शिक्षणदेखि कृषिसम्म अब्बल

पाल्पाको अमलावासका कमल घिमिरे कृषिसँगै बिमा क्षेत्रमा सक्रिय छन् । पटकपटक गरेर करिब १२ सय बोट सुन्तला लगाएका उनी वार्षिक ८० लाख सुन्तलाबाटै आम्दानी गर्ने योजनामा छन् । 

श्रावण २८, २०८१

माधव अर्याल

Abbal from teaching to agriculture

पाल्पा — पाल्पाको रैनादेवी छहरा–४, अमलावासका कमल घिमिरेले पछिल्लो ९ वर्षयता बिमा अभिकर्ताको परिचय बनाएका छन् । उनको परिचय रैनादेवी छहराको अमलावासमा कृषि (सुन्तला) बाट पनि उत्तिकै छ । बिमामा कार्यरत हुनुअघि उनले अब्बल शिक्षकको परिचय बनाएका थिए । शिक्षण, कृषि, बिमा क्षेत्रमा उनको प्रगति कहिल्यै कतै रोकिएन ।

जुनसुकै क्षेत्रमा काम गर्दा उनी अब्बल नै ठहरिएका छन् । छहराको भैरव नवदीप माविबाट एसएलसी सकेका उनले बीएस्सी (विज्ञानमा स्नातक) गरेका छन् । अहिले ग्रामीण विकासको विद्यार्थी पनि हुन् ।

२०६४ देखि २०७३ सम्म उनले छहराको महाकाली मावि मेहल्ढापमा अध्यापन गरे । त्यसअघि नै गाउँमा सुन्तला खेती फस्टाउने भएकाले आईएस्सी गर्दागर्दै ४ सय बोट सुन्तला लगाउने निधो गरे । २०६० सालतिर नै उनले तीन खेती हुने बारीमा सुन्तला लगाउँदा धेरैको गाली पनि खाए । अन्य बाली लगाउँदाभन्दा सुन्तलाले बढी फाइदा दिन्छ भनेर बुझाउनै सकस थियो । अहिले अमलावासको गाउँको नामै फेरिएर सुन्तलावास बनेको छ ।

‘पहिला मलाई गाली गर्नेहरूले नै अहिले सबैभन्दा धेरै सुन्तला लगाएका छन्,’ उनी भन्छन्, ‘मैले पनि लगाउन छाडेको छैन । थप्दै लगेको छु ।’ अन्यत्र सकिएपछि मात्र यहाँका किसानले सुन्तला बिक्री गर्ने भएकाले भाउ पनि राम्रो पाउने गरेको उनले सुनाए । सुन्तलाको बीचबीचमा अन्य खेती पनि गर्छन् । घरमा खान मकै, केराउ, गोभीलगायत तरकारी पनि लगाउने गर्छन् । 

Abbal from teaching to agricultureसुरुमा लगाएको ४ सय बोट सुन्तलाले वार्षिक १२ देखि १५ लाख आम्दानी दिने गरेको घिमिरेले बताए । बीचमा लगाएको थप ३ सय बोटले फल दिन सुरु गरेको छ । पछिल्लो समय उनले कोभिडका बेला जारी गरिएको लकडाउनलाई सदुपयोग गर्दै थप ५ सय सुन्तलाको बोट लगाएका छन् । ‘खडेरीको समयमा राम्रो सिँचाइ उपलब्ध गराउन सकियो भने वार्षिक ८० लाख सुन्तलाबाटै आम्दानी गर्ने योजना छ,’ उनले भने ।

छहरा अमलावासमा ‘आगमन कृषि फर्म’ मा अहिले दुई जना नियमित र ज्यालादारीमा औसतमा ८ जनाले रोजगारी पाएका छन् । अर्गानिक मलका लागि घरमा दुई वटा भैंसी छन् । त्यसको पाडापाडीसमेत गरेर अर्गानिक मललाई समस्या छैन । सुन्तलाको गोडमेल, मलखाद, सिँचाइ, सुन्तला टिप्ने, काटछाँटलगायतका काममा ज्यालादारीमा धेरै कामदार लगाउनुपर्ने उनले बताए । उनले २०८५ सम्ममा पाल्पा जिल्लाकै सबैभन्दा ठूलो सुन्तला बगान बनाउने योजना बनाएका छन् । साथै कृषि फर्मका लागि कामदार बस्ने घर, जग्गाको व्यवस्थापनलगायतमा ५० लाख लगानी गरिसकेका छन् । 

छहराकै महाकाली माविमा ९ वर्ष पढाएका घिमिरे त्यहाँ पनि आफूलाई अब्बल सावित गरे । निमावि सञ्चालन भएको विद्यालय घिमिरेले पढाउन थालेपछि मावि तह बनाउन सफल भए । ‘निमावि पढाउन गएको थिएँ, तर अवस्था हेरेर मावि तहसम्म पढाउनुपर्ने अवस्था आयो,’ उनले भने, ‘मुख्य तीनदेखि पाँच विषय नै धान्नुपर्ने अवस्था आयो ।’ शिक्षक नपाउने समस्या त्यस बेलामा पनि थियो । विज्ञान, गणित, अतिरिक्त गणित मात्र होइन लेखा र जनसंख्या पनि पढाउनुपर्ने अवस्था आएको उनले सुनाए । दरबन्दी नै नभएको अवस्थामा पनि एसएलसीमा पाल्पा जिल्लामै दोस्रो स्थान हासिल गर्न सफल भएको उनले सम्झन्छन् । 

Abbal from teaching to agricultureविद्यालयमा पढाउँदापढाउँदै उनले कक्षा १० को सोलुसन पनि प्रकाशन गरे । ‘अ कम्प्लिट अपरेसन अफ कम्पल्सरी म्याथम्याटिक्स विथ कन्सेपटुअल सोलुसन ग्रेड टेन’ पुस्तक लेखेका हुन् । यसलाई एसिया पब्लिकेसन्स र भुँडीपुराड पब्लिकेसनले बजार व्यवस्थापन गरिदिए । झन्डै ७ वर्ष यो सोलुसन देशभर फैलियो । यस अवधिमा बिमा अभिकर्ता बन्ने जोस बढ्यो । स्थायी जागिर खानेभन्दा पनि नयाँनयाँ काम गर्ने सोच बनाउने घिमिरेले विद्यालयमा पढाउँदै गर्दा बिमा अभिकर्ताको तालिम लिए । 

Abbal from teaching to agricultureतालिमपछि बिमाको एजेन्ट बने । पहिलो वर्षमै उल्लेख्य प्रगति गरे । त्यसपछि पढाउन छाडेर बिमा क्षेत्रमा प्रवेश गरे । ‘म जे काम गर्छु त्यहाँ मिहिनेत गरेर काम गर्छु,’ उनले भने, ‘त्यसैले सफलतामा अहिलेसम्म पछि हट्नु परेको छैन ।’ घरको कान्छो छोरा भए पनि उनको मिहिनेत देख्दा भने सबै अचम्म पर्छन् । साविकको सूर्य लाइफ इन्स्योरेन्स कम्पनी (हाल सूर्यज्योति) मा जोडिएका उनी २०७२ सालमा पहिलो पटक बिमा अभिकर्तामध्ये नेपाल प्रथम हुन सफल भए ।

‘मैले मिहिनेत गरेअनुसारको प्रतिफल प्राप्त गरें भन्ने लाग्यो,’ उनले भने, ‘त्यसपछि पढाउन छाडेर यही काममा लागे । अहिले पनि सफल नै छु ।’ उनी २०७२ देखि सबैभन्दा धेरै प्रिमियम जम्मा गरेर नेपाल प्रथम हुँदै आएका छन् । यति मात्र होइन, बिमा क्षेत्रको महत्त्वपूर्ण पद मिलियन डलर राउन्ड टेवल (एमडीआरडी) हरेक वर्ष घोषित हुन् । यो अमेरिकाको सर्वोच्च संगठन हो । उनले सन् २०२३ को जनवरीमा एक दिनमै ‘एमडीआरडी’ बन्न सफल भएका थिए । जनवरीदेखि डिसेम्बरसम्ममा ४७ लाख रुपैयाँ प्रिमियम जम्मा गर्नुपर्नेमा उनले जनवरी १ मा एक दिनको पनि एक घण्टामै ५० लाख जम्मा गरेका थिए । 

Abbal from teaching to agricultureसन् २०२३ मै उनी ‘टप अफ दि टेबल’ हुन सफल भए । ‘बिमा क्षेत्रमा मैले सफलता हासिल गरेको देख्दा सबै अचम्म पर्छन्,’ उनले भने, ‘यसै कारण सबै छाडेर यस क्षेत्रलाई राम्रो बनाउन अघि बढे ।’ आफ्नो कोडमा सबैभन्दा धेरै बिमाको प्रिमियम संकलन गर्नेमा पनि उनको नाम पहिलो नै छ । बिमा क्षेत्रमै सन् २०२३ मा ‘चौरासी पूजा जीवन बिमा’ योजनाअन्तर्गत प्रोडक्ट एम्बासडर पनि बन्न सफल भए । बिमा क्षेत्रलाई आफूले सामाजिक कामका रूपमा लिने गरेको उनको दाबी छ । 

‘मेरो अबको योजना भनेको बिमालाई ग्रामीण भेगको दूरदराजसम्म पुर्‍याउने नै हो,’ उनले भने, ‘दैनिक १०/२० रुपैयाँ बचत गरे पनि कम्तीमा एक लाखको बिमा गर्न सकिन्छ भन्ने चेतना फैलाउने नै हो ।’ कृषिमा सुन्तलाको क्रान्ति र बिमा क्षेत्रलाई अझ फैलाउने योजना रहेको उनले सुनाए । विपन्न वर्गले पनि बिमा गर्दा फाइदा हुन्छ भन्ने बुझाउन जरुरी रहेको उनको अनुभव छ ।

सामाजिकक्षेत्रमा खासै योगदान दिन नसके पनि मानव सेवा आश्रम, अनाथालयमा पुगेर सेवा गर्न रुचि राख्ने उनले विगतमा भने विद्यालय व्यवस्थापन समिति, मोटरबाटो उपभोक्ता समितिमा रहेर काम गरेका थिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully