कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

आमिरको ‘संन्यास’

श्रावण २७, २०८१
आमिरको ‘संन्यास’

Highlights

  • केही दिनयता बलिउड अभिनेता आमिर खानले अभिनयबाट संन्यास लिएको खबर चर्चामा छ । उनले संन्यास अभिनयबाट मात्रै नभई सिनेमासम्बन्धी सबै खाले कामबाट लिन लागेको समाचार आइरहेका छन् । 

काठमाडौँ — अहिलेसम्म पनि ‘लापता लेडिज’ हेर्नु भएको छैन ? छैन भने हेरिहाल्नु । नेटफ्लिक्समा उपलब्ध छ । यही वर्षको मार्चमै मात्र रिलिज भएको हो । किरण रावले निर्देशन गरेको यो हिन्दी सिनेमा हेरेपछि मन त्यसै पनि खुसीले फुरुङ्ग हुन्छ । असाध्यै साह्रै मीठो ढंगले बनेको छ, यो सिनेमा ।

सिनेमाका एक–एक पात्र महत्त्वपूर्ण छन् र त्यसले केही न केही कथा भनिरहेको हुन्छ । सायद यस सिनेमाको सर्वाधिक दमदार पात्र रहेको छ, सब–इन्स्पेक्टर श्याम मनोहरको ।

यस पात्रलाई जीवन्त बनाउने काम गरेका छन्, रवि किसनले । यो पात्र कति धेरै मज्जाको छ भने यसमा आफैं अभिनय गर्न चाहन्थे, आमिर खान । उनी नै त हुन्, यसका निर्मातामध्ये एक । के पनि सुनिन्छ भने आमिरले त्यस पात्रका लागि ‘अडिसन’ पनि दिएका थिए । तर किरणले आमिरको स्थानमा रविलाई नै रोजे । आमिरलाई फाले । किरणले कुनै एक उपयुक्त समयमा आमिरको त्यो ‘अडिसन’ बाहिर ल्याउने छु भनेर पनि भनेकी छन् ।

यो सबै पृष्ठभूमि किन भन्दा आमिरबारे एउटा खबर अहिले चर्चामा छ र त्यो हो, उनले अभिनयबाट संन्यास लिइसके भन्ने बारेमा । संन्यास अभियनबाट मात्रै होइन, सिनेमासम्बन्धी सबै खाले कामबाट । यो कुरा उनले भारतीय प्रधानन्यायाधीश डीवाई चन्द्रचुढसँगको भेटमा पनि उल्लेख गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

पूरा घटनाक्रम यसरी सुरु हुन्छ । आमिरका जेठो छोरा हुन्, जुनैद खान । उनीबारे पनि इन्टरनेटमा अनेक खाले कथा पाइन्छ । उनको सबैभन्दा ठूलो विशेषता हो, सबै खाले स्टारडमबाट सक्दो टाढा बस्ने ।

भर्खरै उनी अभिनित सिनेमा पनि आएको छ र यो हो, ‘महाराज’ । जुनैदको डेब्यु सिनेमा हो, यो । यशराज फिल्मस्को यो सिनेमाबारे खासै हल्लाखल्ला केही पनि भएन । उनी अभिनयमै सीमित हुन चाहँदैनन् । निर्देशन गर्न पनि चाहन्छन् । अनि प्रोडेक्सनको कामतिर पनि लाग्न चाहन्छन् । कारण ? स्वाभाविक रूपमा उनको यसमा रुचि छ । योभन्दा पनि ठूलो कारण चाहिँ आमिरले लिन खोजेको संन्यास नै हो ।

आमिर आफैंले जुनैदलाई अबदेखि आफूले हेर्दै आएका सबै कामको जिम्मेवारी विस्तारै सम्हाल्न भनिसकेका छन् । जुनैदले भारतीय मिडियालाई भनेका छन्, ‘ड्याडी साँच्चै अवकाशको चरणबाट गुज्रिरहेका छन् ।’ यो सबै कुराले ठोस आकार लिएको भने त्यही ‘लापता लेडिज’ को निर्माण क्रममै हो । त्यसको निर्माण क्रममा आमिरले आफ्नी पूर्वपत्नी किरणलाई सक्दो सहयोग पनि गरे । अझ मिडियामै आएर त्यही श्याम मनोहरको भूमिका गर्न नपाएको दुःख पनि सुनाए ।

तर अवकाशको सोचलाई पनि बाहिर ल्याएनन् । अब त जुनैदले लगभग आमिरले गर्दै आएका सबै प्रोडक्सनसम्बन्धी काम सम्हालिसकेका छन् । उनको डेब्यु फिल्मलाई लिएर न त आमिर आफैंले उत्साह देखाए । न त उनका अर्की पूर्वपत्नी रिनाले धेरै चासो देखाइन् । खासमा आमिरले कति बेला के गर्छन्, त्यो उनलाई मात्र थाहा हुन्छ । यी ‘परफेक्टिनिस्ट’ को मनमा के हुन्छ, त्यो अनुमान गर्न पनि गाह्रो हुन्छ ।

आमिरको अवकाशबारे चलेको हल्ला यो नै पहिलो पनि होइन । धेरैले मन नपराएको उनको एउटा सिनेमामा पर्छ, ‘लालसिंह चड्डा’ । सन् २०२२ को सिनेमामा खासै व्यापार पनि गर्न सकेन । फेरि पूरा सिनेमाको पटकथा नै स्वयं कतै न कतै मिलेको देखिन्न । पछि आमिरले पनि यो तथ्य स्विकारेका छन् । त्यही सिनेमाका बेला पहिलो पटक आमिरले अब अभिनय नगर्ने भन्ने खालको समाचार आएको थियो । यो समाचार आफैंमा कति धेरै स्तब्धपूर्ण थियो भने यसलाई सुन्नेबित्तिकै स्वंय किरण पनि रोएकी थिइन् ।

यसबीच आमिरको आफ्नै अन्तर्वार्ता बाहिर आएको छ । त्यसमा उनले सिधै भनेका छन्, ‘मैले अब साँच्चै छाडें । यो कुरा मैले आफ्नै परिवारसम्मलाई त भनेको थिएँ । तर सबैलाई भन्न मन लागेन । अब म केही पनि गर्न चाहन्नँ । अब त परिवारसँग सामान्य जीवन बिताउन मात्रै चाहन्छु । मैले सबैलाई किन भन्न चाहिनँ भने यस्तो भनेको भए, सबैले यो त लालसिंह चड्डाको बजार बनाउन गरेको हल्ला भन्थे ।’

आमिरको यो कुरा सुनेर उनकै परिवारले पनि सम्झाउन चाहेका रहेछन् । विशेषतः किरणले । किरणको मत थियो, आमिरको यो निर्णय ठीक समयमा भएन । यसले राम्रो गर्दैन । तर आमिरले कसैको पनि सुनेनन् । ‘महाराज’ मा धेरैले जुनैदको कामलाई मन पराए पनि । तर उनी आफैंले पनि एक पाइला बढी चालिसकेका छन् र यसक्रममा ‘प्रीतम प्यार’ को निर्माण काम सुरु गरिसकेका छन् । रमाइलो के पनि छ भने उनी आफ्नी आमा रिनासँग नजिक छन् नै, व्यवसायिक रूपमा किरणसँग पनि ।

‘महाराज’ को निर्माण चलिरहेकै बेला पनि आमिर सकेसम्म त्यसबाट टाढा रहे । खालि एकपल्ट मात्र सुटिङका बेला सेटमा पुगे । आफ्नो छोराको पहिलो सिनेमाबारे उनमा कुनै प्रकारको चिन्ता र उत्साह दुवै देखिएको पनि थिएन । खासमा आमिर लगभग यस्तै खाले छन् ।

तर उनको संन्यासको कुरा साँचो हो भने यो हिन्दी सिनेमा हेर्न मन पराउनका लागि यो धक्का पनि हो । उतातिर कोही कलाकारले आफू चल्दाचल्दै यसरी काम नगर्ने निर्णय विरलै गरेका पाइन्छ । सायद छैन नै । तर यहाँनिर पनि आमिरले फरक ढंगले काम गर्न खोजे ।

प्रकाशित : श्रावण २७, २०८१ ०६:३९
×