भरियाबाट पर्वतारोही बनेका सोनाम

भर्खर ४० मा टेक्दै गरेका सोनामको जीवनका आधा समय त भरिया बनेर पर्यटकको पछि लाग्दैमा बित्यो, सानैदेखि हिमाल चुम्ने सपना सााचेकाले अनेक हन्डर र दुःखका बाबजुद ‘ट्रेकिङ’ र ‘माउन्टेन गाइड’ हुँदै उनले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न ७ हजार मिटर उचाइका ७ हिमाल चढिसकेका छन्

मंसिर ३, २०८१

अनिश तिवारी

Porter-turned-climber Sonam

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका–२ छिमीका सोनाम लामालाई सानैदेखि सेताम्मे सेमिसिदा, दोर्जेलाक्पा, गाँचेन्पोका हिमशृंखला देख्दा टाकुरोमा कस्तो होला भन्ने लाग्थ्यो । घरव्यवहार चलाउनै चटारो भएपछि उनले पाँच कक्षामै पढाइ छाड्नुपर्‍यो । तर पनि हिमाल चुम्ने हुटहुटीले उनलाई कहिल्यै छोडेन । १२/१३ वर्ष छँदादेखिको सपना अहिले पूरा भएको ठान्छन्, ४० वर्षीय सोनाम । 

पर्यटकीय गाउँ ह्योल्मोभूमि हेलम्बुमा विदेशी तथा स्वदेशी पर्यटक आइरहन्थे । उनले विदेशी पर्यटकले भरियालाई भारी बोकाएर हिमालको शिखरतर्फ गएको धेरै देखेका थिए । आर्थिकसहित अनेकन अभाव झेल्दै हिमाल सपना पूरा गर्न उनले पनि त्यही एउटा विकल्प देखे, भरिया बन्ने । त्यसपछिका १९ वर्ष उनले भरिया जिन्दगी बिताए । ‘पढाइ बीचैमा टुटेपछि कलिलै उमेरमा पर्यटकको भरिया बने, त्यो पनि दुई सय ५० रुपैयाँ ज्यालादारीमा,’ सोनामले त्यसबेलाको दुःख सम्झँदै भन्छन्, ‘पछि देशमा सशस्त्र द्वन्द्व सुरु भयो, पर्यटन क्षेत्र पूरै प्रभावित बनेपछि हतास भएँ ।’ 

२२ वर्षको उमेरमा मलेसियामा बेकरी फ्याक्ट्रीमा काम गर्न पुगे । तीन वर्ष त्यहीं रहँदा पनि उनी हिमालका तस्बिर हेरेर घोत्लिरहन्थे, मनमा झन् उकुसमुकुस हुन्थ्यो । बुबा दाबा क्यान्सर भएर बितेपछि उनी फर्किए । ‘त्यसपछि म फेरि आफ्नै सपनातिर मोडिएँ,’ उनले भने । २

०६४ सालमा पहिलो पटक ‘माउन्टेन ट्रेकिङ’ को तालिम लिएर माउन्टेन इन ट्राभल एजेन्सीमा आबद्ध भए । अनि सुरु भयो, विभिन्न हिमाली ट्रेकिङमा आउने पर्यटकको पथप्रदर्शनको काम । सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण बेस क्याम्प (एबीसी), मकालु, आमादब्लमसहित ७ हजार उचाइका ७ वटा हिमालको आधार शिविरमा पर्यटक लिएर पुगे । २०७२ को भूकम्पपछि पथप्रदर्शकको काम पनि सुस्तायो । त्यसपछि केही समय घरव्यवहारमै अल्झिए । 

Porter-turned-climber Sonamतीन वर्षपछि पुनः हिमालतर्फै मोडिए । त्यसयता लगातार हिमाली ट्रेकिङ रुटमा पथप्रदर्शकका रूपमा व्यस्त रहे । २०७८ पुस १५ मा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा मेलम्ची बाढीको उद्गमस्थल हेलम्बुको शिरभेग भेमाथाङको ‘जियोग्राफिकल तथा टोपोग्राफिकल सर्भे’ को पथप्रदर्शक बने । त्यहाँ उनकै अगुवाइमा हिउँमा फसेका १६ जनाको उद्धार गरेर प्रशंसा पनि बटुले । त्यसबाहेक हिमाली पर्यटनको क्षेत्रमा सर्वाधिक कठिन ट्रेकिङ मानिने पूर्वदेखि पश्चिम हिमाली बाटो ‘दि हिमालयन ट्रेल’ मा फिनल्यान्डका दुई पर्यटकसहित सफल यात्रा गरेको क्षण सम्झँदै उनी जीवन नै एक यात्रा रहेको मान्छन् । 

पिक हुँदै सगरमाथा 

फ्रान्सका प्रख्यात युट्युबर इनस डेनी बनज्जाउजले सगरमाथा आरोहण गर्दा बनाएको वृत्तचित्र ‘एभरेस्ट चढ्न एक वर्ष’ लाई पेरिसमा सार्वजनिक गर्दा मिलेको खुसी सोनाम बिर्संदैनन् । ‘त्यो पर्वतारोहणका क्रममा पाएका अनेकौं खुसीमध्येको एक हो जस्तो लाग्छ,’ उनले भने ।

२०८१ जेठ ८ मा सगरमाथाको चुचरोमा पुगेर नेपालको राष्ट्रिय झन्डा फहराएका उनले २०८० जेठमा मकालु (८४६३), सोही वर्षको कात्तिकमा आमादब्लम (६,८१४) लगायत हिमाली चुचुरा टेकिसकेका छन् । भरिया, पथप्रदर्शक हुँदै पर्वतारोहीसम्म आइपुग्दा उनी पर्यटन क्षेत्रलाई प्रवर्द्धनमा सरकारले खास प्राथमिकता नदिएकोमा चिन्तित छन् । सरकारले पर्यटकीय क्षेत्रमा लगानी गर्दै पर्यटकलाई मौलिक संस्कृति र कलाले तान्नुपर्ने ठान्छन् । 

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully