बलरमा नजर

खासमा क्रिकेट भन्नु नै ब्याटर र बलरबीचको ठीक सन्तुलन मानिन्छ । तर पछिल्लो समय यो सन्तुलन खलबलिएको जस्तो देखिएको छ । किनकि ट्वान्टी–२० क्रिकेट पूर्णतः ब्याटरको खेल भएको छ । यसलाई सन्तुलनमा राख्न बलरले नै सटीक प्रदर्शन गर्नुपर्छ । यस अर्थमा भोलिबाट सुरु हुने विश्वकपमा यी पाँच बलरमा सबैको नजर रहनेछ । 

जेष्ठ १९, २०८१

हिमेश

Look at the bowler

काठमाडौँ — अब त ट्वान्टी–२० क्रिकेट ब्याटरकै मात्र खेल भयो भन्नेहरू धेरै रहे । भर्खर सकिएको आईपीएलमा एकपछि अर्को कीर्तिमानी स्कोर बने । आईपीएल ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता भएकामा दुई मत छैन । त्यसैले त आईपीएललाई ट्वान्टी–२० खेलको मापक मान्न सकिन्छ ।

यस अर्थमा अब त बलर जति सबै निरीह भएका छन्, विचरा कहलिएका छन् । त्यसो त क्रिकेट भन्नु नै ब्याटर र बलरबीचको ठीक सन्तुलन मानिन्छ । 

तर पछिल्लो समय यो सन्तुलन खलबलिएको हो कि भन्ने देखिएको छ । किनकि ट्वान्टी–२० क्रिकेट पूर्णतः ब्याटरको खेल भएको छ । अब त भन्न सुरु भएको छ, त्यो दिन पनि धेरै टाढा छैन, जति बेला नियमित रूपमै २० ओभरभित्र तीन सय रन बन्न थाल्नेछ । के यो प्रवृत्ति अबको ट्वान्टी–२० विश्वकपमा पनि देखिनेछ त ? यसको उत्तर गाह्रो छ । बलरको दृष्टिकोणबाट आईपीएलमा जस्तो ठूल्ठूलो स्कोर बन्ने छैन भन्ने हो भने खास–खास खेलाडीले बलबाट निकै सटीक प्रदर्शन गर्नुपर्नेछ । त्यस अर्थमा भोलिबाट सुरु हुने ट्वान्टी–२० विश्वकपमा यी पाँच बलरमाथि सबैको नजर हुनेछ ।

मिचेल स्टार्क, अस्ट्रेलिया

अस्ट्रेलियाली बलिङ आक्रमणका सबैभन्दा ठूलो अस्त्र हुन्, बायाँ हाते फास्ट बलर मिचेल स्टार्क । आईपीएलकै सबैभन्दा महँगा खेलाडी भएपछि उनी त्यसै पनि विश्वकै सबैभन्दा महँगा खेलाडी भए । उनकै सटीक बलिङका कारण कोलकाता नाइट राइडर्स आईपीएलमा च्याम्पियन भयो । सेमिफाइनल र फाइनल दुवैमा ‘प्लेयर अफ द म्याच’ उनी नै रहे । तर प्रतियोगितामा सुरुमा उनीमाथि अत्यधिक आक्रमण रचिएको थियो, उनी निकै महँगा बलर सावित भए । उनलाई लाग्छ, अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा त्यति रन बन्ने छैन, जति आईपीएलमा बनेको छ । कारण, ‘इम्प्याक्ट प्लेयर’ को नियम । त्यो भनेको एक बढी ब्याटरलाई खेलाउन पाउने नियम । तय छ, अस्ट्रेलियालाई विश्वकपमा लामो यात्रामा निस्कनु छ भने क्लार्कले उत्तिकै राम्रो बलिङ गर्नुपर्नेछ । फेरि स्टार्क आफैं पनि वान डे क्रिकेटबाट संन्यास लिएर ट्वान्टी–२० क्रिकेटमै केन्द्रित हुने सोचमा पुगिसके ।

जसप्रित बुमराह, भारत

आईपीएलमा जसप्रित बुमराहको मुम्बई इन्डियन्सले फिटिक्कै राम्रो प्रदर्शन गर्न सकेन । सबैभन्दा खराब टिममध्ये एक सावित रह्यो, मुम्बई । तर पनि अत्यधिक फरक ढंगको बलिङ शैलीका धनी बुमराहको बलिङ ठीकठाक रह्यो । अझ राम्रै रह्यो, उनी सर्वाधिक विकेट लिने सूचीको शीर्षमै रहे । सिधासिधा भन्दा मुम्बईको ब्याटिङ राम्रो हुँदो हो भने उनको बलिङको अझ बढी अर्थ हुन्थ्यो । अब यही कुरा भारतीय टिममा लागू नहुन सक्छ । भारत यसपल्टको विश्वकपमा सबैभन्दा राम्रा ब्याटर लिएर उत्रेको टिममध्ये एक हुनेछ । जति बेला बोर्डमा रक्षा गर्न लायक स्कोर हुनेछ, त्यति बेला बुमराहको बलिङले अझ धार लिने गर्छ । उनको सुरुआती स्पेल निकै महत्त्वपूर्ण हुनेछ, भारतका लागि । भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो उपाधि नजितेको पनि लामै समय भइसक्यो । यस्तोमा भारतले उनको बलिङबाट धेरै अपेक्षा गर्नेछ । भारतीय समर्थकको इन्छा रहनेछ, बमराह आईपीएलकै लयमा कायम रहोस् ।

साहिन अफ्रिदी, पाकिस्तान

ट्वान्टी–२० विश्वकप सुरु हुन अगाडि पाकिस्तानी क्रिकेटबाट एउटा ठूलो समाचार आयो । त्यो थियो, फेरि एकपल्ट कप्तान बाबर आजम नै हुनेछन् । त्यसको अर्थ साहिद अफ्रिदीले कप्तानी गुमाएका छन्, ट्वान्टी–२० क्रिकेट टिमबाट । उनको नेतृत्वमा पाकिस्तानले राम्रो गर्न सकेन, त्यसैले उनले कप्तानी पनि गुमाए । तर पनि उनी पाकिस्तानी क्रिकेट टिमकै प्रमुख बलर हुन्, यसमा कुनै शंका नगरे हुन्छ । बायाँ हाते फास्ट बलर अफ्रिदी अहिलेको पुस्ताका सबैभन्दा बढी अपेक्षा गरिएका खेलाडीमध्ये एक हुन् । पाकिस्तानी क्रिकेट समर्थकहरू उनी जत्तिको निर्णायक सावित हुन सक्ने अरू बलर नै छैन भन्ने गर्छन् । हुन पनि आफ्नो पहिलो ओभरमा सबैभन्दा बढी विकेट लिनेमा अफ्रिदी नै मज्जाले अगाडि छन् । पछिल्लो ट्वान्टी विश्वकपमा उपविजेता पाकिस्तानले यसपल्ट योभन्दा राम्रो प्रदर्शन गर्ने हो भने धेरैभन्दा धेरै अफ्रिदीमा निर्भर हुनुपर्नेछ । अनि यसका लागि अफ्रिदी स्वयं आफ्नो फिटनेसमा निर्भर हुनेछन् ।

ट्रेन्ट बोल्ट, न्युजिल्यान्ड

यसपल्टको आईपीएलमा राजस्थान रोयल्सले तय गरेको प्ले–अफ यात्रामा कोही एक खास खेलाडीको सबैभन्दा ठूलो योगदान रह्यो भने ती हुन्, ट्रेन्ट बोल्ट । न्युजिल्यान्डले अमेरिका र क्यारेबियन भूमिमा राम्रो गर्नु छ भने त्यसका लागि सबैभन्दा बढी योगदान ट्रेन्ट बोल्टले नै गर्नुपर्नेछ । यो स्वाभाविक पनि छ र उनी यसका लागि सक्षम पनि छन् । यसबीच उनलाई लिएर एउटा महत्त्वपूर्ण तथ्यांक के पनि आएको छ भने पावर–प्लेमा सबैभन्दा बढी विकेट लिने बलर सूचीमा उनी दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि भुवनेश्वर कुमार मात्र छन् । तर अचेल उनको चर्चा हुँदैन । अब सबैलाई थाहा छ, जुन टिमले पावर–प्लेमा रन रोक्न सक्छ र बढीभन्दा बढी विकेट लिन सक्छ, खेल त्यही टिमको पक्षमा मोडिने गर्छ । यसकै लागि कहलिएका खेलाडी हुन्, बोल्ट । त्यसैले पनि न्युजिल्यान्ड कुनै पनि ठूलो प्रतियोगिता अगाडि कम चर्चामा रहन्छ तर टिमले राम्रो भने गर्छ । बोल्ट पनि लगभग यस्तै खेलाडी हुन् ।

कगिसो रबाडा, दक्षिण अफ्रिका

ठूलो प्रतियोगिता भयो कि सबैभन्दा बढी आत्तिएर खेल्ने टिम हो, दक्षिण अफ्रिका । यत्तिको हुँदाहुँदै पनि दक्षिण अफ्रिका यसपल्टको विश्वकपमा उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी हो । टिममा उत्तिकै राम्रा ब्याटर पनि छन्, बलर पनि छन् । उसको बलिङ आक्रमण भने कगिसो रबाडामा निर्भर हुनेछ । उनलाई दक्षिण अफ्रिकाले पाएका अहिलेसम्मकै सबैभन्दा राम्रा अश्वेत फास्ट बलर मानिन्छ । त्यसैले पनि आईपीएलमै पनि उनको राम्रै माग छ । तर चोटका कारण उनले यसपल्टको आईपीएलमा सबै खेल खेलेनन्, पञ्जाब किङ्सलाई प्रतियोगिताको लगभग बीचमै छाडेर घर फर्के । उनी विश्वकपका लागि भने राम्रैसँग उपलब्ध हुने विश्वास छ । उनी साँच्चै पूर्ण रूपमा फिट हुनेछन् भने तय छ, उनी दक्षिण अफ्रिकी प्रतिद्वन्द्वीका लागि घातक नै सावित हुनेछन् । नेपाल दक्षिण अफ्रिका सम्मिलित समूहमै छ, त्यसैले पनि हामी सबैको नजर उनको खेलमा रहनेछ ।

युवा ग्यालरी

हिमेश

Link copied successfully