गण्डकीका विभिन्न जिल्लामा फरक–फरक भाका गाइन्छ– लमजुङमा ठाडो भाका, बागलुङमा यानीमाया, तनहुामा कौडा, स्याङ्जामा रोइला, ख्याली, ठाडो भाका, कास्कीमा सालैजोले आफ्नो छुट्टै पहिचान बनाएका छन्
सबै ठाउँका आ–आफ्ना कला, संस्कृति र विशेषता छन् । त्यसमा पनि गण्डकी लोकसंगीतको खानी हो । यहाँ सालैजो, कौडा, रोइला, ख्यालीदेखि धेरै चलनचल्तीका गीत गाइन्छ । यानीमाया, ठाडो भाका पनि यही क्षेत्रमा गाइन्छ ।
समग्रमा हेर्दा आफ्नो संस्कार, संस्कृति, मौलिकता बोकेका र हरेक क्षेत्रले मन पराउने गीत गण्डकी प्रदेशमा गाइन्छन् । कलाकारले पनि आफ्नो मौलिक कला, संस्कृतिलाई गीतमार्फत प्रस्तुत गर्ने काम गरेका छन् ।
कलाकारदेखि गीत गायनसम्मका विषय हेर्दा लोकदोहोरीमा गण्डकी अघि छ । सबैले हामीलाई रुचाउनुभएको छ । हाम्रो चाहना पनि यही हो– हाम्रा गीत सबैले गुनगुनाउन सक्ने होऊन् ।
अहिले कति रत्यौली गीत गाइएका छन् । तिनै गीतलाई दोहोरी बनाएर गाइएको पनि छ । गण्डकीका पनि विभिन्न जिल्लामा फरक–फरक भाका गाइन्छ । लमजुङमा ठाडो भाका, बागलुङमा यानीमाया, तनहुँमा कौडा, स्याङ्जामा रोइला, ख्याली, ठाडो भाका, कास्कीमा सालैजो गाइन्छ ।
यी गीत विभिन्न समुदायलाई चिनाउने गीत हुन् । जुन समुदायले गीत गाएको छ, उसले आफ्नो समुदायको वेशभूषामा सजिएर नाच्ने गर्छ । कुन समुदायको पोसाक कस्तो भन्नेबारे दर्शक–श्रोताले सहजै थाहा पाउन सक्छन् ।
लोकदोहोरीमा मौलिकता बोकेका भाका यिनै हुन् । पञ्चैबाजा गीतको धुन बढी बागलुङमा चल्ने गरेका छन् । बागलुङ र स्याङ्जामा बज्ने पञ्चैबाजाको धुन फरक छ । पहिला–पहिला गाउँघरका रोदीमा दोहोरी गाइन्थ्यो । रोदी दुःख पीडा पोख्ने थलो बन्थे ।
दिनभर मेलापातमा व्यस्त भएर थकित बनेकाहरू साँझ जम्मा भएर कथा–व्यथा समेटिएका दोहोरी गाउँथे । तर समय परिवर्तनशील छ । यससँगै धेरै कुरा परिवर्तन हुन जरुरी छ । अहिले ऊ बेला गाउँघरमा गाइने भाकाले व्यावसायिकता पाएको छ ।
पहिला गाउँ घरमा रोदी बस्दा गाइने गीत, गाउने शैली र ती शब्दले बोक्ने भाव गहिरा हुन्थे । किनकि त्यसमा व्यावसायिकता जोडिएको थिएन । त्यहाँ मात्र मौलिकता र संस्कृति जोडिएको हुन्थ्यो । अहिले रोदीघर, दोहोरी साँझतिर गाइने गीतको भाव र शब्द त्यति ओजिला छैनन्, यो विशुद्ध व्यावसायिक हुँदै गएको छ । यसले पहिला–पहिला रोदीमा केटाकेटी बसेर यसरी गाइन्थ्यो भन्ने आभास त देला । तर ऊ बेलामा गाउँघरको रोदी बसेर गाएको गीतजस्तो अनुभूति गराउँदैन ।
म सानै थिएँ । रोदीमा यस्ता–यस्ता गीत गाउँथ्यौं भनेर अरूले सुनाउँथे । ती शब्दको भाव गहिरो लाग्थ्यो । सुन्दा सरल लाग्ने तर शब्दले गहिरो भाव बोकेका हुन्थे । पैसाका लागि गीत गाउनुपर्छ भन्ने हुँदैनथ्यो । क्यासेट निकालौंला भन्ने पनि थिएन । भीडमा आफ्ना कथाव्यथालाई गीतका माध्यमबाट भन्न पाउँदा आत्मसन्तुष्टि मिल्थ्यो । जसरी हुन्छ आफ्नो प्रतिभा, संस्कृति, संस्कार र मौलिकता जोगाऔं भन्ने हुन्थ्यो ।
अहिले त्यसरी ओजिला शब्द टिपेर गाउने कलाकार कमै भेटिन्छन् । लोक–संगीत जोगिनुपर्छ । लोक–संगीत जोगाउनुपर्छ भनेर बुझ्ने, अनुसन्धान गर्ने अहिले कुनै पनि निकाय छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको म अहिले वरिष्ठ उपाध्यक्ष हुँ । तैपनि हामी अनुशासित बन्नुपर्छ । मर्यादित बन्नुपर्छ । लोकगीतले भाव बोक्नुपर्छ । गीत–संगीतले सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्छ भनेर सचेत गराउँदै आएका छौं । तैपनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई यो गर्नैपर्छ भन्ने जिम्मेवारी र अधिकार छैन ।
अधिकार नहुँदानहुँदै पनि प्रश्न गर्न भने छाडेका छैनौं । सरकारीस्तरबाट लोक–संगीत जोगाउनुपर्छ । लोक–संगीतका विशेषता के–के हुन् ? कुन प्रदेशमा के–के भाका गाइन्छन् ? यसलाई हामीले कसरी जोगाउने भनेर चासो दिने निकाय छैन । सरकारी निकायको चासो छैन । जसले गर्दा यो क्षेत्रमा विकृति, विसंगति आउने, बढ्ने जोखिम छ । गायन क्षेत्रमा लाग्नेहरू आफू अनुशासित हुनुपर्छ ।
मैले गाएका गीत भोलि छोराछोरी ठूला भएपछि सुनेमा मेरो बुबाआमाले कस्तो गीत गाउनुभएको रहेछ । यस्तो गीत गाएर पो गायक बन्नुभएको रहेछ भन्दा त्यसले आत्मसन्तुष्टि मिल्दैन । भोलिका दिन सम्झेर पनि अहिले गीत गाउँदा नै सोच्नुपर्छ । अहिले गीत गाउनु भनेको बुढेसकालमा चिन्ने माध्यम पनि हो । त्यसैले गीत लेख्ने, गाउने बेलामा राम्रो सोच, विचार र मिहिनेत गर्नुपर्छ । अहिले राम्रो गीत गाए भोलि छोराछोरी, नातिनातिनाको छाती गर्वले फुल्नेछ ताकि मेरो बुबाआमा–हजुरबाआमा यति राम्रो गीत गाउने गायक हुनुहँॅदो रहेछ भन्ने होस् ।
सबै संगीतको आधार भनेको लोकदोहोरी हो । सुगम संगीत होस्, या भजन नै किन नहोस्, सबैको आधार यही हो । लोकगीत कहिल्यै मर्दैन । पहिलादेखि हेर्ने हो भने लोकसंगीतलाई माया गर्ने दर्शक बढी छन् । नेपाली गीत नै लोकगीतजस्तो लाग्छ । मिहिनेतसाथ राम्रोसँग गीत–संगीत गर्नेको भविष्य छ । आफ्नो मौलिकतालाई बिर्सिएर बढी आधुनिक हुन खोज्यौं भने लोकसंगीत हराउन सक्छ । यसमा कलाकार सचेत हुनुपर्छ । दर्शक–श्रोताले बुझ्न सक्ने गीत–संगीत हुनुपर्छ ।
गायक–गायिकाले लोकसंगीत सम्बन्धी ज्ञान लिनुपर्छ । अनुसन्धान गर्नुपर्छ । गाउँघरतिर गएर पाका पुराना बाआमासँग पहिला कस्ता गीत गाइन्थे । अहिलेका गीत कस्ता छन् भनेर सोधखोज गर्नुपर्छ भन्ने पनि हेर्नुपर्छ । युवा पुस्तालाई हामीले लोकसंगीतबारे सिकाउन सक्ने हुनु छ । लोकसंगीतको अध्ययन अनुसन्धानमा पनि ध्यान दिनुपर्नेछ ।
