न स्थानमा अझै होमस्टे खुल्ने क्रम बढ्दो छ,’ गुरौले भने ।

सिरुबारी होमस्टे सुरु भएको १३ वर्षपछि मात्र सरकारले २०६७ मा ‘होमस्टे सञ्चालन कार्यविधि’ ल्याएको हो । कार्यविधिमा होमस्टेका लागि आवश्यक मापदण्ड तथा न्यूनतम पूर्वाधार तोकिएको छ । जसअनुसार कम्तीमा ५ वटा मौलिक घरका धनीहरूको संलग्नतामा सामुदायिक होमस्टे सञ्चालनमा ल्याउन सकिने उल्लेख छ । गण्डकी प्रदेशले भने सामुदायिक होमस्टेका लागि कम्तीमा १० घर हुनुपर्ने मापदण्ड तोकेको छ ।

आवश्यक अनुगमन तथा कारबाही नहुने र स्थानीय तहले सञ्चालन अनुमति दिने र नवीकरण गर्ने भएकाले कतिपय स्थानमा कार्यविधिअनुसार मापदण्डको पालना नभएको गुरौको भनाइ छ । स्थानीय सरकारले अनुगमन तथा कारबाहीमा बेवास्ता गरेपछि गण्डकी प्रदेशमा जिल्ला पर्यटन तथा उद्योग कार्यालयले अनुगमन थालेको छ । तर ती अनुगमन पनि व्यवहारिक र प्रभावकारी नदेखिएको उनले बताए ।

कतिपय सामुदायिक होमस्टेमा प्रदेश सरकारले प्रत्यक्ष लगानीसमेत गरेको छ । तर ती होमस्टेबाट कति स्थानीय लाभान्वित भए भन्ने तथ्यांक सरकारसँग पनि छैन । 

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully