कफीमा नयाँ फ्लेवरको प्रयोग

पछिल्लो समय बुटवल र आसपासमा ‘कफी कल्चर’ फस्टाउँदो छ । क्याम्पस पढ्ने विद्यार्थी हुन् वा बिहान, दिउँसो र साँझ साथीभाइसँग गफिनेहरू, सबै कफीको चुस्कीमा रमाउन थालेका छन् ।

श्रावण २९, २०८१

सन्जु पौडेल

Use of new flavors in coffee

लुम्बिनी — एक समय बुटवलवासीहरू ‘चियाको लत’ मा फसेका थिए भन्दा हुन्छ । ठिटाठिटी भेला भएर समूहमा चिया पिउने र घण्टौं गफिने सामान्य थियो । तर चिया पिउने त्यो चलन अहिले फेरिँदै गएको छ । यतिबेला युवा जमात कफीमा झुम्मिन थालेको छ ।

पछिल्लो समय बुटवल र आसपासमा ‘कफी कल्चर’ फस्टाउँदो छ । क्याम्पस पढ्ने विद्यार्थी हुन् वा बिहान, दिउँसो र साँझ साथीभाइसँग गफिनेहरू, सबै कफीको चुस्कीमा रमाउन थालेका छन् । 

तर, कफीको स्वाद र फ्लेवर पत्ता लगाउने र त्यही फ्लेवरको माग गर्नेको संख्या अझैं कम नै छन् । अहिले सामान्यतः ‘अमेरिकानो’, ‘क्यापाचिनो’ ‘लाटे’, ‘एस्प्रेसो’ कफी पिउनेको संख्या बढी छ । यसैबीचमा यहाँ केही यस्ता कफी सप खुलेका छन् जहाँ ग्राहकलाई कुन कफीको स्वाद कस्तो र त्यसले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने जानकारी पनि दिने गरिन्छ । यस्तैमध्येको एउटा हो, बुटवलको राजमार्ग चौराहास्थित कफी क्लब क्याफे । सन् २०१५ मा स्थापना भएको कफी क्लबका सञ्चालक पूर्ण (नपु) गुरुङ हुन् । उनी ग्राहकलाई स्पेसल कफी बनाएर चखाउन, कफीलाई ब्रान्डिङ गर्न र नयाँ–नयाँ फ्लेवर कसरी बनाउने भन्ने प्रयोग र अध्ययनमा पनि व्यस्त रहन्छन् ।

Use of new flavors in coffeeपूर्णले सुरुमा सामान्य कफी बनाएर बिक्री गर्थे । तर तीन वर्षयता भने उनको कफी बनाउने, चखाउने र व्यापार गर्ने ट्रेन्ड फरक छ । ‘अहिले हरेक कप कफी बनाउँदा नया फ्लेवर आओस् भन्ने हिसाबले काम गर्छु,’ उनले भने, ‘कफी, चेरी र पानीको मात्रा मिलाएर बनाएको फ्लेवर नयाँ स्वादको बन्यो, त्यसलाई नै थप प्रयोग गरेर पर्फेक्ट कफी विथ स्वाद बनाएर बेच्छौं ।’ सामान्यतः ग्राहक आएर फ्लेवरअनुसार कफी माग गर्ने परम्परा अझै बसिसकेको छैन । पूर्ण भने आफूले बनाएको फ्लेवरको जानकारी दिएर बिक्री गर्छन् । उक्त कफी खाएपछि ग्राहकको राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए । ‘त्यसपछि ग्राहक दोहोरिएर क्लबमा आउने ट्रेन्ड बढ्यो,’ उनले भने, ‘त्यसले झन् हौस्सायो ।’ पूर्णले अहिले भी–६०, फिल्टर, कोल्ड ब्रिउ, कफी विथ फ्लेवर स्पेसियालिटीजस्ता नाम जुराएर कफी बिक्री गरिरहेका छन् ।

कफी क्लब भए पनि उनको पसलमा चिया पारखीको उत्तिकै भीड लाग्छ । उनले हिबिस्कस (घण्टी) फूलको चिया बनाएर बेचिरहेका छन् । घण्टी फूललाई सुकाएर २४ घण्टा पानीमा डुबाउने, अर्को दिन त्यही पानीमा आइस राखेर ग्राहकलाई पिउन दिने गरेका छन् । ‘यो चिया नै हिबिस्कस आइस टी हो,’ उनले भने, ‘जुन चिया पारखीको व्यग्र रोजाइ बन्न थालेको छ ।’ शारीरिक स्वस्थताका लागि अत्यन्तै लाभदायी रहेकाले डाक्टरदेखि व्यावसायिक प्रतिष्ठानका सञ्चालक, बैंकर्सलगायतले यो चिया मन पराइरहेको उनले बताए । 

Use of new flavors in coffeeबुटवल–७, दीपनगरमा गौतम बुद्धको अनुयायी परिवारमा जन्मिएका हुन् उनी । त्यसैले बिदा हुनासाथ भिक्षु बनेर गुम्बामा बस्थे । ‘मलाई त्यो संस्कार मन पर्थ्यो,’ उनले भने । ‘प्लस टु’ पढ्न काठमाडौं गएपछि केही समय उनले वेटरको काम गरे । त्यसपछि पोखरा पुगेका उनले २०६४ सालमा पोखरास्थित ब्रिटिस क्याम्पमा मजदुरी गरे । कामसँगै ओभरसियर अध्ययन थाले पनि पढाइ पूरा गरेनन् । केही समयपछि उनले जापान जाने र उतै व्यापार गर्ने सपना बुने । त्यसका लागि भाग्यले साथ दिएन । 

त्यहीबीचमा विवाह गरेपछि आफैंले केही काम गर्ने सोचे । त्यतिबेलै आफूले कफी पिउने जाने गरेको पसल बिक्रीमा रहेको थाहा पाएपछि किने । ‘युवा पुस्तामा कफी क्रेज देखेपछि यो व्यवसायमा लागेको हुँ ,’ उनले भने, ‘कफी बनाउन सिकाउने ठाउँ थिएनन्, त्यसैले युट्युबबाट फ्लेवर बनाउन सिकेँ र व्यवसाय गर्दै गएँ ।’ अहिले पाँच जना कर्मचारी पनि  छन् उनको पसलमा । हालसम्म उनले नेपालमै उत्पादित कफीलाई आफ्नो व्यवसायको ब्रान्ड बनाइरहेका छन् । उनीकहाँ गुल्मी, 

स्याङ्जा, पाल्पा, अर्घाखाँचीबाट कफी चेरी आउँछ । त्यसलाई कफी सपकै रोस्टिङ रुममा रोस्ट गरेर वास गरेपछि ग्राहककै अगाडि पिस्ने र स्वादिलो कफी बनाएर दिने गरिन्छ । 

पूर्णले ज्ञान बटुल्ने क्रममा बारिस्टा, स्पेसियालिटी कफी एसोसिएसनअन्तर्गत चितवनमा सेन्सरी अध्ययन पूरा गरेका छन् । अहिले कफीको स्वाद, क्वालिटी र कति समयसम्म स्टोर गरेको बिन्सले बनेको कफी हो भन्ने पत्ता लगाउन सक्ने भएका छन् । यसमा कुन किसानको खेतबाट ल्याएको, कति उत्पादन, कस्तो कफी बिन्स उत्पादित थियो, के के फ्लेवरमा बनाउन सकिन्छ भन्नेजस्ता विषय पनि पर्छन् । आफूले गरिरहेको अध्ययन र विकास गरेको स्वाद विश्वभरिको कफी कल्चरमा तेस्रो वेभमा पर्ने उनको भनाइ छ । 

Use of new flavors in coffee‘विश्वमा कफीको पाँचौँ वेभ चलिरहेको छ,’ उनले भने, ‘म पनि विस्तारै सिक्दै छु ।’ भविष्यमा यो व्यवसायमा लाग्ने व्यक्तिले पढेर, अध्ययन गरेर, सिकेर ट्रेन्ड नै बनाउन भन्ने उनको चाहना छ । विदेश गएर यसबारे देख्न, सिक्न नपाए पनि उनले दुबईमा बसेका नेपाली कफी मेकरसँग केही ज्ञान पनि लिएको बताए । त्यसले पनि नेपाली बजारमा कस्तो कफी कल्चर बसाल्न सकिन्छ भनेर जानकारी पाएको उनले बताए । कफी ९० रुपैयाँदेखि ४ सय ५० रुपैयाँ प्रतिकप बिक्री हुने कफी क्लब क्याफेमा सेरामिक कप पनि प्रचलित छ । सेरामिक कपले स्वादलाई जस्ताको तस्तै राख्न सघाउने भएकाले यसको प्रयोग गर्ने गरेको उनले बताए ।

पछिल्लो समय भने पूर्णको व्यावसायिक पार्टनरका रूपमा प्रकाश थापा जोडिएका छन् । उनले पनि पूर्णसँगै कफी कल्चर र फ्लेबरबारे सिकिरहेका छन् । योसँगै पूर्णले बारिस्टा कक्षाका लागि इन्स्टिच्युटसमेत चलाएका छन् । चितवनस्थित ‘कफी ओ क्लक’ सँगको सहकार्यमा कक्षा चलिरहेको छ । त्यहाँ पढ्ने अधिकांश विद्यार्थीले वैदेशिक रोजगारीमा जानका लागि बारिस्टा सीप सिक्न आउने गरेको उनले बताए । उनलाई काममा श्रीमती चेनुसा गुरुङले पनि सघाइरहेकी छन् । 

Use of new flavors in coffeeपूर्णले पाल्पाको डुम्रेमा कफी खेती पनि सुरु गरेका छन् । नेपालको कफी (अरबिका) लाई नै ब्रान्डका रूपमा स्थापित गर्न सकिने उनी बताउँछन् । ‘मलाई कफीप्रति यसरी लगाव बढेको छ कि, पढ्ने, खोज्ने र हाम्रो देशमा उत्पादित कफी नै विश्वका मानिसलाई चखाउन मन छ,’ उनले भने, ‘यो उद्देश्य पूरा गर्न अहिले मैले डुम्रेमा ३० रोपनीमा आफैंले खेती पनि सुरु गरेको छु ।’ किसानलाई समेत जीवन निर्वाहका लागि सहज हुने उद्देश्यले त्यहाँका स्थानीयलाई कफी खेती र बजारीकरणमा सघाउने उनको योजना छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully