आठबिसकोट, रुकुम पश्चिम — १७ वर्षकै उमेरमा मिस्त्रीको काम सिकेका जयबहादुर थापा घर बनाउन भारतको लद्दाखसम्म पुगे । आठबिसकोट नगरपालिका–१४ को छेपारे गाउँका उनी २०७२ को भूकम्पले ढलेका घर उठाउन सिन्धुपाल्चोक, काभ्रे, दोलखा र ललितपुर पुगे । उनीसहित रुकुम पश्चिम र जाजरकोटका १५ जनाको एउटा मिस्त्री टोली नै थियो ।
उनीहरूले ०७३ सालमा सिन्धुपाल्चोकका २ गुम्बा र ७ घर, ०७४ मा काभ्रेका १६, दोलखाका १० र ललितपुरका १२ घर बनाए । ती सबै भूकम्प प्रतिरोधी थिए ।
बलिया ती घर बनाउँदै गर्दा ढुंगामाटोको आफ्नो दुईतले घर सम्झिन्थे । जुन घर मिस्त्री काम सिकेर १५ वर्षअघि आफैंले बनाएका थिए । घरको भुइँ तला गाईगोठ र माथिल्लो तलालाई भान्सा र सुत्ने कोठा बनाएका छन् । भूकम्पपीडितका घर बनाउन पुगेका उनले पाल/त्रिपालमा बसेका पीडितहरूको दुःखपीडा देखेका थिए ।
‘भूकम्पले यस्तै भए हाम्रो अवस्था के हुन्थ्यो होला भन्ने लाग्थ्यो, घर बनाउन पुग्दा सेवाभाव आउँथ्यो,’ उनले भने । घर बनाउने काम गरेबापत दिनको १ हजार २ सय, एक हजार, आठ सयका दरले ज्याला पाउँथे । कतिले ज्याला दिनलाई अहिले पैसा छैन भन्थे, उधारोमै बनाइदिएर घर फर्केका थिए । घर फर्केको केही महिनापछि पठाइदिन्थे ।
सिन्धुपाल्चोक, काभ्रे, दोलखा र ललितपुरमा आठ महिनाजति भूकम्प प्रतिरोधी घर बनाउने काम गरेका उनलाई जुनसुकै बेला आउने विपत्तिको जोखिमबाट बच्न बलियो र सुरक्षित घर बनाउनैपर्छ भन्ने लाग्थ्यो । तर, मजदुरी गरेको कमाइले खानलाउनै पुगनपुग हुन्थ्यो । बलियो घर बनाउने चाहना पूरा भएन । उनी वर्षैपिच्छे भारतमा मिस्त्रीको काम गर्न जान्छन् ।
गत कात्तिक ४ गते दसैंतिहार मनाउन भारतबाट गाउँ आइपुगे । दुई छोरा, एक छोरी, श्रीमती र आफूसहित पाँच जनाको परिवारले दसैं रमाइलो गरी बिताए । तिहार मनाएर फेरि मजदुरी गर्न भारत जाने सोचेका थिए । गत शुक्रबारको भूकम्पले जब घरै बस्न नमिल्ने गरी भत्कायो, अहिले उनको पालमुनिको बास भएको छ ।
दुईतिर ठूला पहाड र भेरी नदी किनारैमा पर्ने छेपारे गाउँमा ५० भन्दा बढी घरपरिवार बस्छन् । भूकम्पले सबैको घर क्षतविक्षत बनाइदिएको छ । भूकम्पले भत्केका घरले च्यापिएर, थिचिएर ९ जनाको मृत्यु भयो । त्यस दिन जयबहादुर र उनकी श्रीमती कमलामात्रै घरमा सुतेका थिए । १७ र १४ वर्षका छोरा नजिकैको मावली घरमा थिए ।
१२ वर्षकी छोरी छिमेकी साथीको घरमा बास बसेकी थिइन् । घर हल्लिएको थाहा पाएपछि जयबहादुर दम्पती हतारिएर सिँढी हुँदै घरबाट ओर्ले । बारीमा उभिएर हेर्दा घरका भित्ता चिरा परेका रहेछन् । ससुराली घर पुगेर त्यहाँ पुरिएका १७ जनालाई निकाले । एक जना पाँच वर्षका बच्चा भने त्यहीं बिते । छरछिमेकमा सबै मिलेर एकअर्कालाई उद्धार गरे । छोराछोरीहरूलाई जीउमा सामान्य चोटपटक लागेको भए पनि सकुशल उद्धार भएकोमा ढुक्क भए । तर, घर भने बस्न नमिल्ने गरी चर्किएको थियो ।
सोमबार दिउँसो ससुराली घरको भत्केका संरचना पन्छाउँदै भेटिएका ३५ वर्षीय जयबहादुरले कुराकानीकै क्रममा भने, ‘पहिल्यै बलियो बनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, आर्थिकले भ्याउँदैन थियो, त्यस्तो बनाउन पाएको भए यस्तो हुन्थेन होला, यता पनि पक्की घर जोगिएका छन् ।’ ०७२ को भूकम्पपछि प्रतिरोधी घर बनाउँदै हिँडेका उनले आफ्नै घर बनाउन सकेनन् । जो, बलिया र सुरक्षित घर बनाउने हालतमा सीप हुँदाहुँदै पनि परिवारको खाना र नाना टार्दै गरिबीबाट उठ्न नसकेका कारण उठिबासको अवस्थामा पुगेका छन् । अहिले आफैं भूकम्पपीडित भएका छन् ।
जेठान ४५ वर्षीय वीरबहादुर ओली पनि जयबहादुरसँगै मिस्त्रीको काम गर्छन् । उनीहरू दुवै भूकम्प प्रतिरोधी घर बनाउन विभिन्न जिल्ला पुगेका थिए । तर, भूकम्पले घर पूर्ण रूपमा ध्वस्त भयो । परिवारका सदस्य, आफन्त गरेर १७ जना पुरिएका थिए । जयबहादुर दम्पती र छरछिमेकीले उद्धार गरेको सम्झँदै भने, ‘घरको केही निकाल्न पाएनौं, आफैंलाई त अर्काले निकाले, १०/१५ मिनेट ढिला भएको भए त्यहीं सास जाने थियो ।’
निधार र शरीरका विभिन्न भागमा चोट लागेको उनले देखाए । ‘हामीले भूकम्पपीडितका घर बनाइदियौं, बलियो घर सुरक्षित हुन्छ भन्ने थाहा भएर पनि गरिबीले गर्दा बनाउन सकेनौं,’ उनले भने, ‘घर भनेको बारबार बनाउन पनि सकिन्न, सरकारले उतिबेलैको भूकम्पपछि बलिया घर बनाउनैपर्छ भनेर सिमेन्ट बालुवा सहयोग गरेको भए आफैं बनाउँथ्यौं, आखिर घर बनाउनलाई हामीसँग सीप छँदै थियो ।’ उनको दुईतले ढुंगामाटोको घर २० वर्षअघि बनाइएको थियो ।
जयबहादुर र वीरबहादुर पात्र प्रतिनिधि मात्रै हुन् । ०७२ सालको भूकम्पले ढलेका घर बनाउन पूर्वी नेपालका प्रभावित १४ जिल्लामा भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी, सिकर्मी बनेर पुग्ने अधिकांश रुकुम, जाजरकोटकै पुरुषहरू थिए । पुस्तौंदेखिको गरिबी चिर्न नसकेका उनीहरूले ढुंगामाटोले बनाएका र छाइएका कमसल घरलाई पनि बलियो र सुरक्षित बनाउन सकेनन् ।
रुकुम पश्चिम र जाजरकोटमा गरिबीको रेखामुनि रहेका स्थानीय बर्सेनि डकर्मी, सिकर्मी लगायतका मजदुरी गर्न भारत पुग्छन् । कमाइ गरेर ल्याएकाले वर्षभरि खानलाउनैमा खर्च हुन्छ । सुरक्षित आवास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधामा खर्च गर्न सक्दैनन् ।
जसले गर्दा भूकम्प जस्ता विपद्जन्य घटनामा उनीहरू नै बढी प्रभावित हुने गरेका छन् । ०६८ को जनगणनाअनुसार साविक रुकम (हाल पश्चिम र पूर्वी रुकुम) मा करिब ५५ हजार र जाजरकोटमा गरिब जनसंख्या लगभग ६५ हजार छन् ।
