चियामा स्वाद भर्न सिपालु रामबाबु व्यवहारमा पनि उत्तिकै प्रिय छन्, दिनभर सयौं ग्राहकको भीडका बीच पनि उनी हँसिलो मुहारका साथ तनावरहित मुद्रामा भेटिन्छन्
डोटी — बिहान ४ नबज्दै रामबाबु यादव ओछ्यानबाट जुरुक्क उठ्छन् । दिपायलको पिपल्लाबजार मस्त निद्रामा रहेका बेला रामबाबु भने घरबाट निस्केर चियापसल खोल्न आइपुग्छन् । पसलको सरसफाइ, पूजाआजा उनको दैनिकी हो । एकाबिहानै चियापसलमा चियापारखीको लर्को लाग्छ । चियाको चुस्कीसँगै स्थानीयदेखि राष्ट्रिय राजनीतिका गफ र चियोचर्चा गर्ने थलो बनेको छ, रामबाबुको चियापसल ।
घरनजिकै रामबाबुले चियापसल खोलेको वर्षौं भइसक्यो । डोटीमा रामबाबुलाई नचिन्ने सायदै होलान् । जानकी मिष्ठान्न भण्डारका नाममा खुलेको उनको चिया पसलमा नपुग्ने विरलै छन् । ‘साथीभाइ भेटघाटदेखि देशविदेशका घटनाक्रमको समीक्षा गर्न पनि रामबाबुको चियापसल डोटीको मुख्य थलो बनेको छ,’ दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले भने, ‘कार्यालय जाँदा र फर्कंदा चिया पसल नछिरेसम्म मनै अघाउँदैन ।’ नगर प्रमुख खड्कालाई मात्र होइन, जिल्लाका नेता, कर्मचारी, पत्रकारदेखि सर्वसाधारणको चिया खाने मुख्य थलो हो रामबाबुको मिष्ठान्न भण्डार ।
व्यापारको सिलसिलामा ०४७ सालमा काका निरञ्जन यादवको पिठ्युँमा बोकिएर रामबाबु दिपायल आइपुगेका हुन् । चियापसलमा सहयोगीका रूपमा काम लगाउन काका निरञ्जनले उनलाई यहाँ ल्याउँदा रामबाबु ७ वर्षका मात्रै थिए । केआईसिंह राजमार्ग विस्तार हुने क्रममा दिपायलको सेती नदी किनारमा बसेको अस्थायी बजारमा बाहिरबाट थुप्रै व्यापारी आइपुगेका थिए । सोही क्रममा उनका काका दिपायल आइपुगे । सेती किनारमा हुरुरु चल्ने हावा, मधेशको गर्मी सहेको बालक एक्कासि पहाड आउँदा अनेकौं हन्डर खाए ।
बोराले छाएका पसलमा काकालाई अनेकथरी काममा सघाए । धेरैलाई बाल्यकालका पल मिठा लाग्छन् तर रामबाबु सम्झँदा पनि अमिलो मुख बनाउँछन् । कलिला हातले कठ्यांग्रिँदो चिसोमा भाँडा माझ्ने, भारी बोक्ने काममा उनले दिनरात मिहिनेत गरे । त्यही कारण विद्यालय पनि जान पाएनन् । ‘जीवन संघर्ष हो भन्ने कुरा बाल्यकालमै बुझेको थिएँ,’ रामबाबु भन्छन्, ‘सानोमा पेटभरि खानु र धीत मरुन्जेल सुत्न पाउनु मेरा लागि ठूलै कुरा थियो ।’
त्यही संघर्षले निखारिएका ४० वर्षीय रामबाबु अहिले भने दिपायलमा चल्तीका व्यापारीमध्ये पर्छन् । चियापसलबाटै उनले मनग्ये आम्दानी गरेका छन् । दिपायल पिपल्लाबजारको मध्य ठाउँमा उनले तीन तले घरसमेत ठड्याइसकेका छन् । श्रीमती, ४ छोराछोरी, आमाबुवा र भाइको ५ जहान परिवार यही चियापसलबाट स्याहारिरहेका छन् । धनुषाको मुखियापट्टी मुसर्निया गाउँपालिकामा घर भए पनि अब भने रामबाबु आफूलाई डोट्यालभन्दा फरक नपर्ने बताउँछन् । उनको परिवार पनि दिपायलमै बस्दै आएको छ । ‘जहाँ बस्यो, हुर्कियो त्यही ठाउँ प्यारो लाग्दो रहेछ,’ रामबाबुले भने, ‘मधेशमा जन्मे पनि पहाडले मलाई नाम, दाम र स्नेह दिएको छ । डोटी छाडेर बाहिर २ दिन बिताउन पनि अहिले त मुस्किल पर्छ ।’
चियामा स्वाद भर्न सिपालु रामबाबु व्यवहारमा पनि उत्तिकै प्रिय छन् । दिनभर सयौं ग्राहकको भीडका बीच पनि उनी हँसिलो मुहारका साथ तनावरहित मुद्रामा भेटिन्छन् । जानकी मिष्ठान्न भण्डारमा दैनिक ५ सय लिटर दूध खपत गर्ने रामबाबुले ७ सय कपसम्म चिया बिक्री गर्छन् । एक सय लिटर दूधबाट चिया र बाँकी दूधबाट मिठाई, लस्सी, दही, केक, पनिरलगायत परिकार बनाउँछन् । ‘करिब एक सय परिवारको दूध रामबाबुले खपत गरिदिएका छन्,’ रामबाबुकहाँ नियमित दूध बिक्रीका लागि आउने जमुना खड्काले भनिन्, ‘उनकै कारण हाम्रो घरखर्च चलेको छ, चियामसला किन्न आम्दानी भइरहेको छ ।’
उनको पसलमा चियाकफीसँगै नास्ता, मिठाई, केक किन्नेको घुइँचो लाग्छ । उनको पसलमा ग्राहकले अधिक मन पराउने अर्को परिकार भनेको समोसा–तरकारी हो । पछिल्लो समय उनले चाउमिन पनि बनाउने गर्छन् । उनी र उनको परिवारसहित १४ जना कामदार दिनभरि काममा खटिएका हुन्छन् । जसमध्ये ३ जना डोटीकै स्थानीय हुन् भने अन्य आफ्नै मधेश क्षेत्रका हुन् । उनले मासिक कारोबार १० लाखसम्म हुने बताए । ‘घरखर्च, कर्मचारीको तलब र सामग्री खरिदको खर्च कटाएर मासिक २ देखि अढाई लाख फाइदा भइरहेको छ । जिन्दगी राम्रै चल्या छ,’ उनले भने ।
रोजगारीको अभावमा दिनप्रतिदिन भारत र विदेश जाने युवाको जमात देख्दा भने रामबाबुलाई आश्चर्य लाग्छ । उनी संघर्ष गर्नेका लागि गाउँमै राम्रो आम्दानी हुने तर्क गर्छन् । आफ्नै गाउँठाउँमा मिहिनेत गर्न लजाउने युवा विदेश गएर थोरै तलबमा पनि कठिन काम गरिरहेकामा उनको मन दुख्छ । ‘मासिक ५० हजार तलबसहित स्थानीय युवालाई घर आउन जान मोटरसाइकलको सुविधासमेत दिएँ,’ रामबाबुले आफ्नो तीतो अनुभव सुनाए, ‘तर उनीहरू लामो समय टिक्दैनन्, श्रीमती र छोराछोरी छोडेर भारत पस्नै मन पराउँछन् ।’
