नेपथ्यबाट क्यालिफोर्नियासम्म

'हाम्रो कार्यक्रममा तीन पुस्ता सँगै आएर रमाएको देख्दा खुसी लाग्छ । यसमा नेपथ्यको संगीतमा रहेको नेपालीपन, लोकको भाका र सामाजिक भावले काम गरेको जस्तो लाग्छ ।'

श्रावण ३०, २०८१

कान्तिपुर संवाददाता

From Nepathia to California

काठमाडौँ — लोकरक ब्यान्ड ‘नेपथ्य’ हाल सांगीतिक यात्राका क्रममा अमेरिकामा छ । अगस्ट ३ माकोलोराडोको डेनभर सहरमा प्रस्तुति दिएर अमेरिकाको सांगीतिक यात्रा सुरू गरेको ब्यान्डले शनिबार क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’ मा कार्यक्रम गरिसकेको छ । 

ब्यान्डले अगस्ट १७ मा ओहायो राज्यको कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’ मा प्रस्तुति दिँदै छ । त्यसपछि टेक्सास, डालास, न्युयोर्क, मेरिल्यान्ड हुादै सेप्टेम्बर ७ मा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुति दिएसँगै ब्यान्ड अमेरिकाबाट घर फर्कनेछ । ब्यान्डको अमेरिकाको सांगीतिक यात्रा, भविष्यका योजना र संगीत क्षेत्रका चुनौतीलगायत विषयमा नेपथ्यका गायक अमृत गुरुङसँग कान्तिपुरका बुद्धिसागर मरासिनीले गरेको कुराकानी :

अमेरिकामा सांगीतिक टुर आयोजना गर्नुको खास उद्देश्य के हो ?

अमेरिकाको सांगीतिक यात्राको उद्देश्य त्यहाँ रहेका हाम्रा श्रोतासँगको भेट, आपसी मिलन र मनोरञ्जन हो । यो हाम्रो अमेरिकाको छैटौं यात्रा हो र यसपालि हामी सात सहरको यात्रामा छौं । 

कुनै पनि कलाकारका लागि विदेशी भूमिका कार्यक्रम गर्न कति सहज छ ?

विदेश होस् वा देश, कार्यक्रमका चुनौती आफ्नै हुन्छन् । कलाकारका लागि सबैभन्दा ठूलो चुनौती नै चुस्त व्यवथापन हो । नेपथ्यका लागि देशविदेश सबै ठाउँमा व्यवस्थापनको जिम्मा नेपालयले लिएको हुँदा, सबै सहज नै हुन्छ ।

From Nepathia to Californiaतस्बिरहरू : नेपालय

हामीलाई चाहिने मुख्य प्राविधिकहरू हामीसँगै नेपालबाट आउने भएकाले थप सहज भएको छ । कार्यक्रम निर्माणको हिसाबले हाम्रो कार्यक्रमको स्तर हाम्रा प्राविधिक र व्यवस्थापनले कायम राखिदिन्छन् । त्यसैले अहिले निकै सजिलो भएको छ । पहिलेपहिले कलाकार मात्रै यात्रा गर्दा निकै असहज र कम्प्रोमाइज हुन्थ्यो । अहिले सहज छ । 

अमेरिका यात्राका क्रममा कहाँ–कहाँ कार्यक्रम हुँदै छन् ?

अगस्ट ३ मा कोलोराडो र अगस्ट १० मा पश्चिमी तटीय समृद्ध सहर सानफ्रान्सिस्कोमा कार्यक्रम सम्पन्न भइसकेका छन् । सानफ्रान्सिस्कोको ‘वारफिल्ड थिएटर’ मा नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत भएको हो ।

From Nepathia to Californiaत्यसपछि भने ब्यान्ड क्रमशः अगस्ट १७ मा ओहायो राज्यको राजधानी कोलम्बस, २४ मा टेक्सासको डालस, ३० मा न्युयोर्क, सेप्टेम्बर १ मा मेरिल्यान्ड र अन्त्यमा सेप्टेम्बर ७ पेन्सिलभेनियाको हृयारिसवर्गमा प्रस्तुत हुनेछ ।

सांगीतिक टुरमा कति जना सदस्यहरू सहभागी हुनुहुन्छ र उहाँहरूको भूमिका के–के छ ?

अहिलेको यात्रामा ६ जना कलाकारसहित साउन्ड, लाइट, भिडियोग्राफी र फोटोग्राफीमा ५ प्राविधिक र २ जना व्यवस्थापक छन् ।

यस पटकको अमेरिका यात्राको आयोजक वा सहयोगी को–को हुन् ?

हाम्रो सहकार्य डालसस्थित मोमो इन्टरटेनमेन्टसँग छ । उनीहरूमार्फत अन्य राज्य र सहरमा स्थानीय इभेन्ट कम्पनीले आयोजनाको जिम्मेवारी लिएका छन् । 

यो सांगीतक यात्रा विगतका भन्दा कुन अर्थमा फरक छ ? 

अमेरिकामा हामीले हाम्रो पूरा प्राविधिक टोलीसहित आएर कार्यक्रम गर्न पाएका थिएनौं । त्यस अर्थमा यो यात्राका कार्यक्रमहरू अमेरिकाका पहिलेका भन्दा बढी व्यवस्थित भएका छन् र हुनेछन् । साथै, सबै ठाउँमा कार्यक्रम स्तरीय हलहरूमा हुने भएकाले सबैलाई कार्यक्रम हेर्दाको अनुभव अविस्मरणीय हुनेछ ।  

कोलोराडाको डेनभर र क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा गरिएका प्रस्तुति कस्ता रहे ?

कार्यक्रमको मूल्यांकन दर्शक, श्रोताले गर्ने  हुन् । त्यस मानेमा यहाँका दर्शकले सामाजिक सञ्जालमा व्यक्त गरेका प्रतिक्रिया हेर्दा, कार्यक्रम कार्यक्रम प्रफमेन्स (प्रस्तुति), प्रोडक्सन (उत्पादन) र पार्टिसिपेसन (सहभागिता) तीनै पक्षबाट सफल रह्यो । 

ती प्रस्तुतिका क्रममा दर्शक, श्रोताहरूको साथ सहयोग कस्तो पाउनुभयो ?

दर्शक सभ्य थिए, मायालु थिए । स्थानीय आयोजकका अनुसार नेपाली कार्यक्रमका लागि यतिका संख्यामा भएको दर्शकको उपस्थिति ऐतिहासिक नै हो । तीन पुस्ताका दर्शक कार्यक्रममा आए र हामी सबै मिलेर रमायौं । 

नेपथ्यले अमेरिकामा पहिलो पटक २० वर्षअघि आफ्नो प्रस्तुति दिएको थियो ? त्यतिबेला र अहिलेको अवस्थामा के फरक पाउनुभयो ?

त्यसबेला कार्यक्रम प्रोडक्सनमा निकै कमप्रोमाइज गर्नुपर्थ्यो । अहिले त्यो अवस्था पार भएको अनुभव हुन्छ । कलाकारले कार्यक्रम प्रस्तुतिमा केन्द्रित हुन पाएको छ, बाँकी सबै व्यवस्थापनले हेर्छ । सजिलो र सहज भएको छ । 

नेपथ्यले हालसम्म १७ वटा देशका विभिन्न सहरमा कार्यक्रम गरिसकेको छ, तीमध्ये कुन देशका कार्यक्रम बढी सफल भएजस्तो लाग्छ ?

From Nepathia to California१७ वटा देशमा सबैभन्दा धेरै पटक अस्ट्रेलियामा कार्यक्रम दोहोर्‍याएका छौं । हरेक पटक, त्यहाँका कार्यक्रमले सफलताका नयाँ मापक कायम गरेको पाउँछौं । बृहत् कार्यक्रमको हिसाबले लन्डनको वेम्बलेको आफ्नै इतिहास छ । तर अस्ट्रेलियाको भन्दा ठूलो कार्यक्रम हुन सकेन । अस्ट्रेलियापछि जापान र क्यानाडाको अनुभव पनि राम्रो रहेको छ । 

नेपथ्यका कार्यक्रममा सबै उमेर समूहका दर्शक, श्रोताको उपस्थिति हुने गर्छ, त्यसको खास कारण के होला ?

हाम्रो कार्यक्रममा तीन पुस्ता सँगै आएर रमाएको देख्दा खुसी लाग्छ । यसमा नेपथ्यको संगीतमा रहेको नेपालीपन, लोकको भाका र सामाजिक भावले काम गरेको जस्तो लाग्छ । 

प्रवासी नेपाली समुदायलाई एकताबद्ध पार्न नेपथ्यले संगीतमार्फत के कस्तो योगदान पुर्‍याएजस्तो लाग्छ ?

नेपालजस्तै प्रवास पनि विभिन्न जात, धर्म, आस्थामा खण्डित छ । यो दुःखद् यथार्थ हो । नेपथ्यले जात, धर्म, अस्थाबाट उठेर नेपाली भावना र साझा नेपाली भाषाको महत्त्वको कुरा गर्छौं । विदेशमा रहेका सबै एक भयो भने नेपाली मुद्दा सबल रहन्छ भन्ने हाम्रो मान्यता हो । मिलेर बस्नुस् भन्ने हाम्रो अपिल हो । 

पछिल्लो समय नेपाली कलाकारले देशभित्रभन्दा विदेशका कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्, यसको कारण के होला ?

नेपालमा कार्यक्रम गर्ने उचित मञ्च नै छैन । प्रायः कलाकार महोत्सवको भरमा बस्नुपरेको छ । नेपालका पालिकाले आफ्नो पहलमा कार्यक्रम स्थल बनाए कार्यक्रमको योजना बढ्छ । विदेशमा नेपालीहरूको संख्या बढेसँगै कार्यक्रमको आयोजना बढ्नु स्वाभाविक नै हो । 

केही वर्षयता नेपथ्यका नयाँ गीत निकै कम मात्र सार्वजनिक भएका छन्, यसको कारण के हो ? 

नेपथ्यले आफ्नो ३० वर्षको यात्रामा विगतमा जम्मा १० वटा एल्बमबाट एक सयभन्दा कम गीत मात्र सार्वजनिक गरेको छ । अहिले एल्बमभन्दा युट्युबबाट सिंगल गीत सार्वजनिक गर्ने चलन सुरु भएको छ । हाम्रो पछिल्लो गीत ‘पचासै वर्षमा’ सात महिनाअघि सार्वजनिक भएको थियो । यो गीत अहिलेको कार्यक्रममा पनि हामीले समावेश गरेका छौं । अरू केही गीत तयार छन् ।

 एउटा कलाकारलाई नयाँ सिर्जनाका लागि के चाहिन्छ ? र, तपाईंको ऊर्जाको स्रोत के हो ?

नयाँ सिर्जना भनेको खोजको उपज हो । निरन्तर अध्ययन र भ्रमण मेरो ऊर्जाका स्रोत हुन् । 

कलाकारका लागि उमेर वा अनुभव कत्तिको महत्त्वपूर्ण हुन्छ ?

उमेरभन्दा मन हो, अनुभव त सम्पत्ति हो । 

दर्शक, श्रोताले नेपथ्यको नयाँ गीत सुन्न/हेर्न कहिले पाउँछन् ?

केही रेकर्डिङको प्रक्रियामा छन् । २०२४ भित्रै ३–४ वटा नयाँ गीत सार्वजनिक गर्ने योजना छ । 

नेपाली संगीतका क्षेत्रमा आगामी दिनमा के–कस्ता कार्य गर्ने योजनामा हुनुहुन्छ ? 

निरन्तर काम गर्दै जाऊँ । हेरौं, कहाँसम्म पुगिन्छ । 

गायकका रूपमा तपाईंको सक्रियता अझै कति वर्षसम्म रहला ?

संगीतमा म सधैं रहनेछु । सामाजिक रूपमा सक्रिय वा निष्क्रिय त समयले नै डोर्‍याउला । 

एउटा सफल र अनुभवी गायकका रूपमा संगीतमा भविष्य खोजिरहेका नयाँ पुस्ताका लागि के भन्न चाहनुहुन्छ ?

From Nepathia to Californiaकलाकारिताले आफ्नो सिर्जनात्मक लहड कायम राख्नुपर्छ । कोही प्रारम्भमा त कोही पछि असफल हुन्छन् नै । सफलतामा मात्तिने र असफलतामा आत्तिने गर्नुहुन्न । सफल शैली मात्र पछ्याउँदा मौलिकता गुम्न सक्छ । आफ्नो मौलिक शैली नछोडी परिष्कृत गर्दै लैजानुपर्छ । यसो गर्न निरन्तर अध्ययन र भ्रमणले सहयोग गर्छ । 

अन्त्यमा, दर्शक, श्रोताको साथ र सहयोगलाई कसरी सम्झन चाहनुहुन्छ ?

कलाकारका लागि दर्शक,  श्रोता भनेको भगवान् हुन् । सबैको माया र सद्भाव पाउनु भाग्यको कुरा हो । म आफूलाई भाग्यमानी ठान्छु । सबैलाई धन्यवाद ।

कान्तिपुर

Link copied successfully