सडक छेउछाउका बस्तीमा मात्रै राहत
जाजरकोट — जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प प्रभावित क्षेत्रमा सोमबार राहत पुर्याएको दाबी गरे पनि अधिकांश पीडितसम्म पुग्न सकेको छैन । शुक्रबार रातिको भूकम्पबाट जनधनको क्षति भएर विस्थापित भएकाहरू बारी र कान्लामा खुला आकाशमुनि त्रिपाल टाँगेर चिसो रात बिताइरहेका छन् । सोमबार अपराह्न फेरि भूकम्पको धक्का गएपछि उनीहरू झन् त्रसित बनेका छन् ।
मापदण्ड बनाएर एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने भन्दै ढिलाइ भएको हो । आइतबार जिल्ला विपद् व्यवस्थापनले पालिका हुँदै वडा तहको विपद् व्यवस्थापन संयन्त्रमार्फत पीडित परिवारलाई राहत वितरण गर्ने सर्वदलीय सहमति जुटेको थियो । सदरमुकाम खलंगाबाट १ घण्टा दूरीको नलगाड नगरपालिकाकै अधिकांश वडामा राहत पुगेको छैन । १३ वडा रहेको नलगाडमा साँझसम्म तीनवटा ट्र्याक्टरमा खाद्य तथा गैरखाद्य सामग्री पुगे पनि पर्याप्त नभएपछि सबै वडामा पठाउन नसकिएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । ‘साँझ मात्र केही सामग्री आएको छ, पालिकाको केन्द्रनजिकका वडामा मात्र उपलब्ध गराएका छौं,’ उनले भने, ‘पालिकाभरि दुई हजार बढी परिवार प्रभावित छन् । पाँच सय ब्लाङ्केट आएका छन् ।’
बारेकोट र कुशे गाउँपालिकामा पनि राहत नपाएको पीडितहरूले गुनासो गरेका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सोमबार जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहका केन्द्रसम्म सबै खालका राहत सामग्री पठाइसकेको बताएका छन् । पालिकाबाट वडा हुँदै पीडितसम्म पुर्याउन केही ढिलाइ भएको हुन सक्ने उनले बताए । मागअनुसार खाद्य सामग्री उपलब्ध गराउन नसकिए पनि त्रिपाल, ब्लाङ्केट पर्याप्त वितरण गरिएको उनको भनाइ छ । पहिलो चरणमा हरेक परिवारमा एक/एक थान त्रिपाल र ब्ल्याङ्केट वितरण गर्न लागिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सोमबार दिउँसोसम्म झन्डै ७ हजार बढी त्रिपाल र ब्ल्याङ्केट पालिकातर्फ वितरण भइसकेको बताए । उनका अनुसार भेरी नगरपालिकामा १ हजार ९ सय ८४ ब्ल्याङ्केट, १ हजार ७ सय ७७ त्रिपाल, ९ सय ४२ बोरा चामल, ३५ थान बिस्तरा वितरण भएको छ । त्यस्तै, नलगाड नगरपालिकामा ६ सय ४७ ब्ल्याङ्केट, ८ सय त्रिपाल र ५ बोरा चामल पुगेको छ । जाजरकोटमा भूकम्पबाट ९ सय ५ घरमा पूर्ण क्षति र ३ हजार ६ सय ९० घरमा आंशिक क्षति पुगेको छ । सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । सदरमुकामसमेत रहेको भेरीमा ४ सरकारी कार्यालय बसेका घरसमेत पूर्ण क्षति भएका छन् ।
नापी र मालपोत कार्यालय बसेको भाडाका दुवै घर क्षतिग्रस्त छन् । त्यस्तै समन्वय र जिल्ला प्रशासनका भवन पनि प्रयोग गर्न नमिल्ने गरी भत्किएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । जिल्ला अदालतको भवनमा आंशिक क्षति भएको छ । त्यस्तै नलगाड नगरपालिकामा २ सय, छेडागाड नगरपालिकामा १ सय ४ घरमा पूर्ण क्षति पुगेको छ । कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण आएको उनले बताए ।
भेरी–१ कालेगाउँमा झन्डै १ सय ७३ घर छन् । सबै घर चर्किएकाले घरमा बस्ने अवस्था नरहेको स्थानीय अगुवा दलबहादुर खत्रीले बताए । ‘घरमा पस्न सक्ने अवस्था छैन तर अहिलेसम्म कसैबाट केही सहयोग पाइएको छैन,’ उनले भने, ‘गाउँले सबैले आफ्नै व्यवस्थापन गरेर बसिरहेका छन् ।’ यो बस्तीमा सोमबार अपराह्नको परकम्पले ६ घर भत्किएका छन् भने ११ जना घाइते छन् । शुक्रबारको भूकम्पमा ६ जनाको ज्यान गएको भेरी–१ मैदेका चौर, घुइलेटा र डौरीकाँडा टोल गरी झन्डै १ सय ५० घर छन् । मैदेका अधिकांश घर भत्किए पनि पीडितहरू राहतको पर्खाइमा रहेको स्थानीय लोकेन्द्र रानाले बताए । ‘जनप्रतिनिधि सबै गाडी जाने ठाउँमा मात्र केन्द्रित भए,’ उनले भने, ‘हामी तीन दिनदेखि बाटो हेरेर बसेका छौं । भत्किएको घरबाट जेनतेन सामान निकालेर छाक टारिरहेका छौं ।’ वडाध्यक्ष दीपक रानाले मृतकका परिवार र पूर्ण क्षति भएकाबाट प्राथमिकताका आधारमा क्रमशः राहत वितरणको काम भइरहेको दाबी गरेका छन् ।
नलगाडमा भूकम्पग्रस्त क्षेत्र निरीक्षण गर्न गएका कर्णाली प्रदेशका अर्थमन्त्री वेदराज सिंहले साना ट्रक र जिपमा पर्याप्त राहत सामग्री ढुवानी गर्न नसिकने र भूकम्पपीडित सबै बस्तीमा तत्काल राहत पुर्याउन कठिनाइ भइरहेको बताए । अहिले छिन्चु–जाजरकोट सडकको १ सय ७ किमि खण्डमा राहत सामग्री बोकेका ढुवानीका साधनको लाइन लागेको छ । राहत सामग्री बोकेका १२ चक्के ट्रक सदरमुकामदेखि डोल्पा खण्डको २८ किलोमिटरसम्म मात्रै गुड्छन् । कुशे, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिकातिर राहत सामग्री लैजान कठिनाइ छ ।
भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले १३ वटामध्ये सोमबार १, २, ३, ४ वडामा मात्रै राहत पुर्याउन सकिएको बताए । ज्यान गुमाएकादेखि पूर्ण क्षति भएका हुँदै प्राथमिकताका आधारमा वितरण भइरहेकाले सबै परिवारले एकसाथ राहत नपाएको गुनासो गर्नु स्वाभाविक भएको बताए ।
बारीमा त्रिपाल टाँगेर चिसो भुइँमा बसिरहेका पीडितहरू खाने, सुत्ने व्यवस्थापन राम्रो नहुँदा बिरामी पर्न थालेका छन् । पर्याप्त लत्ताकपडा नहुँदा चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकमा ज्वरो, निमोनिया, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको चिउरीटोलकै अर्जुन महरले बताए । ‘अहिले सबैलाई गाँसबासकै पीर छ । किरिया गर्नेसम्मको ठाउँ छैन । कठ्यांग्रिँदो जाडोमा सुत्न सकिएको छैन, रातभर आगो तापेर बस्न बाध्य छौं,’ उनले भने, ‘मृतकहरू सबैजसो आफन्त भएकाले गाउँ नै शोकमा छ, सरकारी सहयोग भए हाम्रो घाउमा सानो भए पनि मलम लाग्ने थियो ।’ रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले प्राथमिकताका आधारमा राहत वितरणको काम भइरहेको बताए । उनले नगरपालिकाकभित्र ६ सय घर पूर्ण क्षति भएको र ४५ जनाको मृत्यु भएको थियो ।
राहत वितरणमा समेत राजनीतिक खिचातानी देखिएको स्थानीयको गुनासो छ । सबैभन्दा बढी क्षति व्यहोरेको जाजरकोट नलगाड नगरपालिकाको चिउरी गाउँमा १३ जनाले ज्यान गुमाएका थिए । ७५० परिवार रहेको यो गाउँका हरेक घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन् । पीडितहरूले जनप्रतिनिधिबाट राहत वितरणमा राजनीतिक प्रतिशोध साध्ने र निकटता हेर्ने काम भएको आरोप लगाएका छन् । ‘वडाध्यक्षले आफ्नो मान्छेलाई फोकस गरेर भित्रभित्रै राहत दिने गर्नुभयो । विपद्का बेला हामी युवाहरूले त कुनै पक्षविपक्ष नराखेर सबैको उद्धारमा खटेका थियौं, उहाँ हामीलाई आउँदै छ भन्दै थाहै नदिएर आफ्नालाई मात्रै लगिदिने गर्नुहुन्छ,’ चिउरीगाउँकाएक युवाले भने ।
नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरले वडालाई प्राप्त सामग्री सोमबार प्राथमिकताका आधारमा वितरण गरिएको दाबी गरे । ‘वडाको हरेक बस्तीमा ज्यान गुमेका छन् । आइतबारसम्म सम्पूर्ण जनशक्ति शव व्यवस्थापनमै लाग्यौं,’ उनले भने, ‘हामीलाई साढे तीन सय परिवारलाई पुग्ने पाल/त्रिपाल आएकाले वितरण गर्यौं, मृतकका परिवारलाई पहिलो प्राथमिकता र घर पूर्ण क्षति भएकालाई दोस्रोमा राखेर एकसय परिवार जतिलाई एक बोरा चामल, केही दाल बाँडेका छौं । बाँकी चार सयलाई राहत दिन पर्याप्त राहत नपाएर नदिएको हो ।’
