सन् १९४३ मा आजकै दिन : मुसर्रफको जन्म

श्रावण २७, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४३ मा आजकै दिन (अगस्ट ११) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री परवेज मुसर्रफको जन्म भएको थियो । उनको जन्म भारतीय राजधानी नयाँदिल्लीमा भएको थियो । 

सेन्ट प्याट्रिक्स हाईस्कुल कराँचीबाट अध्ययन सुरु गरेका मुसर्रफले लाहोरस्थित क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए । १९९८ मा पाकिस्तानको सेनाप्रमुख बनेका मुसर्रफले १९९९ अक्टोबर १२ मा रक्तपातविहीन सैनिक ‘कु’ गरेर सत्ता हत्याएका थिए । 

पछि उनलाई दुईवटा हत्याको अभियोगसमेत लागेको थियो । मुसर्रफमाथि पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग लगाइएको थियो । उनीमाथि २००७ को संविधानलाई निलम्बनसम्बन्धी राष्ट्रद्रोहमा समेत मुद्दा लगाइएको थियो । 

यूएईस्थित अमेरिकन हस्पिटलमा एमिलोइडोसिस रोगको उपचार गराइरहेका मुसर्रफको ७९ वर्षको उमेरमा २०२३ फेब्रुअरी ५ मा निधन भएको हो ।

कान्तिपुर

Link copied successfully