कक्षा १० मा पढ्ने १५ वर्षीया स्कन्दा र ५ मा पढ्ने १० वर्षीय सहर्ष दिदीभाइ मिलेर सुरु सरेको निःशुल्क बाल पुस्तकालयमा हरेक साता ४० जना बालबालिका तथा विद्यार्थी पढन् आउँछन्
काठमाडौँ — धुम्रबराह माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत आठ वर्षीया सुस्मिता तामाङ हरेक शनिबार धुम्रबराही मन्दिर परिसरमा रहेको धुम्बराही बाल पुस्तकालय धाउँछिन् । बिहान ९ देखि ११ बजेसम्म निःशुल्क पढ्न र पुस्तक लगेर पढ्न पाइने भएपछि उनी नियमित पुस्तकालय पुग्छिन् ।
गत शनिबार पनि पढिसकेका तीन कथाका पुस्तक ‘तोरीबारीको बुख्याचा’, ‘कथाकुल–२’ र ‘मैनेचरीको अन्तिम गीत’ फिर्ता गरिन् । अनि आउने साताभरका लागि नयाँ तीन किताब रोजिन् । ‘अहिले ‘कथाकुल–१’, ‘एलिस इन वन्डरल्यान्ड’ र ‘बेडटाइम स्टोरिज’ छानेको छु,’ भनिन्, ‘अब घर लगेर पढ्छु ।’
डाक्टर बन्ने सपना साँचेकी सुस्मिताका लागि गणित, नेपाली र अंग्रेजी मनपर्ने विषय हुन् । कक्षा ६ मा पढ्ने उनका दाइ १० वर्षीय मिलन पनि हरेक शनिबार पुस्तकालय आउँछन् । उनलाई भने पौराणिक, धार्मिक र यथार्थ घटनासँग सम्बन्धित पुस्तक पढ्न मनपर्छ । उनले एन फ्र्यांकको नेपाली अनुवाद ‘एक किशोरीको डायरी’, ‘बाल रामायण’, ‘वीर सिक्का कथा संग्रह’ र ‘कथाकुल–५ र ६’ लगायत पुस्तकहरू पढिसकेका छन् । ‘मलाई एन फ्र्यांकको डायरीमा लेखिएको युद्धबारे विशेष रुचि लाग्यो,’ मिलनले भने, ‘अनि पुरानो जमानाका कुराहरू पढन् मन पर्छ, वीर सिक्कामा यही छ । कथाकुलमा कति धेरै कुरा छ,’ उनले भने ।
पुस्तकालय कक्षा १० मा पढ्ने १५ वर्षीया स्कन्दा स्वाँर र कक्षा ५ मा पढ्ने १० वर्षीय सहर्ष स्वाँरले मिलेर चलाएका हुन् । चार महिनाअघि सुरु भएको उक्त निःशुल्क बाल पुस्तकालयमा हरेक शनिबार ४० जना बालबालिका तथा विद्यार्थी भेला भएर पढ्ने र खेल्ने गरेका छन् । स्कन्दाले पुस्तकालय हेर्छिन् भने उनका भाइ सहर्षले खेलकुदसम्बन्धी क्रियाकलापमा सहभागी हुन्छन् । उनीहरूले यस पुस्तकालयमा जोसुकैले जस्तोसुकै योगदान गर्न मिल्ने बनाएका छन् । ‘रिड’ अर्थात् पढ, ‘एक्सचेन्ज’ अर्थात् साटासाट गर, ‘बरो’ अर्थात उधारोमा लैजाउ र ‘डोनेट’ दान गर भन्ने स्लोगन बनाएका छन् ।
स्कन्दाका अनुसार यो पुस्तकालयले तीन सन्देश दिन खोजेको छ । पहिलो– अहिलेको डिजिटल लतबाट बालबालिकालाई पुस्तकमा ध्यान केन्द्रित गर्ने छ । दोस्रो– बालबालीकाबीचको सम्बन्धमा नजिक्याउने छ । ‘तेस्रो त समग्रमा पठन संस्कृतिलाई बढाउने छ,’ उनले भनिन्, ‘म यहीं बस्छु । यहाँ धेरै विद्यालयहरू छन् । त्यसैले यहाँका विद्यार्थीलाई सहयोग हुने किसिमले यो पुस्तकालय सुरु गरें,’ उनले भनिन् । यहाँ खेलकुद गतिविधि पनि हुन्छ । यसले आफूलाई समुदाय र समुदायका मान्छेहरूसँग जोड्न सहयोगसमेत भइरहेको उनको भनाइ छ ।
‘अहिले दसैंको बिदा भएर विद्यार्थी कम छन्,’ स्कन्दा भन्छिन्, ‘हामीले अध्ययनसँगै खेलकुद गतिविधि पनि आयोजना गर्छौं । त्यही भएर बालबालिकाको भीड नै जम्मा हुन्छ ।’ उक्त बाल पुस्तकालयमा नेपाली तथा अंग्रेजी बाल कथा, उपन्यास, चित्र कथा र हास्य (कमिक) गरेर करिब १ सय ५० थान पुस्तक छन् । धेरैजसो विद्यार्थीले नेपाली कथाहरू मन पराउने गरेको उनले सुनाइन् । ‘८–१२ वर्षका विद्यार्थीले नेपाली कथा पढिरहेका छन् । साना केटाकेटीहरू चित्रकथा पढ्छन्,’ उनले भनिन्, ‘त्यसबाहेक १६/१७ वर्षका विद्यार्थीले अंग्रेजी पढ्न मन पराउने रहेछन् ।’ पुस्तकालय सञ्चालनमा उनको परिवारले सुरुदेखि सहयोग गरिरहेको छ । ‘यहाँ के रहेछ भनेर हेर्न आउनु हुनेले आफूसँग भएको किताबहरू दान गर्नुहुन्छ,’ स्कन्दा थप भन्छिन्, ‘यो निःशुल्क हो । त्यसैले एकता बुक्सले बाल साहित्यका किताब दिएर सहयोग गरेको छ ।’
पुस्तकालयमा नभएका किताब मगाएर पनि बालबालिकाले पढ्ने गरेका छन् । ‘मलाई रामायण पढ्न मन थियो । बाल रामायण ल्याइदिनुभयो, त्यो पढिसकें,’ भने, ‘अब रामायण पढ्न मन छ, मैले ल्याइदिनु भनेको छु ।’ उक्त पुस्तकालयमा कुनै शनिबार हाजिरी जवाफ, चित्रकला, खेलकुदलगायत विभिन्न गतिविधियुक्त प्रतियोगिता पनि हुने गर्छ । मिलनले ‘वीर सिक्का’ पुस्तकालयमै भएको हाजिरीजवाफ प्रतियोगितामा जितेका हुन् । उक्त पुस्तक पढिसकेर पुनः पुस्तकालयलाई नै दिएका छन् । उनले थपे, ‘मैले हाजिरीजवाफमा फस्ट भएर जितेको बुक हो । अरूले पनि पढून् भनेर यही डोनेट गरें ।’
यति मात्र नभई दाजु मिलनले बहिनी सुस्मितालाई पढ्न र चित्र कोर्न पनि सघाउँछन् । मिलनलाई चित्रकार बन्न मन छ । उक्त पुस्तकालयमा हरेक शनिबार अन्य बालबालिका पनि आउँछन्, मन परेका पुस्तक पढ्न लैजान्छन् । धुम्रबराह माविमै कक्षा ५ मा पढ्ने ११ वर्षीया धनमाया श्रेष्ठलाई नेपाली बाल कथा पढ्न मनपर्छ । स्कुलका किताबमा भन्दा भिन्नखाले कथा पढ्न पाइने भएकाले पुस्तकालयमा उनी हरेक शनिबार आउँछिन् । ‘मैले यसअघि वातावरण सरसफाइसम्बन्धी कथा पढिसकें,’ धनमाया भन्छिन्, ‘मलाई राम्रो कुरा सिकाउने कथा मनपर्छ ।’ नर्स बन्ने सपना बोकिरहेकी उनी ब्याटमिन्टन, बिंगो र चेस पनि खेल्छिन् । भन्छिन्, ‘पढ्नसँगै खेल्न पाइने भएकाले यहाँ आउँछु ।’ आउने साताका लागि उनले ‘बच्चा र बचेरो’ र ‘चित्र कथा’ पढ्नलाई रोजिन् ।
यसैगरी किताब छान्दै गरेकी विपना साउदले आफूले पढ्दै आइरहेको विद्यालयमा पुस्तकालय भए पनि सधैं खुला नहुने भएकाले शनिबार यहाँ आउने गरेको सुनाइन् । १० कक्षामा पढ्दै गरेकी १६ वर्षीया विपनाले समय धेरै नहुँदा उक्त पुस्तकालयबाट किताब छानेर लिएर जान सजिलो हुने बताइन् । विद्यार्थीको सहभागितालाई सक्रिय बनाउन स्कन्दाले विद्यार्थीलाई थप मनोरञ्जन प्रदान गर्न विभिन्न प्रतियोगितासमेत गरिरहेको सुनाइन् । कुनै साताको शनिबारविभिन्न प्रतियोगिता आयोजना गर्ने र विजेतालाई टिसर्ट, खानेकुरालगायत दिने गरेको बताइन् ।
‘गत साता हामीले चित्रकला प्रतियोगिता गरेका थियौं । अहिले विद्यार्थी कम भएकाले तिहारको बिदापछि विजेता सार्वजनिक गर्छौं,’ स्कन्दाले थप भनिन्, ‘यसअघि बिंगोको विजेतालाई पोखराको प्लेन टिकट दिएका थियौं । अब आउने सातामा पनि यस्तै प्रतियोगिता आयोजना गर्ने तयारीमा छौं ।’ त्यहाँ भेला भएका धेरै विद्यार्थीहरूले स्कन्दालाई पुरस्कार पाइने प्रतियोगिता सोधिरहेका समेत थिए । यसबाट उनी खुसी छिन् । पढाइसँगै केही विद्यार्थी खेलकुदजन्य क्रियाकलापमा सहभागी हुनका लागि पनि यहाँ आउन मन पराउनेमा छन्, धुम्बराहीका प्रज्वल मैनाली । उनी ब्याडमिन्टन खेल्न आएका थिए । ‘बिहान ब्याडमिन्टन खेल्न मन पर्छ,’ उनले भने, ‘त्यसैले म यहाँ आउने गरेको छु ।’
मन्दिर परिसर छेउ खुला ठाउँ भएकाले छुट्टीको दिन आमाहरू पनि पुस्तकालयमा आफ्ना बच्चा लिएर आउने गरेका छन् । धुम्बराही–४ की हेमा गुरुङ राईले आफ्नो ५ वर्षीय छोरा सिद्धार्थलाई लिएर सधैं आउँछिन् । ‘अलिकति भए पनि पढ्न सिकोस् भनेर ल्याउँछु । राम्रोसँग पढ्न नजाने पनि चित्रहरूबाट केही सिक्छन्,’ उनी भन्छिन्, ‘यहाँ खुला ठाउँ छ । साथीहरूसँग खेल्छन् पनि । कोठामा गयो भने मोबाइल चलाउँछ । यहाँ अरूको देखेर पढ्न खोज्छ ।’
उक्त पुस्तकालयले गरेर आफ्नो छोरालाई बिहानको समयमा भुलाउने ठाउँ पाएकाले उनी खुसी भएको बताइन् । ‘यसरी बाहिर खेल्दा बच्चा फ्रेस महसुस गर्छन्,’ उनी थप भन्छन्, ‘जति खेल्न पायो केटाकेटीहरू उति नै खुसी हुने रहेछन् । घरमा गुम्सिएर बस्नुभन्दा केटाकेटीलाई यसरी खुला ठाउँमा ल्याउनुपर्छ ।’
