चितवन — चिसिँदै गएको चितवनलाई सांगीतिक माहौलले तताउने गरी अघिल्लो पुस्तामा प्रख्यात पप गायक ओमविक्रम विष्ट शुक्रबार साँझ भरतपुर उत्रिए । ६८ वर्षीय विष्टले युवा जोस निकाल्दै आफ्नो १६ वर्षअघि रेकर्ड भएको गीत ‘मलाई आवाज देऊ’ बाट ‘लाइभ कन्सर्ट’को सिलसिला सुरु गरे ।
‘पप सम्राट्’को परिचय बनाएका विष्टले चितवनको एक स्थानीय होटलमा आयोजित कार्यक्रममा आफ्ना प्रख्यात गीतहरू पस्किँदै गए ।
‘म चितवनमा ४३ वर्षअघि पनि गीत गाउन आएको थिएँ । सिनेमा हलमा गीत गाएको हो, हैन त प्रसादजी’ दर्शकदीर्घामा अगाडि बसेका चितवनका पुराना गायक तथा ‘कान्छी’ फिल्मका निर्माता प्रसाद श्रेष्ठसँग संवाद गर्दै उनले पुराना जोसिला दिन सम्झिए । भने, ‘त्यो बेला त झन् कस्तो थियो होला है जोस र माहौल ?’ त्यसो त यो बेलाको माहौल पनि कम भने थिएन । सबै उमेर समूहका दर्शक कन्सर्टमा झुम्मिएका थिए ।
आफ्नो समयमा पृथक् शैलीका गीत गाएर चर्चित बनेका विष्टको सम्मानमा कार्यक्रम राखिएको कन्सर्ट संयोजक विज्ञानलाल श्रेष्ठले बताए । ‘यो उहाँलाई सम्मान पनि हो । नयाँ पुस्तासमेत उहाँलाई सुन्न लालायित छ । त्यही सोचेर कार्यक्रम गरेका थियौं, त्यो कुराको पुष्टि भयो,’ श्रेष्ठले भने । विष्टलाई साथ दिन उनकै समयमा वाद्यवादक वरिष्ठ गितारवादक सुवर्ण लिम्बू, ड्रमर देव राणा लगायतको टोली उपस्थित थियो ।
‘त्यो समयमा गीतको शब्द र स्वरका साथै वाद्यवादकका फरक खाले संगीत संयोजनले गर्दा पनि मेरा गीत चलेका थिए,’ गायक विष्टले भने । नारायणगढ रोटरी क्लबले आयोजना गरेको उक्त कार्यक्रममा विष्टसहित गायिका एञ्जिला श्रेष्ठ, चितवनकै गायक तथा संगीतकार सहनलाल प्रधानले पनि आफ्ना प्रस्तुति दिएका थिए ।
