स्थानीय जागेपछि बदलिएको बन्दीपुर

कार्तिक २९, २०८१

सम्झना रसाइली

Bandipur changed after local awakening

तनहुँ — तत्कालीन मन्त्रिपरिषद्ले २०२५ सालमा तनहुँसहित ९ वटा जिल्लाको सदरमुकाम सार्ने निर्णय गर्‍यो । निर्णयअनुसार २०२५ मंसिर १९ मा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सारियो । सदरमुकाम सरेपछि बन्दीपुर उराठ बन्दै गयो ।

यहाँका व्यापारी चितवन, दमौली, काठमाडौं र पोखरासम्म पुगे । सदरमुकामसँगै व्यापारी पनि हिँडेपछि यसको अस्तित्व नै मेटिने जोखिम बढ्यो । तर स्थानीय जागेपछि अहिले बन्दीपुरको पहिचान र परिचय बदलिएको छ । 

बन्दीपुरका सहरी संरचना करिब साढे दुई सय वर्ष पुरानो रहेको स्थानीय ५५ वर्षीय विक्रम पिया बताउँछन् । रहनसहन र संरचनाका साथसाथै प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । ‘सन् १७७५–१८०० मा भक्तपुरे नेवारहरू आएर यहाँ बसोबास गरे । त्यसअघि मगर समुदायको बसोबास रहेको हामीले बाबुबाजेबाट सुन्दै आएका हौं,’ उनले भने, ‘मगर समुदायकै बस्ती भएकाले बन्दीपुर नामकरण भएको भनाइ पनि छ । मगर भाषामा पानीलाई ‘डी’ भन्ने गरिन्छ । वन र पानी भएको ठाउँ भएर बन्डीपुर हुँदै बन्दीपुर नामकरण हुन गएको कथन भेटिन्छ ।’ वरपर खुदी, साम्दी, मर्स्याङ्दी, चँदी, मादीलगायत खोलानदी रहेको र यिनको नामको पछाडि दी रहेको भएर वन र दी मिलाएर बन्दीपुर राखेको पनि कथन रहेको उनले सुनाए । 

भक्तपुरबाट बन्दीपुर आएका पियाहरूको पहिलो पुस्ता टेकनसिंहको आफू नवौं पुस्ता रहेको उनले बताए । ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा कीर्तिपुर घेरेर आक्रमण गरेका थिए,’ उनले भने, ‘भक्तपुरमा पनि आक्रमण हुने डरले भक्तपुरे नेवारहरू बन्दीपुर आएर व्यापार व्यवसाय गरी बस्न थालेका रहेछन् । पछिल्लो समय बन्दीपुर नेवारी कला र संस्कृतिका लागि प्रसिद्ध छ । ’ 

प्रकृतिसँगै व्यापारिक दृष्टिकोणले पनि बन्दीपुर उपयुक्त स्थान भएकाले भक्तपुरे नेवारहरू बन्दीपुरमै बसेको स्थानीय ८० वर्षीय चिजकुमार श्रेष्ठ बताउँछन् । ‘पुर्खाहरूले जहाँ जल, जमिन र जंगल पाइन्छ त्यहाँ बस्ती बसाउने गर्थे,’ श्रेष्ठले भने, ‘मेरा बाउबाजेहरू पनि यहाँ बस्ती बसिसकेपछि आएका रहेछन् ।’ मगर समुदायको बस्ती रहेको बन्दीपुरमा करिब २४० वर्ष अगाडि प्रधान, नेवार, श्रेष्ठ र पिया थरका भक्तपुरे आएर बसोबास गरेको उनले सुनाए ।

त्यतिबेला नेवारहरूले व्यापार व्यवसायलाई आफ्नो मुख्य पेसा बनाएका थिए । नेपाल–भारत सीमा क्षेत्रमा रहेको ठोरीबाट नुन तेललगायत सामान ल्याएर बिक्री गर्थे । आफ्ना बुबाले भनेको स्मरण गर्दै श्रेष्ठले भने, ‘तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य थलोका रूपमा विकास भएको बन्दीपुरमा छुट्टै चहलपहल हुन्थ्यो ।’ 

Bandipur changed after local awakening

आफ्नो बुबाले कपडा र किराना पसल राखेको स्मरण गर्दै ५० वर्षीय सुजन श्रेष्ठले भने, ‘बाबुबाजेबाट सुनेको यहाँ ठूल्ठूला थोक व्यापार गर्ने पसलहरू थिए । उत्तरबाट धाक्रे (डोको) लिएर सामान लिन आउने गर्थे ।’ सदरमुकाम सरेपछि पढाइ र व्यवसायको सिलसिलामा पूरै परिवार नै दमौलीमा सरेको र २०४१ तिर पुनः बन्दीपुर फर्किएको उनले सुनाए । 

२०२५ देखि २०५० सम्म बन्दीपुरको अवस्था निकै दयनीय रहेको यहाँका बासिन्दा बताउँछन् । ‘बन्दीपुरमा प्रायः वृद्धवृद्धा मात्रै बसोबास गर्थे । यहाँका पुराना घर कुर्नलाई पैसा दिएर मान्छे राख्नुपर्ने अवस्था थियो । कैयौं घर त कुरुवा नभएर भत्कने अवस्थामा पुगे । पर्यटक आउँदा ‘बन्दीपुर इज अ घोस्ट टाउन’ भन्ने गर्थे,’ श्रेष्ठले भने । 

बन्दीपुरको दयनीय अवस्था देखेर काठमाडौंमा बसोबास गर्ने बन्दीपुरेले २०४९ सालमा बन्दीपुर सामाजिक विकास समिति गठन गरे । पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रसँगै बन्दीपुरेलाई एकजुट बनाउने उद्देश्यले समिति गठन गरिएको संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । समिति गठनपछि अन्य स्थानमा रहेका बन्दीपुरे पनि वर्षको एकपटक आउन थाले र आफ्नो सीप अनुसारको निःशुल्क सहयोग गर्न थाले । 

‘यस क्षेत्रमा बसोबास गर्ने नेवार, मगर र गुरुङ समुदायको सांस्कृतिक विविधताले पर्यटक आकर्षण गर्ने माध्यम बन्न सक्ने लागेर बन्दीपुरे जागे । यहाँको प्रकृति, संस्कृति, जातीय पहिचान झल्काउने रीतिरिवाज र बन्दीपुरको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरियो,’ उनले भने, ‘बन्दीपुरमा बाह्य पर्यटक आउन थाले । पर्यटकका लागि लक्षित गरी होमस्टे पनि सञ्चालन गरियो । बन्दीपुरका चिया व्यापारीदेखि होमस्टे सञ्चालकलाई पर्यटकको स्वागतसत्कारबारे तालिम पनि दियौं ।’

२०५६ सालतिर बन्दीपुरको बजार क्षेत्रमा सबै प्रकारका सवारीसाधन चल्थे । बजार क्षेत्रमा ढुंगा बिछ्याएपछि भने सवारीसाधन चलाउन रोक लगाइयो । उनले भने, ‘ढुंगा बिछ्याउने विषयमा पनि ठूलो विवाद भएको थियो । सबै पक्षको छलफलपछि बजार क्षेत्रमा ढुंगा बिछ्याउने काम गरियो । अहिले यही ढुंगा बन्दीपुरको पहिचान पनि बनेको छ ।’ 

सदरमुकाम दमौलीदेखि डुम्रेसम्म १८ किलोमिटर र त्यहाँबाट ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँको उच्च पहाडी क्षेत्रबाट मनोरम हिमशृंखला, पहाडी टाकुराका साथै उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकन गर्न सकिन्छ । हिमालयको फराकिलो दृश्य अवलोकन गर्न पाउनु बन्दीपुरको अर्को विशेषता हो । 

बजारबाट १० मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३ सय किलोमिटर फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाडका तरेली पनि निकै लोभलाग्दा र आकर्षक देखिन्छन् । यहाँबाट लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे र कान्जिरोवा हिमाल देखिन्छन् । प्राकृतिक भ्युटावरका रूपमा ठडिएको मर्स्याङ्दी नदी तटीय क्षेत्रका उर्वर भूमिको लोभलाग्दो दृश्य अवलोकन गर्न सकिन्छ । 

गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास भएको बन्दीपुर ‘पहाडकी रानी’ उपनामले पनि परिचित छ । समुद्री सतहबाट १ हजार ३१७ मिटर उचाइमा रहेको बन्दीपुर हिमशृंखला, सांस्कृतिक एवं धार्मिकस्थल, एग्रो–ईको टुरिजम, साहसिक पर्यटनलगायतमा परिचित रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउँछन् । २०७२ को भूकम्प र कोरोना संक्रमणका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि अहिले बिस्तारै लयमा फर्कन थालेको छ । उनले भने, ‘अहिले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति राम्रो छ ।’ यहाँ विशेषगरी चीन, फ्रान्स, जर्मन, मलेसिया, थाइल्यान्डलगायतका मुलुकबाट पर्यटक आउने गर्छन् ।

सहरको भीडभाडबाट टाढा, प्राकृतिक सौन्दर्य र सफा वातावरणमा रम्न चाहनेका लागि बन्दीपुर आकर्षक गन्तव्य भएको होटल व्यवसायी विपिन प्रधान बताउँछन् । उनले भने, ‘यहाँको परम्परागत कला, संस्कृति तथा प्राकृतिक मनोरम दृश्यका साथै स्वच्छ वातावरणमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरू आउनुहुन्छ ।’

Bandipur changed after local awakening

बन्दीपुर गाउँपालिकास्थित सिद्ध गुफालाई एसियाकै ठूलो भएको दाबी गरिन्छ । हाइकिङका दृष्टिले पनि बन्दीपुर उपयुक्त गन्तव्य भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बताए । उनले भने, ‘१ हजार १५० मिटर उचाइमा रहेको भन्ज्याङ चौतारा, गुरुञ्चे डाँडाबाट प्याराग्लाइडिङ पनि गरिन्छ । बन्दीपुर वरापराको क्षेत्र साहसिक पर्यटनका लागि पनि आकर्षक गन्तव्य हो ।’ यहाँ सानाठूला गरी करिब ९० वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । बजार क्षेत्रमा ४ र गाउँपालिकाभित्र ११ वटा समुदायिक होमस्टे छन् । यहाँका होटल तथा होमस्टेमा ५ हजार जना बढीले रात बिताउन सक्ने क्षमता छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानी वन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र, निर्माणाधीन मिनी ग्रेटवाल, साइकल लेन, केवलकारलगायतका संरचनाले पर्यटकलाई लोभ्याउने गर्छ । 

पर्यटन पूर्वाधार थपिँदै

बन्दीपुरमा पर्यटकको बसाइँ लम्ब्याउने भन्दै गाउँपालिकाले विभिन्न पर्यटन लक्षित पूर्वाधार निर्माण कार्य आगडि बढाएको छ । करिब ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनासहित २०७६ सालबाट मिनी ग्रेटवालको निर्माण सुरु गरिएको छ । ग्रेटवालको झल्को दिने गरी थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको करिब ३ किलोमिटर दूरीको मिनी ग्रेटवाल निर्माणाधीन छ । यो सम्पन्न गर्न करिब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा यहाँको प्रचारप्रसारका लागि र बन्दीपुरका विषयमा जानकारी लिन सहज बनाउन विभिन्न १० भाषामा क्यूआर कोर्डमार्फत प्रचारप्रचार सामग्री तयार गरिएको अध्यक्ष थापाले बताए । ‘बन्दीपुरमा थानीमाई मन्दिर, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजनालाई अगाडि बढाइएको छ,’ उनले भने । 

यस्तै, बन्दीपुरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनासहित गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको छ । पर्यटन लक्षित भएर सञ्चालित होटल व्यवसाय तथा होमस्टेलाई एकअर्कासँग समन्वय र सहकार्य गरी बन्दीपुरको पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउन समन्वय र सहकार्य गर्दै आएको अध्यक्ष थापाले बताए । गाउँपालिकाले कृषि, पशुपालन तथा स्थानीय कला संस्कृतिको प्रवर्द्धनलाई पनि पर्यटनसँगै जोड्दै समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully