लमजुङ — नेवार (ज्यापू) समुदायका एक किसान अष्टनारन रोगले थलिन्छन् । खेताला गएबापतको ज्यालाबाट पालिँदै आएको उनको परिवार साहुले पेस्की दिएको रकम माग्न आएपछि थप समस्यामा पर्छ । करिब २ महिनादेखि रोगले थलिएका अष्टनारनलाई जडिबुटीले पनि छुँदैन ।
मरेपछि आफ्नो किरियाका लागि भनेर २५ रुपैयाँ गाढेर राखेकोबारे उनले परिवारलाई बताएपछि त्यही रकमले उपचार गर्ने निर्णयमा पुग्छ परिवार ।
उपचारकै क्रममा अष्टनारनको मृत्यु हुन्छ । छिमेकले शवलाई दाहसंस्कारका लागि छिटो लैजान दबाब दिन्छन्, तर जलाउन दाउरा किन्ने पैसा पनि हुँदैन । हृदयचन्द्रसिंह प्रधानले २०११ सालतिर काठमाडौंको नेवार (ज्यापू) परिवारमा घटेको घटनामा लेखेको उपन्यास ‘एक चिहान’ लाई पोखराका रंगकर्मी परिवर्तनले नाट्य रूपान्तरणसँगै निर्देशन गरेका हुन् । खासै नाटक नहुने बेसीसहरमा शनिबार भने दर्शक भावुक बनेका देखिन्थे । मध्यनेपाल–६, भोर्लेटारकी दुर्गा खनिया लामिछानेले नाटकले मन छोएको बताइन् ।
मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको संयुक्त प्रस्तुति रहेको उक्त नाटकमा गरिबीमा बाँचिरहेको ज्यापू परिवारको पीडा दर्शाइएको छ । स्वाभिमानी किसान अष्टनारनको भूमिकामा रहेका जनक पराजुलीले परिवारका लागि केही गर्न नसकेको गुनासो गर्दा स्थानीय दर्शकमा पीडा छचल्किन्थ्यो । ‘म खासै फिल्म हेर्दिनँ । नाटक झन् हेरेकै छैन । आज हेर्दा निकै मन छोयो, मनै रोयो,’ मर्स्याङ्दी–२ का पूर्णचन्द्र घिमिरेले भने । बेला–बेलाको ठट्यौलीले हलमा हाँसो फुर्दा भने मज्जैले हाँसेको उनले बताए ।
नाटकमा रोशनी रामदाम, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी हमाल, रुविना मगर, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, केदार बोहोरा, सञ्जोग लामिछाने, ध्रुवराम प्रधान, आशिष परियार, अमृता गुरुङ, सुस्मिता थापा, सुवास मालुवा, प्रदीप रोकायलगायत २० जना कलाकारको अभिनय छ । नाटकमा डाक्टर गोदत्त प्रसादको भूमिकामा नाटकका निर्देशक परिवर्तन स्वयं छन् ।
दुःख र संघर्षबाट अघि बढिरहेको परिवारमा धन र पदमा रहेकाहरूले प्रलोभन देखाइरहन्छन् । समाजका केही व्यक्तिको खराब नियत, अर्की श्रीमती भित्र्याउन खोजेपछिको महिला पीडा नाटकमा देख्न सकिन्छ । नेवार समुदायका परिवारले आफ्नो छोरीलाई अन्माएर तराईवासी ज्वाइँलाई पठाउने र तामाङ समुदायकी बुहारी भित्र्याउने कथाले ठूला अर्थ राखेको देखिन्छ ।
‘किसानको पीडा बोकेको नाटकमा समाजको चित्रण झल्किन्छ । यो कुनै नाटक नभएर यथार्थ लाग्यो,’ बेसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले भने, ‘समग्रमा नाटक हृदयविदारक छ, कारुणिक र प्रगतिशील छ । यसले दिन खोजेको सन्देशलाई व्यवहारमा उतार्न आवश्यक छ ।’ दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले उहिले लेखिएको कथा भए पनि गाउँघरको व्यथा अहिले पनि उस्तै रहेको बताए ।
पारिवारिक सुखदुःखमा रमाउँदै आफ्नै पौरखमा बाँचिरहेका परिवारले नेवारको तान बुन्ने परम्परा, टाकटुके (लाठी) नाच, धान रोपाइँका असारे भाकालाई बचाउन खोजिएको छ ।
नाटक साउन ३० देखि भदौ १ सम्म दैनिक ३ शो मञ्चन गरिएको हो । उपन्यास ‘एक चिहान’ कक्षा १२ को पाठ्यक्रममा समेत रहेको छ । २०११ सालको बाढीपहिरोमा परी काठमाडौंको एक नेवार किसान परिवारको एक चिहान भएको यथार्थ घटनामा आधारित भएर रचना गरिएको मानिन्छ ।
