तनहुँ — तत्कालीन मन्त्रिपरिषद्ले २०२५ सालमा तनहुँसहित ९ वटा जिल्लाको सदरमुकाम सार्ने निर्णय गर्यो । निर्णयअनुसार २०२५ मंसिर १९ मा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सारियो । सदरमुकाम सरेपछि बन्दीपुर उराठ बन्दै गयो ।
यहाँका व्यापारी चितवन, दमौली, काठमाडौं र पोखरासम्म पुगे । सदरमुकामसँगै व्यापारी पनि हिँडेपछि यसको अस्तित्व नै मेटिने जोखिम बढ्यो । तर स्थानीय जागेपछि अहिले बन्दीपुरको पहिचान र परिचय बदलिएको छ ।
बन्दीपुरका सहरी संरचना करिब साढे दुई सय वर्ष पुरानो रहेको स्थानीय ५५ वर्षीय विक्रम पिया बताउँछन् । रहनसहन र संरचनाका साथसाथै प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । ‘सन् १७७५–१८०० मा भक्तपुरे नेवारहरू आएर यहाँ बसोबास गरे । त्यसअघि मगर समुदायको बसोबास रहेको हामीले बाबुबाजेबाट सुन्दै आएका हौं,’ उनले भने, ‘मगर समुदायकै बस्ती भएकाले बन्दीपुर नामकरण भएको भनाइ पनि छ । मगर भाषामा पानीलाई ‘डी’ भन्ने गरिन्छ । वन र पानी भएको ठाउँ भएर बन्डीपुर हुँदै बन्दीपुर नामकरण हुन गएको कथन भेटिन्छ ।’ वरपर खुदी, साम्दी, मर्स्याङ्दी, चँदी, मादीलगायत खोलानदी रहेको र यिनको नामको पछाडि दी रहेको भएर वन र दी मिलाएर बन्दीपुर राखेको पनि कथन रहेको उनले सुनाए ।
भक्तपुरबाट बन्दीपुर आएका पियाहरूको पहिलो पुस्ता टेकनसिंहको आफू नवौं पुस्ता रहेको उनले बताए । ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा कीर्तिपुर घेरेर आक्रमण गरेका थिए,’ उनले भने, ‘भक्तपुरमा पनि आक्रमण हुने डरले भक्तपुरे नेवारहरू बन्दीपुर आएर व्यापार व्यवसाय गरी बस्न थालेका रहेछन् । पछिल्लो समय बन्दीपुर नेवारी कला र संस्कृतिका लागि प्रसिद्ध छ । ’
प्रकृतिसँगै व्यापारिक दृष्टिकोणले पनि बन्दीपुर उपयुक्त स्थान भएकाले भक्तपुरे नेवारहरू बन्दीपुरमै बसेको स्थानीय ८० वर्षीय चिजकुमार श्रेष्ठ बताउँछन् । ‘पुर्खाहरूले जहाँ जल, जमिन र जंगल पाइन्छ त्यहाँ बस्ती बसाउने गर्थे,’ श्रेष्ठले भने, ‘मेरा बाउबाजेहरू पनि यहाँ बस्ती बसिसकेपछि आएका रहेछन् ।’ मगर समुदायको बस्ती रहेको बन्दीपुरमा करिब २४० वर्ष अगाडि प्रधान, नेवार, श्रेष्ठ र पिया थरका भक्तपुरे आएर बसोबास गरेको उनले सुनाए ।
त्यतिबेला नेवारहरूले व्यापार व्यवसायलाई आफ्नो मुख्य पेसा बनाएका थिए । नेपाल–भारत सीमा क्षेत्रमा रहेको ठोरीबाट नुन तेललगायत सामान ल्याएर बिक्री गर्थे । आफ्ना बुबाले भनेको स्मरण गर्दै श्रेष्ठले भने, ‘तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य थलोका रूपमा विकास भएको बन्दीपुरमा छुट्टै चहलपहल हुन्थ्यो ।’
आफ्नो बुबाले कपडा र किराना पसल राखेको स्मरण गर्दै ५० वर्षीय सुजन श्रेष्ठले भने, ‘बाबुबाजेबाट सुनेको यहाँ ठूल्ठूला थोक व्यापार गर्ने पसलहरू थिए । उत्तरबाट धाक्रे (डोको) लिएर सामान लिन आउने गर्थे ।’ सदरमुकाम सरेपछि पढाइ र व्यवसायको सिलसिलामा पूरै परिवार नै दमौलीमा सरेको र २०४१ तिर पुनः बन्दीपुर फर्किएको उनले सुनाए ।
२०२५ देखि २०५० सम्म बन्दीपुरको अवस्था निकै दयनीय रहेको यहाँका बासिन्दा बताउँछन् । ‘बन्दीपुरमा प्रायः वृद्धवृद्धा मात्रै बसोबास गर्थे । यहाँका पुराना घर कुर्नलाई पैसा दिएर मान्छे राख्नुपर्ने अवस्था थियो । कैयौं घर त कुरुवा नभएर भत्कने अवस्थामा पुगे । पर्यटक आउँदा ‘बन्दीपुर इज अ घोस्ट टाउन’ भन्ने गर्थे,’ श्रेष्ठले भने ।
बन्दीपुरको दयनीय अवस्था देखेर काठमाडौंमा बसोबास गर्ने बन्दीपुरेले २०४९ सालमा बन्दीपुर सामाजिक विकास समिति गठन गरे । पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रसँगै बन्दीपुरेलाई एकजुट बनाउने उद्देश्यले समिति गठन गरिएको संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । समिति गठनपछि अन्य स्थानमा रहेका बन्दीपुरे पनि वर्षको एकपटक आउन थाले र आफ्नो सीप अनुसारको निःशुल्क सहयोग गर्न थाले ।
‘यस क्षेत्रमा बसोबास गर्ने नेवार, मगर र गुरुङ समुदायको सांस्कृतिक विविधताले पर्यटक आकर्षण गर्ने माध्यम बन्न सक्ने लागेर बन्दीपुरे जागे । यहाँको प्रकृति, संस्कृति, जातीय पहिचान झल्काउने रीतिरिवाज र बन्दीपुरको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरियो,’ उनले भने, ‘बन्दीपुरमा बाह्य पर्यटक आउन थाले । पर्यटकका लागि लक्षित गरी होमस्टे पनि सञ्चालन गरियो । बन्दीपुरका चिया व्यापारीदेखि होमस्टे सञ्चालकलाई पर्यटकको स्वागतसत्कारबारे तालिम पनि दियौं ।’
२०५६ सालतिर बन्दीपुरको बजार क्षेत्रमा सबै प्रकारका सवारीसाधन चल्थे । बजार क्षेत्रमा ढुंगा बिछ्याएपछि भने सवारीसाधन चलाउन रोक लगाइयो । उनले भने, ‘ढुंगा बिछ्याउने विषयमा पनि ठूलो विवाद भएको थियो । सबै पक्षको छलफलपछि बजार क्षेत्रमा ढुंगा बिछ्याउने काम गरियो । अहिले यही ढुंगा बन्दीपुरको पहिचान पनि बनेको छ ।’
सदरमुकाम दमौलीदेखि डुम्रेसम्म १८ किलोमिटर र त्यहाँबाट ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँको उच्च पहाडी क्षेत्रबाट मनोरम हिमशृंखला, पहाडी टाकुराका साथै उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकन गर्न सकिन्छ । हिमालयको फराकिलो दृश्य अवलोकन गर्न पाउनु बन्दीपुरको अर्को विशेषता हो ।
बजारबाट १० मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाडका तरेली पनि निकै लोभलाग्दा र आकर्षक देखिन्छन् । यहाँबाट लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे र कान्जिरोवा हिमाल देखिन्छन् । प्राकृतिक भ्युटावरका रूपमा ठडिएको मर्स्याङ्दी नदी तटीय क्षेत्रका उर्वर भूमिको लोभलाग्दो दृश्य अवलोकन गर्न सकिन्छ ।
गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बन्दीपुर ‘पहाडकी रानी’ उपनामले पनि परिचित छ । समुद्री सतहबाट १ हजार ३१७ मिटर उचाइमा रहेको बन्दीपुर हिमशृंखला, सांस्कृतिक एवं धार्मिकस्थल, एग्रो–ईको टुरिजम, साहसिक पर्यटनलगायतमा परिचित रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउँछन् । २०७२ को भूकम्प र कोरोना संक्रमणका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि अहिले बिस्तारै लयमा फर्कन थालेको छ । उनले भने, ‘अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति राम्रो छ ।’ यहाँ विशेषगरी चीन, फ्रान्स, जर्मन, मलेसिया, थाइल्यान्डलगायतका मुलुकबाट पर्यटक आउने गर्छन् ।
सहरको भीडभाडबाट टाढा, प्राकृतिक सौन्दर्य र सफा वातावरणमा रम्न चाहनेका लागि बन्दीपुर आकर्षक गन्तव्य भएको होटल व्यवसायी विपिन प्रधान बताउँछन् । उनले भने, ‘यहाँको परम्परागत कला, संस्कृति तथा प्राकृतिक मनोरम दृश्यका साथै स्वच्छ वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरू आउनुहुन्छ ।’
बन्दीपुर गाउँपालिकास्थित सिद्ध गुफालाई एसियाकै ठूलो भएको दाबी गरिन्छ । हाइकिङका दृष्टिले पनि बन्दीपुर उपयुक्त गन्तव्य भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए । उनले भने, ‘१ हजार १५० मिटर उचाइमा रहेको भन्ज्याङ चौतारा, गुरुञ्चे डाँडाबाट प्याराग्लाइडिङ पनि गरिन्छ । बन्दीपुर वरापराको क्षेत्र साहसिक पर्यटनका लागि पनि आकर्षक गन्तव्य हो ।’ यहाँ सानाठूला गरी करिब ९० वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । बजार क्षेत्रमा ४ र गाउँपालिकाभित्र ११ वटा समुदायिक होमस्टे छन् । यहाँका होटल तथा होमस्टेमा ५ हजार जना बढीले रात बिताउन सक्ने क्षमता छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र, निर्माणाधीन मिनी ग्रेटवाल, साइकल लेन, केवलकारलगायतका संरचनाले पर्यटकलाई लोभ्याउने गर्छ ।
पर्यटन पूर्वाधार थपिँदै
बन्दीपुरमा पर्यटकको बसाइँ लम्ब्याउने भन्दै गाउँपालिकाले विभिन्न पर्यटन लक्षित पूर्वाधार निर्माण कार्य आगडि बढाएको छ । करिब ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनासहित २०७६ सालबाट मिनी ग्रेटवालको निर्माण सुरु गरिएको छ । ग्रेटवालको झल्को दिने गरी थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको करिब ३ किलोमिटर दूरीको मिनी ग्रेटवाल निर्माणाधीन छ । यो सम्पन्न गर्न करिब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा यहाँको प्रचारप्रसारका लागि र बन्दीपुरका विषयमा जानकारी लिन सहज बनाउन विभिन्न १० भाषामा क्यूआर कोर्डमार्फत प्रचारप्रचार सामग्री तयार गरिएको अध्यक्ष थापाले बताए । ‘बन्दीपुरमा थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ,’ उनले भने ।
यस्तै, बन्दीपुरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनासहित गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको छ । पर्यटन लक्षित भएर सञ्चालित होटल व्यवसाय तथा होमस्टेलाई एकअर्कासँग समन्वय र सहकार्य गरी बन्दीपुरको पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन समन्वय र सहकार्य गर्दै आएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले कृषि, पशुपालन तथा स्थानीय कला संस्कृतिको प्रवर्द्धनलाई पनि पर्यटनसँगै जोड्दै समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
