२७ वर्षअघि रुद्रमान गुरुङले सिरुबारीमा दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टेको सुरुआत गर्दै ग्रामीण पर्यटनको जग बसाएका हुन्
स्याङ्जा — स्याङ्जा सदरमुकामबाट २३ किमि दूरीमा छ सिरुबारी गाउँ । समुद्री सतहबाट १६ सय १० मिटर उचाइमा रहेको सिरुबारीलाई खासमा पूर्वबेलायती र भारतीय सैनिक बाहुल्य गाउँ भन्दा पनि फरक पर्दैन । चिटिक्क मिलेका र बाक्ला घर, विकसित सहरमै जस्ता शौचालय र खानेपानी सुविधा, ढुंगा बिछ्याएका सफा र फराकिला बाटाघाटा ।
मनै लोभ्याउने हरिया डाँडापाखा र गुरुङ संस्कृति । त्यसमाथि सामुदायिक वन, गुम्बा, संग्रहालय, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालको आकर्षक दृश्य देख्न सकिने रमणीय स्थान हो आँधीखोला–१ को सिरुबारी ।
गण्डकी प्रदेशको यही सिरुबारीमा २७ वर्षअघि सामुदायिक होमस्टे (घरबास) सुरु भएको हो । स्वर्गीय रुद्रमान गुरुङले सिरुबारीमा दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टेको सुरुआत गर्दै ग्रामीण पर्यटनको जग बसाएका हुन् ।
रुद्रमानले भारतीय सेनाको जागिरे छँदै सिरुबारीबाट ग्रामीण पर्यटनको जग बसाउने सपना देखेका थिए । तर उनको त्यो सपना पूरा हुन भने दुई दशकभन्दा लामो समय लाग्यो । भारतीय सेनाको क्याप्टेनबाट निवृत्त उनी २०४८ मा स्याङ्जा-२ बाट सांसद निर्वाचित भएपछि होमस्टेको सपना साकार पार्न लागिपरे ।
गुरुङको अगुवाइमा गाउँका ४३ मध्ये ३५ घर होमस्टेका लागि तयार पारियो र स्थानीय प्रशासनमा पर्यटन विकास व्यवस्थापन समिति सिरुबारी दर्ता गरेसँगै २०५४ कात्तिक २३ देखि भने पाहुना राख्न थालियो । पर्यटन घरको निर्माणपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५६ मा गाउँ पर्यटन महोत्सवका क्रममा होमस्टेको उद्घाटन गरेका थिए ।
होमस्टेमा पाहुनाका लागि व्यवस्थित कोठा, आरामदायी खाट वा पलङ, सेतो तन्ना, सफा सिरक–डसना, ऐना, टावलका साथै सफा शौचालय र बाथरुमको व्यवस्था छ । पाहुनालाई सुरुमा पञ्चेबाजासहित माला लगाएर स्वागत गरिन्छ । लगत्तै पर्यटन घरमा परिचयात्मक कार्यक्रम गराइन्छ र बस्ने घरमा लगिन्छ ।
स्थानीय सामग्रीबाट बनेको भोजनपछि घाटु, सोरठी, सालैजो, झ्याउरे र भजन चुड्का लगायतका परम्परागत नृत्य तथा गीतसंगीतका कार्यक्रम प्रस्तुत गरिन्छ । मकै, मोही, कोदोको रोटी, स्थानीय मदिरा, गुन्द्रुक, स्थानीय करेसाबारीको तरकारी, लोकल कुखुराको मासु र ढिडो पर्यटकको स्वागतका हिस्सा हुन् ।
पछिल्लो समय सिरुबारीका होमस्टेमा तातो र चिसोपानीसहितका बाथरुमसँगै फ्रि वाईफाई, सोलार बिजुली, सीसीटीभी क्यामरा पनि थपिएका छन् । तर होमस्टेमा आबद्ध घरको संख्या भने घटेर २० मा झरेको छ । खासगरी बेलायती र भारतीय सेनामा कार्यरत सिरुबारीका स्थानीय हाल पोखरा, काठमाडौं जस्ता सहरमा बसाइँ सरेका छन् ।
२७ वर्षपहिले ४ सय रुपैयाँको एक रातको प्याकेज अहिले १४ सय रुपैयाँ पुगेको छ । तर पाहुनालाई गरिने स्वागत सत्कार, खानेकुराको स्वाद र अन्य सुविधा भने फेरिएका छैनन् ।
सिरुबारी गुरुङ बाहुल्य गाउँ भए पनि नजिकै रहेका दलित तथा अन्य समुदायका स्थानीय पनि यसमा आबद्ध छन् । होमस्टेको व्यवस्थापनमा मूलतः गुरुङ समुदायकै भूमिका रहे पनि सांस्कृतिक कार्यक्रम, कला र मनोरन्जनमा भने दलित समुदायको उपस्थिति र भूमिका सशक्त देखिन्छ । जातीय विभेद र असमानता अन्त्यका लागि समेत सिरुबारीबाट अरूले सिक्न पाएका छन् ।
सिरुबारीबाट सुरु भएको होमस्टे संस्कृति अहिले देशभर फैलिएको छ । पछिल्लो समय सिरुबारी होमस्टेको अनुसन्धान र तालिम केन्द्रका रूपमा पनि विकसित भएको छ । देशका विभिन्न स्थानबाट होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विविध पक्षबारे जानकारी लिन सिरुबारी धाउनेको संख्या पनि उल्लेख्य छ ।
सरकारी तथ्यांकअनुसार हाल देशभर १२ सय सामुदायिक होमस्टे सञ्चालनमा छन् । थप ३ सय हाराहारीमा निजी होमस्टे सञ्चालनमा रहेको होमस्टे महासंघका कोषाध्यक्ष सुरज बास्तोला बताउँछन् ।
सिरुबारीसँगै लमजुङको घलेगाउँ कास्कीका ल्वाङ र कालाबाङ घरेडी, पर्वतको चित्रे, तनहुँका काउलेपानी, बन्दीपुर र तनहुँसुर तथा पूर्वी नवलपरासीका अमलटारी र पिपरहर गण्डकी प्रदेशका चल्तीका होमस्टे हुन् । यीमध्ये सिरुबारी, काउलेपानी र पिपरहर मात्र सामुदायिक अवधारणाअनुसार सञ्चालनमा रहेका होमस्टे महासंघ गण्डकीका अध्यक्ष धनीराम गुरौले बताए । ‘अन्य होमस्टेले सामुदायिक होमस्टेको मर्म बुझेनन्, जसका कारण आफूखुसी पाहुना राख्ने, मापदण्ड पालना नगर्ने काम भइरहेको छ,’ उनले भने ।
गण्डकी प्रदेशका ११ जिल्लामा ३ सय ३२ सामुदायिक होमस्टे सञ्चालनमा छन् । अनौपचारिक रूपमा ६ सयभन्दा बढी होमस्टे सञ्चालनमा रहेको बास्तोलाको भनाइ छ । ‘विभिन्न स्थानमा अझै होमस्टे खुल्ने क्रम बढ्दो छ,’ गुरौले भने ।
सिरुबारी होमस्टे सुरु भएको १३ वर्षपछि मात्र सरकारले २०६७ मा ‘होमस्टे सञ्चालन कार्यविधि’ ल्याएको हो । कार्यविधिमा होमस्टेका लागि आवश्यक मापदण्ड तथा न्यूनतम पूर्वाधार तोकिएको छ । जसअनुसार कम्तीमा ५ वटा मौलिक घरका धनीहरूको संलग्नतामा सामुदायिक होमस्टे सञ्चालनमा ल्याउन सकिने उल्लेख छ । गण्डकी प्रदेशले भने सामुदायिक होमस्टेका लागि कम्तीमा १० घर हुनुपर्ने मापदण्ड तोकेको छ ।
आवश्यक अनुगमन तथा कारबाही नहुने र स्थानीय तहले सञ्चालन अनुमति दिने र नवीकरण गर्ने भएकाले कतिपय स्थानमा कार्यविधिअनुसार मापदण्डको पालना नभएको गुरौको भनाइ छ । स्थानीय सरकारले अनुगमन तथा कारबाहीमा बेवास्ता गरेपछि गण्डकी प्रदेशमा जिल्ला पर्यटन तथा उद्योग कार्यालयले अनुगमन थालेको छ । तर ती अनुगमन पनि व्यवहारिक र प्रभावकारी नदेखिएको उनले बताए ।
कतिपय सामुदायिक होमस्टेमा प्रदेश सरकारले प्रत्यक्ष लगानीसमेत गरेको छ । तर ती होमस्टेबाट कति स्थानीय लाभान्वित भए भन्ने तथ्यांक सरकारसँग पनि छैन ।
