नरसिंहा, मसक, हुकुमुकु, एकतारे, टुङ्ना, खैंजडी, दमाहा, सारङ्गी, हारमोनियमलगायत ५० थरी बाजा बजाउने सीप भएका मातृकाप्रसाद वाद्यवादनमा नै लागेको डेढ दशकभन्दा बढी भइसक्यो
पाँचथर — मुखले मुरली, बाँसुरी र सहनाई जस्ता बाजा बजाउनु त सामान्य नै भयो, तर पाँचथरको सुभाङका मातृकाप्रसाद संग्रौला भने नाकैले यी बाजा बजाउन सक्छन् । हाल झापाको सहरेडाँगी बस्ने उनमा नाकबाटै जोर मुरली, जोर बाँसुरी, सहनाई, मेलोडिका जस्ता बाजा घण्टौंसम्म बजाउने अनौठो खुबी छ ।
विभिन्न किसिमका बाजा बजाउनमा दख्खल उनको घरैमा सांस्कृतिक तथा लोक बाजाको संग्रह पनि छ । नरसिंहा, मसक, हुकुमुकु, एकतारे, टुङ्ना, खैंजडी, दमाहा, सारङ्गी, हारमोनियमलगायत ५० थरी बाजा बजाउने सीप भएका उनी वाद्यवादनमा नै लागेको डेढ दशकभन्दा बढी भइसक्यो । यत्तिका समय साधना गर्दा संग्रौला संगीतकार र वाद्यवाधकसँगै प्रशिक्षककै रूपमा स्थापित भइसकेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका जागिरे ५६ वर्षीय संग्रौलाले वाद्यवादनको औपचारिक शिक्षा वा प्रशिक्षण भने लिएका छैनन् । स्वस्फूर्त रूपमा गरेको अभ्यास र साधनाकै कारण नाकले फुकेर विभिन्न बाजा बजाउन पोख्त भएका हुन् । उनी विभिन्न भाका निकालेर पातबाटै संगीत निकाल्नेदेखि सुसेली लगाउने, चराचुरुङ्गीको आवाज निकाल्ने र नयाँ–पुराना भाखामा गीत, कविता, गजल भजन र मुक्तक पनि गाउँछन् । उनलाई झापादेखि इलाम, पाँचथरसम्म हुने कुनै पनि सांगीतिक कार्यक्रममा निम्तो छुट्दैन, अनि संग्रौला पनि त्यस्ता कार्यक्रममा घण्टौं आफ्नो कला प्रस्तुत गरेर सबैलाई मोहित पार्छन् ।
संग्रौलाले मुरली, बाँसुरी, टुंगना, मुर्चुङ्गा, मसक बिनायो र पात बजाएर नेपालसँगै भारतको सिक्किमसम्म गएर प्रस्तुति दिइसकेका छन् । उनले सार्वजनिक कार्यक्रममा नाकले मुरली, बाँसुरी, सहनाईलगायत बाजा बजाउँदा दर्शकहरू आश्चर्य मान्दै मन्त्रमुग्ध भएर सुन्ने गर्छन् । ‘नियमित योग साधनाबाट नै मैले यत्तिको बजाउन सक्ने भएको हुँ,’ संग्रौला भन्छन् । केही फरक तरिकाले गरौं भनेर प्रयोग गर्दागर्दै नाकले बाजा बजाउन सिकेको उनले सुनाए । सहरे डाँगीमा एउटा भजनकीर्तन समूह गठन गरिएको छ ।
संग्रौलाले सात वर्षअघि आफ्नै टोलका महिला समूहका सदस्यलाई पहिलो पटक लोक बाजा प्रशिक्षण दिएका थिए । ‘अहिले इलाम, झापा र मोरङका विभिन्न जिल्लाबाट बाजा बजाउने तालिम दिन निम्तो आउँछ । समय व्यवस्थापन गरेर बोलाएका ठाउँमा पुग्ने प्रयास गर्छु,’ उनले भने । हालसम्म दुई हजारभन्दा धेरैलाई उनले वाद्यवादन प्रशिक्षण दिइसकेका छन् । तालिम दिएका धेरैजसो युवा रहेको उनी सुनाउँछन् । युवामा परम्परागत र लोक लयमा आधारित ज्ञान र सीप हस्तान्तरण गर्न सके संस्कृति जगेर्नामा मद्दत पुग्ने उनको तर्क छ ।
तालिम लिने क्रममा अधिकांशले बिनायो, मुर्चुङ्गालगायतका बाजा बजाए पनि नाकले भने थारैले मात्रै बजाउन सकेको उनको अनुभव छ । ‘मुखले राम्ररी बजाउन जान्नेहरू नाकले अभ्यास गर्न खोज्छन्, तर नाकमा छिर्नासाथ काउकुती लागेर हाँस्न थाल्छन्, उनीहरू हाँसेको देखेर मलाई पनि हाँसो उठ्छ,’ उनी भन्छन् । संग्रौलाले आफू बसेको घरको एउटा कोठामा नयाँ–पुराना बाजासँगै पुर्खाहरूले प्रयोग गरेका औजार र यन्त्र सजाएका छन् । उनी फुर्सदमा त्यही कोठामा बसेर लोक बाजाको लयमा गीत र भजन गुनगुनाउँछन् । अर्को कोठालाई पुस्तकालयको रूप दिएर विभिन्न पुस्तक सजाएका छन् । जोकोहीलाई पुस्तकालयमा गएर रुचिअनुसारका पुस्तक पढ्न छुट छ ।
लेखन विधामा पनि संग्रौलाको रुचि उत्तिकै छ । हालसम्म कथा कविता, उपन्यास, खण्डकाव्य र भजनसंग्रह गरी ९ कृतिलाई पुस्तकको रूप दिइसकेका छन् । उनका गीत, भजन, कविता र लोक दोहोरी गरी हालसम्म ९ वटै एल्बम सार्वजनिक भइसकेका छन् । योसँगै उनले आफू संरक्षक रहेको मातृकालय प्रतिष्ठान खोलेका छन् । आफूले आर्जेको ज्ञान, सीप र वाद्ययन्त्र यही प्रतिष्ठानलाई अर्पण गर्ने योजना रहेको उनले सुनाए । जीवन जिउने क्रममा खाएका अनेकन हन्डर र ठक्करले आफूलाई संगीततर्फ डोर्याएको संग्रौला बताउँछन् ।
कला र गलाको सम्मान गर्दै नेपाल र भारतका दर्जनभन्दा धेरै संस्थाले उनलाई सम्मान तथा पुरस्कृत पनि गरेका छन् । प्रस्तुतिका लागि भारत जाँदा त्यहाँ बस्ने नेपाली मूलकाले नेपाली लोक, लय र भाकाप्रति दर्शाएको माया अतुलनीय रहेको उनी सुनाउँछन् ।
अब भने उनलाई नाकले नै घण्टौंसम्म मुरली, बाँसुरी, सहनाई बजाएर गिनिज बुकमा नाम लेखाउने इच्छा रहेछ । जसका लागि नेपाल लोक, संगीत र नाट्य प्रतिष्ठान जस्ता संस्थाले पहल गरिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । ‘नाकले यति धेरै बाजा बनाउन सक्ने अनौठो कलाबाट प्रभावित नहुने कोही छैन,’ लोक गायक खड्ग बोहोरा भन्छन्, ‘ग्रामीण परिवेशमा हुर्किएका उहाँको नाकमै सरस्वतीको बास छ । उहाँको प्रतिभाको कदर गर्नुपर्छ ।’
