‘जेन–जी’ फेसबुकभन्दा इन्स्टाग्राम चलाउनुलाई बढी सहज मान्न थालेको छ, परिवारदेखि आफन्त सबै त्यहीँ हुने भएकाले पनि फेसबुक चलाउन चाहँदैनन्, फेसबुकलाई असुरक्षित ठान्छन्
काठमाडौँ — सामाजिक सञ्जालसँगै हुर्किएको ‘जेन–जी’ पुस्ता पछिल्लो समय फेसबुकमा भने त्यति सक्रिय देखिँदैनन् । फेसबुक चलाए पनि आफ्ना फोटो र विचार, प्रतिक्रिया खासै सेयर गर्दैनन् । न त परिवार वा नातेदारका फेसबुक स्टाटसमा ‘रियाक्ट’ गर्छन् । बरु आफ्नो सीमित साथी सर्कलमा रहेर मिमहरू हेर्ने र रमाउने गरिरहेका हुन्छन् ।
त्यसैले पनि उनीहरूलाई मिम पुस्तासमेत भनिन्छ । सामाजिक सञ्जालकै कारण विश्वसँग जोडिएका ‘जेन–जी’ पुस्ताको सोच्ने तरिका, काम गर्ने शैली पनि फरक छ । यही फरकपनको एउटा उदाहरण हो, सामाजिक सञ्जालमा उनीहरूको छनोट । ‘जेन–जी’ पुस्ता इन्स्टाग्राममा आफूलाई बढी सहज महसुस गर्छ ।
अक्षरा स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय शिभान शर्मा भन्छन्, ‘मेरो उमेरका प्रायः कुनै पनि साथीसँग फेसबुक एकाउन्ट छैन । सबै इन्स्टामा छन्, त्यसैले मैले पनि इन्स्टाग्राम खोलें ।’ उनलाई सामाजिक सञ्जालप्रति त्यस्तो आशक्ति नभए पनि ‘पछाडि परिन्छ’ भन्ने डरले इन्स्टाग्राम खोल्न बाध्य बनायो । ‘कम्युनिकेसन सजिलो बनाउनका लागि इन्स्टाग्राम खोलें,’ उनी भन्छन्, ‘तर म आफ्नो कुराहरू त्यति पोस्ट गर्दिनँ ।’
पछिल्लो समयका युवा पुस्तामा इन्टरनेट र सामाजिक सञ्जालको व्यापक प्रयोगले चार पुस्तामा वर्गीकृत गरिन्छ । सन् १९६५ देखि १९७९ को अवधिमा जन्मेकालाई जेनेरेसन एक्स, १९८० देखि १९९४ बीचमा जन्मेका जेनेरेसन मिलेनियल्स, १९९५ देखि २०१२ मा जन्मेकाहरू जेनेरेसन जेड (जेन–जी) र सन् २०१३ यता जन्मेको पुस्तालाई अल्फा जेनेरेसन भनिन्छ । मिलेनियल पुस्ताको तुलनामा जेन–जी बढी सचेत र सर्तक देखिन्छन् । व्यक्तिगत असुरक्षाको डरले उनीहरू सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्दैनन् । प्रायः हरेक पुस्ता जोडिने गरेको फेसबुकमा भने जेन–जी पुस्ताले असुरक्षाको कारण देखाउँदै रुचि देखाउन छोडेको देखिन्छ । अधिकांशलाई यसको नियमन र सुरक्षा विधि पनि थाहा छैन । त्यही कारण साइबर बुलिङ, ट्रोलजस्ता कुरा फेसबुकमार्फत बढी हुने गरेको छ ।
साइबर बुलिङ रिसर्च सेन्टरको अध्ययनअनुसार सोसल मिडिया प्लेटफर्ममध्ये सबैभन्दा बढी फेसबुकमार्फत बुलिङ हुने गरेको पाइन्छ । जेन–जी पुस्ताबाटै साइबर बुलिङ, ट्रोल, भाइरल, ट्रेन्डिङजस्ता शब्द बढी चल्तीमा आए । १९ वर्षीया आर्जु कोइराला केएमसी कलेजमा पढ्दै छिन् । शिक्षकहरूले म्यासेन्जर ग्रुप बनाएर त्यसैमा नोट राखिदिने भएकाले उनले पनि कक्षा १० मा पढ्दै गर्दा फेसबुक एकाउन्ट बनाइन् । फेसबुकमा धेरै फेक एकाउन्ट हुने भएकाले पछि उनले यसमा हुने जथाभावी बुलिङको अनुभव गरिन् । आर्जु भन्छिन्, ‘मेरै कतिपय साथीहरूको कमेन्ट सेक्सनमा आएर अश्लील कुराहरू राखिदिएका छन् ।’
फेसबुक एकाउन्ट खोलेपछि धेरैले आफ्नो फोटो पोस्ट गर्छन् । त्यसपछि उक्त फोटोमा आउने लाइक र कमेन्ट्समा बढी चासो हुन्छ । तर कतिपयले फेक एकाउन्टमार्फत अश्लील कुरा पनि लेखिदिने गर्छन् । खासगरी फेसबुकमा फोटो पोस्ट गरेपछि उसको पहिरन, पोज र अनुहारको भावमा नानाथरी कमेन्ट गर्ने प्रवृत्ति व्यापक रहेको आर्जु बताउँछिन् ।
काठमाडौं स्कुल अफ लबाट बीएएलएलबी प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया आरुषी राणासँग फेसबुक एकाउन्ट त छ तर त्यसमा आफ्नो निजी कुराहरू पोस्ट गर्दिनन् । कारणबारे भन्छिन्, ‘म यो ठाउँमा गएँ, यस्तो खाएँ, यस्तो लुगा लगाएँ भनेर पोस्ट गर्दा हेर्ने मान्छेलाई पनि दिक्क लाग्छ होला । त्यसरी आफ्नो सबै कुरा अरूलाई देखाउनु राम्रो होइनजस्तो लाग्छ ।’
फेसबुक एकाउन्ट खोल्नुको उनको एउटै उद्देश्य साथीहरूसँग च्याट गर्नु मात्र हो । ‘फेसबुकभन्दा पनि मेरो रुचिचाहिँ इन्स्टाग्राममा छ,’ उनी भन्छिन् । जेन–जी पुस्ताले फेसबुकभन्दा इन्स्टाग्रामलाई सहज मान्नुमा मुख्य तीन कारण देखिन्छन् । पहिलो, उनीहरू आममान्छे जोडिएको फेसबुक असुरक्षित ठान्छन् । दोस्रो, उनीहरूको आमाबुवा वा धेरै नातेदार फेसबुकमै हुन्छन्, जसबाट उनीहरू अलग हुन चाहन्छन् । तेस्रो, आफ्नो मनोविज्ञान र रुचि मिल्ने साथीहरू इन्स्टाग्राममै भेटिन्छन् । त्यसैले उनीहरू इन्स्टाग्रामलाई सहज मान्छन् ।
‘मामु इन्स्टामा त्यति एक्टिभ हुनुहुन्न,’ आर्जु भन्छिन्, ‘तर, फेसबुकमा मेरो फोटो, कहिले कलेजको फोटो, कहिले के गरिरहेको फोटोको पृष्ठभूमिमा गीत राखेर पोस्ट गरिदिनुहुन्छ ।’ उनलाई यसरी आफ्नो फोटो फेसबुकमा राखिदिएको चित्त बुझ्दैन । उनी सुनाउँछिन्, ‘मामुलाई मेरो फोटो र भिडियो त्यसरी फेसबुकमा नराख्नु भन्छु तर उहाँले राखिदिनुहुन्छ ।’
मान्छेहरूले फेसबुकमा देखाएजस्तो वास्तविकतामा नहुन पनि सक्ने ठान्छन्, शिभान । ‘कतिपयले आज कता घुम्न गएको फोटो पोस्ट गर्छन्, भोलि कता घुम्न गएको, फेरि पर्सि कहाँ पुगेर के खाएको फोटो राख्छन् अनि अर्को दिन कहाँ रमाइलो गर्दै गरेको फोटो हाल्छन्,’ उनी भन्छन्, ‘खासमा फेसबुकमा हालिने सामग्री बढी देखावटी हुने गर्छन् ।’
जेन–जी पुस्ताले फेसबुकमा आफूलाई त्यसरी खुलेर प्रस्तुत गर्दैनन्, जसरी मिलेनियल पुस्ताले गर्छन् । मिलेनियल पुस्ताले सकेसम्म आफ्नो दैनिकी नै फेसबुकमा राख्छन् । मनमा उठेका कुरा केही बाँकी नराखी फेसबुकमा पोस्ट गर्छन् । कतिसम्म भने आफ्नो घर झगडाको कुरादेखि अरूले ऋण लिएर पैसा नतिरेकासम्मका कुरा उनीहरू निसंकोच फेसबुकमा पोस्ट गरिरहेका हुन्छन् । त्यति मात्र होइन, कसैको झैझगडा, दुर्घटना, गाली बेइज्जतीको भिडियो पनि जथाभावी फेसबुकमा राखिरहेका हुन्छन् । तर जेन–जी पुस्ता यस्तो कुरामा त्यति लापरबाह छैनन् ।
उनीहरू सकेसम्म अरुको फोटो, भिडियो वा आफ्नो नितान्त व्यक्तिगत कुरा फेसबुकमा सहजै सेयर गर्दैनन् । शिभान भन्छन्, ‘अरुको अनुहार देखिएको छ भने अनुमतिबिना पोस्ट गर्दिनँ । किनभने त्यो उनीहरूको प्राइभेसीको कुरा हो ।’ उनलाई के लाग्छ भने आफ्नो मनमा लागेको वा आफूले देखेको र भोगेको सबै कुरा फेसबुकमा राख्न जरुरी छैन । बरु कुनै यस्ता महत्त्वपूर्ण क्षण छ भने त्यसलाई साझेदार गर्न सकिने उनको बुझाइ छ ।
फेसबुकजस्तो सबैको सहज पहुँचमा भएको प्लेटफर्म चलाउँदा होसियार हुनुपर्ने उनीहरू बताउँछन् । ‘यसमा बुलिङ मात्र होइन ह्याकिङ हुने जोखिम पनि छ,’ शिभान भन्छन्, ‘म आफैंले त्यस्तो कुरा भोगेको छु । एक दिन अचानक मलाई लाखौं म्यासेज आउँछ । खोलेर हेर्दा क्रिप्टो मिलिनियर बनाइदिएको थियो । त्यसपछि मैले एकाउन्ट नै डिलिट गरिदिएँ ।’ हुन त सामाजिक सञ्जालमा सुरक्षा विधि अपनाउने उपाय पनि सुझाइएको हुन्छ ।
सामाजिक सञ्जालमा आफ्नो कुराहरू पोस्ट गर्दै त्यसको प्रतिक्रिया हेर्न थाल्यो भने समय बर्बाद हुने बताउँछिन्, आरुषी । ‘एकछिन् हेरौं न त भनेर हेर्न थालियो भने समय गएको पत्तो हुँदैन,’ उनी भन्छिन्, ‘त्यसैले मैले त इन्स्टा पनि डिएक्टिभ गरिदिएँ ।’ शिभानको फोनमा त ‘प्यारेन्टल कन्ट्रोल’ सेटिङ राखिएको छ । उनी भन्छन्, ‘यसले समयलाई लिमिट गर्न मिल्छ । जति समय सेट गर्यो, त्यति अवधि मात्र चलाउन मिल्छ । त्यसपछि सबै आफैं लक हुन्छ ।’
