‘क्यालिबर’ लाई फैलाउँदै प्रसन्न

भारतस्थित नोयडाबाट फुटवेयरको डिजाइन कोर्स गरेर नेपाली ब्रान्डको जुत्ता बेच्न थालेका उनले ७ वर्षमा स्वदेशमा ६० वटा शोरुम खोलिसकेका छन् भने दुबई र अस्ट्रेलियामा समेत शोरूम खोलेर विश्व बजारमा छिर्दै छन् 

श्रावण २६, २०८१

सीमा तामाङ

Happy to spread 'Calibre'

काठमाडौँ — पोखराका कालीदास गौतमले जुत्ता बनाउन थालेको २५ वर्ष भयो । आफ्नै ‘केडी सुज इन्डस्ट्रिज’ का ‘क्यालिबर’ जुत्ता बेच्न थालेको पनि ७ वर्ष भइसक्यो । कालीदास संस्थापक रहेको यस उद्योगलाई हाल उनकै छोरा प्रसन्न र अमनले हाँकिरहेका छन् । 

१६/१७ वर्षको उमेरदेखि कालीदासले गरेको अथक मिहिनेत र व्यावसायिक लगावकै प्रतिफल अहिले हरेक युवाहरूको रोजाइँमा ‘क्यालिबर’ ब्रान्डका जुत्ता पर्न थालेका छन् । ‘१६/१७ वर्षको उमेरमै बुबाले घर छोडेर हिँड्नुभएको थियो रे । त्यसपछि साइकलमा बोकेर चुराटीका बेच्नुहुन्थ्यो रे,’ प्रसन्नले विगत सम्झँदै भने, ‘बुबाको त्यसबेलादेखिको मिहिनेतले हामी अहिले यहाँ छौं ।’ त्यसपछि बुबाले पोखरामा फेन्सी पसल सुरु गरेको प्रसंग निकाल्दै प्रसन्न थप्छन्, ‘बुबाले भारतबाट कुर्थासुरुवाल ल्याएर बेच्नुहुन्थ्यो, सामान ल्याउने सिलसिलामा चीन पुग्नुभएछ । त्यसपछि त्यहाँबाट गार्मेन्ट ल्याएर बेच्न थाल्नुभयो ।’

Happy to spread 'Calibre'

पोखरामा मात्रै सीमित पसल त्यसपछि भने फैलिएर काठमाडौं, न्युरोडस्थित फसिकेबमा होलसेल पसलसम्म पुगेको प्रसन्नलाई सम्झना छ । भारत र चीनबाट सामान ल्याएर बेच्दाबेच्दै पोखरामा कालीदासले जुत्ता उद्योगमा पनि हात हाले । त्यसबेला प्रसन्न १० वर्षका मात्र थिए । तैपनि जुत्ता कसरी बन्दो रहेछ भन्ने उनले त्यसैबेलादेखि भेउ पाइसकेका रहेछन् । अध्ययनका लागि काठमाडौं आएपछि भने उनको न्युरोडको होलसेल पसलमा पनि आवतजावत बढेछ । ‘बुबा र काकाको साझेदारीमा होलसेल पसल थियो,’ उनले भने, ‘म काकासँगै पसलमा बस्ने, चेक साट्न जाने गर्थे ।’ स्नातक सकिएपछि भारतस्थित नोयडाको ‘फुटवेयर डिजाइन एन्ड डेभलपमेन्ट इन्स्टिच्युट’ बाट फुटवेयरको डिजाइन कोर्स गरे । पढाइ सकेपछि भने प्रसन्नले चीनदेखि जुत्ताको कच्चा पदार्थ ल्याएर आफैं जुत्ता व्यवसाय थाले । ‘बुबाहरूका भन्दा मैले ल्याएका सामान बढी फेसनबेल थिए, त्यसैले पनि राम्रो बिक्न थाले,’ उनले १५ वर्षअघिको आफ्नो व्यावसायिक पाइलाको स्मरण गरे ।

गुणस्तर र टिकाउकै कारण जुत्ताको माग दिनप्रतिदिन बढ्दै थियो । तर, आफ्नै ब्रान्ड भने थिएन । जुत्ता आफैं बनाए पनि विदेशी ब्रान्डको लेबलिङ गरेर बेचिन्थ्यो । प्रसन्नले भने, ‘जुत्ताको पनि राम्रै माग आइरहेको थियो । मेरो पढाइ पनि यही भएकाले बुबासँग आफ्नै ब्रान्ड बनाएर शोरुमको अवधारणामा जान प्रस्ताव गरें । बुबा पनि राजी हुनुभयो, र जन्मियो क्यालिबर ब्रान्ड ।’ बुबाको सीप, दक्षता र प्रसन्नको सिकाइको समायोजनले व्यवसाय दिन दुगुना, रात चौगुनाको रफ्तारमा बढ्दै गयो । साथमा भाइ अमन पनि थिए । ‘आफ्नै ब्रान्डमा जुत्ता बनाएर २/३ वटा शोरुमा राख्दा त व्यापार कहाँबाट कहाँ पुग्यो,’ प्रसन्नले भने, ‘बजारको मागअनुसार जुत्ता पुर्‍याउनै सकिएन ।’

Happy to spread 'Calibre'

पहिलो आउटलेट न्युरोडको रञ्जना गल्लीमा खोले प्रसन्नले । ‘त्यहाँ सफल भएपछि कोटेश्वर, मध्य बानेश्वरमा पनि खोल्यौं, ग्राहकले हाम्रा जुत्ता रुचाउन थाले,’ उनले भने, ‘अनि काठमाडौंकै दरबारमार्गमा जुत्ता पसल खोल्ने आट गर्‍यौं ।’ त्यसबेला दरबारमार्गमा जुत्ता पसल खोल्दा अरु पसलेले जिस्काउँथे रे, नेपाली ब्रान्डका सामान पनि दरबारमार्गमा किन्न आउँछन् र भनेर खिस्याउँथे रे । ‘अरुले जिस्काइरहँदा हेरिराख न यही नेपाली ब्रान्डका जुत्ता बेचेर देखाइदिन्छु भन्ने मनमा जवाफ त आउँथ्यो, तर बोल्न सकिएन,’ अमनले सुनाए, ‘तर दरबारमार्गमा खोलेपछि ग्राहकमाझ हाम्रो जुत्ताले झनै राम्रो एक्स्पोजर पाउँदै गयो । गुणस्तरीय भए नेपाली ब्रान्ड पनि राम्रै चल्ने रहेछ भन्ने गरेरै देखाइदियौं ।’ दरबार मार्गमा खोलेको वर्षदिनमै ‘क्यालिबर’ ब्रान्डका दर्जन शोरुम खुले । ‘क्यालिबर’ ब्रान्डको ७ वर्ष अवधिमा हाल देशभर ६० वटा शोरुम खुलिसकेका छन् । 

‘क्यालिबर’ अर्थात् क्षमता । नामैले बलियो लाग्ने भएकाले बजार व्यवस्थापन गर्न सजिलो हुने भएकाले जुत्ताको नाम ‘क्यालिबर’ राखिएको प्रसन्न सुनाउँछन् । युवा लक्षित डिजाइनको उत्पादनले पछिल्लोसमय अधिकांश नेपाली युवाको रोजाइमा क्यालिबर रहेको उनको दाबी छ । ‘५० वर्षभन्दा बढी उमेरकालाई हाम्रा जुत्ताका बारेमा थाहा नहुन सक्छ,’ उनले भने, ‘तर युवामा हामी चिनिएका छौं, अब बिस्तारै सबै उमेर समूह लक्षित गरी जुत्ताचप्पल बनाउँछौं ।’ युवा पुस्तालाई कस्ता डिजाइनका जुत्ता मन पर्छ भन्नेमा त नाडी छामिसकेका छन् प्रसन्नले । ‘अब महिलाका फुटवेयरमा पनि बराबरी हिस्सामा जाने योजना छ,’ उनले सुनाए, ‘पहिला शतप्रतिशत नै पुरुषका लागि मात्र जुत्ता बन्थे, अहिले लेडिज फुटवेयरको पनि ३० प्रतिशत हिस्सा छ । दसैंबाट ५०/५० गरेर अघि जान्छौं ।’ 

Happy to spread 'Calibre'

‘क्यालिबर’ ब्रान्डका जुत्ता १६ देखि ४० वर्ष उमेर समूहका माझ धेरै खपत हुने गरेको छ । ‘हाम्रो अनुभवमा फेसनेबल नै चाहिन्छ । स्निकरमा सेतो जुत्ता चाहिन्छ,’ प्रसन्नले भने, ‘विदेशमा पनि ६० देखि ७० प्रतिशत मान्छेको खुट्टामा सेतै जुत्ता हुन्छ ।’ ५० प्रतिशत क्यालिबरका जुत्ता सेतै रङमा बन्ने गरेको उनले सुनाए । कालीदास अहिले कारखाना हेर्छन् । ‘बुबाले म्यानुफ्याक्चरिङ हेर्नहुन्छ । हामीलाई उहाँको गाइडलाइनले राम्रै भइरहेको छ,’ प्रसन्नले भने, ‘भाइ अमनले मार्केटिङ हेर्छ, म डिजाइनिङ, खरिदबिक्री, वितरण, उत्पादन र कच्चा पदार्थ हेर्छु ।’ मध्यम मूल्यमा गुणस्तरीय जुत्ता बनाउने जमर्को अझै रहेको प्रसन्न बताउँछन् । भने, ‘सहज र टिकाउ जुत्ता किफायती मूल्यमा पाउनुपर्‍यो ।’ क्यालिबरका जुत्ता हाल ३ हजारदेखि ४ हजार रुपैयाँको रेन्जमा पाइन्छन् ।

Happy to spread 'Calibre'

सुरुवाती दिनमा दैनिक २ देखि ३ सय जोडी जुत्ता उत्पादन गर्ने क्यालिबरले अहिले काठमाडौंस्थित भंगालमा रहेको कारखानाबाट दैनिक १२ सयदेखि १५ सय जोर जुत्ता उत्पादनको क्षमता विस्तार गरिसकेको छ । ‘अब त हामी पनि अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगिसकेका छौं,’ केडी सुज इन्डस्ट्रिजका निर्देशकसमेत रहेका प्रसन्नले भने, ‘नेपालमा अब शोरुम थप्दैनौं होला, निर्यातमा लाग्ने सोच छ । छिट्टै दुबईमा शोरुम खोल्दै छौं, त्यसका लागि सम्झौता भइसक्यो ।’ अस्ट्रेलियाको सिड्नीमा पनि शोरुम खोल्ने योजना रहेको बताउँदै उनले थपे, ‘तर विदेशमा ब्रान्ड लगेर असफल भयौँ भने फेरि त्यही ब्रान्डमा जान गाह्रो हुन्छ । त्यही भएर बिस्तारै बजार सुदृढ गर्दै अघि बढ्ने योजना छ ।’ शोरुम खोल्नकै लागि नहतारिने पक्षमा आफूहरू रहेको उनले बताए । 

Happy to spread 'Calibre'

क्यालिबरका रनिङ डिजाइनमा कलरसहित ३ सयभन्दा बढी जुत्ताहरू उत्पादन भइरहेका छन् । अहिलेसम्म एक हजारभन्दा बढी डिजाइनका जुत्ता बजारमा ल्याइसकेको क्यालिबरले अहिले ३ सय २० जनालाई रोजगारी दिइरहेको छ ।

Happy to spread 'Calibre'

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully