लुम्बिनी — रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ तीनधुरास्थित जनता माविका विद्यार्थी मोहन मल्लाह र उनका साथीले ‘अब्स्ट्याकल्स अभोइडिङ रोबोटिक कार’ बनाएका छन् । चालकविहीन उक्त कारले आफू गुडिरहेका बेलामा अगाडि कुनै बाधा भएको थाहा पाउनासाथ ‘अलर्ट टोन’ बजाएर फरक लेनबाट गुड्न सुरु गर्छ । रोबोटलाई कम्प्युटर प्रोग्रामिङ सेटबाट चलाई सडकमा गुड्ने र लेन परिवर्तन गर्ने गरी तयार गरिएको छ ।
उक्त कार हेर्नर् र मल्लाहले कारबारे दिएको जानकारी सुन्न शनिबार तिलोत्तमा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि र पालिकाका कर्मचारीको भीड नै लागेको थियो । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरिरहेका मल्लाह र उनको समूहले दुई दिनमा उक्त कार तयार गरेको हो ।
उनीहरूजस्तै तिलोत्तमा–१४ दुर्गानगरको दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठमा कक्षा–१० मा अध्ययनरत खगेन्द्र गौतम र साथीले वैदिक सामग्री प्रदर्शन गरेका थिए । उनीहरूले ऋषिमुनिका पालामा खाना पकाउन प्रयोग हुने काँसका भाँडा, होम गर्न बनाइने यज्ञशाला, पलेँटी कसेर बस्ने गुन्द्री, नेपाली पहिचान ढाकाटोपी, मादल, गौतम बुद्धको मूर्ति, वेद उपनिषद्लगायतका सामग्रीबारे जानकारी दिएका थिए ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको विद्यार्थीको अन्वेषण तथा उद्यमशीलता कार्यक्रममा ४० सामुदायिक विद्यालयको सहभागिता थियो । उनीहरूले पढाइबाहेक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत सिर्जनशील कार्य गर्ने र त्यस्ता सिर्जना विभिन्न प्लेटफर्ममा देखाउने गरेको बताए ।
कार्यक्रममा विद्यार्थीले हावा सञ्चित गरी विद्युत् निकाल्ने प्रक्रिया, हराभरा सहरभित्रको विद्यालय मोडल, कम्प्युटर प्रोग्रामबाट सेन्सरयुक्त डस्टबिन, तिनाउ पुलको सिग्नेचर मोडल, फिंगर प्रिन्ट लक सिस्टमसहितको डोर मोडल आदि प्रदर्शन गरेका थिए ।
यस कार्यक्रमले विद्यार्थीलाई नयाँ–नयाँ आयाममा ध्यान दिन र त्यसतर्फ काम गर्न सहयोग गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । तिलोत्तमा नगरपालिका अन्वेषणयुक्त पालिका बन्ने गरी आगामी नीति तथा कार्यक्रममा विषय समेटेरै अघि बढ्न छलफलमा जुटिरहेको पनि उनले दाबी गरे ।
