सर्वोत्कृष्ट रोड्री

अवार्ड समारोह सुरु हुन केही घण्टा अगाडि नै रोड्रीले जित्दै छन् भन्ने सूचना चुहिएको थियो, त्यसपछि त रियल म्याड्रिडले कार्यक्रम नै बहिस्कार गर्‍यो, रियललाई लागेको थियो, यो अवार्ड उसका ब्राजिली खेलाडी भिनिसियस जुनियरले जित्नेछन् 

कार्तिक १४, २०८१

हिमेश

Best Rodri

काठमाडौँ — एउटा प्रश्न, इंग्लिस प्रिमियर लिग राम्रो कि स्पेनी ला लिगा ? अब अर्को प्रश्न, युरो ठूलो कि युरोपेली च्याम्पियन्स लिग ? उत्तर त गाह्रै छ । अझ यस्तो प्रश्नको उत्तर नै हुन्न । त्यसैले जति बेला स्पेन र म्यानचेस्टर सिटीका रोड्रीले विश्व फुटबलकै सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड बेलन डे’अर जिते, त्यसमा पनि प्रश्न नगरे हुन्छ, उनले किन जिते भनेर ।

त्यसो त यस्तो प्रश्न नै आउनु नपर्ने थियो, तर आइदियो । खासमा यसपल्ट पेरिसमा आयोजित बेलन डे’अरको कार्यक्रम नै एक प्रकारले नमज्जाको रह्यो ।

रियल म्याड्रिडले कार्यक्रम नै बहिस्कार गर्‍यो । उसका प्रतिनिधि कार्यक्रममै गएनन् । रियललाई लागेको थियो, यो अवार्ड उसका ब्राजिली खेलाडी भिनिसियस जुनियरले जित्नेछन् । भिनिसियसले रियलका लागि स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जितेका थिए । अझ उनी यो प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए । अवार्ड कार्यक्रम सुरु हुन केही घण्टा अगाडि नै रोड्रीले जित्दै छन् भन्ने सूचना चुहिएको थियो । 

Best Rodriअहिलेको पुस्ताका फुटबल प्रशिक्षकमध्ये पेप ग्वार्डिओलाको यो खेलसम्बन्धी ज्ञानमा कुनै शंका छ त ? छैन । उनकै भाषामा भन्दा अहिले फुटबलमा जति पनि खेलाडी उपलब्ध छन्, त्यसमध्ये मिडफिल्डमा सबैभन्दा राम्रा कोही एक छन् भने ती रोड्री नै हुन् ।

अवार्डको होडमा रोड्री पहिलो स्थानमा रहे भने त्यसपछि रियलका दुई खेलाडी रहे । एक त तिनै भिनिसिय भए । अर्को जुड बेलिङघम । सिटी चारपल्ट लगातारको इंग्लिस च्याम्पियन हो । लिग एकपल्ट जित्न बरू सजिलो हुन्छ, त्यो जितेको अवार्डलाई रक्षा गर्न अझ बढी गाह्रो हुन्छ भनिन्छ ।

सिटीले यो काम लगातार गरेको छ । अनि यो काममा एक कोही खेलाडीको ठूलो भूमिका रह्यो भने ती रोड्री नै थिए । अझ गत सिजन सिटीले लिग जित्दा असाध्यै धेरै योगदान भएका खेलाडी हुन्, रोड्री । स्पेनले भने जर्मनीमा भएको युरो जितेको थियो । युरो स्पेनले नै जित्नेछ भन्नेमा पनि शंका थियो । तर जित्यो र यसको एउटा ठूलो कारण थियो, रोड्री जत्तिको खेलाडी । उनी मिडफिल्डर त मिडफिल्डर नै हुन्, त्यसमा पनि उनको विशेषता हो, डिफेन्सिभ ।

जहाँसम्म उनको खेल्ने शैली छ, उनलाई बढीभन्दा बढी फाइदा हुने तथ्य हो, उनको मजबुत र अग्लो शरीर । लगातार ट्याकल गर्न सक्छन्, विपक्षी खेलाडीबाट बल खोस्न सक्छन् । हावामा बलमाथि नियन्त्रण लिन उनका अगाडि अरूको जोर चल्दैन । जति बेला टिमले आक्रमण बुन्न सुरु गर्छ, एक प्रकारले यसको सुरुआत नै रोड्रीबाट हुन्छ । अर्को उनको खुबी  दबाबमा झन् राम्रो खेलिदिने । चाहियो भने सेन्ट्रल ब्याकका रूपमा पनि खेल्न सक्छन् । रोड्रीले जुन भूमिका र जहाँ रहेर खेल्छन्, त्यस्ता खेलाडी कमै मात्र स्टार हुन्छन् । रोड्री भने स्टार भए । अहिले त बेलन डे’अर पनि जिते ।

यहाँनिर एउटा अर्को रोचक प्रसंग पनि छ । पछिल्लो केही दशक स्पेनी टिम र खेलाडीको प्रभुत्व रह्यो । स्पेनले एकपल्ट विश्वकप मात्र जितेन, दुई पल्ट युरो पनि जित्यो । तर त्यो टिमका कसैले पनि बेलन डे’अर भने जितेनन् । त्यो स्पेनी टिमलाई अझै ‘स्वर्णिम पुस्ता’ मानिन्छ । तर तिनीहरू कोही पनि रोड्रीजस्तो भाग्यमानी रहेनन् ।

रोड्रीले सानोमा एट्लेटिको म्याड्रिड र भिल्लारियलबाट खेले । म्याड्रिडमै जन्मे हुर्केका भएपनि व्यावसायिक फुटबल भिल्लारियलबाट खेल्न सुरु गरे । पछि फेरि एट्लेटिको पनि गए । सन् २०१९ देखि उनी सिटीमा छन् र खेल जीवनको सबैभन्दा सफल समय बिताइरहेका छन् ।

हिमेश

Link copied successfully