‘एराज टुर’ सँगै सर्वाधिक धनी महिला संगीतकर्मी बनिन् स्विफ्ट

अमेरिकाको एरिजोनाबाट २०२३ मार्च १७ देखि सुरु भई २१ महिनासम्म चलेको ‘एराज टुर’ मा ६ महादेशका २१ देशबाट १ करोड १ लाख ६८ हजार ८ जना सहभागी भए, टुरबाट प्राप्त सम्पत्तिले स्विफ्ट विश्वकै सर्वाधिक धनी महिला संगीतकर्मी बनेकी छन् ।

पुस ३, २०८१

बुद्धिसागर मरासिनी

Swift became the richest female musician with 'Erase Tour'

काठमाडौँ — गीतको माध्यमबाट विश्वमै सबैभन्दा धेरै अर्थोपार्जन गर्ने गायिका हुन्, टेलर स्विफ्ट । फोर्ब्स म्यागेजिनका अनुसार ३४ वर्षीया स्विफ्टसँग १ अर्ब ६० करोड अमेरिकी डलर बराबर सम्पत्ति छ । गीत/संगीत क्षेत्रको आयआर्जनबाट सर्वाधिक धनी महिला संगीतकर्मी पनि उनै हुन् ।

स्विफ्ट भन्दा २० करोड डलर कम सम्पत्तिसहित गायिका रिहाना दोस्रो धनी संगीतकर्मीको सूचीमा छिन् । स्विफ्ट पहिलो पटक २०२३ अक्टोबरमा फोर्ब्सको अर्बपतिको सूचीमा अटाएकी थिइन् । त्यतिबेला उनीसँग १ अर्ब १० करोड अमेरिकी डलरको सम्पत्ति थियो । 

यिनै प्रभावशाली गायिकाले २०२२ नोभेम्बरमा एउटा सांगीतिक टुरको घोषणा गरिन्– ‘एराज’ । अर्थात् युगहरू । टुरका क्रममा स्विफ्टले आफूले गर्ने प्रस्तुति एकातर्फ पुरानो इतिहास हुने र अर्कोतर्फ नयाँ भविष्य पनि बन्ने भएकाले टुरको नाम ‘एराज’ राखेको बताएकी थिइन् ।

टुरकै दौरान स्विफ्ट सन् २०२३ मा टाइम वर्ष व्यक्ति पनि घोषित भएकी थिइन् । टाइम म्यागेजिनले अन्धकार छाइरहेको विश्वमा गीत/संगीतमार्फत उज्यालो छरेकी र सीमासहित अद्वितीय प्रभाव विस्तार गर्न सफल भएकी भन्दै वर्ष व्यक्ति घोषित गरेको थियो । 

‘एराज टुर’ मा १ करोड १ लाख फ्यानमाझ डेढ सयभन्दा बढी कार्यक्रम प्रस्तुत गरिने जनाइएको थियो । ती सो ६ महादेशका ५३ सहरका लागि निर्धारित थिए । सोका लागि २ अर्ब अमेरिकी डलर बराबरको टिकट बिक्री हुने जनाइएको थियो । त्यसका साथै टुरले स्थानीय अर्थतन्त्रको उत्थान गर्ने जनाइएको थियो ।

२०२३ मार्च १७ मा सुरु भएको टुर २१ महिनापछि गत साता सकिएको छ । अमेरिकी राज्य एरिजोनास्थित ग्लेन्डेलबाट सुरु भएको टुरको अन्तिम कार्यक्रम क्यानडाको भ्यानकुभरमा गत आइतबार सकिएको हो । 

तोकिएकामध्ये तीनवटा कार्यक्रम भने रद्द भए । अस्ट्रियाको भियनामा गत अगस्ट ८ देखि १० सम्मका लागि तय गरिएका तीनवटा कार्यक्रममा आतंकवादी हमलाको तयारी रहेको सूचना पाएपछि रद्द गरिएको थियो । उक्त घटनासँग सम्बन्धित तीन जनालाई पक्राउ पनि गरिएको थियो । आयोजक बाराकुडा म्युजिकले ‘सरकारी अधिकारीहरूबाट अर्नस्ट ह्यापल स्टेडियममा नियोजित आतंकवादी हमलाको तयारी गरिएको पुष्टि भएपछि, हामीसँग सबैको सुरक्षाका लागि पूर्वयोजनाअनुसारका तीन कार्यक्रम रद्द गर्नुको विकल्प नभएको’ जनाएको थियो । 

रोकिएका तीनवटाबाहेक अन्य कार्यक्रमका लागि कुल २ अर्ब २० करोड अमेरिकी डलर बराबरको टिकट किनबेच भएको छ । टेलरको कम्पनीले न्युयोर्क टाइम्सलाई जनाएअनुसार ‘एराज टुर’ को टिकट बिक्री यसअघिको सबैभन्दा सफल टुरको तुलनामा दोब्बर बढी हो । यसअघि कोल्डप्लेको १ सय ५६ दिन लामो ‘म्युजिक अफ द स्फेयर्स’ वर्ल्ड टुरमा १ अर्ब अमेरिकी डलरको टिकट बिक्री भएको थियो । 

गायिका स्विफ्टले द टाइम्सलाई बताएअनुसार ‘एराज टुर’ अन्तर्गत भएका १ सय ४९ सोमा ६ महादेशका १ करोड १ लाख ६८ हजार ८ जना उपस्थित भए । ती कार्यक्रमको औसत मूल्य २ सय ४ अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

कार्यक्रममा स्विफ्टको १८ वर्ष लामो सांगीतिक करिअरमा गाइएका विभिन्न गीत समावेश थिए । भ्रमणका क्रममा स्विफ्टले आफ्नो ११ औं एल्बम ‘द टर्चर्ड पोइट्स डिपार्टमेन्ट’ पनि रिलिज गरिन् । त्यस्तै, उनले ‘स्पिक नाउ’ र ‘१९८९’ गरी दुइटा पुनः रेकर्ड गरिएका एल्बमहरूको पनि घोषणा गरिन् । कन्सर्ट सुरु हुनुभन्दा दुई साताअघि फोटो पुस्तक सार्वजनिक गरेकी स्विफ्टले २०२३ अक्टोबरमा आफ्नो डकुमेन्ट्री कन्सर्ट फिल्म रिलिज गरेकी थिइन् । 

‘एराज टुर’ स्विफ्टको सन् २०१८ यताकै पहिलो हो । उनले सन् २०२० मा सांगीतिक कार्यक्रम ‘लभर फेस्ट’ को घोषणा गरेकी थिइन् । तर कोभिड महामारीका कारण उक्त टुर रद्द गर्नुपरेको थियो । उनले ‘एराज टुर’ को पहिलो चरणबाट कर तिरेर अनुमानित १९ करोड, ‘टेलर स्विफ्ट ः द एराज टुर’ फिल्मको प्रदर्शनको पहिलो दुई साताबाट ३ करोड ५० लाख कमाएकी थिइन् । त्यस्तै, उनले म्युजिक रोयल्टी र भ्रमणबाट करिब ५० करोड र ‘म्युजिक क्याटलग’ को मूल्यांकनको वृद्धिबाट ५० करोड र १ करोड २५ लाख घरजग्गाबाट कमाएकी फोर्ब्सले जनाएको छ । 

स्विफ्टको टुरकै कारण प्रत्यक्ष रूपमा झन्डै सबा २ अर्ब अमेरिकी डलरको टिकट किनबेच भयो । अप्रत्यक्ष रूपमा थप अर्बौंको कारोबार भयो । जसका कारण विश्वभर चहलपहल मात्र बढेन, कोभिड महामारीले थलिएका होटल तथा पर्यटनलगायत व्यवसायले पुनर्जीवन पाए । स्विफ्टको कार्यक्रम भएका प्रमुख सहरहरूको आम्दानी टुरकै कारण निकै बढेको थियो । 

अमेरिकामा मात्र होइन, उनी जता गइन्, उतै आर्थिक चहलपहल देखियो । उनको ‘एराज टुर’ कै कारण अंग्रेजी शब्दकोषमा एक नयाँ शब्द पनि थपियो, ‘स्विफ्टोनोमिक्स’ । यो शब्दले स्विफ्टका कारण उत्पन्न आर्थिक गतिविधि वा प्रभावलाई जनाउँछ ।

त्यस्तै, यसअघि उनकै कारण शब्दकोशमा ‘स्विफ्टी’ शब्द पनि थपिएको थियो । सुन्दर र हिस्सी परेकी स्विफ्ट विश्वभरका युवा पुस्तामाझ निकै लोकप्रिय छिन् । त्यसरी उनलाई रुचाउने र उनीबाट प्रभावित हुने फ्यानलाई ‘स्विफ्टी’ भन्न थालियो । आफ्नै फेसन शैली पछ्याउने स्विफ्टको व्यक्तिगत जीवनबारे ‘स्विफ्टी’ लाई चासो नहुने कुरै भएन । 

त्यसैले त उनको कार्यक्रम हेर्नका लागि कतिपय ‘स्विफ्टी’हरू उनलाई अमेरिकाबाट पछ्याउँदै युरोपेली देशसम्म पनि पुगेका समाचार सार्वजनिक भएका थिए । उनको टुरका कारण पर्यटकीय गतिविधिमा आएको परिवर्तन र उनका फ्यानले एक देशबाट अर्को देशसम्म गरेको भ्रमणलाई ‘टुर टुरिजम’ भन्न थालिएको छ ।

स्विफ्टले अमेरिका, मेक्सिको, ब्राजिल, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, स्पेन, स्विडेन, पोर्चुगल, पोल्यान्ड, अस्ट्रेलिया, जापान, सिंगापुरलगायतका २१ देशका ५१ प्रमुख सहरमा कन्सर्ट गरेकी थिइन् । अमेरिकामा मात्रै २३ सहरमा ६२ कार्यक्रम भए । अमेरिकाको सियाटलमा त उनको कन्सर्टमा उपस्थित फ्यानहरूले हुटिङ तथा नाचगानको हल्लाले गर्दा २.३ म्याग्निच्युडको कम्पन नै आएको थियो ।

१९८९ डिसेम्बर १३ मा अमेरिकाको पेन्सिलभानियामा जन्मिएकी हुन् स्विफ्ट । वास्तविक नाम टेलर एलिसन स्विफ्ट भए पनि उनी कालान्तरमा टेलर स्विफ्टको नामले चर्चित भइन् । एप्पल म्युजिक र स्पोटिफाईमा उच्च स्ट्रिम हुने महिला संगीतकर्मीमा पनि पर्छिन् स्विफ्ट । बाबुआमाले आफूलाई मन पर्ने अमेरिकी गायक तथा गीतकार जेम्स टेलरको नामबाट टेलर स्विफ्ट राखेका हुन् । 

Swift became the richest female musician with 'Erase Tour'

बाल्यकालमा पिताको क्रिसमस ट्री फार्ममा समय बिताउने उनले त्यसबाट प्रभावित भएर क्रिसमस ट्री फार्म बोलको गीतसमेत निकालिन् । उनले हजुरआमाको प्रेरणाका कारण बाल्यकालमै गायनमा आकर्षित भएको बताउँछिन् । उनकी हजुरआमा व्यावसायिक ओपेरा गायिका थिइन् ।

स्विफ्टको नाममा गीत संगीतसम्बन्धी १ सय १८ वटा गिनिज वर्ल्ड रेकर्डसमेत छन् । स्विफ्टले हालसम्म १५ वटा एल्बम निकालिसकेकी छन् । सन् २००६ मा पहिलो एल्बम ‘टेलर स्विफ्ट’ बजारमा ल्याइन् । त्यसयता उनले सन् २०१४ सम्म हरेक दुई वर्षको अन्तरालमा एल्बम सार्वजनिक गरिन् । ती हुन्– ‘फियरलेस’, ‘स्पिक नाउ’, ‘रेड’ र ‘१९८९’ । 

उनले छैटौं एल्बम रेपुटेसन’ २०१७ र सातौं एल्बम ‘लभर’ २०१९ मा ल्याइन् । सन् २०२० मा भने उनले दुइटा एल्बम बजारमा ल्याइन्, ‘फल्कमोर’ र ‘एभरमोर’ । ‘फियरलेस’ र ‘रेड’ (टेलर्स भर्सन) २०२१ मा सार्वजनिक भए । अर्को वर्ष ‘मिडनाइट्स’ निकालेकी उनले २०२३ मा दुइटा एल्बम ‘स्पिक नाउ’ र ‘१९८९’ टेलर्स भर्सन बजारमा ल्याइन् । स्विफ्टको पछिल्लो एल्मब हो, ‘द टर्चर्ड पोइट्स डिपार्टमेन्ट’ । यो एल्बम उनले गत अफ्रिलमा सार्वजनिक गरेकी हुन् ।

सन् २०१४ को पाँचौं एल्बम ‘१९८९’ व्यावसायिक रूपमा निकै सफल रह्यो । आलोचकले पनि मन पराए । तर उनी यसै क्रममा लगातार विवादमा पनि परिन्, धेरैसँग विवाद अनि झगडा गरिन् । सन् २०१६ आइपुग्दा नपुग्दै उनी यस्ता विवाद, व्यर्थका चर्चाबाट आजित भइन् । त्यसपछि उनले सामाजिक सञ्जालबाटै अलग हुने घोषणा गरिन् । सन् २०१७ को ‘रेपुटेसन’ एल्बमको गीत

‘लुक ह्वाट यु मे मी डु’ लाई त रोलिङ स्टोन पत्रिकाले सर्वाधिक उत्कृष्ट गीतमध्ये एक घोषित गर्‍यो । कतिपयले त यसलाई स्विफ्टको अहिलेसम्मकै उत्कृष्ट गीत भनेका छन् । स्विफ्ट बेलाबखतमा भने विवादमा आइरहन्छिन् ।

पछिल्लो समय भने उनी अमेरिकी राष्ट्रपतीय चुनावका कारण चर्चा र विवाद दुवैमा परिन् । गत नोभेम्बर ५ मा भएको चुनावमा उनी डेमोक्रेटिक दलकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसको समर्थनमा उत्रिन् । अमेरिकी राजनीतिमा उनको ‘इन्ट्री’ ले नयाँ तरंग नै पैदा गरिदिएको थियो । त्यसपछि डोनाल्ड ट्रम्पले स्विफ्टलाई घृणा गर्ने बताएका थिए । उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आई हेट टेलर स्विफ्ट (म टेलर स्विफ्टलाई घृणा गर्छु ।)’ 

स्विफ्टको समर्थनसँगै ह्यारिसले चुनाव जित्ने आकलन पनि गरिएको थियो । तर ह्यारिस अप्रत्याशित रूपमा पूर्वराष्ट्रपति ट्रम्पसँग पराजित भइन् । राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले उनको आलोचना गर्न भने छाडेका छैनन् । गत बिहीबार सन् २०२४ का लागि टाइम वर्ष व्यक्ति घोषित भएपछि पनि ट्रम्पले स्विफ्टलाई टाइम वर्ष व्यक्तिको अन्तिम सूचीमा पारेको भन्दै म्यागेजिनको आलोचना गरेका थिए । 

विवाद र चर्चा जेसुकै होस् तर गायिका तथा गीतकारका रूपमा स्विफ्ट अब्बल दर्जाकी भएकोमा भने कुनै शंका छैन । नत्र उनका एल्बम बिक्री २० करोडभन्दा बढी भएर रेकर्ड कायम हुने थियो र ? अनि ‘एराज टुर’ले ऐतिहासिक कीर्तिमान कायम गर्थ्यो होला त ? 

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully