काठमाडौँ — सन् २०१६ मा आजकै दिन (अगस्ट १४) मा जमैकाका धावकयुसेन बोल्टले ओलम्पिक प्रतियोगितामा विरलै हुने कीर्तिमान कायम गरेका थिए ।
बोल्टले एक सय मिटर दौडमा स्वर्ण जित्दै लगातार एक सय मिटर दौडमा तीन ओलम्पिकमा स्वर्णको कीर्तिमान कायम गरेका थिए । ब्राजिलको रियो दी जेनेरियोमा आयोजित प्रतियोगितामा उनले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका थिए ।
बोल्टले २०१६ को ओलम्पिकको एक सय र दुई सय मिटरको दूरी क्रमशः ९.८१ र १९.७८ सेकेन्डमा पार गरेका थिए । त्यसअघि उनले २०१२ र २००८ का ओलम्पिकमा पनि एक सय र दुई सय मिटर दौडमा स्वर्ण जितेका थिए ।
बोल्टले २००९ को बर्लिन वर्ल्ड च्याम्पियनसिपमा कायम गरेको एक सय मिटरको दौडको विश्व कीर्तिमान हालसम्म कसैले तोड्न सकेका छैनन् । त्यतिबेला उनले सय मिटरको दूरी ९.५८ सेकेन्डमा पूरा गरेका थिए ।
