जाजरकोट भूकम्प : नलगाडमा ५५ जनाको गरियो दाहसंस्कार

कार्तिक २०, २०८०

ज्योति कटुवाल

जाजरकोट — भूकम्पमा परी ज्यान गुमाएका नलगाड नगरपालिकाका ५५ जनाको दाहसंस्कार गरिएको छ । शुक्रबार रातिको भूकम्पमा नलगाड नगरपलिकामा मात्र ५५ जनाको ज्यान गएको थियो । 

आफन्तहरूले शव बुझेपछि एकै दिन दाहसंस्कार गरिएको कर्णाली प्रदेशका अर्थमन्त्री तथा जाजरकोटका नेपाली कांग्रेसका पार्टी सभापति बेदराज सिंहले बताए । मृत्यु भएकाहरूको दाहसंस्कार गरिसकिएको र अन्यलाई औषधि उपचार र खाद्यान्नको जोहोमा जुटेको मन्त्री सिंहको भनाइ छ ।

रुकुम पश्चिम र जाजरकोटका विभिन्न प्रभावित क्षेत्रमा पुगेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शव र घाइतेहरुको उद्धार व्यवस्थापन भएलगत्तै रातहको आवश्यक प्रक्रिया अघि बढाउने बताए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शनिबार राति बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशको विपद् व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने निर्णय र भूकम्पबाट अति प्रभावित पालिकालाई तत्काल खर्च गर्ने गरी बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने गरी निर्णय भएको बताए ।

जाजरकोट भुकम्प

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully