विद्यालयको क्षतिको विवरण अझै आउन बाँकी
(वीरेन्द्रनगर) — जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) मा गरेर २ सय ४८ विद्यालय भत्किएका छन्। सोमबारसम्म संकलन भएको तथ्याङ्क अनुसार २ सय ४८ विद्यालय भवन भत्किएका हुन् । १ सय ६ विद्यालय भवन पूर्ण रुपमा क्षति भएको छ।
जाजरकोटमा पूर्ण क्षति भएका विद्यालयहरू भवन ९१ वटा, ३ सय ६६ वटा कक्षाकोठा, ४३ वटा शौचालय, ११ वटा कम्प्युटर कक्षा, १ वटा पुस्तकालय, ७ वटा घेरवार पर्खाल, ४ वटा सोलार सिस्टम रहेको छ।
त्यस्तै आंशिक क्षति भएका विद्यालय भवनहरु १ सय २२ वटा, ४ सय ७६ वटा कक्षा कोठा, ३५ वटा शौचालय रहेको शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख रमेश मल्लले बताए।
उनका अनुसार भूकम्पमा परि १ शिक्षक, ११ विद्यार्थीको मृत्यु भएको र २ शिक्षक र २० विद्यार्थी घाइते भएका छन्। सबै पालिकाबाट सोमबारसम्म संकलन भएर आएको तथ्याङ्कमा आधारित भएको समन्वय इकाई प्रमुख मल्लले बताए।
यस्तै रुकुम (पश्चिम) मा पूर्ण रुपमा १५ विद्यालय भवन भत्किएका छन्। आंशिक २० वटा भवन भत्किएको विवरण आएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तारा पुनले बताए।
उनका अनुसार रुकुम पश्चिममा १४ विद्यार्थीको मृत्यु भएको छ । १ विद्यार्थी र १ शिक्षक घाइते भएका छन्।
उनका अनुसार विकट भूगोलका कारण विद्यालयको क्षतिको विवरण अझै आउन बाँकी छ।
