जो नाकले नै बजाउँछन् बाजा

नरसिंहा, मसक, हुकुमुकु, एकतारे, टुङ्ना, खैंजडी, दमाहा, सारङ्गी, हारमोनियमलगायत ५० थरी बाजा बजाउने सीप भएका मातृकाप्रसाद वाद्यवादनमा नै लागेको डेढ दशकभन्दा बढी भइसक्यो

मंसिर ३, २०८१

लक्ष्मी गौतम

Those who play instruments with their noses

पाँचथर — मुखले मुरली, बाँसुरी र सहनाई जस्ता बाजा बजाउनु त सामान्य नै भयो, तर पाँचथरको सुभाङका मातृकाप्रसाद संग्रौला भने नाकैले यी बाजा बजाउन सक्छन् । हाल झापाको सहरेडाँगी बस्ने उनमा नाकबाटै जोर मुरली, जोर बाँसुरी, सहनाई, मेलोडिका जस्ता बाजा घण्टौंसम्म बजाउने अनौठो खुबी छ । 

विभिन्न किसिमका बाजा बजाउनमा दख्खल उनको घरैमा सांस्कृतिक तथा लोक बाजाको संग्रह पनि छ । नरसिंहा, मसक, हुकुमुकु, एकतारे, टुङ्ना, खैंजडी, दमाहा, सारङ्गी, हारमोनियमलगायत ५० थरी बाजा बजाउने सीप भएका उनी वाद्यवादनमा नै लागेको डेढ दशकभन्दा बढी भइसक्यो । यत्तिका समय साधना गर्दा संग्रौला संगीतकार र वाद्यवाधकसँगै प्रशिक्षककै रूपमा स्थापित भइसकेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका जागिरे ५६ वर्षीय संग्रौलाले वाद्यवादनको औपचारिक शिक्षा वा प्रशिक्षण भने लिएका छैनन् । स्वस्फूर्त रूपमा गरेको अभ्यास र साधनाकै कारण नाकले फुकेर विभिन्न बाजा बजाउन पोख्त भएका हुन् । उनी विभिन्न भाका निकालेर पातबाटै संगीत निकाल्नेदेखि सुसेली लगाउने, चराचुरुङ्गीको आवाज निकाल्ने र नयाँ–पुराना भाखामा गीत, कविता, गजल भजन र मुक्तक पनि गाउँछन् । उनलाई झापादेखि इलाम, पाँचथरसम्म हुने कुनै पनि सांगीतिक कार्यक्रममा निम्तो छुट्दैन, अनि संग्रौला पनि त्यस्ता कार्यक्रममा घण्टौं आफ्नो कला प्रस्तुत गरेर सबैलाई मोहित पार्छन् ।

संग्रौलाले मुरली, बाँसुरी, टुंगना, मुर्चुङ्गा, मसक बिनायो र पात बजाएर नेपालसँगै भारतको सिक्किमसम्म गएर प्रस्तुति दिइसकेका छन् । उनले सार्वजनिक कार्यक्रममा नाकले मुरली, बाँसुरी, सहनाईलगायत बाजा बजाउँदा दर्शकहरू आश्चर्य मान्दै मन्त्रमुग्ध भएर सुन्ने गर्छन् । ‘नियमित योग साधनाबाट नै मैले यत्तिको बजाउन सक्ने भएको हुँ,’ संग्रौला भन्छन् । केही फरक तरिकाले गरौं भनेर प्रयोग गर्दागर्दै नाकले बाजा बजाउन सिकेको उनले सुनाए । सहरे डाँगीमा एउटा भजनकीर्तन समूह गठन गरिएको छ ।

Those who play instruments with their nosesसंग्रौलाले सात वर्षअघि आफ्नै टोलका महिला समूहका सदस्यलाई पहिलो पटक लोक बाजा प्रशिक्षण दिएका थिए । ‘अहिले इलाम, झापा र मोरङका विभिन्न जिल्लाबाट बाजा बजाउने तालिम दिन निम्तो आउँछ । समय व्यवस्थापन गरेर बोलाएका ठाउँमा पुग्ने प्रयास गर्छु,’ उनले भने । हालसम्म दुई हजारभन्दा धेरैलाई उनले वाद्यवादन प्रशिक्षण दिइसकेका छन् । तालिम दिएका धेरैजसो युवा रहेको उनी सुनाउँछन् । युवामा परम्परागत र लोक लयमा आधारित ज्ञान र सीप हस्तान्तरण गर्न सके संस्कृति जगेर्नामा मद्दत पुग्ने उनको तर्क छ ।

तालिम लिने क्रममा अधिकांशले बिनायो, मुर्चुङ्गालगायतका बाजा बजाए पनि नाकले भने थारैले मात्रै बजाउन सकेको उनको अनुभव छ । ‘मुखले राम्ररी बजाउन जान्नेहरू नाकले अभ्यास गर्न खोज्छन्, तर नाकमा छिर्नासाथ काउकुती लागेर हाँस्न थाल्छन्, उनीहरू हाँसेको देखेर मलाई पनि हाँसो उठ्छ,’ उनी भन्छन् । संग्रौलाले आफू बसेको घरको एउटा कोठामा नयाँ–पुराना बाजासँगै पुर्खाहरूले प्रयोग गरेका औजार र यन्त्र सजाएका छन् । उनी फुर्सदमा त्यही कोठामा बसेर लोक बाजाको लयमा गीत र भजन गुनगुनाउँछन् । अर्को कोठालाई पुस्तकालयको रूप दिएर विभिन्न पुस्तक सजाएका छन् । जोकोहीलाई पुस्तकालयमा गएर रुचिअनुसारका पुस्तक पढ्न छुट छ ।

लेखन विधामा पनि संग्रौलाको रुचि उत्तिकै छ । हालसम्म कथा कविता, उपन्यास, खण्डकाव्य र भजनसंग्रह गरी ९ कृतिलाई पुस्तकको रूप दिइसकेका छन् । उनका गीत, भजन, कविता र लोक दोहोरी गरी हालसम्म ९ वटै एल्बम सार्वजनिक भइसकेका छन् । योसँगै उनले आफू संरक्षक रहेको मातृकालय प्रतिष्ठान खोलेका छन् । आफूले आर्जेको ज्ञान, सीप र वाद्ययन्त्र यही प्रतिष्ठानलाई अर्पण गर्ने योजना रहेको उनले सुनाए । जीवन जिउने क्रममा खाएका अनेकन हन्डर र ठक्करले आफूलाई संगीततर्फ डोर्‍याएको संग्रौला बताउँछन् ।

कला र गलाको सम्मान गर्दै नेपाल र भारतका दर्जनभन्दा धेरै संस्थाले उनलाई सम्मान तथा पुरस्कृत पनि गरेका छन् । प्रस्तुतिका लागि भारत जाँदा त्यहाँ बस्ने नेपाली मूलकाले नेपाली लोक, लय र भाकाप्रति दर्शाएको माया अतुलनीय रहेको उनी सुनाउँछन् ।

अब भने उनलाई नाकले नै घण्टौंसम्म मुरली, बाँसुरी, सहनाई बजाएर गिनिज बुकमा नाम लेखाउने इच्छा रहेछ । जसका लागि नेपाल लोक, संगीत र नाट्य प्रतिष्ठान जस्ता संस्थाले पहल गरिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । ‘नाकले यति धेरै बाजा बनाउन सक्ने अनौठो कलाबाट प्रभावित नहुने कोही छैन,’ लोक गायक खड्ग बोहोरा भन्छन्, ‘ग्रामीण परिवेशमा हुर्किएका उहाँको नाकमै सरस्वतीको बास छ । उहाँको प्रतिभाको कदर गर्नुपर्छ ।’

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully