४ स्रष्टालाई ओम-इन्द्रमोहन पुरस्कार

मंसिर ३, २०८१

रमेशचन्द्र अधिकारी

Om-Indramohan Award to 4 creators

धनकुटा —  इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका चार स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । गुठीले ‘ओम–इन्द्रमोहन स्मृति पुरस्कार’ हरेक दुई वर्षमा साहित्य, पत्रकारिता तथा गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गर्दै आएको छ ।

यसक्रममा गीत/संगीततर्फ गायिका कुन्ती मोक्तान, साहित्यकार तथा पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवाली र कवि मञ्जुश्री गिरीलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो । 

विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कवि गिरीलाई १५ हजार र अन्य तीन जनालाई जनही २५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । उक्त अवसरमा पुरस्कृत व्यक्तित्व र तिनका कृतिमाथि कवि गोकुल अधिकारी, मुरारी सिग्देल, राधिका गुरागाईं, मीनकुमार नवोदित, लक्ष्मी रायमाझी र भावना श्रेष्ठले टिप्पणी गरेका थिए । 

कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले भाषा, साहित्य, संगीत राष्ट्र्रको ऐना रहेको बताए । २०६२ सालमा कलाकार तथा समाजसेवी ओमकार श्रेष्ठले आफ्ना बाबुआमाको स्मृतिमा गुठीको स्थापना गरेका थिए । गुठीका संस्थापक श्रेष्ठको पनि निधन भइसकेको छ । त्यसयता डा. विमला श्रेष्ठ, विवश पोखरेललगायतले गुठीका गतिविधिलाई साथ दिँदै आएका छन् । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully