काठमाडौँ — अमेरिका भ्रमणमा रहेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले क्यालिफोर्निया राज्यमा आफ्नो दोस्रो प्रस्तुति दिएको छ । ब्यान्ड सानफ्रान्सिस्कोको प्रसिद्ध ‘वारफिल्ड हल’ मा दोस्रो पटक प्रस्तुत भएको हो । ‘नेपथ्य’ ले आठ वर्षअघि उक्त हलमा प्रस्तुति दिएको थियो ।
गायक अमृत गुरुङले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । कार्यक्रममा ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’ हुँदै अगाडि बढेको कार्यक्रम ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ गीतसँगै सकिएको थियो । कार्यक्रममा ब्यान्डका स्थापनाकालदेखि हालसम्मका नयाँ–पुराना गरी १७ वटा गीत प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा अमृतले दर्शकहरूलाई नेपाली भाषा र पहिचान जोगाएर बस्न आग्रहसमेत गरेका थिए । ‘विश्वकै अग्ला सांगीतिक हस्तीहरू उभिएको यसै मञ्चमा दोस्रो पटक भव्य र सभ्य दर्शकका अघि पाइला राख्न पाउँदा अनुगृहीत महसुस गरिरहेको छु,’ उनले भने, ‘म यो आर्जनलाई तमाम नेपाली संगीतप्रेमीहरूप्रति समर्पित गर्न चाहन्छु ।’
कार्यक्रममा उपस्थित दर्शकहरू प्रस्तुत गीतसँगै निकै झुमेका थिए । गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।
‘नेपथ्य’ को तेस्रो प्रस्तुति ओहायो राज्यको राजधानी कोलम्बसस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यु’ मा अगस्ट १७ मा हुँदै छ । त्यसपछि क्रमशः डालस, न्युयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा कार्यक्रम हुने जनाइएको छ ।