सर्पका साथी

सर्पलाई मार्न हुन्न, माया गर्नुपर्छ भन्ने चेत खुलेयता झापाका प्रह्लाद कार्की (मुन्ना) सर्पको उद्धारमा सक्रिय छन् । ११ वर्षयता उनले मानव बस्तीमा पसेका सयौं सर्प समातेर जंगल वा अन्य सुरक्षित स्थानमा लगेर छाडिदिन्छन् । उनले विशालु सर्पलाई बाक्लो जंगल र विष नभएका वा कम विषालुलाई सिमसार क्षेत्रमा छाड्ने गरेका छन् । 

जेष्ठ १८, २०८१

पर्वत पोर्तेल

A friend of the snake

झापा — झापामा निकै गर्मी छ, सर्पको बिगबिगी पनि । मान्छे र सर्पबीचको द्वन्द्व व्याप्त छ । जिल्लाका चार स्थानमा सर्पदंश उपचार केन्द्रहरू छन् । त्यस्ता केन्द्रहरूका अनुसार सर्पको डसाइबाट प्रत्येक वर्ष कम्तीमा १० जनाको ज्यान जाने गरेको छ । खासगरी गर्मी याममा मान्छे–सर्पबीचको द्वन्द्व झन् मौलाउँछ । हिउँदमा थोरै कम हुन्छ । 

यो द्वन्द्व न्यूनीकरणमा जुटेका छन् सीमान्त सहर मेचीनगर–६ काँकडभिट्टाका ३२ वर्षीय युवा प्रल्हाद कार्की (मुन्ना) । उनी एक दशकभन्दा बढी समयदेखि निःस्वार्थ सक्रिय छन् । गाउँघरमा सर्प आउनेबित्तिकै विगतमा सर्प मार्ने चलन थियो । तर, मुन्नाको एक्लो प्रयत्नपछि त्यो सोचमा क्रमिक सुधार आइरहेको छ । सर्प पसेको खबर पाउनेबित्तिकै मुन्ना गन्तव्यतिर पुग्छन् । ‘ढिलो पुग्दा कि त सर्प मारिन सक्छ या सर्पको डसाइले मान्छे,’ मुन्नाले अनुभव साटे, ‘त्यही भएर खबर पाउनेबित्तिकै दैडिहाल्छु ।’

मेचीनगर क्षेत्रमा मात्रै हैन झापाका दूरदराजका सर्वसाधारणले पनि सर्प उद्धारका लागि मुन्नालाई फोन डायल गरिहाल्छन् । काँकडभिट्टामै जन्मेहुर्केका मुन्नाको ९ र १० को पढाइ काठमाडौंको ललितपुरमा भयो । ज्ञान शिखा हाई स्कुलनजिकै जाउलाखेल चिडिया घर थियो । स्कुलले अध्ययन भ्रमणका लागि चिडियाघरमा बाक्लै भीड लाग्थ्यो । अन्य सहपाठीले चिडियाघरभित्रका विभिन्न जन्तु छाने अध्ययनका लागि । उनको भागमा पर्यो, सरिसृप अर्थात् पानी र जमिन दुवैतिर बस्ने प्राणी । 

त्यसमा पनि उनले रोजे सर्प । त्यही बेलादेखि नै उनी सर्पप्रति मोहित भए । सर्पलाई मार्नु हुन्न, माया गर्नुपर्छ भन्ने चेत खुल्यो । हाम्रो पारिस्थितिक प्रणाली (इको सिस्टम) लाई सन्तुलन गर्न सर्पहरूको भूमिकाबारे पनि त्यही बेला जान्ने मौका पाए । ‘खासमा सर्पप्रति मेरो माया बसेको त्यही बेला नै हो,’ मुन्नाले हाँस्दै सुनाए, ‘पछि थप गाढा हुँदै गयो ।’

कक्षा १२ मा असफल भएपछि उनलाई ‘अब पढेर केही हुन्न कमाउनतिर लाग्नुपर्छ’ भन्ने भयो । २० वर्षे लक्का जवान पढाइ छाडेर कमाउन मलेसिया उडे । १४ वर्षअघि मलेसियाकाको स्लामा राज्यमा काम गर्थे उनले । उनी कार्यरत क्षेत्र सर्पको ‘राजधानी’ नै मानिन्छ । नेपालमै रहँदा सर्पप्रतिको मोह जागिसकेकाले खुसी भए उनी । विशालु जातका दर्जनौ सर्प पाइने त्यो राज्यमा मलेसिया सरकारले ‘बाँच र बचाउ’ भन्ने मूल नाराका साथ ‘सर्प पनि नमर्ने लाठी पनि नभाँचिने’ उपायहरू सिकाउने थाहा पाए मुन्नाले । त्यसपछि पटक–पटक गरी लामो प्रशिक्षण लिए । सर्प समात्ने जुक्ति त्यही बेला सिके । सर्प मार्न हुन्न भन्ने थप ज्ञान पाए । 

तालिम पाएपछि सर्पको गतिविधि बुझ्न जाने । सर्प फकाउने उपायहरू सिके । उनका अनुसार सर्पलाई मार्न होइन, बचाउन आएको भन्ने महसुस गराएपछि पक्रन सकिन्छ । ‘नत्र उसले आक्रमण पनि गर्न सक्छ,’ उनले भने । मान्छेबाट आक्रमण भइरहेको बेला सर्पले प्रतिरोध गर्छ । जसरी अन्य प्राणीले ज्यान बचाउन प्रतिरोध गर्छन् । सर्पलाई बिच्क्याउनु, कुट्नु, पिट्नु घातक हुने उनको भनाइ छ । ‘मेटिङको समयमा सबै प्राणीझैं सर्प पनि आक्रामक हुन्छ,’ त्यो बेला बिच्क्याउनु भनेको काललाई निम्तो गर्नु हो ।’ 

A friend of the snakeकामको सिलसिलमा एक पटक मुन्नाको देब्रे हातमा सर्पले डस्यो । सात मिनेटमा उनलाई उपचार केन्द्र भर्ती गरिसकिएको थियो । ‘समयमै उपचार पाएर बाँचें,’ उनी अनुभव साट्छन्, ‘सर्पले टोकिहाले पनि उपचारमा ध्यान दिने हो, सर्प खोज्नतिर लागेर समय बर्बाद गर्न हुन्न ।’ मलेसियामा २७ महिनामा बिताएका उनले सर्पबारे लगभग ‘पीएचडी’ नै गरे । मलेसियामै रहँदा लागू पदार्थको कुलतमा फसेका उनी नेपाल फर्किएपछि उम्किए । 

नेपाल आएपछि सर्प समात्ने काममा सक्रिय उनी ११ वर्षयता आफ्नो संकल्पमा दृढ भएर लागिरहेका छन् । उनी मान्छे र सर्प दुवै प्राणीको रक्षाका लागि सक्रिय छन् । कसै कसैले सर्प समातेको पैसा पनि दिन खोज्छन् । तर, उनी हत्तपत्त पैसा लिन मान्दैनन् । ‘मैले पैसा कमाउन यो पेसा रोजेको हैन,’ उनी थप्छन्, ‘सेवाका लागि रोजेको हो ।’ कोभिड कालमा पोखराका महेन्द्र कटियाला बिते । उनी मुन्नाका प्रेरक थिए । उनी सर्पको उद्धारमा सक्रिय युवाहरूको देशव्यापी संगठन बनाउनुपर्छ भन्थे । तर, योजना सबै थाती राखेर बिते उनी । 

A friend of the snakeझापामा गोमन, धामन, करेत, बेन्डेट करेतलगायतका दर्जनौं सर्प पाइन्छन् । केही आप्रवासी सर्पहरू पनि सीमावर्ती क्षेत्रमा बेला बखत देखिने गरेका उनको दाबी छ । ‘हाम्रो हावापानीसँग नमिल्ने खालका सर्पहरू पनि बेलाबखत देखिन्छन,्’ उनी भन्छन्, ‘ती सर्पहरू सिमाना नाघेर आउजाउ गर्ने गर्छन् ।’ उनका अनुसार जसरी मान्छेहरू बसाइँ सरेर एक ठाउँबाट अर्को ठाउँ पुग्छन् । उसैगरी सर्पहरू पनि बसाइँ सर्छन् । नेपाली सर्प भारततिर र भारतीय सर्प यता आउन सक्छ । 

सर्प समात्ने काम निक्कै जोखिम मानिन्छ । तर, मुन्नाले ज्यानको बाजी थापेर निःस्वार्थ काम गरिरहेका छन् । उनीसँग सर्प समात्न प्रयोग हुने पर्याप्त औचारहरू पनि छैनन् । खुला हातैले पनि पक्रिरहेका हुन्छन् । जोखिम धेरै छ । ग्लोब्सहरू चाहिन्छ । उनीसँग त्यो सबै छैन । खुला हातकै सहायताले उनी सर्प समात्छन् अनि जंगलतिरको सुरक्षित स्थानमा लगेर छाडिदिन्छन् । अघिल्लो महिना दुइटा अजिङ्गर उनकै नेतृत्वमा समातेर सीमसार क्षेत्रमा छाडियो । ‘विषालु सर्पलाई अलि बाक्लो जंगलतिर र विष नभएका र कम विषालुलाई सीमसारजस्ता क्षेत्रमा लगेर छाडिन्छ ।’ 

A friend of the snakeसर्प च्याप्ने यन्त्र ग्रावर र सर्पलाई होल्ड गराउने फलामे डन्डी टङ उनीसँग थियो । अहिले ग्रावर बिग्रिएको छ । टङको भरमा सर्प पक्रिरहेका छन् । टङको सहायताले पक्रेको सर्पलाई कालो कपडाको झोलामा हालेर जंगलतिर छाडिदिन्छन् । ११ वर्षमा निकै सर्प समातेका छन्, खासमा हिसाब नै छैन । कतिपय सर्प किसानका सहयोगी हुन् भन्ने लाग्छ उनलाई । अन्नबालीमा लाग्ने मुसालगायतलाई खान्छ । प्रकृतिका लागि सर्प अत्यावश्यक छ । इको सिस्टमका लागि गोमन सर्पको भूमिका ठूलो रहने उनी बताउँछन् । ‘यति कुरा मात्रै मान्छेहरूलाई बुझाउन सक्दा सर्प बचाउन सकिन्छ,’ मुन्नाले थपे, ‘सँगै मान्छे र सर्पबीचको द्वन्द्व पनि कम गर्न सकिन्छ ।’

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully