सहारा बन्दै ‘सुदूरकी मैना’

सानोमा आगोको जलन खेपेकी धना युवावस्थामा पुगुन्जेलसम्म खुलेर हिँडडुल गर्न र बोल्न डराउँथिन्, अहिले भने उनी आफूजस्ता पीडितको पक्षमा आवाज उठाउँदै छन् 

चैत्र २२, २०८०

सन्जु पौडेल

'Father's love' becoming a support

लुम्बिनी — घाममा हिँड्दा शिरदेखि पाउसम्मै जलन महसुस हुँदा दैलेखको आठबिस–६ की २६ वर्षीया धना परियार छाया खोज्दै हिँड्छिन् । ‘घाम चर्किएका बेला हिँड्न नपरे हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘बाल्यकालको कहालीलाग्दो घटनाले दिएको पीडा भुल्ने प्रतीक्षा गर्नुभन्दा मजस्तै पीडितको सहारा बन्ने प्रयासमा लागेकी छु ।’ 

महिनावारी भएका बेला महिलाले घरबाट पर छाउगोठमा बस्नुपर्ने चलन कर्णाली र सुदूरपश्चिममा व्यापक छ । धना तीन वर्षकी छँदा उनकी आमा नमसरा महिनावारी भएर एक वर्षको भाइसहित घरनजिकै छाउगोठमा बसेकी थिइन् । बिहान ७ बजेतिर बुबाले धनालाई तेल पैंचो लिन छिमेकी ठूलोबुबाको घर पठाए । पुसको ठिहिर्‍याउने जाडो, टाढा बसेकी आमा र भाइको न्यास्रोले धना ठूलोबुबाको घर नगई छाउगोठतर्फ दौडिन् ।

‘बस्तुभाउ बाँध्ने गोठसँगै छाउगोठ थियो, म आमा र भाइ भएको गोठमा पुगें,’ रूपन्देहीको तिलोत्तमामा आयोजित दलित ज्ञान उत्सवमा वक्ताका रूपमा आफ्ना अनुभव सुनाउन आएकी धनाले भनिन्, ‘आमाले भाइलाई मेरो जिम्मा छाडेर घाँस काट्न गइन् । अगेनामा राति बालेको आगोको राप थियो । मैले भुस ल्याएर त्यहीं थपिदिएपछि त आगो दन्किन थाल्यो ।’ आगोको मुस्लो देखेपछि घाँस काटिरहेकी आमा चिच्याउँदै आइन् । धनाले कपडाले छोपेर भाइलाई आगोबाट जोगाइरहेकी थिइन् । ‘कसोकसो भाइलाई पहिला गोठबाट निकालियो, म त पोलिएपछि मात्रै निस्कन पाएँ,’ उनले भनिन्, ‘भाग्य बलियो रहेछ र बाँचें ।’ त्यही आगोको पीडा अहिलेसम्म बेहोरिरहेकी उनले घटनाबारे आमाले सुनाएपछि जानकारी भएको पनि बताइन् ।

दाहिने हातका सबै औंला जलेका छन् । देब्रे हातले खानुपर्छ । ‘सुरुको दिन भात खाँदा दुई गाँसपछि सबै पोखियो,’ उनले भनिन्, ‘घरमा पनि अलग ठाउँमा राखेर खाना दिन थालियो ।’ धेरै महिनासम्म आधा पेट मात्र खाने गरेको उनले सुनाइन् । आगोले शरीर जलेपछि पहिलेजस्तो रहेन । टाउकामा रौं छैनन् । अनुहारको धेरै भाग जलेको छ । हत्केला पनि जलेका छन् । शिरदेखि पैतालासम्म जलेकाले अहिले पनि शरीर पोल्ने समस्या छ । जलेपछि थप उपचारका लागि सहरका अस्पताल लैजान आर्थिक अभावले छेक्यो । त्यसपछि घाउ बोकेर बाँच्न बाध्य भइन् । ७ वर्ष पुगेपछि विद्यालयमा पाइला टेकेकी उनले बुबाबाटै पनि नराम्रो वचन सुन्नुपरेको उनले बताइन् । ‘बुबाले पनि यस्तीले पढेर के गर्छे भन्नुभयो,’ उनले भनिन्, ‘सधैंभरि पाल्न दुःख हुने भयो भनेर वचन लाउनुभो ।’ 

धनाका दुई दिदी भने उनको सहारा बने । दाइ पनि सहृदयी थिए । धना मनमा लागेको कुरा दाइसित भन्थिन् । दाइको साथ र अडानले पढ्न पाइन् । ‘मैले पढेर केही गर्नुपर्छ भन्ने ठानेर स्कुल गएँ,’ उनले भनिन्, ‘तर, पहिलो दिनमै साथीले ‘भूत’ भनेर सम्बोधन गरे ।’ विद्यालयमा साथीभाइबाटै धेरै पटक पिटाइ खाएको पनि उनले सुनाइन् । ती दिन सम्झिँदा उनका आँखा अहिले पनि रसाउँछन् । ‘त्यस बेलाका कुरा सम्झँदा आँसु थाम्नै सक्दिनँ,’ उनले भनिन्, ‘भूत, राक्षस, लुली के–के उपमा पाएँ के–के ।’ 

साथीहरूले हामीसँग पढ्न हुँदैन, यसलाई हेरे हाम्रो दिन खराब हुन्छ भनेर पनि दुःख दिने गरेको उनले सुनाइन् । गाउँको गणेश माविमा पढुन्जेल उनले यस्तै दुर्व्यवहार सहिन् । केही मिल्ने साथी त थिए तर तिनले पनि धनालाई साथ हिँडाउनुपर्‍यो भने बहाना गर्थे । ‘त्यस्तो व्यवहारपछि मेरा लागि साथी रहेनछन् भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘मैले कसैलाई छोएँ भने पाप लाग्छ भन्ने मानसिकता थियो ।’

अहिले धना संघीय राजधानीमा बस्छिन् । त्यहाँ पनि उनका साथी उनीजस्तै पीडा खेप्न बाध्य छन् । शारीरिक रूपमा सबलांग व्यक्ति उनीसित घुलमिल हुन खोज्दैनन् । त्यसले मनको घाउ चर्किने गरेको उनले सुनाइन् । अहिले कामको खोजीमा काठमाडौंका गल्ली चहारिरहेकी छन् । तैपनि, न काम पाएकी छन् न कसैको साथ ।

२०७० मा एसएलसी परीक्षामा सहभागी भएकी उनी अनुत्तीर्ण भइन् । प्रयास छाडिनन् । २०७२ मा उत्तीर्ण भएरै छाडिन् । त्यसपछि क्याम्पस पढ्ने रहर जाग्यो । दाइलाई आग्रह गरिन् । बुबा अहिले पनि उनीसँग बोल्दैनन् । दाइ अर्जुनले सानो पसल खोलिदिने र त्यहीं काम गरेर ज्यान पाल्न सुझाए । ‘म हिँड्न, आवाज उठाउन, पढ्न, सामाजिक व्यक्ति बन्न चाहन्थें,’ उनले भनिन्, ‘पसलमा बस्नु भनेको पिँजडामा थुनेजस्तो हुन्थ्यो ।’ परिवार अनुकूल नभएपछि उनले घर छाडेर काठमाडौं जाने निधो गरिन् । उनको उच्च शिक्षा अध्ययनको चाहना पूरा गर्न विद्यालयका शिक्षक सहयोगी बने । शिक्षककै सहयोगमा काठमाडौं पुगेर कलाकार बन्ने सपना देखिन् । उनी गुनगुनाउँथिन् । विद्यालयमा मौका पाउँदा गीत गाइहाल्थिन् । गीत गाएर धेरै पुरस्कार जितिन् । तर पुरस्कार लिन मञ्चमा जाँदा अरू विद्यार्थी डराउँछन् भनेर उनलाई मञ्चमा उक्लिन दिइँदैनथ्यो । प्रथम स्थान हासिल गरे पनि उनी मञ्चमा नगई घर फर्किन्थिन् । विद्यालय जाँदा, घर फर्कंदा धेरै पटक कुटिएकी उनलाई जोगाउँदा दिदीले समेत धेरै पटक पिटाइ खाएकी थिइन् ।

२०७३ सालपछि काठमाडौंमा बसोबास थालेकी उनले ‘सुदूरकी मैना’ बोलको देउडा गीत गाउने मौका पाइन् । आफ्ना शिक्षकका साढुभाइले गीत रचना गरेर उनलाई गाउन लगाएका थिए । अडियो मात्रै बज्ने बेला त्यो गीत रेडियोमा धेरै बज्यो । पछि भिडियोसमेत बनाइयो । उक्त गीतले धनालाई चिनाउन मद्दत गर्‍यो । त्यसपछि उनले ६५ भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । ‘केही चले, केही अडियोमै बिलाए,’ उनले भनिन्, ‘मलाई भूत भन्नेले पनि मेरा गीत सुनेको देख्दा राहत मिल्थ्यो ।’ शब्द वाण प्रहारको डरले धना आफू युवावस्थामा पुगुन्जेलसम्म खुलेर हिँडडुल गर्न र बोल्न डराउँथिन् । त्यसैले पीडा सहेर भौतिक शरीरमा आगोले बनाएका खत लुकाउने प्रयास पनि गरिन् । ‘टाउकामा रौं मात्रै भइदिएको भए पनि मुख छेक्ने गरी पाल्थें,’ उनले भनिन्, ‘त्यसैले दाइलाई चिठी पठाएर नक्कली कपाल किनिदिन आग्रह गरें ।’ 

घर छोडेर काठमाडौंमा पढ्न आउँदा दाइले दिएको पैसा ऋणस्वरूप लिएको उनले बताइन् । उक्त रकम फर्काउन पर्ने भएकाले दाइसँग लामो समयदेखि बोल्ने हिम्मत नगरेको उनले सुनाइन् । धनालाई दाइले भारतबाट कपाल किनेर ल्याइदिए । आफैं काठमाडौंसम्म छोड्न गए । यस्तो सहयोग र प्रेमले खुसी धना आफ्ना दाइको सबै गुन तिरेर मात्रै जीवन अन्त्य होस् भनेर कामना गर्ने गरेको सुनाउँछिन् । काठमाडौंमा जीवन सहज छैन । जसोतसो सहयोग मागेर, कहिलेकाहीं दोहोरी गीत गाएर जम्मा हुने रकमले अहिले स्नातक तह पढिरहेकी छन् । ‘खाना खान नपाउँदा धेरै दिन भोकै सुत्नुपरेको छ,’ उनले भनिन्, ‘भोकै आँसुमा भिजेका रातले पीडा बुझ्न सघाएको छ ।’ केही समय अनलाइनमार्फत सामान बिक्री गरिन् । तर हेपाहा प्रवृत्तिले उनलाई त्यसमा टिकिरहने वातावरण बनेन ।

काठमाडौंमा उनलाई खान, पढ्न र बस्न समस्या छ । अन्यत्र जाने ठाउँ छैन । आफूजस्ता अपांगता भएकालाई सघाउन गत असोजमा उनले अपांगता सहायता समाज नेपाल स्थापना गरिन् । संस्थाको उद्देश्य अपांगता भएकाहरूले सीप सिक्ने मात्र होइन, दीर्घकालीन रूपमा उक्त सीपको प्रयोग गरेर आफ्नो जीविकोपार्जन गर्न सकून् भन्ने रहेको उनले बताइन् । उनी स्वयं धेरै अपांगता भएका व्यक्तिको अभिभावक बनेर उनीहरूको उपचार, पढाइलगायतका विषयमा आर्थिक सहयोग जुटाउने प्रयास गर्छिन् । 

‘सहयोगी हात खोज्ने माध्यम बनेर सेवा गर्न सकिरहें भने जीवन धन्य हुनेछ,’ उनले भनिन्, ‘सामाजिक विभेद, अशक्त हुनुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।’ अहिले गीतसंगीतमा उनको लगन बढेको छ । बिहानै उठेर गीत गुनगुनाउँछिन् । रियाज गर्छिन् । ‘सबैले चिन्ने कलाकार बन्ने धोको छ,’ उनले भनिन्, ‘मलाई गाउन मन पर्छ, गाउँदा ज्यादै खुसी मिल्छ ।’

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully