ऋषभ, नित्या र मानषीलाई ‘नेसनल अवार्ड’

भाद्र २, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म क्षेत्रको भारतीय प्रतिष्ठित नेसनल फिल्म अवार्ड्समा यसपटक कन्नड फिल्म ‘कान्तारा’ ले बाजी मारेको छ । पूर्ण मनोरञ्जनात्मक फिल्मको अवार्डसँगै ‘कान्तारा’ का ऋषभ शेट्टीले उत्कृष्ट अभिनेताका लागि क्रमशः स्वर्ण र रजत कमल अवार्ड जिते । 

ऋषभ ‘कान्तारा’ का मुख्य कलाकारसँगै निर्देशक र लेखक पनि हुन् । १६ करोड भारु बजेटको एक्सन, थ्रिलर यस फिल्मले बक्सअफिसबाट मात्रै झन्डै ४ सय ५० करोड भारुको कमाइ गर्दै सो वर्ष ‘केजीएफ २’ पछि कन्नड फिल्म उद्योगमा दोस्रो बढी कमाइ गर्ने र भारतमा चौथो बढी कमाइ गर्ने फिल्म बनेको थियो । फिल्मले कर्नाटकको ग्रामीण इलाकामा मनाइने कोला दैवलाई कलात्मक ढंगले कथानक प्रस्तुति दिइएको छ । 

राष्ट्रिय पुरस्कार जितेपछि खुसी हुँदै निर्देशक तथा अभिनेता ऋषभले यसको जस दर्शकलाई दिए । ‘यो फिल्म आज जुन स्थानमा छ, त्यो दर्शककै मायाका कारणले गर्दा सम्भव भएको हो,’ उनले भनेका छन्, ‘उहाँहरूकै साथ र समर्थनले मलाई थप जिम्मेवार भई काम गर्न ऊर्जा मिलेको छ । आगामी दिनमा झन् राम्रो फिल्म ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु । र, यो पुरस्कारका लागि कन्नड दर्शकलाई विशेष धन्यवाद ।’ गतवर्ष यो अवार्ड तेलुगु फिल्म ‘पुष्पा’ का लागि अल्लु अर्जुनलाई दिइएको थियो । 

दुई महिनापछि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रदान गर्ने यस पुरस्कारको उत्कृष्ट अभिनेत्रीतर्फ संयुक्तरूपमा ‘तिरुचित्राम्बलम’ की नित्या मेनन र ‘कच्छ एक्सप्रेस’ की मानषी पारेख बने । उत्कृष्ट अभिनेत्रीको उपाधिमा आफू परेको खबर थाहा पाएपछि लगातार दुई घण्टा खुसीले रोएको बताउँदै पारेखले भनेकी छन्, ‘यो खुसी यति अतुलनीय रह्यो कि यस्तै अनुभव मैले छोरीलाई जन्म दिँदा मात्र भएकी थिएँ, ठ्याक्कै त्यस्तै ।’

त्यसैगरी, मलायालम फिल्म ‘अट्टम’ उत्कृष्ट फिचर फिल्म हुँदा ‘उचाइ’ बाट सुरज बडजात्या उत्कृष्ट निर्देशक बने । बड्जात्याको यो मनोज बाजपेयी अभिनीत ‘गुलमोहर’ उत्कृष्ट हिन्दी फिल्म बन्दा ‘ब्रम्हास्त्र’ ले स्पेसल इफेक्ट्समा पुरस्कारको हकदार ठहरियो । ‘गुलमोहर’ बाटै शर्मिला टेगोरले १२ वर्षपछि अभिनयमा कमब्याक गरेकी थिइन् । फिल्ममा उनी बाजपेयीको आमाको भूमिकामा छिन् । 

उत्कृष्ट सहअभिनेत्रीका लागि ‘उचाई’ बाट नीना गुप्ता छनोट भइन् । संगीतर्फ गायकमा अरिजित सिंह र गायिकामा बम्बे जयश्री तथा संगीत निर्देशनमा ‘ब्रम्हास्त्र’ बाट प्रितम उत्कृष्ट ठहरिए । पृष्ठभूमि संगीतका लागि भने ‘पीएस : वान’ बाट एआर रहमान छानिए । नेसनल अवार्डको पछिल्ला संस्करणमा बलिउड दबदबालाई चिर्दै दक्षिण भाषी फिल्मले वर्चस्व राख्न थालेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully