पहिरो पहिल्याउने प्रविधि

प्राकृतिक विपद्सम्बन्धी समस्या समाधान गर्न भन्दै इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनका केही युवा नेपालमा गएका पहिरोको डिजिटल सूची तयार पारी एआईमार्फत समाधानको उपाय निकाल्न कस्सिएका छन्

भाद्र ३, २०८१

सजना बराल

Landslide detection technology

काठमाडौँ — ताल फुटेर शुक्रबार दिउँसो आएको थामे खोलाको बाढीका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित सिंगो थामे गाउँ नै बगायो । बाढीले एकातिर बस्ती नै विस्थापित गरिदियो भने ठूलो धनमालको क्षति पनि भयो । तटीय क्षेत्रमा कटान अझै जारी छ ।

चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत सिमलतालमा गत साउनमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुई वटा बस एक महिना बितिसक्दा पनि अझै फेला परेका छैनन् । हरेक वर्षायाममा तराईमा डुबान र बाढी तथा पहाडमा पहिरोका कारण हुने धनजनको क्षतिको लेखा त अझ ठूलो हुने गरेको छ । 

प्राकृतिक विपद्सम्बन्धी यस्तै समस्या समाधान गर्ने उद्देश्यले इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनमा आबद्ध केही युवाले नेपालमा जाने गरेका पहिरोको एक विस्तृत डिजिटल सूची तयार गरी यतिबेला एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित समाधानको उपाय विकास गरेका छन् । स्याटलाइट इमेजरीसहित विगतका तथ्यांक र एआईको प्रयोगमार्फत यस्ता खाले विपद्को पूर्वानुमान गर्न सकिने प्रविधि विकासमा उनीहरू लागिपरेका हुन् । अहिले यो डिबगिङ फेज अर्थात् समस्या कहाँ हुन सक्छ भनेर ठम्याउँदै समाधान गर्ने चरणमा रहेको समूहको नेतृत्व गरिरहेकी मौसमविद् पूजा लामिछानेले बताइन् । 

‘हाम्रो प्रविधिले गर्ने पूर्वानुमानको स्कोर लगभग ९२ इपोच पुगेको छ, यो भनेको पहिरोको प्याचजस्तो छ, यसले ठ्याक्कै त्यही लेभलको जानकारी दिन सक्छ,’ पूजा भन्छिन्, ‘हामीले सुरुमा देशभर कता–कता पहिरो गएको छ, त्यसको तस्बिरहरू जम्मा पार्‍यौं र सेन्टिनल हबबाट स्याटलाइट तस्बिरहरू लिएर त्यसलाई आर्क जीआईएसबाट डिजिटाइज गर्दै प्याच निकालेर यो मोडेललाई ट्रेन गरेका थियौं ।’ चाँडै नै एप सार्वजनिक गर्ने तयारी गरिरहेको र यसमार्फत प्रयोगकर्ताले कुनै ठाउँको स्याटलाइट इमेज पोस्ट गरेपछि एपले ‘यो ठाउँमा यसरी पहिरो जान्छ’ भनेर पूर्वानुमानित तस्बिरसहितको जानकारी दिने पूजाको दाबी छ ।

Landslide detection technologyविपद् व्यवस्थापन, मौसम तथा वातावरणसम्बन्धी विज्ञहरूको सहयोगमा पूजा, निकेश शर्मा र हेम किरण पौडेलको समूहले निर्माण गरेको यो प्रविधि हालै आयोजित एक एआई प्रतियोगितामा पहिलो बनेको थियो । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले अजायल मुभ इंकसँगको सहकार्यमा गरेको ‘ह्याक डे, जेन–एआई ह्याकाथन’ प्रतियोगितामा पूजाको समूहले विपद् व्यवस्थापनमा एआईको प्रभावकारीता र पहिरोको पूर्वानुमानबारे प्रस्तुति दिएको थियो । पहिरो पत्ता लगाउन भूउपग्रहले खिचेका तस्बिर र एआईमार्फत विपद् जोखिम व्यवस्थापन र क्षति न्यूनीकरणको लक्ष्य राखेको छ ।

सोही कार्यक्रममा नेपाली बजारमा उपलब्ध चारपाङ्ग्रे निजी सवारी साधनका सम्पूर्ण विवरण, मूल्य, आधिकारिक विक्रेतालगायतबारे ग्राहकले सोधेका प्रश्नको जवाफ दिने ‘एआई जेनेरेटिभ भेहिकल इन्फो’ नामक च्याटबटबारे पनि प्रदर्शनी गरिएको थियो । 

एआई अल्गोरिदम प्रयोग गरेर नेपालमा उपयोगी हुने गरी सवारी साधनका पार्टपुर्जाको डिजाइन बनाउने प्रविधिबारे जयराज मिश्र र सिद्धार्थ सिटौलाले प्रस्तुति दिए । ‘हामीले डट नेट प्लाटफर्म, एललामा ३.१ मोडल फाउन्डेसनमा यो च्याटबट बनाएका छौं, यसलाई ट्रेन गर्न चाहिने साधनको डेटासेट चाहिँ क्यागलबाट लिएका हौं,’ उनले भने, ‘प्रयोगकर्तालाई कुनै गाडी किन्नुअघि निर्णय लिन सजिलो होस् भनेर यो च्याटबट बनाएका हौं । यसमा यतिदेखि यति मूल्यसम्मको कार चाहियो भनेपछि च्याटबटले ती कार कहाँ पाइन्छ भनेर विक्रेताको सूची नै उपलब्ध गराउँछ ।’ 

सो प्रतियोगितामा जयराजको समूह दोस्रो बन्यो भने सरकारी दस्तावेजलाई नेपालीबाट अंग्रेजीमा उल्था गरिदिने ‘एआई टुल फर ब्रेकिङ ल्याङवेज बेरियर्स’ तेस्रो भयो । गैरनेपाली भाषीहरूलाई सरकारी प्रकाशनमा पहुँच दिलाउन यो टुल विकास गरिएको यसका निर्माताहरूको दाबी छ । यो टुल धर्मेन्द्र लेखक, स्नेहा घिमिरे, अर्जुन पोखरेल, आर्यन रिजाल र सौरभ ठाकुरले विकास गरेका हुन् । समस्या समाधानका लागि ‘जेनेरेटिभ एआई’ को उचित प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा मेरो हेल्थ एआई फर नेपाल्स हेल्थकेयर, जेनएआई टु इन्हान्सिङ ट्राभल एक्सपेरियन्स इन नेपाल, जेनेरेटिभ एआई फर अटोमेसन अफ टिचर ट्रान्सफर इन नेपाल जस्ता ८ वटा प्रोजेक्टबीच प्रतिस्पर्धा भएको थियो । 

गत असारमा सरकारले सार्वजनिक गरेको ‘नेपालमा एआईको प्रयोग एवं अभ्याससम्बन्धी अवधारणापत्र’मा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रमा एआईको प्रयोग हुन थालेको उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गठन भएको अध्ययन समितिले विज्ञ, सरोकारवाला निकाय, प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरूसँगको लामो छलफलपछि तयार पारेको सो अवधारणापत्रअनुसार नेपालका एआई कम्पनीहरूको सबैभन्दा धेरै उपयोगको विधा च्याटबट, अब्जेक्ट डिटेक्सन/बायोमेट्रिक्स, प्रेडिक्टिभ एनालिसी वा वित्तीय मूल्यांकन र कृषि छ । 

पछिल्लो समय भने एआईको प्रयोग कन्टेन्ट जेनेरेसन र च्याटपीटीमा मात्र सीमित नरहेर सामाजिक–आर्थिक समस्या समाधानमा पनि युवाहरूले एआई प्रविधि प्रयोग गर्न खोजेको देखिन्छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा पनि लार्ज ल्याङवेज मोडलअन्तर्गत थुप्रै योजना तथा शोधपत्र तयार भएका छन् ।

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully