पोखरासँग यस्तो प्राकृतिक विविधता छ, जुन एउटै स्थानमा विरलै पाइन्छ, हराभरा जंगल, हिमाल, सफा ताल, गुफा, मनोरम गाउँ र आधुनिक सहरको उपस्थिति हुनु गजब संयोग हो, यसको विशाल सांस्कृतिक विरासत पनि छ, जसका कारण फिल्म सिटी र ठूला स्टुडियो बनाउन पोखरा उपयुक्त ठाउँ हुन सक्छ
नेपाली फिल्म बर्सेनि जति संख्यामा बनिरहेको छ, त्यसको अनुपातमा कथा र प्रस्तुतिको स्तर अझै पनि निकै कमजोर छ । यसका लागि नेपाली फिल्मको इतिहास चिहाउनु पर्दैन, केही वर्षयता बनिरहेका फिल्म हेरे पुग्छ । यसबीच त्यस्ता फिल्म पनि बनेका छन्, जसले हाम्रो फिल्मको धरातललाई फराकिलो बनाउने सामर्थ्य राख्छन् ।
तर उदेकलाग्दो के छ भने यस्ता प्रयासहरू यति सुस्त गतिमा हुन्छन् कि यिनको प्रभावलाई लिएर चलचित्र उद्योगले आफ्नो रचनात्मक र व्यावसायिक गति पक्रन सकेको देखिँदैन ।
६० वर्षे इतिहास बोकेको हाम्रो फिल्म उद्योग अझै किन समृद्ध छैन, जुन हामीभन्दा छोटो इतिहास बोकेका देशहरूसँग छ ? हाम्रा लागि यो यक्ष प्रश्न हो । यसका पछाडि अनगिन्ती कारण हुन सक्छन् । तीमध्ये एउटा कारण हो, सर्वसुलभ र सुविधासम्पन्न फिल्म सिटी र स्टुडियोको अभाव ।
नेपालमा सुविधासम्पन्न र आजको साइबर युगमा आएका परिवर्तनसँग हातेमालो गर्दै जान सक्ने न कुनै फिल्म सिटी छ न त ठूला स्टुडियो नै । फिल्मका लागि चाहिने प्राविधिक उपकरणदेखि जनशक्ति सबैभन्दा बढी उत्पादन गरिरहेको राजधानी काठमाडौंमा पनि सुविधासम्पन्न एउटा स्टुडियो र फिल्म सिटी छैन ।
यसले नेपाली फिल्म बनाउनेहरूले कतिपय ठाउँमा कम्प्रोमाइज गरिरहेका छन् र कतै अनावश्यक खर्चको भार बेहोरिरहेका छन् । सीमित उत्पादन, दुर्गम र अव्यवस्थित ठाउँमा सुटिङ गर्नुपर्ने बाध्यता, व्यावसायिक स्टुडियोको अभाव आदिले नेपाली फिल्म उद्योगमा चुनौती थपेको छ ।
काठमाडौंमा घना बसोबासले ठूला स्टुडियो र फिल्म सिटी निर्माण गर्न मिल्ने ठाउँ अभाव छ । काठमाडौंलाई छोडेर फिल्म सिटी र ठूला स्टुडियो बनाउन पोखरा गजबको ठाउँ हुन सक्छ । पोखरासँग यस्तो प्राकृतिक विविधता छ, जुन एउटै स्थानमा विरलै पाइन्छ । हराभरा जंगल, हिमाल, सफा ताल, गुफा, मनोरम गाउँ र आधुनिक सहरको उपस्थिति हुनु गजब संयोग हो । दृश्यको यो विराट उपस्थितिले विभिन्न विधामा बन्ने फिल्मका लागि मज्जाले पृष्ठभूमिको काम गर्न सक्छ ।
चलचित्र बनाउँदा विस्तृत सेटसमेत आवश्यक पर्दैन । संसारकै लोकप्रिय सिनेमा ‘लर्ड अफ द रिङ्ग’ लाई न्युजिल्यान्डको वेट वर्कसप र त्यहाँका प्राकृतिक छायांकन स्थलले जसरी मद्दत गर्यो, त्यसले अचानक अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई आकर्षित गरेको थियो । जसले त्यहाँको पर्यटन व्यवसाय अगाडि बढाउन र स्थानीय फिल्म उद्योग विस्तार गर्न ठूलो मद्दत गरेको थियो । हामीले पनि पोखरामा फिल्म सिटी बनाउने हो भने नेपाललाई अन्तर्राष्ट्रिय ‘लाइम लाइट’ मा ल्याउन सक्छौं ।
भौगोलिक स्थिति र मौसमका हिसाबले पोखरा फिल्म सिटीका लागि उपयुक्त मान्न सकिन्छ । देशको मध्यभागमा अवस्थित पोखरा राजधानीपछिको ठूलो सहर हो । यहाँ सहरी सुविधा र प्राकृतिक दृश्य एकसाथ भेट्न सकिन्छ । फिल्म निर्माताले आधुनिक र ग्रामीण सेटहरू निर्माणका लागि लामो दूरी यात्रा गर्नुपर्दैन । स्क्रिप्ट अनुकूल बनाएर सजिलै छायांकन गर्न सक्छन् । अन्नपूर्ण र माछापुच्छ्रेजस्ता पर्वत शृंखलाले पोखरालाई सुन्दर पृष्ठभूमि त उपलब्ध गराउँछ नै यसका वरिपरिका फेवा, बेगनास, रूपाजस्ता तालहरूले फिल्मलाई चाहिने जादुमयी संसार निर्माणका लागि भूमिका खेल्न सक्छन् ।
यहाँ पाइने अद्वितीय प्राकृतिक सुन्दरता समेट्न र घान्द्रुक, ल्वाङ्ग, सिक्लेस जस्ता गाउँ पुग्न बाटोघाटो सहज छन् । विकाससँग जोडिएका आधारभूत कुराको उपलब्धताले पोखरा पूर्ण रूपमा फिल्म सिटी बन्न उपयुक्त छ । यदि नेपाली सिने उद्योगले वैश्विक उदाहरणबाट प्रेरणा लिँदै स्थानीय आवश्यकतालाई ध्यानमा राखेर एउटा सुव्यवस्थित फिल्म सिटी पोखरामा निर्माण गर्न सक्यो भने यसले नेपालको फिल्म उद्योगमा उम्दा परिवर्तन ल्याउन सक्छ ।
सन् २०२३ मा उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय पहुँचलाई सहज बनाएको छ । यसले विश्वव्यापी सहकार्य गर्न, अन्तर्राष्ट्रिय सहयोग आकर्षित गर्न र पर्यटन व्यवसाय अगाडि बढाउन मद्दत गर्छ । महान् फिल्महरू केवल उत्कृष्ट कथाबाट मात्र होइन, निर्माण हुने ठाउँबाट पनि जन्मिएका छन् । पोखराको शान्त वातावरण नेपालको सिनेम्याटिक भविष्यको केन्द्र बन्न सक्छ ।
यसै पनि पोखरामा काठमाडौंबाट सिनेमा छायांकन गर्न वर्षमा करिब २० वटा फिल्म आउँछन् । त्यसबाहेक १०–१२ वटा त गुरुङ फिल्म नै बन्छन् । प्रशस्त म्युजिक भिडियो पनि बनिरहेको देख्न पाइन्छ । तर स्टुडियोको अभावमा प्राकृतिक सुन्दरतालाई उपयोग गर्ने या भनौं आउट डोरको सुटमा मात्र सीमित भएको देखिन्छ । ठूला इन्डोर स्टुडियोहरू बन्ने हो र फिल्म बनाउनेका लागि प्राविधिक उपकरण, खानेबस्ने सुविधा, प्रकाशको समुचित व्यवस्थापन गर्ने हो भने यसले नेपाली फिल्म मेकरलाई उम्दा र रचनात्मक वातावरण बनाइदिन सक्छ ।
अर्कोतर्फ प्राकृतिक वातावरण र मानव निर्मित सेटहरू एकै ठाउँमा उपलब्ध हुने भएकाले निर्माता र सिनेमेकरलाई लोकेसन स्काउटिङ, मौसमको प्रतिकूलता आदिले दुःख दिँदैन । उनीहरूले आफ्नो कामलाई नियन्त्रित र व्यवस्थित वातावरणमा ठोस र असल बनाउन समय पाउन सक्छन् ।
पोखरालाई केवल प्राकृतिक सुन्दरतामा सीमित गर्नु यसको विशाल सांस्कृतिक विरासतलाई बेवास्ता गर्नु हो । पोखरा विविध जात र संस्कृतिको संगम स्थल मानिन्छ । यो सहरमा विविध जातका मानिसहरू बसोबास गर्छन्, जसको आफ्नै विशिष्ट परम्परा, चाडपर्व र कला शैली छन् । यहाँ घाटु, सोरठी, भैरव जात्रा, कौडा र भजन चुटका र बालुन जस्ता लोकपरम्परा विद्यमान छन् । यस्ता सांस्कृतिक समृद्धि ती फिल्म निर्माताका लागि खजाना सावित हुन सक्छन्, जसले आफ्नो विषयवस्तुमा प्रामाणिकता र विविधता खोजिरहेका छन् ।
मैले कतै पढेको थिएँ– जुन बेला तपाईंले फिल्म मेकरलाई रचनात्मक थलो उपलब्ध गराउनुहुन्छ त्यो बेला उनीहरूले फगत फिल्म मात्र बनाउँदैनन् । फिल्म सँगसँगै सांस्कृतिक सम्पदा सिर्जना पनि गर्छन् । पोखराको सौन्दर्य र फिल्म सिटीको सम्भावनालाई एक ठाउँमा राखेर हेर्ने हो भने यो उक्ति अझ बढी सान्दर्भिक हुन सक्छ । यहाँ फिल्म सिटी निर्माण गर्दा फिल्म मेकरले अत्याधुनिक पूर्वाधार मात्र होइन कला र संस्कृतिका अन्य कुरासँग पहुँच बनाउन पाउनेछन् । जसले सिनेमेकरलाई आफ्नो रचनात्मक शक्ति समृद्ध गर्ने अवसर उपलब्ध गराउँछ ।
वस्तुतः फिल्म सिटी अत्याधुनिक सुविधाहरूले सुसज्जित भएका हुन्छन् । यसभित्र सुटिङ स्टुडियोहरू, साउन्ड कोठा, सम्पादन कोठा, पोस्ट–प्रोडक्सन सुइटहरू र प्राविधिक उपकरण सेवा उपलब्ध हुन्छन् । यी सबै स्रोतहरू एकै ठाउँमा पाइने हुँदा फिल्म निर्माताका लागि काम गर्न सजिलो र लागतलाई प्रभावकारी बनाउँछ ।
यसबाहेक फिल्म सिटीले सेट डिजाइन, पोसाक, विशेष प्रभावहरू र खानपान जस्ता सहायक सेवाहरू पनि प्रदान गर्छन् । निर्देशक, कलाकार, प्राविधिक र अन्य कुशल जनशक्ति उत्पादनलाई थप सहज बनाउँछ । फिल्म सिटीले उन्नत प्रविधिहरू, जस्तै सीजीआईदेखि भर्चुअल उत्पादनसम्म प्रयोग गरेर सिर्जनात्मकता र नयाँ प्रयोगलाई प्रोत्साहन गर्छ ।
पोखरालाई फिल्म सिटी बनाउन राज्य संयन्त्रका सम्बन्धित व्यक्तिले बेलाबखत कुरा उठाएको पाइन्छ, तर कार्यान्वयन हुन सकेको छैन । १०–१२ वर्षअघि नै चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीसहितको टोलीले कास्कीको धिताल गाउँमा अध्ययन गरेर स्टुडियो निर्माण गर्न सकिने प्रतिवेदन तयार गरेको थियो । भण्डारीले २ अर्ब बजेट विनियोजनका लागि सरकारसमक्ष माग गर्ने बताएका थिए ।
त्यतिबेला स्थानीयले स्टुडियोका लागि आवश्यक जग्गासमेत उपलब्ध गराएका थिए । तर, त्यो प्रतिवेदनमै सीमित भयो । स्थानीयको सहयोग हुँदाहुँदै पोखरामा फिल्म सिटी बनाउने विषय राज्यको प्राथमिकतामा नपर्नु दुर्भाग्यपूर्ण छ ।
फिल्म सिटीमा लगानी गर्नु राष्ट्रको संस्कृति, अर्थतन्त्र र पहिचानमा लगानी गर्नु हो । चीनको हेङडियन वर्ल्ड स्टुडियोज बनाइएका ठूला ऐतिहासिक सेटले घरेलु उद्योगलाई मात्र नभई ऐतिहासिक चलचित्रमा रुचि राख्ने अन्तर्रास्ट्रिय निर्मातालाई पनि आकर्षित गरेको छ । भारतको हैदरावादमा रहेको रामोजी फिल्म सिटीले हजारौं मानिसलाई रोजगारी दिन्छ । यसले स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याउँदै आएको छ ।
अमेरिकाको लस एन्जल्सको युनिभर्सल स्टुडियोज विशेषगरी निर्माणमा प्रयोग हुने गरेको छ तर पर्यटनको केन्द्र बन्न पनि सफल छ । भ्रमण र मनोरन्जन दुवैतर्फबाट यसले आम्दानी गर्छ । हामीले उनीहरूको प्रयत्न र अभ्यासबाट प्रेरणा लिनुपर्छ ।
पोखरामा फिल्म सिटी बनाउनु केवल नेपाली फिल्म उद्योग प्रवर्द्धन गर्ने अवसर मात्र नभई सांस्कृतिक संरक्षण, आर्थिक वृद्धि र विश्वव्यापी मान्यता प्राप्त गर्ने मौका हो भन्ने बुझ्नुपर्छ । फिल्म सिटी केवल संरचना होइन, यो एउटा नयाँ कथा बुनिने ठाउँ हो । पोखरामा फिल्म सिटी बनाउन प्रयत्न गरियो भने यसको सिनेम्याटिक उज्यालोले विश्व चम्काउने क्षमता राख्छ । बस, मात्र एउटा कोसिस चाहिन्छ ।
