नयाँ उद्यमका लागि नेपालमा अझै पनि अनुकूल वातावरण बनिनसकेको गुनासो सुनिने गरे पनि केही युवाले भने अध्ययनकै सिलसिलामा ‘स्टार्टअप बिजनेस’ गरी सफलता पाएका उदाहरण पेस गरिरहेका छन्
काठमाडौँ — अब के गर्ने ? कुन क्षेत्रमा करियर बनाउने ?’ भेटघाट वा चियागफमा प्रायः ‘जेन–जी’ पुस्ता यही सवालमा गन्थनमन्थन गर्छन् । उनीहरू केही नयाँ काम गर्न खोज्छन्, जुन उदाहरणीय र आफ्नो रुचिसँग मिल्दो पनि होस् । जस्तो कि सन्देश गैरेको जुक्ति सुनौं ।
उनलाई लागिरहन्थ्यो, ‘अब केही नयाँ गर्नुपर्छ ।’ तर गर्ने के ? कुनै भेउ पाएका थिएनन् । ‘अरूले गरेको कामभन्दा पनि फरक र राम्रो काम होस् भन्ने लाग्थ्यो,’ उनी सुनाउँछन्, ‘त्यसैले केराको थामबाट फाइबर निकालेर विभिन्न उत्पादन सुरु गर्ने योजना बनायौं ।’ फल टिपिसकेपछि केराको थाम प्रायः काम लाग्दैन । यस्तो थाम यत्तिकै खेर जान्छ । त्यही थामबाट रेसा निकालेर त्यसैबाट उपयोगी सरसामान बनाउन पाए कसो होला ?
हुन त यो जुक्ति उनीहरूलाई त्यसबेला फुरेको थियो, जतिबेला मेकानिकल इन्जिनियरिङ चौथो वर्षको प्रोजेक्ट गर्दै थिए । प्रोजेक्ट गर्ने क्रममा उनीहरूले यसैमा ‘स्कोप’ देखे । ‘नेपालमा अरू कसैले नगरेको काम थियो यो,’ सन्देश भन्छन्, ‘त्यसैले अरूको भन्दा फरक र समुदायका लागि उपयोगी पनि हुन्छ भन्ने लाग्यो ।’ एक वर्षसम्म उनीहरूले यसका लागि आवश्यक मेसिन कस्तो चाहिएला भनी अनुसन्धान गरे । बितेको ६ महिनायता उनीहरूले आफ्नो उत्पादन बजारमा ल्याएका छन् । उनीहरूले आफ्नो उद्यमको नाम दिएका छन्, कन्दुक इन्डस्ट्री ।
जुना भट्टराई भिडिड इन्टेरिर्सकी संस्थापक तथा इन्टेरियर डिजाइनर हुन् । उनीहरूले अहिले आन्तरिक सज्जा र कन्स्ट्रक्सनको काम गरिरहेका छन् । यो इलम उनले कसरी सुरु गरिन् त ? आईसीई कलेजबाट इन्टेरियर डिजाइनको कोर्स गरिसकेपछि उनलाई केही गर्छु भन्ने सोच त थियो तर अनुभव थिएन । त्यसैले उनले २ वर्ष जागिर गरिन् । यस क्रममा आफ्नै उद्यम खोल्छु भन्ने आत्मविश्वास पलायो र आफ्नो नाममा छुटै कम्पनी दर्ता गरिन् । ‘यो ९ वर्षअघिको कुरा हो, जतिबेला इन्टेरियरसम्बन्धी खासै चासो थिएन,’ उनी भन्छिन्, ‘हाम्रो कामबारे र इन्टेरियरका बारेमा बुझाउन त्यसबेला निकै गाह्रो भएको थियो ।’
एक त नयाँ उद्यम, अर्कोतिर मान्छेलाई यसप्रति चासो थिएन । ‘मलाई के कुरामा चाहिँ विश्वास थियो भने एक दिन यो काम राम्रो हुनेछ,’ उनी सुरुवाती दिन सम्झँदै भन्छिन्, ‘त्यही आत्मविश्वास र दृढताले म निरन्तर लागिपरें ।’ त्यसबेला उनीहरूले समूह बनाएर नै ‘इन्टेरियर डिजाइन किन आवश्यक छ’ भनी जनचेतना फैलाउने काम गरे । पछि क्रमशः यस क्षेत्रलाई मान्छेहरूले बुझ्दै गए र उनको व्यवसायमा प्रगति हुँदै गयो ।
कोरोनाका कारण भएको पहिलो लकडाउनपछिको पट्यारलाग्दो समय । अब के गर्ने भन्ने प्रश्नले निर्मल घर्तीलाई जहिले घोचिरहन्थ्यो । केही व्यापार/व्यवसाय गर्ने रुचि सानैदेखिको थियो । तर के गर्ने ? यसबारे उनले केही सोचेका थिएनन् । यद्यपि उनलाई खेती किसानीमा रुचि थियो र त्यसैलाई नयाँ ढंगले गर्न सकिन्छ कि भनेर लागिपर्न थाले । अन्ततः यसै हुटहुटीले जन्मायो, हिमालय फ्लोरिकल्चर । उनलाई यसमा साथ दिए सविन ढकालले । उनी यसका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हुन् । निर्मलको हिमालय फ्लोरिकल्चरले आफ्नै जग्गा लिएर फूल उत्पादन गर्छ र त्यसलाई बजारसम्म पुर्याउँछ । ‘एक त सानैदेखि खेती गर्दै हुर्केको भएकाले खेती किसानीमा अनुभव थियो,’ उनी सुनाउँछन्, ‘त्यससँगै बिजनेसको विद्यार्थी भएकाले यसलाई अर्थोपार्जनसँग कसरी जोड्ने भन्ने योजना पनि ।’ तर यस्तो कुरा परिवारलाई सहजै मन्जुर हुने कुरा भएन ।
पैसा खर्च गरेर एमबीए पढाएको छोरो ‘फूल खेती गर्छु’ भन्दा आमाबुबाको चित्त बुझ्ने कुरै भएन । ‘फूल खेती नै गर्नु थियो भने किन यत्तिका खर्च गरेर पढेको ?’ आमाबुबा भन्ने गर्थे । त्यसमाथि नजिकै आमा समूहले फूल खेती गरेकै थियो । घरपरिवार र छरछिमेकबाट आउने यस्ता प्रश्नहरू सामना गर्दै उनीहरू आफ्नो काममा तल्लीन रहे । ‘बरु यसलाई कसरी नयाँपन दिने ?’ उनीहरू सोच्न थाले । अन्ततः उनीहरूले फूल खेती गर्ने मात्र होइन, ग्राहकको माग र रोजाइअनुसार तुरुन्तै उपलब्ध पनि गराउने गर्छ । ‘हामीले यो उद्यम सुरु गर्दा ग्राहकले अर्डर गरेको दुई दिनपछि डेलिभरी हुन्थ्यो,’ उनले भने, ‘अहिले दुई घण्टामै डेलिभरी हुन्छ ।’ उनीहरूको यो व्यवसाय खासगरी फूल उपहार दिनका लागि सुरु गरिएको हो ।
कुनै पनि उद्यम व्यवसाय कसरी सफल हुन्छ ? कसरी त्यसबाट पैसा मात्र होइन ख्याति पनि आर्जन हुन्छ ? ‘कुनै पनि व्यवसाय सुरु गर्दा दुई वटा कुरा हुनुपर्छ जस्तो लाग्छ,’ निर्मल भन्छन्, ‘एउटा टिकाउयुक्त र अर्को चाहिँ व्यवसायीकरण । बिजनेसलाई सौखभन्दा पनि व्यवसायका रूपमा हेरिनुपर्छ जस्तो लाग्छ ।’ कुनै पनि उद्यम व्यवसायलाई सही ढंगले अगाडि बढाउन टिमवर्कको पनि जरुरी हुन्छ । इन्टेरियर डिजाइनको काम सुरु गर्दा जुनाले यही कुरा महसुस गरिन् । तर सबै टिमलाई उत्तिकै सशक्त ढंगले परिचालन गर्न निकै गाह्रो हुन्थ्यो । तर, निरन्तरको प्रयास र दृढताले गर्दा यो काम सहज भयो । उनलाई लाग्छ, ‘जीवनशैलीमा आधारित बिजनेसको माग कहिल्यै घट्दैन । किनभने आज एउटा ट्रेन्ड आएको छ भने भोलि अर्को ट्रेन्ड आउँछ ।’
कुनै पनि बिजनेस सुरु गर्दा प्रतिबद्धता, धैर्यता र सीप हुनु जरुरी हुने उनी बताउँछिन् । कुनै पनि उद्यम व्यवसाय सुरु गर्दा समयको मागलाई पनि ख्याल गर्नुपर्ने बताइन्छ । ‘अहिले मान्छेहरू इकोफ्रेन्ड्ली उत्पादन प्रयोग गर्न खोजिरहेका छन्,’ सन्देश भन्छन्, ‘नेपालमा त्यसको अभाव पनि देख्यौं ।’ जहाँ समस्या त्यहीं अवसर भनेजस्तै उनीहरूले यो अभावलाई मौकामा बदले ।
यद्यपि नेपालमा नयाँ उद्यम व्यवसाय गर्दा धेरै चुनौती पनि सामना गर्नुपर्ने उनको अनुभव छ । उनी भन्छन्, ‘एक त यहाँको बजार एकदम सीमित छ । अर्को चाहिँ भनेजस्तो मेसिन पाउन मुस्किल छ ।’ मेकानिकल इन्जिनियरिङ पढेकाले कतिपय मेसिन उनीहरू आफैंले डिजाइन गरे । अहिले उनीहरू समुदायसँग मिलेर काम गरिरहेका छन् । केरा खेती गर्ने किसानकहाँ नै मेसिन जडान गरिदिएका छन् । त्यहाँ उत्पादित सामग्रीलाई बजार व्यवस्थापन गर्ने काम उनीहरूले गरिदिएका छन् । ‘कुनै पनि व्यवसायमा धैर्य र प्रतिबद्धता चाहिन्छ,’ उनी भन्छन्, ‘आजको भोलि नै सबै कुरा प्राप्त हुँदैन ।’
