जाजरकोटका भूकम्पपीडितलाई स्थानीय तह मार्फत राहत वितरण सुरू

क्षतिग्रस्त सबै स्थानीय तहमा सोमबारदेखि राहत सामाग्री पठाइँदै

कार्तिक २०, २०८०

घनश्याम गौतम

जाजरकोट — जाजरकोटका भूकम्पपीडितलाई सोमबारदेखि जिल्ला प्रशासनको विपद् व्यवस्थापन समितिले स्थानीय तह मार्फत् राहत वितरण सुरु गरेको छ । शनिबार र आइतबार राहत नपाएको गुनासो बढेपछि सोमबार बिहानैदेखि समितिले तत्काल पीडित समक्ष राहत सामाग्री पुग्नेगरी वितरण थालेको हो ।  

यसअघि समितिले एकद्धार प्रणाली मार्फत् स्थानीय तहका जनप्रतिनिधिलाई, जनप्रतिनिधिले स्थानीय तहको विपद् व्यवस्थापन समितिलाई र स्थानीय तहको विपद् व्यवस्थापन समितिले वडा स्तरको संयन्त्रलाई दिएर संयन्त्रले राहत वितरण गर्ने मापदण्डमा सर्वदलीय सहमति भएको थियो ।

त्यसरी वितरण गर्दा पीडितसम्म सामाग्री पुग्न ढिलाई भएपछि पीडितको आक्रोस बढेको थियो । चिसोमा त्रिपाल र ओढ्ने बिच्छ्याउने अभावमा पीडितहरु खुल्ला आकासमुनी चामलका बोरा र प्लाष्टिकले शीत छेकेर सुत्न बाध्य भएका थिए । 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सोमबार बिहानैदेखि विपद् व्यवस्थापन समितिमा संकलन भएको रातह सामाग्रीमध्ये पहिलो चरणमा त्रिपाल, ब्ल्यांकेट स्थानीय तहको वडा स्तरमै पठाउन थालिएको बताए ।

‘सोमबार बेलुकासम्म सबै स्थानीय तहका वडा मार्फत् पीडितसमक्ष त्रिपाल, ब्ल्यांकेट र प्राप्त अन्य राहत सामाग्री पुग्ने गरी व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधिप्रति पनि आक्रोस बढिरहेकाले सबै एकजुट भएर सामाग्री वितरणमा जुटेका छौं । आज साँझसम्म जसरी पनि पुग्छ ।’ राहत सामाग्री सदरमुकाममै थुप्रिएको र पीडितसम्म नपुगेको गुनासे बढेपछि सामाजिक संघसंस्था र गैरसरकारी संस्थाका प्रतिनिधिहरु पनि विपद व्यवस्थापन समितिलाई सहयोग गर्न सक्रिय देखिएका छन् । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले सोमबार दिउँसोसम्म झण्डै ७ हजार बढी त्रिपाल र ब्ल्यांकेट  वितरण भईसकेको बताए । उनका अनुसार भेरी नगरपालिकामा १ हजार ९ सय ८४ ब्ल्यांकेट, १ हजार ७ सय ७७ त्रिपाल, ९ सय ४२ बोरा चाम, ३५ थान विस्तारा वितरण भएको छ ।

त्यस्तै नलगाढ नगरपालिकामा ६ सय ४७ ब्ल्यांकेट, ८ सय त्रिपाल र ५ बोरा चामल पुगेको छ । छेडागाढ नगरपालिकामा १ सय २२ ब्ल्यांकेट र १ सय ७२ त्रिपाल, बारेकोट गाउँपालिकामा ३/३ सय त्रिपाल र ब्ल्यांकेट, कुशे गाउँपालिकामा ३ सय ४५ ब्ल्यांकेट, २ सय ४५ त्रिपाल र १ सय ३२ चामलका बोरा वितरण भएको छ ।

त्रिपाल, ब्ल्यांकेट, चामल, विस्तारा, भाँडा वर्तन, सहित ६५ प्रकारका सामाग्री संकलन भएको र ती धेरै वितरण भईसकेको सहायक प्रजिअ शर्माले बताए ।

जाजरकोट भुकम्प

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully