रुकुम पश्चिम — भान्सा चलाउन दाउरा, ग्यास र विद्युत्लगायत इन्धन आवश्यक हुन्छ । इन्धनका यी स्रोतको विकल्प जुटाउन तल्लीन छन् नवलपुरका विमल शर्मा । बागलुङको भकुन्डेमा जन्मेहुर्केका विमलले अहिले नवलपुरस्थित गैंडाकोटमा करिब ४ करोडको लगानीमा बायो ब्रिकेट उद्योग सञ्चालन गरेर रोजगारी त सिर्जना गरेका छन् नै, सँगै वातावरणमैत्री इन्धन पनि उत्पादन गरिरहेका छन् ।
‘वन र कृषिमा आधारित स्रोतबाट प्रयोग भएर बचेको भागलाई कच्चा पदार्थका रूपमा संकलन गर्ने र त्यसैबाट बायो ब्रिकेट र प्यालेट निर्माण गरिरहेका छौं,’ विमलले भने, ‘वनका पात–पतिंगर, रुखका हाँगाबिँगा, पराल, गहुँको नल र तरकारीको झारपात आदिबाट यो तयार हुन्छ ।’
सुरुमा कच्चा पदार्थ संकलन गरेर त्यसलाई धूलो बनाउने, उक्त धूलोलाई मेसिनले सुकाएर त्यसमा रहेको पानीको आर्द्रतालाई निर्मूल गरी सुक्खा बनाउने र उक्त धूलोलाई मेसिनमा राखेर ब्रिकेट तयार हुने विमलले बताए । ‘यो कम्तीमा ६ देखि बढीमा ९० मिलिमिटर (एमएम) को आकारमा हुन्छ,’ उनले भने, ‘६ देखि १२ एमएमसम्मकोलाई प्यालेट र ४० देखि ९० एमएमसम्मकोलाई ब्रिकेट भनिन्छ ।’
साना उद्योग र घरायसी प्रयोजनमा प्यालेट तथा ठूला उद्योगमा ब्रिकेटको प्रयोग गरिने पनि विमलको भनाइ छ । धूवाँ नआउने र वातानुकूलित भएकाले अरू इन्धनभन्दा ब्रिकेट उत्तम विकल्प भएको उनले दाबी गरे । ‘दाउराको तुलनामा यसको तापमान दोब्बर हुन्छ । यसकारण कम खर्चमा छिटो र छरितो काम हुन्छ,’ ब्रिकेटको विशेषताबारे स्पष्ट पार्दै विमल भन्छन्, ‘यसको प्रयोग गर्दा धूवाँ नआउने भएकाले कार्बन उत्सर्जन पनि हुँदैन । यसकारण यो वातावरणमैत्री छ ।’
बेलायतबाट सूचना प्रविधि (आईटी) मा स्नातकोत्तर गरेका विमल २०१२ मा गाउँ फर्किएपछि गाउँमै फर्निचर उद्योगमा काम थाले । ‘आईटी पढ्न त पढियो तर त्यो बेला नेपालमा यसको स्कोप थिएन । यसकारण म उद्यममै लागें,’ उनले भने । सानोमा घरमा रहेको काठ मिलमा काम गरेका विमलले बेलायतबाट फर्केर पुर्ख्यौली गाउँ भकुन्डे फर्किएर काष्ठ उद्योगमा लगानी गरे । त्यो बेला उनको परिवार नवलपुरको गैंडाकोट बसाइँ सरिसकेको थियो । तर उनले गाउँमै उद्यम गर्ने जाँगर गरे । यसकारण गाउँमा रहेको आफ्नो पुरानो काष्ठ उद्योगलाई उनले विस्तार गरे ।
‘केही वर्ष गाउँमै अनि एक वर्षजति बागलुङ बजारमा उद्योग खोलेर काम गर्न थाल्यौं । काठमा आकर्षक डिजाइन निकालेर बागलुङसँगै आसपासका जिल्लासम्म हाम्रो उत्पादन जान थाल्यो,’ उनी भन्छन्, ‘सन् २०१९ सम्म गाउँ अनि बागलुङ बजारमा रहेको काष्ठ उद्योगको व्यवसाय राम्रै चलिरहेको थियो । तर कोभिडपछि भने उद्योग केही समय बन्द गर्नुपर्यो । त्यसपछि हामीले व्यवसाय नवलपुर सार्यौं ।’ त्यहाँ गएपछि केही नयाँ र फरक गर्न सकिन्छ कि भनेर सोधीखोजी थालेको उनले बताए । ‘काष्ठ उद्योगबाट आएको र खेर जाने स–साना टुक्रा र धूलोलाई पणः प्रयोग गरेर ब्रिकेट बनाउन सकिने निष्कर्ष आयो,’ विमल भन्छन्, ‘लामो अध्ययन र अभ्यासपछि एक वर्षदेखि ब्रिकेट उत्पादन थालेको हुँ ।’
गैंडाकोटमा रहेको करिब ५ कट्ठा निजी जग्गामा विमलले काष्ठ उद्योगलाई पनि विस्तार गरेका छन् भने साथसाथै ब्रिकेट उद्योगको काम पनि गरिरहेका छन् । ब्रिकेट उद्योगमा मात्रै अहिले दैनिक १७ जनाले रोजगारी पाएको उनले बताए । यसबाहेक सिजनका बेला दैनिक ज्यालादारीमा थप कामदार व्यवस्थापन गरिँदै आएको उनले बताए ।
आफ्नै तथा आसपासमा रहेका काष्ठ उद्योग तथा किसानले काम गरेर प्रयोग नहुने वस्तुलाई कच्चा पदार्थका रूपमा संकलन गरेर उनले ब्रिकेट बनाउने काम गरिरहेका छन् । ‘हामी काठ बनाएर आएको धूलोदेखि काम नलाग्ने टुक्राटाक्रीका साथै किसानबाट कृषि उपजको खेर जाने भाग किन्छौं,’ उनी भन्छन्, ‘यसले एकातिर उनीहरूलाई आर्थिक लाभ भएको छ भने अर्कोतिर मेरो पनि काम भएको छ ।’ ब्रिकेट बनाउन छुट्टै कुनै चिजलाई नष्ट गर्नुपर्ने भएकाले पनि यो लाभदायक रहेको उनी बताउँछन् ।
अहिले दैनिक ४ टनसम्म ब्रिकेट उत्पादनको काम भइरहेको विमलको भनाइ छ । ‘हामी प्रतिकिलोका हिसाबमा यसको बिक्री गरिरहेका छौं,’ उनी भन्छन्, ‘एक किलो ब्रिकेटलाई ३० देखि ३३ रुपैयाँसम्ममा बेचिरहेका छौं ।’
घरको भान्साका लागि भन्दा पनि साना–ठूला उद्योग तथा होटलमा यसको माग बढिरहेको विमल बताउँछन् । ‘खासगरी काठमाडौंमा यसको माग धेरै छ,’ उनले भने, ‘पछिल्लोपल्ट हामीले ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्रका उद्योगको माग पूर्ति गर्ने योजनामा लागिरहेका छौं । बिस्तारै यसको महत्त्व बुझ्दै छन् । यसकारण माग पनि बढिरहेको छ ।’
मूल चिजको प्रयोग गरेर खेर जाने चिजलाई सदुपयोग गर्ने, जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गर्ने, वनजंगल फँडानी कम हुने, धूवाँधूलोका कारण लाग्ने रोगबाट बच्न सकिने र इन्धनको आयातसमेत घटाउन सकिनेलगायत ब्रिकेटका फाईदा रहेको विमलको दाबी छ ।
