छेपारे, जाजरकोट — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर-१४ शुक्रबार रातिको जाजरकोट भूकम्पले खण्डहर बनेको छ । भूकम्पमा परी छेपारेमा मात्र ९ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पले ध्वस्त भएका घरहरूमा स्थानीय बासिन्दा आफैं खोतल्न थालेका छन् । सोमबार बिहानै छेपारे पुग्दा कोही ढलेको घरबाट ओढ्ने-ओछ्याउने त कोही निकालदै चामलको बोरा, गरगहना र कागजपत्र निकाल्दै थिए । सबै समान पुरिएपछि विक्षिप्त थिइन् सरस्वती वली । 'हामी त मरेर बाँचेको हो । सबै समान पुरिए । पैसा गरगहना केही छैन,'गहभरि आसुँ पार्दै उनले भनिन्, 'कति क्षति भयो ? बाँच्यापछि धनको आशा लाग्ने रहिछ के गरौँ ।'
सरसमान, गरगहना निकाल्न्न नपाएकोमा निर्मला शर्मा पनि निराश देखिन्थिन् । त्यस्तै छेपारेकी मीना विक पनि गरगहना खोज्नमा व्यस्त थिइन् । डोजर लगाएको केही बेरमा कागजपत्र, पैसा र गरगहना सहितको बक्सा फेला परेपछि भने उनको मुहारमा खुसी देखिएको थियो । भूकम्प गएको ४ दिन बितिसक्दा पनि राहत नपाएपछि छेपारेबासीहरू निरास छन् । उनीहरू आफूलाई चाहिने सरसामान आफैं जोहो गर्न बाध्य भएका छन् ।


