एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

कार्तिक २०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सोमबार बसेको नेकपा(एकीकृत समाजवादी)को सचिवालयको बैठकले केही दिनअघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरुलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए । त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र जनप्रतिनिधिहरू एवं राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए ।

बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेका छन् ।

सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपार्इं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरु रहेको खतिवडाले बताए । 

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully