काठमाडौँ — नेपालभित्र रहेका विभिन्न कलेजको शिक्षाको गुणस्तर, त्यहाँको शैक्षिक वातावरण, पढाइसँगैका विभिन्न अतिरिक्त क्रियाकलाप लगायतका विषयमा विद्यार्थी तथा अभिभावकलाई निरन्तर जानकारी दिँदै आएको ‘भीम्याग’ को टोली पछिल्लो समय भीजे संजोग कोइरालाको नेतृत्वमा काठमाडौं बाहिरका कलेजमा केन्द्रित भइरहेको छ ।
यस पटक ‘भीम्याग’ पोखराको लायन्स मार्गमा रहेको इन्फरमेटिक्स कलेज पोखरा पुगेको छ । बिजनेस र आईटीसम्बन्धी कोर्सको पढाइ हुने यस कलेज सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा पद्धतिमा केन्द्रित रहेको मानिन्छ । सन् २०११ मा स्थापना भएको यस कलेज ‘आईएनजी ग्रुप’ मा आबद्ध छ भने लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको सम्बन्धनमा त्यहींको पाठ्यक्रम लक्षित अध्यापन हुँदै आएको छ ।
आईटीका विद्यार्थीहरूले बनाउने विभिन्न प्रोजेक्टलाई कलेजले सघाउनुका साथै आवश्यक ज्ञान र प्लेटफर्म पनि उपलब्ध गराउँदै आएको छ भने बिजनेसका विद्यार्थीलाई पनि सैद्धान्तिक ज्ञानका अलावा भविष्यमा करिअर निर्माणका लागि कलेजदेखि नै तयार पारिने कलेज प्रशासनको दाबी छ ।
‘हामी सैद्धान्तिक अध्ययनका साथसाथै विद्यार्थीमा व्यावहारिक सीप विकास पनि होस् भन्नेमा बढी सचेत छौं,’ कलेजका सीईओ अभिनव दाहालले भने, ‘केही नयाँ गर्न चाहने विद्यार्थीका लागि हामी सधैं खुला छौं र त्यस्ता विद्यार्थीका लागि कलेज सधैं सहयोगी पनि रहन्छ ।’
