पेन्टिङमा कुण्डलिनी चक्र

कार्तिक २४, २०८१

रमेशकुमार पौडेल

Kundalini Chakra in Painting

चितवन — पूर्वीय दर्शनको मान्यताअनुरूप मान्छेको मेरुदण्डको आधारमा रहेको कुण्डलिनीमा जीवन जागृत गराउन सक्ने ऊर्जाबारे सुनेका चित्रकार भीमप्रसाद शर्मा कोरोनाकालमा त्यसैबारे घोत्लिए । उक्त ऊर्जालाई जागृत गराउने विधि र साधनाका बारेमा पढे, बुझे ।

ज्योतिषीसमेत रहेका पण्डित पिताले चिना कोर्दा बनाएका चित्र हेर्दै हुर्केका उनले चिना कोर्न पनि सिके । आध्यात्मको प्रभाव विस्तारै पर्दै गएपछि भने कुण्डलिनीका बारेमा उनको चासो बढ्न थाल्यो । उनले कुण्डलिनीबारे आफूले पाएका ज्ञानलाई पेन्टिङमार्फत क्यान्भासमा उतारे । त्यसरी तयार पारेका मध्येबाट ३७ वटा पेन्टिङलाई उनले ‘कुण्डलिनी’ शीर्षक दिएर बुधबारदेखि प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीको अन्तिम दिन मंसिर १२ मा कुण्डलिनी योगका बारेमा आफैंले लेखेको २ सय १८ पृष्ठको पुस्तक पनि विमोचन गर्ने तयारीमा छन्, भीमप्रसाद । 

बाग्लुङ सर्कुवामा जन्मेका ६१ वर्षीय भीमप्रसाद २०३९ सालदेखि गैंडाकोटमा बस्दै आएका छन् । ‘कुण्डलिनी’ उनको १२ औं एकल चित्रकला प्रदर्शनी हो । देशमा बाहेक जर्मनी, क्यानडामा समेत एकल चित्रकला प्रदर्शनी गरिसकेका उनका पेन्टिङ जर्मनीमा ५ हजार युरोसम्ममा बिक्री भएका थिए । यस पटकको प्रदर्शनीका लागि उनले तीन वर्ष मिहिनेत गरेको बताउँछन् । ‘पिताजी पण्डित जुक्तिबल्लभ शर्मा चिना लेख्ने ज्योतिषी हुनुहुन्थ्यो । लामा–लामा चिना लेख्दा घरमै रंगहरू तयार गरेर आकर्षक चित्र बनाउनुहुन्थ्यो । जसले मलाई सानैदेखि चित्रप्रति रुचि जगायो । अनि अध्यात्मका बारेमा पनि सानैदेखि चासो बढ्दै गयो,’ शर्माले सुनाए ।

सम्बन्धित समाचार

कुण्डलिनीका बारेमा बुझ्ने क्रममा यसका बारेमा लेखिएका धार्मिक ग्रन्थहरू पनि पढे, ज्ञाताका कुरा सुने । अनि जाने–बुझेका आधारमा त्यसलाई चित्रमा उतार्ने निधो गरे । ‘यसका बारेमा चित्र बनाउने उत्तम समय कोरोनाकाल बन्यो,’ उनले भने । मुक्त ढंगले उनले कुण्डलिनीका चित्र क्यान्भासमा उतार्न सुरु गरे । एउटै पेन्टिङका लागि महिना दिनसम्म लागे । ‘कुण्डलिनीबारे बुझ्दै क्यान्सभासमा त्यसलाई उतार्न धेरै मिहिनेत परेको छ । यसका बारेमा बुझ्दै गएपछि किताब लेख्न थालेँ । सबै तयारी पूरा भएपछि प्रदर्शनी गरेको हुँ । यसका लागि तीन वर्ष बित्यो,’ भीमप्रसादले भने । यी चित्रले कुण्डलिनीबारेमा समाजमा चासो र चर्चा बढोस् भन्ने उनको चाहना छ । 

कुण्डलिनीका सात चक्र हुन्छन् भन्ने मान्यता छ । उनले एउटा चक्र बुभाउन दुई वटा चित्र कोरेका छन् । एउटा चित्र चक्र साधनाका बारेमा र अर्को चित्र साधनाका लागि गरिने मुद्रासँग सम्बन्धित छ । प्रदर्शनमा राखिएका १४ चित्र कुण्डलिनीको विधिसँग सम्बन्धित रहेको उनले बताए । बाँकी २३ चित्र कुण्डलिनी साधनाले हुने प्रभावका बारेमा छन् । कुण्डलिनी जागृत हुँदा व्यक्तिमा हुने प्रभावका बारेमा आफूले बुझेको कुरा चित्रमा राखेको उनले बताए । ‘यसलाई कसैले हठ योग भन्छन्, कसैले गुप्त ज्ञान भन्छन् । यो खासमा के हो ? जीवनका लागि उपयोगी हो भने समुदायले कसरी उपयोग गर्ने ? त्यसको चर्चा व्यापक होस् भन्ने चाहना हो मेरो,’ शर्माले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully