सौराहा चिनाउन छतिया स्ट्रिट

जहाँ पर्यटकलाई थारू समुदायकै मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच देखाउँदै थारू परिकार नै खुवाउने योजना

भाद्र २, २०८१

रमेशकुमार पौडेल

Sauraha Chinnaon Chatia Street

चितवन — चितवन राष्ट्रिय निकुञ्जछेउमा पर्यटकीय चहलपहल सुरु हुँदै थियो, २०३५ सालतिर गिरिधारी चौधरीले सौराहामा लज खोले । लजदेखि झन्डै दुई सय मिटर पर पुरानो सौराहा गाउँभित्रै छ, उनको घर । साविकको बछौली क्षेत्रलाई नै अहिले सौराहा भनेर चिनिन्छ । पुरानो सौराहा गाउँ अहिले सानो टोल जस्तो भएको छ ।

नयाँ सौराहाले आकार फैलाइरहँदा पुरानो सौराहा गाउँको अस्तित्व नै हराउने हो कि भन्ने चिन्ता छ, स्थानीयमा । सौराहा थारू समुदायको बाहुल्य भएको यहाँका गाउँले यतिबेला भने आफ्ना कला, संस्कृति जोगाउने कसरतमा छन् । 

पुरानो सौराहा क्षेत्रमा चौधरी समुदायकै १ सय २ घर छन् । पहिलेका मौनाहा, मालपुर, बद्रहनी, ओदरा, दोरङ्गी, बछौली, जनकौली, बाघमारा जस्ता पुराना थारू गाउँ अहिले सबै सौराहा नै भनेर चिन्न थालिएको छ । विदेशी पर्यटकको बाक्लो चहलपहलसँगै थारू गाउँकै मौलिकता मासिँदै जान थालेपछि यहाँका रैथानेहरूको पहलमा गाउँमा ‘छतिया स्ट्रिट’ को अवधारणा ल्याइएको छ । खेतीपाती गर्दा घामपानीबाट जोगिन थारू समुदायले ओढ्ने छतिया (छतरी) लाई ‘ब्रान्डिङ’ गर्दै मौलिकतातर्फ पर्यटकलाई आकर्षण गर्न लागिएको हो । ‘अहिले ठाउँठाउँमा छाता राखेर अम्रेला स्ट्रिट भन्ने गरिन्छ । पुरानो थारू गाउँमा छतिया राखेर बनाएको स्ट्रिटमा थारू परिकार राखेर बेच्दा पर्यटकले रुचाउलान् नै भन्ने लाग्छ,’ गिरिधारीले भने । 

भोर्लाको पात छापेर बाँसको चोयाले बुनेको छतिया अहिले चल्तीमा छैनन् । ‘थारू समुदाय र कृषि कर्म गर्नेले कुनैबेला छाता हैन छतिया प्रयोग गर्थे । अहिले लगभग हरायो,’ रत्ननगर नगरपालिका–६ का वडा सदस्यसमेत रहेका बछौलीका वीरेन्द्र महतोले भने । त्यही हराउँदै गएको छतियाको सहारामा ओझेल पर्दै गएको पुरानो सौराहालाई ब्युँताउने प्रयास थालिएको वीरेन्द्रले बताए ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ३० लाख र वडा कार्यालयको तीन लाखको बजेटमा ‘छतिया स्ट्रिट’ बनाएको छ । अहिले ४५ मिटर लम्बाइमा रंगीन छतिया राखेर सजाइएको छ । रातमा छतियाको रंग अनुसारको बत्ती बल्दा थप आकर्षक देखिन्छ । दिनभर सौराहामा वन्यजन्तु हेरेर रमाउने पर्यटकका लागि साँझपख ‘छतिया स्ट्रिट’मा राखिएका स्टलमा थारू समुदायका रैथाने परिकारको व्यवस्था मिलाइने महतोले बताए । 

यहाँका स्थानीय सातामा दुई दिन ‘छतरी स्ट्रिट’ मा थारू समुदायकै मौलिक सांस्कृतिक नाच झाम्टा र लाठी नाच प्रस्तुत गर्ने योजनामा पनि छन् । ‘सौराहाको पहिचान विश्वव्यापी भएको छ । तर त्यही पुरानो ठाउँ सौराहाका बासिन्दा पर्यटनसँग जोडिन सकेका छैनन्,’ वीरेन्द्रले थपे, ‘छतिया स्ट्रिटमार्फत थारू समुदायले पनि पर्यटनबाट लाभ लिन सक्छ ।’ छतियाको बाटो हुँदै अहिले सवारीसाधनसमेत ओहोरदोहोर गर्छन् । ‘छिट्टै यसको वैकल्पिक बाटो चलाउने गरी सातामा दुई दिन साँझपख एकाध घण्टाका लागि सवारीका लागि रोक लगाउने कि भन्ने सोच बनाएका छौं,’ वीरेन्द्रले सुनाए ।

त्यही समय पारेर खानाका स्टल र थारू समुदायको सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए । थारू समुदायका खाना थालीमा चिच्चर, घोंगी, हाँस र माछाका परिकार तथा बाफमा पकाएको चामलको पिठोका रोटी मुख्य आकर्षणमा पर्छन् ।

युवा ग्यालरी

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully