साम्बाको ‘आइकोनिक मोमेन्ट’

नेपाली महिला फुटबलले मागेको सबैभन्दा ठूलो कथा भने उनले लेख्न बाँकी नै छ, जुन बुधबार उपाधिका लागि बंगलादेशसँग खेलमा सम्भव हुन सक्छ 

कार्तिक १३, २०८१

हिमेश

Samba's 'iconic moment'

काठमाडौँ — सावित्रा भण्डारीलाई कसैले ‘साम्बा’ भन्नुपर्छ, खुसी नै हुन्छिन् । तिनै साम्बाले भारतविरुद्ध गोल गरेपछि बेजोड तरिकाले खुसीयाली मनाइन् । उनको खुसीयाली मनाउने तरिका, जसलाई आउने दिनले नेपाली खेलकुदकै ‘आइकोनिक मोमेन्ट्स’ मान्नेछ ।

वुमेन्स साफ च्याम्पियनसिपमा भारतविरुद्धको सेमिफाइनलमा बराबरी गोल फर्काएपछि उनको दशरथ रंगशालामा दुई हातले जर्सी प्रदर्शन गर्दैहुँकार भरेकी थिइन् । यसरी नै हो, पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले गोलको क्षण खुसी मनाउने पनि । 

सावित्रा प्रायः महत्त्वपूर्ण खेल अगाडि रोनाल्डोको खेल हेरेर प्रेरित हुन्छिन् । भारतको सामना गर्न अगाडि पनि उनी आफ्नो आदर्श खेलाडी रोनाल्डोको खेल हेरेर आएकी थिइन् । गोल गरेपछि रोनाल्डोले जसरी खुसीयाली मनाइन् । ठ्याक्कै आफूले त्यस्तै गर्ने योजना भने थिएन । ‘म्याच अगाडि रोनाल्डोको खेल त हेरेकी थिएँ, तर उनकै जस्तो सेलिब्रेसन भने एकाएक भयो,’ सावित्राले खेलपछि भनिन् । 

Samba's 'iconic moment'साम्बाको त्यही गोलको खुसीयालीले नेपाली महिला खेलकुदमा ठूलो परिवर्तनको संकेत गरेको छ । खासमा यसपल्ट मैदानमा अलग्गै सावित्रा भण्डारी थिइन् । समय र परिस्थितिले कोही कसैलाई कसरी खारिन मद्दत गर्छ, त्यसको पनि राम्रो उदाहरण बनेकी छन् । उनको गोलको खुसी मनाउने त्यो खाले शैली भने सम्भवतः फेरि दोहोरिने छैन, किनभने त्यो आफैंमा विशेष रह्यो । अझ यसलाई ४० वर्षजति लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलकै अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण गोल मान्न सकिनेछ । यस्तो किन भन्दा एक त यसले नेपाललाई अन्ततः प्रतियोगिताको फाइनल मात्र पुर्‍याएन । आफ्नो क्षमताभन्दा बढी दर्शक बोकेको दशरथ रंगशालालाई शान्त राख्यो, अत्यन्त आरोह–अवरोहबाट गुज्रेको खेललाई एउटा निश्चित सुखद अन्त्यमा पुर्‍यायो । 

खेलपछि मिडियासामु प्रस्तुत हुँदा नै, उनको परिवर्तित रूप देख्न पाइयो । त्यसै पनि उनी बोल्न सिपालु थिइन्, अब त्यसमा मात्रा मिलाएर लय दिन जान्ने पनि भइन् । उनको खेल आफैंमा पनि पहिलो तुलनामा केही न केही राम्रो भएकै छ । अहिले उनी फ्रान्समा खेल्छिन्, त्यहाँ माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट ।

Samba's 'iconic moment'बल्लतल्ल बिदा मिलाएर नेपाल फर्केकी सावित्राले यसपल्टको वुमेन्स साफ च्याम्पियनसिपमा खेलेको पहिलो खेल भनेकै श्रीलंकाविरुद्ध थियो । त्यस खेलमा उनी पूरा समय एकभन्दा बढी श्रीलंकाली डिफेन्डरबाट घेरिएर रहिन् । यसबीच उनले एक यस्तो गोल निकालिन्, जसलाई साँच्चै विश्वस्तरीय मान्न सकिन्छ । त्यो खेलको ५४ औं मिनेटमा सम्भव भएको थियो । 

आइतबार भारतविरुद्धको सेमिफाइनलमा पनि साम्बाको खुट्टाबाट त्यस्तै अर्को विश्वस्तरीय गोल भयो । उनले अवरुद्ध खेल सुरु भएको एकै मिनेटमा त्यो गोल गरिन् । ‘मैले पहिलो हाफमा केही भूल गरें, त्यसैले गोल गर्न सकिनँ । खेल फेरि सुरु भएपछि मैले आफ्ना सबै साथी खेलाडीलाई भनेकी थिएँ, मलाई बल मात्र देऊ, म गोल गर्नेछु,’ पछि उनले भनिन् । यत्तिको आत्मविश्वासी थिइन्, उनी । खेल नसकिँदासम्म उनका एक खाले आक्रोश देखिन्थ्यो, रिस देखिन्थ्यो । यो सबैलाई उनले खेलमा सकारात्मक ढंगले प्रयोग गरिन् र एक्लै दुई तीन भारतीय खेलाडीमाथि हाबी रहिन् । यो खेललाई साम्बाको एकल प्रदर्शनकै लागि पछिसम्म सम्झिनेछ ।

यति धेरै ठूलो उपलब्धिपछि पनि उनले एक्लै यसको श्रेय लिन खोजिनन् । सारा श्रेय आफ्ना साथी खेलाडीलाई दिएर । अझ योभन्दा बढी श्रेय नेपाली टिमलाई हौसला बढाउन आएका दर्शकप्रति समर्पित गरिन् । भारतविरुद्धको त्यो गोलपछि उनी नेपालका लागि साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेकी छन् । यो एक खास तथ्यले पनि उनलाई धेरै उत्साहित बनाएन, जति नेपालको जितले खुसी दिएको थियो ।

Samba's 'iconic moment'यसबारे उनको प्रतिक्रिया थियो, ‘म आफ्नो व्यक्तिगत प्रदर्शन र गोलका लागि कहाँ खेल्छु र ? मेरो लागि व्यक्तिगत कीर्तिमान कहिल्यै ठूलो रहने छैन ।’ खेललगत्तै अरू सबै खेलाडी जहाँ दर्शकतिर फर्केर खुसीयाली मनाइरहेका थिए, ठीक त्यही बेला सावित्रा भारतीय टिमसँग थिइन् । भारतीय खेलाडीहरूलाई सान्त्वता दिन । भारतीय टिमले पनि उनलाई यसरी स्वीकार गरिरहेको थियो, मानौं, उनी त्यही टिमकी सदस्य थिइन् । अझ उनले आफ्ना आदर्श भारतीय खेलाडी बालादेवीको बुटलाई चुम्बनसमेत गरिन् ।

यसैबारे सावित्राले भनिन्, ‘मैले आफ्नो खेल जीवनमा चार खेलाडीलाई आदर्श मानेकी छु । दुई नेपाली, जमुना गुरुङ र अनु लामा । अनि दुई भारतीय, बालादेवी र आशालतादेवी ।’ सम्भवतः बालादेवी भारतका लागि अन्तिम पटक खेलिरहेकी थिइन् । सावित्रालाई ठूलै आस थियो, कुनै दिन यी भारतीय महिला फुटबलकी ‘लिजेन्ड’ सँगै एउटै क्लबबाट खेल्ने । त्यो त पूरा भएन । तर तिनै बालादेवीविरुद्ध सानदार खेलिन् ।

Samba's 'iconic moment'तर नेपाली महिला फुटबलले मागेको सबैभन्दा ठूलो कथा भने सावित्राले लेख्न बाँकी नै छ । अब बुधबार नेपालले उपाधिको भिडन्तमा बंगलादेशको सामना गर्नेछ । यो हुनेछ, डिफेन्डिङ च्याम्पिनयविरुद्धको खेल । नेपाली महिला फुटबलको नियति भन्नु नै अहिलेसम्म रहेको छ, फाइनल पुग्ने, तर हार्ने । यो एकपल्टको कथा होइन, ११ पल्ट दोहोरिसकेको कथा हो । अब जति बेला नेपालले १२ पल्ट फाइनल खेल्नेछ, तिनै सावित्रामाथि नेपाललाई उपाधि दिलाउने जिम्मेवारी हुनेछ ।

उनी भन्छिन् नै, ‘नेपालले एक दिन न एक दिन उपाधि जित्ने छ नै ।’त्यो दिन अब भोलि हुन सक्नेछ । यो काम फेरिएकी साम्बाले नै गर्न सक्छिन् ।

हिमेश

Link copied successfully