काठमाडौँ — नेपाली फिल्म ‘दर्पण छाया २’ मार्फत अभिनयमा आएका फिरोज तिमल्सिनाले गायनमा समेत आफूलाई अगाडि बढाइरहेका छन् ।
‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ को पहिलो सिजनमा काम गरेका फिरोजले आफ्नो गायन यात्रालाई निरन्तरता दिँदै ‘यो कस्तो खुसी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनकै गायन रहेको गीतमा शब्द भने मिलन पोखरेल र संगीत प्रकाश नेपालीको रहेको छ ।
अध्ययनको सिलसिलामा अमेरिकामा रहेका फिरोजले यस गीतमा आफूभन्दा टाढा रहेका प्रेमिल जोडीको कथा प्रस्तुत गरेको बताए । भने, ‘प्रवासमा भए तापनि संगीतप्रतिको लगावलाई छाड्न सकेको छैन । यस गीतलाई तयार गर्दा टाढा रहेर माया गर्ने जोडीलाई कल्पना गरेर सोही भावमा स्वर भरेको थिएँ । यो गीतले टाढिएर पनि मायामा रहेकालाई भावनात्मक रूपमा बलियो हुन अझै मद्दत गर्छ भन्ने लागेको छ ।’
अमेरिकाकै कोलोराडो राज्यमा छायांकन गरिएको भिडियो सहारा कार्की र मनोज श्रेष्ठले अभिनय गरेका छन् । भिडियोलाई भने फिरोजले अनुप गिरीसँग मिलेर निर्देशन गरेका हुन् । भिडियो सम्पादन, छायांकन र रंग संयोजन पनि निर्देशक गिरीले नै गरेका छन् ।
