लमजुङकी २५ वर्षीया रश्मि कँडेलले विश्वबजारमा जंगली मह (म्याड हनी) बिक्री गर्दै आइरहेकी छन् । अमेजन, इबे, इट्सी लगायतका प्रमुख ‘इ–कमर्स मार्केट प्लेस’बाट बिक्री हुने महका १३४ देशमा करिब ११ हजार ग्राहक छन् ।
काठमाडौँ — पछिल्लो समय नेपाली युवामा विदेश पलायनको लहर नै चलेको छ । कक्षा १२ को अध्ययन सकेसँगै युवामा विदेशिने ‘भूत सवार’ भइहाल्छ । अधिकांशको सपना अमेरिका, युरोप, क्यानडा र जापान नै हुन्छ ।
देशमै रहेर केही गर्ने सोच राख्नेको संख्या भने निकै न्यून छ । तीनैमध्येकी एक हुन् २५ वर्षीया रश्मि कँडेल । देशमै केही गर्ने अठोटका कारण उनले बिदेसिनेबारे केही सोचिनन् । पछिल्लो समय रश्मि नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याउन अहोरात्र खटिरहेकी छन् ।
लमजुङको बेसीसहर नगरपालिका–२ तालफाँटकी रश्मि सानैदेखि सिर्जनशील काम गर्ने र समुदायका लागि केही योगदान पुर्याउन चाहन्थिन् । त्यसका लागि उनले आमाबुबाको सल्लाहअनुसार नै एसएलसीपछि अध्ययनका लागि चिकित्सा क्षेत्र रोजिन् । अध्ययनका क्रममा उनी स्वास्थ्य शिविर सञ्चालन र समुदायमा आधारित जागरुकता कार्यक्रम गर्न निकै सक्रिय पनि भइन् । तर कालान्तरमा उनी आत्मनिर्भर बन्नेतर्फ लागिन् ।
पोखरा विश्वविद्यालयबाट स्वास्थ्य सेवा व्यवस्थापनमा स्नातक उनी आफ्नो शैक्षिक पृष्ठभूमिभन्दा फरक काममा जोडिन पुगिन् । त्यतिबेला खासगरी मेडिकल डिग्री लिएर विदेश जाने प्रचलन थियो । तर उनले नेपालमा सामुदायिक स्तरमा केही नयाँ गर्ने उद्देश्य लिइन् । ‘स्वयंसेवकको हैसियतमा सामाजिक संस्थामा संलग्न हुँदा मैले लमजुङमा पाइने प्रसिद्ध जंगली महबारे चासो राख्ने केही विदेशी स्वयंसेवकलाई भेटेकी थिएँ,’ उनले भनिन्, ‘मेरो गाउँनजिकै मह सिकार गर्ने चलन भएकाले पनि महसँग म बाल्यकालदेखि नै परिचित थिएँ ।’
त्यतिबेला रश्मिलाई विदेशी साथीहरूले जंगली मह ल्याइदिन अनुरोध पनि गरेका थिए । त्यसपछि बुबाको सहयोगमा उनले साथीहरूलाई मह पनि उपलब्ध गराइन् । ‘साथीहरूले महको स्वाद निकै मन पराए,’ उनी भन्छिन् । त्यसबेला जंगली महको खासै बजार थिएन । यसको फाइदाबारे थाहा नहुँदा ठमेलमा निकै महँगो भयो भन्ने भाष्य निर्माण भएको थियो । जसका कारण केही स्थानीय विक्रेताले मात्रै यसलाई बिक्री वितरण गर्ने गरेका थिए । ‘त्यतिबेला नेपालीमा नियमित मह खाने बानी थिएन,’ उनी भन्छिन्, ‘औषधीय प्रयोजनका लागि मात्र प्रयोग हुने जंगली महबारे धेरै जानकार पनि थिएनन् ।’
त्यसपछि भने उनी मह सिकार गर्ने समुदायका लागि केही गर्ने निर्णयमा पुगिन् । २०१५ देखि मह व्यवसायसँग जोडिएकी रश्मिको यात्रा जारी छ । यसक्रममा उनले आफूलाई सूचना प्रविधिमा अभ्यस्त मात्र बनाइनन्, व्यापार रणनीति र विश्वव्यापी ब्रान्ड बनाउनेतर्फ पनि लागिन् । सात वर्षयता त उनले संसारभरका ग्राहकलाई हजारौं जार जंगली मह ‘डेलिभर’ गरिसकेकी छन् । त्यसका साथै, विश्वलाई नेपालको दुर्लभ मह र विदेशी जडीबुटीबारे जानकारी गराउन पनि उनी उस्तै सक्रिय छिन् ।
करिब एक दशकअघि रश्मिले लमजुङको एउटा गाउँमा ‘वाइल्ड क्लिफ हनी’ प्रयोग नगरिएको अवस्थामा भेटेकी थिइन् । त्यसबारे थप बुझेपछि बजार सम्भावना ठूलो देखिन् । त्यसपछि उनले ‘वाइल्ड क्लिफ हनी’ जस्ता उत्पादनहरू प्रवर्द्धन गर्न २०१८ मा ‘एभरेस्ट अर्गानिक होम’ दर्ता गरिन् । दुई वर्षमा कँडेलले आफ्ना उत्पादन ‘हिमालयन क्लिफ हनी’ काठमाडौंको स्थानीय बजारमा फैलाइन् । त्यसको केही समयमा उनले ‘हिमालयन क्लिफ हनी’ विश्वबजारमा पुर्याउने लक्ष्यका साथ अघि बढिन् ।
‘हामीले अर्को चुनौती लिने निर्णय गरी हिमालयन क्लिफ हनीलाई विश्वव्यापी बजारमा लैजान अन्वेषण, अनुसन्धान र सेटअप गर्न थाल्यौं,’ उनले भनिन्, ‘यसैबीच हामीले एभरेस्ट सिलाजित र एभरेस्ट स्याफ्रन गरी दुई नयाँ ब्रान्डहरू पनि थप्यौं ।’ २०१९ देखि ०२० सम्म उनीसँग तीन उत्पादनहरू भए । विश्वव्यापी बजार पहुँच र प्रत्येक महिना पर्याप्त आपूर्ति बढ्दै गयो । पछि तीनवटै उत्पादनहरू प्रमुख ‘इ–कमर्स मार्केट प्लेस’ जस्तै अमेजन, इबे, इट्सी आदिमार्फत थोकमा निर्यात गर्न थालिन् । कोभिड महामारीका बाबजुद विगतका वर्षहरूको तुलनामा आपूर्ति आश्चर्यजनक रूपमा बढ्दै गयो । त्यसपछि उनले नेपालको निर्यात उद्योगलाई अगाडि बढाउन बेलायतको लन्डनमा ‘हिमालयन ट्रेजर लि.’ कम्पनी दर्ता गरिन् ।
अहिले उनी विश्वव्यापी रूपमा निर्यात गर्न उत्कृष्ट सामानहरू उत्पादन गर्ने मानिसका लागि साझा ‘प्लाटफर्म’ निर्माण गर्न र स्थानीय समुदायको आर्थिक स्तर उठाउने कार्यका लागि जुटिरहेकी छन् । रश्मिको भनाइमा अहिले उनका कारण तीन सय बढी किसान लाभान्वित छन् र नेपाली उत्पादन १३४ देशमा पुगिरहेको छ । ‘करिब ११ हजार विदेशी ग्राहक भइसकेका छन् । जंगली मह (मेडिसिनल म्याड हनी) मसला, सिलाजित, चिया, कफी, कालो अलैंची र अन्य मसला बेचिरहेका छौं ।’
रश्मिका अनुसार उनले करिब तीन सय स्थानीय र दुई हजारभन्दा बढी किसान र मह सिकारीसँग जोडिएर काम गरिरहेकी छन् । नेपालमा यसको महत्त्व नभए पनि विश्वबजारमा यसको माग बढिरहेको र आफ्नो कम्पनीले वार्षिक ४ देखि ५ हजार केजी मह खरिद गर्ने गरेको कँडेलले जनाइन् । उनको प्रमुख व्यापारिक बजार अमेरिका, युरोप, जापान, बेलायत र मध्यपूर्व हुन् । ‘हामी थोक र खुद्रा दुवै आपूर्ति गर्छौं,’ उनी भन्छिन्, ‘जंगली मह (म्याड हनी) विभिन्न औषधीय र कस्मेटिक अनुसन्धानका लागि प्रयोग गरिन्छ । हामीले मह र माहुरीको चाका फ्रान्स र दक्षिण कोरियाका प्रख्यात ब्रान्डहरूलाई पनि बेचेका छौं र तिनीहरूले यसको औषधि र कस्मेटिक उद्योगमा प्रयोग गरिरहेका छन् ।’
रश्मिका अनुसार नेपाली उत्पादनमा विश्वव्यापी मापदण्ड नभएकाले उचित परीक्षण सुविधा र प्रमाणपत्रका चुनौतीहरू छन् । ढुवानी, प्याकेजिङ र वितरण तथा नेपाली बैंकहरूले अझै पनि अन्तर्राष्ट्रिय भुक्तानीलाई नमान्ने भएकाले भुक्तानी गेटवेमा पनि समस्या छ । खाद्य विभागबाट जंगली मह परीक्षण र विश्लेषणका लागि सरकारबाट उचित मापदण्ड नहुनु, मह सिकारको परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न स्थानीय समुदायसँग समन्वयको अभाव, मौरीको बासस्थान नजिकैका जलविद्युत् आयोजना र निर्माण कार्यका साथै जलवायु परिवर्तनले नराम्रो असर पारेको उनको बुझाइ छ ।
हिमालय क्षेत्रहरूमा जंगली मौरी र प्रजातिहरूको अनुसन्धान र पहिचानको अभाव पनि समस्याका रूपमा देखापरेको उनी बताउँछिन् । रश्मिका अनुसार ‘म्याड हनी’ ले रक्तचाप, मधुमेह, कोलेस्ट्रोल नियन्त्रण गर्नुका साथै खोकी लागेको र घाँटी दुखेको निको हुन्छ । त्यस्तै, तनाव कम गर्ने, निद्रा आउने, पाचन प्रणाली बलियो पार्ने, जोर्नी दुखाइ कम गर्नेलगायत यसका गुण हुन् ।
