विदेशीको रोजाइमा  ‘भेगन ट्रेक’

ट्रेकिङ गर्दा नेपाली कला, संस्कृति हेर्न, बुझ्न, परिकारहरू चाख्न र स्थानीयसँगै खेतबारीमा काम गर्दै रमाउन पाउने भएपछि विदेशीमाझ बढी लोकप्रिय

कार्तिक २७, २०८१

प्रकाश बराल

'Vegan Trek' in foreigner's choice

बागलुङ — उत्तरतर्फ हिमाली शृंखलाको मनोरम दृश्य हेर्दै बस्ती पसेर बारीमा काम गरेपछि बेलुकी होमस्टेमा बसेर रमाउन पनि पाइनेछ । एकै स्थानबाट तीन जिल्लाको भूगोल अवलोकन गर्न सकिनेछ । यही विशेषताका कारण बागलुङको ‘भेगन ट्रेकिङ ट्रेल’ पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यस रुटमा शाकाहारी विदेशी तथा नेपालीहरूका ‘भेगन’ समूह नियमित आउने गर्छन् भने अन्य पर्यटकलाई पनि यस ट्रेडिङ रुटले उत्तिकै लोभ्याउने गरेको छ । पशुजन्य उत्पादन नखाने र प्रयोग नगर्नेहरू भेगनहरूले फलफूल र अर्गानिक खाना बढी रुचाउने गर्छन् । यहाँ उत्पादन हुने आलु, भाँगो, मकै र गहुँका परिकार उनीहरूले धेरै रुचाउने गरेको स्थानीयले बताए ।‍

दशकअघि रेखांकन भएको बागलुङ सदरमुकामदेखि भकुन्डे, सिगाना हुँदै रेसको बौरसम्म जाने गरी ‘भेगन ट्रेकिङ ट्रेल’ बनाइएको हो । यस ट्रेलमा हरेक वर्ष भेगन समूहका पर्यटक आउने क्रम बढेको छ । ती पर्यटकले घुम्ने मात्र नभई स्थानीयको काममा पनि सघाउने गर्छन् । समुद्री सतहदेखि २ हजार ५ सय मिटरसम्मको उचाइमा रहेको यस रुटमा पर्यटकहरू हिमाल हेर्ने, अर्गानिक खाना खाने र रमाउने गरी आउने गरेको स्थानीय पर्यटन व्यवसायी महादेव शर्माले बताए । 

'Vegan Trek' in foreigner's choiceपछिल्लो ५ वर्षदेखि यस रुट भेगन समूहका लागि चर्चित छ । बेलायत, अमेरिका र युरोपका विभिन्न देशका पर्यटक यहाँ आउने गरेका छन् भने आन्तरिक पर्यटक पनि नियमित पुग्छन् । भेगन समूह आउने बेला व्यवसायीले पहिले नै जानकारी दिएपछि रुटभित्र पर्ने होटल, रेस्टुरेन्ट र होमस्टेले शाकाहारी खानेकुराको जोहो गर्छन् । यस रुटमा नेपाली पदयात्री भए दुई दिन र विदेशी भए ६ दिनको यात्रा गर्दै आएका छन् । यो रुटमा पर्ने होमस्टेलाई पनि ‘भेगन फ्रेन्डली’ बनाइएको शर्माले बताए ।

यस रुटमा अन्तर्राष्ट्रिय भेगन अर्गनाइजेसन र नेपाल भेगन समूहले संयुक्त रूपमा समय मिलाएर साता दिनको भ्रमण तालिका नै बनाएका छन् । उनीहरूले स्थानीयसँग मिलेर काम गर्ने र मनोरन्जन लिने गर्छन् । एक पटकमा १० देखि ५० जनासम्मको भेगन समूहले यो रुटबाट ट्रेडिङ गर्ने गर्छन् । 

यस रुटबाट ट्रेडिङ गर्दा भकुन्डेस्थित बराह ताल अवलोकन, होमस्टेमा बास, सूर्योदय अवलोकन, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेलगायतका हिमशृंखलाको अवलोकनको मौका मिल्छ । भकुन्डेमा बास बसेपछि पर्यटकले दैनिक ३ घण्टासम्मको पैदल यात्रा गर्ने र स्थानीय समुदायसँगै बसेर रमाउने गर्छन् । ‘भेगन समूहका पर्यटक पैदल हिँड्न बढी रुचाउँछन्,’ भकुन्डेका होमस्टे सञ्चालक अप्सरा थापाले भनिन्, ‘अन्न र फलफूल खाने भएकाले हामीले पनि सोही प्रकारका परिकार तथा सामग्री तयार पार्छौं ।’ केही खण्ड सिँढी मार्ग, केही डाँडाको पुरानो बाटो र केही खण्डमा नयाँ पदमार्ग बनाएर ट्रेडिङ रुट बनाइएको छ । 

बेलायती पर्यटक मेडीले यस रुटबाट ट्रेडिङ गर्दा नेपाली कला, संस्कृति हेर्न, बुझ्न, परिकारहरू चाख्न र खेतीपाती भित्र्याउने समयमा स्थानीयसँगै खेतबारीमा काम गर्दै रमाउन पाएकोमा खुसी लागेको बताइन् । उनले कृषिजन्य उत्पादन बढाउन र स्थानीय रक्सीको ब्रान्ड बनाई त्यसलाई व्यावसायिक रूपमा उत्पादन बढाउन पनि सुझाव दिइन् । चिसो मौसम र हिमाली शृंखलाको अवलोकन गर्न पाइने भएकाले यहाँ आउने पर्यटक रमाउने गरेको स्थानीय होमस्टे सञ्चालक खिमबहादुर थापाले बताए । भेगन समूहका सदस्यहरू पर्यटक मात्र नभई वातावरण संरक्षणको अभियानसमेत लिएर गाउँ पुग्ने गरेका हुन् । 

गतवर्ष यस रुटमा अन्तर्राष्ट्रिय भेगन अर्गनाइजेसनका उच्च पदाधिकारीसमेत घुम्न आएका थिए । उनीहरूले अहिंसाको सन्देश फैलाउने गरी ट्रेडिङ रुट विस्तार गरिनु आफैंमा सुखद् भएको बताएका थिए । अधिकांश भेगन समूहले वातावरण संरक्षणमा जोड दिने गरेका छन् । साथै उनीहरूले अहिंसा, भ्रातृत्व र उत्पादनमा जोड दिने गरेको शर्माले बताए । भेगन रुट विकास भएपछि ग्रामीण क्षेत्रमा होमस्टेहरू पनि सञ्चालनमा छन् ।

यो रुटमा बागलुङ नगरपालिका–११ शान्ति बौद्धगुम्बासमेत पर्छ । कतिपयले एकरात गुम्बामा समेत पुगेर बस्न रुचाउने गरेका छन् । यो गुम्बाबाट बागलुङको सदरमुकामसहित जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, पर्वतको कुस्मा, फलेबास र जलजला तथा म्याग्दीको केही खण्डको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully