नेपाली महिला फुटबलले मागेको सबैभन्दा ठूलो कथा भने उनले लेख्न बाँकी नै छ, जुन बुधबार उपाधिका लागि बंगलादेशसँग खेलमा सम्भव हुन सक्छ
काठमाडौँ — सावित्रा भण्डारीलाई कसैले ‘साम्बा’ भन्नुपर्छ, खुसी नै हुन्छिन् । तिनै साम्बाले भारतविरुद्ध गोल गरेपछि बेजोड तरिकाले खुसीयाली मनाइन् । उनको खुसीयाली मनाउने तरिका, जसलाई आउने दिनले नेपाली खेलकुदकै ‘आइकोनिक मोमेन्ट्स’ मान्नेछ ।
वुमेन्स साफ च्याम्पियनसिपमा भारतविरुद्धको सेमिफाइनलमा बराबरी गोल फर्काएपछि उनको दशरथ रंगशालामा दुई हातले जर्सी प्रदर्शन गर्दैहुँकार भरेकी थिइन् । यसरी नै हो, पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले गोलको क्षण खुसी मनाउने पनि ।
सावित्रा प्रायः महत्त्वपूर्ण खेल अगाडि रोनाल्डोको खेल हेरेर प्रेरित हुन्छिन् । भारतको सामना गर्न अगाडि पनि उनी आफ्नो आदर्श खेलाडी रोनाल्डोको खेल हेरेर आएकी थिइन् । गोल गरेपछि रोनाल्डोले जसरी खुसीयाली मनाइन् । ठ्याक्कै आफूले त्यस्तै गर्ने योजना भने थिएन । ‘म्याच अगाडि रोनाल्डोको खेल त हेरेकी थिएँ, तर उनकै जस्तो सेलिब्रेसन भने एकाएक भयो,’ सावित्राले खेलपछि भनिन् ।
साम्बाको त्यही गोलको खुसीयालीले नेपाली महिला खेलकुदमा ठूलो परिवर्तनको संकेत गरेको छ । खासमा यसपल्ट मैदानमा अलग्गै सावित्रा भण्डारी थिइन् । समय र परिस्थितिले कोही कसैलाई कसरी खारिन मद्दत गर्छ, त्यसको पनि राम्रो उदाहरण बनेकी छन् । उनको गोलको खुसी मनाउने त्यो खाले शैली भने सम्भवतः फेरि दोहोरिने छैन, किनभने त्यो आफैंमा विशेष रह्यो । अझ यसलाई ४० वर्षजति लामो नेपाली अन्तर्राष्ट्रिय महिला फुटबलकै अहिलेसम्मको सबैभन्दा महत्त्वपूर्ण गोल मान्न सकिनेछ । यस्तो किन भन्दा एक त यसले नेपाललाई अन्ततः प्रतियोगिताको फाइनल मात्र पुर्याएन । आफ्नो क्षमताभन्दा बढी दर्शक बोकेको दशरथ रंगशालालाई शान्त राख्यो, अत्यन्त आरोह–अवरोहबाट गुज्रेको खेललाई एउटा निश्चित सुखद अन्त्यमा पुर्यायो ।
खेलपछि मिडियासामु प्रस्तुत हुँदा नै, उनको परिवर्तित रूप देख्न पाइयो । त्यसै पनि उनी बोल्न सिपालु थिइन्, अब त्यसमा मात्रा मिलाएर लय दिन जान्ने पनि भइन् । उनको खेल आफैंमा पनि पहिलो तुलनामा केही न केही राम्रो भएकै छ । अहिले उनी फ्रान्समा खेल्छिन्, त्यहाँ माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट ।
बल्लतल्ल बिदा मिलाएर नेपाल फर्केकी सावित्राले यसपल्टको वुमेन्स साफ च्याम्पियनसिपमा खेलेको पहिलो खेल भनेकै श्रीलंकाविरुद्ध थियो । त्यस खेलमा उनी पूरा समय एकभन्दा बढी श्रीलंकाली डिफेन्डरबाट घेरिएर रहिन् । यसबीच उनले एक यस्तो गोल निकालिन्, जसलाई साँच्चै विश्वस्तरीय मान्न सकिन्छ । त्यो खेलको ५४ औं मिनेटमा सम्भव भएको थियो ।
आइतबार भारतविरुद्धको सेमिफाइनलमा पनि साम्बाको खुट्टाबाट त्यस्तै अर्को विश्वस्तरीय गोल भयो । उनले अवरुद्ध खेल सुरु भएको एकै मिनेटमा त्यो गोल गरिन् । ‘मैले पहिलो हाफमा केही भूल गरें, त्यसैले गोल गर्न सकिनँ । खेल फेरि सुरु भएपछि मैले आफ्ना सबै साथी खेलाडीलाई भनेकी थिएँ, मलाई बल मात्र देऊ, म गोल गर्नेछु,’ पछि उनले भनिन् । यत्तिको आत्मविश्वासी थिइन्, उनी । खेल नसकिँदासम्म उनका एक खाले आक्रोश देखिन्थ्यो, रिस देखिन्थ्यो । यो सबैलाई उनले खेलमा सकारात्मक ढंगले प्रयोग गरिन् र एक्लै दुई तीन भारतीय खेलाडीमाथि हाबी रहिन् । यो खेललाई साम्बाको एकल प्रदर्शनकै लागि पछिसम्म सम्झिनेछ ।
यति धेरै ठूलो उपलब्धिपछि पनि उनले एक्लै यसको श्रेय लिन खोजिनन् । सारा श्रेय आफ्ना साथी खेलाडीलाई दिएर । अझ योभन्दा बढी श्रेय नेपाली टिमलाई हौसला बढाउन आएका दर्शकप्रति समर्पित गरिन् । भारतविरुद्धको त्यो गोलपछि उनी नेपालका लागि साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेकी छन् । यो एक खास तथ्यले पनि उनलाई धेरै उत्साहित बनाएन, जति नेपालको जितले खुसी दिएको थियो ।
यसबारे उनको प्रतिक्रिया थियो, ‘म आफ्नो व्यक्तिगत प्रदर्शन र गोलका लागि कहाँ खेल्छु र ? मेरो लागि व्यक्तिगत कीर्तिमान कहिल्यै ठूलो रहने छैन ।’ खेललगत्तै अरू सबै खेलाडी जहाँ दर्शकतिर फर्केर खुसीयाली मनाइरहेका थिए, ठीक त्यही बेला सावित्रा भारतीय टिमसँग थिइन् । भारतीय खेलाडीहरूलाई सान्त्वता दिन । भारतीय टिमले पनि उनलाई यसरी स्वीकार गरिरहेको थियो, मानौं, उनी त्यही टिमकी सदस्य थिइन् । अझ उनले आफ्ना आदर्श भारतीय खेलाडी बालादेवीको बुटलाई चुम्बनसमेत गरिन् ।
यसैबारे सावित्राले भनिन्, ‘मैले आफ्नो खेल जीवनमा चार खेलाडीलाई आदर्श मानेकी छु । दुई नेपाली, जमुना गुरुङ र अनु लामा । अनि दुई भारतीय, बालादेवी र आशालतादेवी ।’ सम्भवतः बालादेवी भारतका लागि अन्तिम पटक खेलिरहेकी थिइन् । सावित्रालाई ठूलै आस थियो, कुनै दिन यी भारतीय महिला फुटबलकी ‘लिजेन्ड’ सँगै एउटै क्लबबाट खेल्ने । त्यो त पूरा भएन । तर तिनै बालादेवीविरुद्ध सानदार खेलिन् ।
तर नेपाली महिला फुटबलले मागेको सबैभन्दा ठूलो कथा भने सावित्राले लेख्न बाँकी नै छ । अब बुधबार नेपालले उपाधिको भिडन्तमा बंगलादेशको सामना गर्नेछ । यो हुनेछ, डिफेन्डिङ च्याम्पिनयविरुद्धको खेल । नेपाली महिला फुटबलको नियति भन्नु नै अहिलेसम्म रहेको छ, फाइनल पुग्ने, तर हार्ने । यो एकपल्टको कथा होइन, ११ पल्ट दोहोरिसकेको कथा हो । अब जति बेला नेपालले १२ पल्ट फाइनल खेल्नेछ, तिनै सावित्रामाथि नेपाललाई उपाधि दिलाउने जिम्मेवारी हुनेछ ।
उनी भन्छिन् नै, ‘नेपालले एक दिन न एक दिन उपाधि जित्ने छ नै ।’त्यो दिन अब भोलि हुन सक्नेछ । यो काम फेरिएकी साम्बाले नै गर्न सक्छिन् ।
