हात्तीसँगै काव्य गोष्ठी

मंसिर ३, २०८१

भवानी भट्ट

Poetry conference with elephants

कञ्चनपुर — वरिपरि हात्तीहरू, बीचमा साहित्यकारको जमघट । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार परिसरमा प्रकृति तथा वन्यजन्तुसँग रमाउँदै साहित्यकारले शनिबार आफ्ना रचना पस्किए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि मानसखण्ड फाउन्डेसनद्वारा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको आयोजना गरिएको हो । 

काव्य गोष्ठीमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट गरी पाँच दर्जनभन्दा बढी साहित्यकार सहभागी छन् । उनीहरूले यस क्षेत्रको पर्यटन विकासका लागि आफ्ना रचना प्रस्तुत गरे । ‘शुक्लाफाँटा आकर्षक पर्यटकीय क्षेत्र हो, तर यसको प्रचार हुन सकेको छैन,’ फाउन्डेसनका सचिव हेमबाबु लेखकले भने, ‘त्यसकै लागि नेपाल र भारतका साहित्यकारको यहाँ भेला गरेका हौं ।’ उनले साहित्यकारका रचनाबाट पनि यसको प्रचारप्रसार हुने बताए । 

निकुञ्जको पिरिया पोस्टमा ६ वटा हात्ती छन् । तिनै हात्ती भएको क्षेत्रमा साहित्यकारहरूले आफ्ना प्रस्तुति पस्केका हुन् । हात्तीलाई फलफूल खुवाएर गोष्ठीको आरम्भ गरिएको थियो । ‘यस्ता गतिविधिले पर्यटन विकासमा ठूलो टेवा पुग्न सक्छ,’ सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडिनसमेत रहेका साहित्यकार टेकराज पन्तले भने, ‘साहित्यबाट धेरै कुरा परिवर्तन हुन सक्छ, यसमा पनि अवश्यक सफलता मिल्नेछ ।’ भारत उत्तराखण्डको पिथौरागढबाट आएका साहित्यकार पीताम्बर अवस्थीले यस्ता गोष्ठीबाट कला संस्कृतिको संरक्षणसँगै आपसी सद्भाव वृद्धि हुने बताए । 

‘यता र उता दुवैतर्फका कुरा आदानप्रदान गर्छौं,’ अवस्थीले भने, ‘यस क्षेत्रको प्रचारप्रसारका लागि हामी सक्दो सहयोग गर्छौं, आफ्ना रचनाबाट पनि सक्दो प्रयास गर्नेछौं ।’ गोष्ठीको उद्घाटन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर थापाले गरेका हुन् । हात्तीसार परिसरमा साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरिसकेपछि साँझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टेमा पनि कविता, गजल र गीत प्रस्तुत गरेका थिए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully