मधेशका रामबाबुको डोटी संघर्ष

चियामा स्वाद भर्न सिपालु रामबाबु व्यवहारमा पनि उत्तिकै प्रिय छन्, दिनभर सयौं ग्राहकको भीडका बीच पनि उनी हँसिलो मुहारका साथ तनावरहित मुद्रामा भेटिन्छन् 

जेष्ठ २०, २०८१

मोहन शाही

Doti struggle of Rambabu of Madhesh

डोटी — बिहान ४ नबज्दै रामबाबु यादव ओछ्यानबाट जुरुक्क उठ्छन् । दिपायलको पिपल्लाबजार मस्त निद्रामा रहेका बेला रामबाबु भने घरबाट निस्केर चियापसल खोल्न आइपुग्छन् । पसलको सरसफाइ, पूजाआजा उनको दैनिकी हो । एकाबिहानै चियापसलमा चियापारखीको लर्को लाग्छ । चियाको चुस्कीसँगै स्थानीयदेखि राष्ट्रिय राजनीतिका गफ र चियोचर्चा गर्ने थलो बनेको छ, रामबाबुको चियापसल ।

घरनजिकै रामबाबुले चियापसल खोलेको वर्षौं भइसक्यो । डोटीमा रामबाबुलाई नचिन्ने सायदै होलान् । जानकी मिष्ठान्न भण्डारका नाममा खुलेको उनको चिया पसलमा नपुग्ने विरलै छन् । ‘साथीभाइ भेटघाटदेखि देशविदेशका घटनाक्रमको समीक्षा गर्न पनि रामबाबुको चियापसल डोटीको मुख्य थलो बनेको छ,’ दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले भने, ‘कार्यालय जाँदा र फर्कंदा चिया पसल नछिरेसम्म मनै अघाउँदैन ।’ नगर प्रमुख खड्कालाई मात्र होइन, जिल्लाका नेता, कर्मचारी, पत्रकारदेखि सर्वसाधारणको चिया खाने मुख्य थलो हो रामबाबुको मिष्ठान्न भण्डार ।

व्यापारको सिलसिलामा ०४७ सालमा काका निरञ्जन यादवको पिठ्युँमा बोकिएर रामबाबु दिपायल आइपुगेका हुन् । चियापसलमा सहयोगीका रूपमा काम लगाउन काका निरञ्जनले उनलाई यहाँ ल्याउँदा रामबाबु ७ वर्षका मात्रै थिए । केआईसिंह राजमार्ग विस्तार हुने क्रममा दिपायलको सेती नदी किनारमा बसेको अस्थायी बजारमा बाहिरबाट थुप्रै व्यापारी आइपुगेका थिए । सोही क्रममा उनका काका दिपायल आइपुगे । सेती किनारमा हुरुरु चल्ने हावा, मधेशको गर्मी सहेको बालक एक्कासि पहाड आउँदा अनेकौं हन्डर खाए ।

Doti struggle of Rambabu of Madheshबोराले छाएका पसलमा काकालाई अनेकथरी काममा सघाए । धेरैलाई बाल्यकालका पल मिठा लाग्छन् तर रामबाबु सम्झँदा पनि अमिलो मुख बनाउँछन् । कलिला हातले कठ्यांग्रिँदो चिसोमा भाँडा माझ्ने, भारी बोक्ने काममा उनले दिनरात मिहिनेत गरे । त्यही कारण विद्यालय पनि जान पाएनन् । ‘जीवन संघर्ष हो भन्ने कुरा बाल्यकालमै बुझेको थिएँ,’ रामबाबु भन्छन्, ‘सानोमा पेटभरि खानु र धीत मरुन्जेल सुत्न पाउनु मेरा लागि ठूलै कुरा थियो ।’

त्यही संघर्षले निखारिएका ४० वर्षीय रामबाबु अहिले भने दिपायलमा चल्तीका व्यापारीमध्ये पर्छन् । चियापसलबाटै उनले मनग्ये आम्दानी गरेका छन् । दिपायल पिपल्लाबजारको मध्य ठाउँमा उनले तीन तले घरसमेत ठड्याइसकेका छन् । श्रीमती, ४ छोराछोरी, आमाबुवा र भाइको ५ जहान परिवार यही चियापसलबाट स्याहारिरहेका छन् । धनुषाको मुखियापट्टी मुसर्निया गाउँपालिकामा घर भए पनि अब भने रामबाबु आफूलाई डोट्यालभन्दा फरक नपर्ने बताउँछन् । उनको परिवार पनि दिपायलमै बस्दै आएको छ । ‘जहाँ बस्यो, हुर्कियो त्यही ठाउँ प्यारो लाग्दो रहेछ,’ रामबाबुले भने, ‘मधेशमा जन्मे पनि पहाडले मलाई नाम, दाम र स्नेह दिएको छ । डोटी छाडेर बाहिर २ दिन बिताउन पनि अहिले त मुस्किल पर्छ ।’

Doti struggle of Rambabu of Madheshचियामा स्वाद भर्न सिपालु रामबाबु व्यवहारमा पनि उत्तिकै प्रिय छन् । दिनभर सयौं ग्राहकको भीडका बीच पनि उनी हँसिलो मुहारका साथ तनावरहित मुद्रामा भेटिन्छन् । जानकी मिष्ठान्न भण्डारमा दैनिक ५ सय लिटर दूध खपत गर्ने रामबाबुले ७ सय कपसम्म चिया बिक्री गर्छन् । एक सय लिटर दूधबाट चिया र बाँकी दूधबाट मिठाई, लस्सी, दही, केक, पनिरलगायत परिकार बनाउँछन् । ‘करिब एक सय परिवारको दूध रामबाबुले खपत गरिदिएका छन्,’ रामबाबुकहाँ नियमित दूध बिक्रीका लागि आउने जमुना खड्काले भनिन्, ‘उनकै कारण हाम्रो घरखर्च चलेको छ, चियामसला किन्न आम्दानी भइरहेको छ ।’

उनको पसलमा चियाकफीसँगै नास्ता, मिठाई, केक किन्नेको घुइँचो लाग्छ । उनको पसलमा ग्राहकले अधिक मन पराउने अर्को परिकार भनेको समोसा–तरकारी हो । पछिल्लो समय उनले चाउमिन पनि बनाउने गर्छन् । उनी र उनको परिवारसहित १४ जना कामदार दिनभरि काममा खटिएका हुन्छन् । जसमध्ये ३ जना डोटीकै स्थानीय हुन् भने अन्य आफ्नै मधेश क्षेत्रका हुन् । उनले मासिक कारोबार १० लाखसम्म हुने बताए । ‘घरखर्च, कर्मचारीको तलब र सामग्री खरिदको खर्च कटाएर मासिक २ देखि अढाई लाख फाइदा भइरहेको छ । जिन्दगी राम्रै चल्या छ,’ उनले भने ।

Doti struggle of Rambabu of Madheshरोजगारीको अभावमा दिनप्रतिदिन भारत र विदेश जाने युवाको जमात देख्दा भने रामबाबुलाई आश्चर्य लाग्छ । उनी संघर्ष गर्नेका लागि गाउँमै राम्रो आम्दानी हुने तर्क गर्छन् । आफ्नै गाउँठाउँमा मिहिनेत गर्न लजाउने युवा विदेश गएर थोरै तलबमा पनि कठिन काम गरिरहेकामा उनको मन दुख्छ । ‘मासिक ५० हजार तलबसहित स्थानीय युवालाई घर आउन जान मोटरसाइकलको सुविधासमेत दिएँ,’ रामबाबुले आफ्नो तीतो अनुभव सुनाए, ‘तर उनीहरू लामो समय टिक्दैनन्, श्रीमती र छोराछोरी छोडेर भारत पस्नै मन पराउँछन् ।’

युवा ग्यालरी

मोहन

Link copied successfully