स्कट्स क्लबमा मेलिसा रेग्मी

७ वर्षकै छँदा पहिलो पटक डाइस गर्ल्स फुटबल क्लबमा आबद्ध भई फुटबल करिअर सुरु गरेकी उनले त्यसपछि ‘एबरडिन फुटबल क्लब लेडिज’ बाट उमेर समूहमा ९ नम्बरको जर्सीमा ‘मेन स्ट्राइकर’ भई खेलिन्, अहिले उनी सोही क्लबमा ‘अन्डर-१७’ का लागि अनुबन्ध भएकी हुन्

मंसिर २, २०८१

नवीन पोखरेल

Melissa Regmi at The Scots Club

लन्डन — प्राथमिक विद्यालय पढ्दादेखि नै फुटबलप्रति हुरुक्क हुने उनी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल हेर्दै हुर्किइन् । रोनाल्डोकै खेलबाट प्रभावित उनी अहिले बेलायतमा फुटबलमै करिअर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेकी छन् । संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डस्थित एबरडिन सहरमा बस्ने १५ वर्षीया नेपाली मूलकी किशोरी मेलिसा रेग्मीले एबरडिन क्लबबाट फुटबल खेल्ने भएकी छन् । उनलाई उक्त क्लबले ‘अन्डर १७ एकेडेमी’ का लागि हालै अनुबन्ध गरेको छ । 

एबरडिनको अल्बाइन प्राइभेट स्कुलमा एसथ्री लेभलमा अध्ययनरत मेलिसाले ७ वर्षकै छँदा पहिलो पटक डाइस गर्ल्स फुटबल क्लबमा आबद्ध भई फुटबल करिअर सुरु गरेकी थिइन् । त्यसपछि एबरडिन फुटबल क्लब लेडिज (एएफसीएल) बाटै उनले उमेर समूहका ‘अन्डर ११’ देखि ‘अन्डर १६’ बाट ९ नम्बरको जर्सी मा ‘मेन स्ट्राइकर’ भई खेलिन् ।

उनी एबरडिन क्लबको ‘अन्डर १६ एकेडेमी प्रोग्राम’ की पहिलो खेलाडी पनि हुन् । स्कटिस प्रिमियरसिपमा प्रतिस्पर्धा गर्ने एबरडिन क्लबले चार स्कटिस लिग उपाधि, ७ स्कटिस कप र ६ स्कटिस लिग कप जितिसकेको छ । यो सन् १९८३ मा युरोपियन कप र युरोपियन सुपर कप जितेर दुई वटा युरोपेली ट्रफी जित्ने एकमात्र स्कटिस टोली पनि हो । सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि सन् १९७८ देखि १९८६ सम्म यस क्लबको व्यवस्थापन सम्हालेका थिए । 

Melissa Regmi at The Scots Clubएबरडिन महिला फुटबल क्लब स्कटल्यान्डस्थित महिला फुटबलको शीर्ष स्कटिस महिला प्रिमियर लिग १ मा प्रतिस्पर्धा गर्छ । मेलिसाको अन्डर १७ एकेडेमी टोलीले नेक्स्ट जेनरेसन लिगमा प्रतिस्पर्धा गर्नेछ, जुन स्कटल्यान्डको महिलातर्फ शीर्ष युथ एकेडेमी हो । मेलिसाले सोमबार, मंगलबार र बिहीबार राति ९ बजेसम्म डेढ घण्टा प्रशिक्षण लिन्छिन्, बुधबार डेढ घण्टा जिममा बिताउँछिन् भने शुक्रबार पर्सनल ट्रेनरले वान टु वान प्रशिक्षण दिन्छन् । 

प्रत्येक शनिबार मेलिसाको घरेलु मैदान र बाहिर म्याच हुन्छ । विशेषगरी एडिनबरा, ग्लास्गो, लिभिङ्सटन, ह्यामिल्टन क्षेत्रमा उनको म्याच हुने गर्छ । उनी आफ्नो स्कुल टोलीकी कप्तान पनि हुन् । जो हरेक बुधबार बिहान प्रशिक्षण लिन्छन् भने प्रतियोगिता वर्षमा दुई पटक हुन्छ । जब उनी स्कटिस स्कुल फुटबल एसोसिएसन (एसएसएफए) अन्डर १५ मा अन्तर्राष्ट्रिय टोलीमा छनोट भइन्, उनले आफ्नो स्कुलका लागि इतिहास पनि रचेकी थिइन् । 

मेलिसा निजी विद्यालयबाट उल्लेखनीय खेल मान्यता प्राप्त गर्ने पहिलो किशोरी नै बनिन् । उनको यो फुटबल यात्रा अल्बाइन स्कुलका लागि महत्त्वपूर्ण कोसेढुंगा मानिएको थियो । उक्त अन्तर्राष्ट्रिय टोलीमा स्कटल्यान्डभरबाट १८ खेलाडी छानिएका थिए । मेलिसाले गत मार्चमा उत्तरी आयरल्यान्ड एवं एथलोन, आयरल्यान्डमा आयोजित बब डक अन्तर्राष्ट्रिय प्रतियोगितामा इंग्ल्यान्ड, आयरल्यान्ड र उत्तरी आयरल्यान्डविरुद्ध मैत्रीपूर्ण खेल खेलेकी थिइन् ।

Melissa Regmi at The Scots Clubमेलिसा यस वर्ष बीजीसी स्कटल्यान्ड यू–१५ गर्ल्सको अन्तर्राष्ट्रिय टोलीमा पनि छनोट भएकी छन् । बीजीसी स्कटल्यान्डले स्कटल्यान्डका शीर्ष क्लबहरूबाट कैयौं ट्रायलमार्फत शीर्ष १६ खेलाडी चयन गर्ने गर्छ । मेलिसाको टोलीले वेल्सविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा मेलिसाले 

ह्याट्रिक 
गर्दै ‘प्लेयर अफ दि म्याच’ बनेकी थिइन् । मेलिसा स्कटल्यान्ड महिला यू–१६ प्रशिक्षण शिविरका लागि दुई पटक छनोट भइन् । एएफसीएल क्लब र एफसी वुमनमा अन्डर–१६ खेल्दा उनी अन्डर–१८ को प्रायः सबै म्याचमा कहिले मेन त कहिले सब स्ट्राइकर भएर खेलेकी थिइन् । त्यतिबेला मेलिसा १४ वर्षकी मात्र थिइन् । उनको यू–१६ र यू–१८ दुवै टोली सिजन २०२३–२०२४ को नेक्स्ट जेनरेसन स्कटल्यान्डमा लिग र कप फाइनल दुवैको विजेता बनेका थिए ।

उनका बुबा दीपेश रेग्मी एनएचएस ग्रामपियनमा ‘पोर्टरिङ एन्ड ग्राउन्ड्स डिपार्टमेन्ट’को सर्भिस म्यानेजर हुन् । उनले कहिलेकाहीं एभिएसन लिएजन म्यानेजरको जिम्मेवारी पनि वहन गर्नुपर्छ भने आमा संगीता एनएचएस ग्रामपियनमै एनेसथेटिक 
नर्स हुन् । छोरीको प्रगतिमा बुबाआमा दुवै दंग छन् । नेपालको चितवनस्थित भरतपुरका स्थायी रेग्मी दम्पती सन् २००५ मा अध्ययनको सिलसिलामा स्कटल्यान्डको एबरडिन आएका थिए । 

मेलिसा नेपाल गइरहन्छिन् । तर, खेलको व्यस्त तालिकाले दुई वर्ष यता जान नपाएको बताउँछिन् । पछिल्लो समय अन्नपूर्ण बेस क्याम्पसम्मको ट्रेकिङ उनको स्मृतिमा अझै ताजै छ । स्कटल्यान्डमै जन्मिएर हुर्किए पनि नेपाली हरेक चाडपर्व उनलाई निकै मन पर्छ । उनी नेपाली भाषा पनि राम्रो बोल्छिन् ।

यतिबेला नेपाली महिला टिमले फुटबलमा गरिरहेको प्रगति देखेर गर्व लाग्ने गरेको उनले बताइन् । भनिन्, ‘साफ महिला च्याम्पियनसिप २०२४ मैले पनि हेरेकी थिएँ, तर दुर्भाग्य, हाम्रो च्याम्पियन बन्ने सपना यस पटक पनि अधुरै रह्यो, तर खेलाडीको ‘पर्फमेन्स’ले भने सबैको मन जितेको छ,’ आफूलाई पनि नेपाली राष्ट्रिय टिमबाट खेल्न मन भए पनि पढाइका कारण तत्काल त्यो सम्भव नभएको उनले बताइन् । भनिन्, ‘तर भविष्यमा त्यो विकल्प भने खुल्लै छ ।’

नवीन

Link copied successfully